8th March | 2021 | Monday | 8:43:47 PM

‘कोरियोग्राफीमा ‘ब्युटी एण्ड ब्रेन’ आवश्यक हुन्छ’

  POSTED ON : मंसिर २४, २०७७ (९:४० AM)

‘कोरियोग्राफीमा ‘ब्युटी एण्ड ब्रेन’ आवश्यक हुन्छ’

काठमाडौं । नृत्य नरुचाउँने यहाँ सायदै होलान् । जेनिशा डंगोल महर्जन नृत्यकै कारण आज सेलिब्रेटी बन्न सफल हुनुभएको छ । उहाँ स्टेज कार्यक्रम प्रस्तोताका रूपमा पारंगत हुनुहुन्छ । आफ्ना कामको कला कौशलले लोकप्रियता हासिल गर्नु भएको छ । जेनिशा नेपाली कला क्षेत्रमा कोरियोग्राफरका रूपमा आफ्नै कामले लोकप्रिय हुनुहुन्छ । उहाँका कार्यले या क्षेत्रमा यतिबेला एक खालको उचाइ प्राप्त भएको छ । ‘कर्म गर्नुपर्छ फल मिल्छ’ भन्ने स्वभाव भएकी उहाँको समय कसरी राम्रो कोरियोग्राफ गर्ने भन्नेमै बित्ने गर्छ । स्वदेशमा मात्रै नभएर विदेशमा समेत कोरियोग्राफ कारण चर्चा बटुल्न सफल कोरियोग्राफर गर्नेका बीचमा एउटा सफल पात्र हुनुहुन्छ । सफलता प्राप्तिका लागि यो क्षेत्रमा धेरै पसिना बगाएकी जेनिशासँग हिमालय टाइम्सका लागि गोपीकृष्ण चापागाईंले गर्नु भएको कुराकानीः–

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ ‘कोरियोग्राफर’ के हो ?

नृत्यका लागि शरीरका विभिन्न अंगलाई सञ्चालनको क्रम एवं रूपको डिजाइनलाई नृत्यरचना या कोरियोग्राफी भन्ने गरिन्छ । जो व्यक्ति, नृत्यकार या कलाकार यो कार्य गर्छ, उसलाई ‘नृत्यरचनाकार’ या नृत्यसंयोजक’ या ‘कोरियोग्राफर’ भनिन्छ । फरक–फरक विधाको फरक–फरक हुन्छ । फेशनको फरक हुन्छ, म्युजिक भिडियो र चलचित्रको फरक हुन्छ । नृत्यसँग संगीतको, शब्दको सम्बन्ध हुन्छ । जुन किसिमको धुन छ, त्यहीनुसारको नृत्य हुन्छ । संगीतको भावानुसार स्टेप सिकाइन्छ । कोरियोग्राफी गरिन्छ । शब्दले के भनेको छ ? त्यो विचार गर्ने गरिन्छ ।

यो कोरियोग्राफी कत्तिको सजिलो पेशा हो ?

सर्व प्रथम त आफूमा यससम्बन्धी ज्ञान हुन जरुरी छ । कोरियोग्राफी हेर्दा सजिलो जस्तो लाग्छ तर देखेजस्तो सजिलो भने हुँदैन । यसमा सबै पक्षलाई समेट्न सक्नुपर्छ । सानोसानो कुरामा ध्यान दिनुपर्ने भएकाले सजिलो छ जस्तो मैले अनुभव गरेको छैन ।

पहिला र अहिलेको कोरियोग्राफीमा के फरक छ ?

पहिलाको र अहिलेको एउटै हो । तर विधानुसार भने फरक पर्छ । स्टेज र चलचित्र वा भिडियो केको कोरियोग्राफी गर्ने हो त्यसले अर्थ राख्छ । पछिल्लो समय धेरै कुराको विकास भएको छ । प्राविधिक हिसाबले सुरुका तुलनामा भिनन्ता आएको छ । फेरि व्यक्ति, प्रतिभानुसार फरक–फरक तरिकाले कोरियोग्राफीमा कला प्रस्तुत गरिएको हुन्छ ।

-याम्पमा पनि कोरियोग्राफी भएको पाउँछौं गीतमा पनि हुन्छ । ¥याम्प र गीतको कोरियोग्राफीमा के फरक छ ?

हो, कोरियोग्रिफीका क्षेत्रहरू फरक–फरक छन् । गीतको कोरियोग्राफीमा गीतले के माग्छ त्यो दिन सक्नुपर्छ । कोरियोग्राफीमा ‘ब्युटी एण्ड ब्रेन’ आवश्यक हुन्छ । ¥याम्पको कोरियोग्राफी अभिनय र कोण विशेषमा मात्रै सीमित हुँदैन यसमा सबै पक्ष समेटिएको हुन्छ । जस्तै कसरी हिँड्ने, कसरी बोल्ने, कति बोल्ने, कुन भाषा बोल्दा उपयुक्त हुन्छ यसमा समेटिन्छ । गीतमा पनि त्यस्तै हो गीतले के भन्छ त्यहीँनुसार हाउभाउ दिने हो । गीतको भावनुसार कोरियाग्राफ हुनु जरुरी हुन्छ । 

तपाइँ आफू कोरियोग्राफीबाट सन्तुष्ट हुनुहुन्छ ? 

मेरो सानैदेखिको लगावको पेशा हो यो । म यही क्षेत्रमा केही उल्लेनीय काम गर्न चाहन्थे । मैले गरेका कार्यले तारिफ पाउँदै जाँदा सन्तुष्टि प्राप्त भयो । आफूले गरेका कार्यको तारिफ नै सन्तुष्टि हो भन्ने लाग्छ मलाई । फेरि म पैसाका लागिमात्रै काम गर्दिनँ । समाज सेवा वा चेतनाका लागि कहिँ कोरियोग्राफी गर्नुप¥र्यो भने म गर्छु । मेरो मुख्य पेशा नै कोरियोग्राफी हो । यसैमा मलाई सन्तुष्ट छु । यस क्षेत्रमा लाग्दा नाम र दाम कमाउँला वा यहाँसम्मको सफलता पाउँला भन्ने लागेको थिएन । तर, मैले जहाँ जे गरेँ सफल हुँदै आएकी छु । आज यसैमा सफलता पाएकी छु, अहिले मलाई कोरियोग्राफरबाहेक अरू कुनै काममा रुचि छैन । 

नेपाली आयोजकले तपाइँको दिमागी सिर्जनालाई पूरा गर्न सकेका छन् ? 

म नेपालमा मात्र नभएर नेपालबाहिर पनि काम गरिरहेकी छु । मैले प्रत्येक कोरियोग्राफीमा नयाँनयाँ सोंच दिन सकुँ भन्ने लाग्छ । कसरी फरक र राम्रो बनाउँ भन्ने सोंच हुन्छ हरपल ममा । तर, मेरो सोंचभन्दा कहिलेकाहीँ बजेटको दायराभित्र बसेर काम गर्नुपर्ने हुन्छ । धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसले फरक पार्छ धेरै कुरामा । बजेटका कारण यो अलिक राम्रो गर्न सकिएन भन्ने चाहिँ हुन्छ । तर म सिर्जनशील नै हुने कोसिसमा हुन्छु आफ्ना कार्यहरूमा । 

तपाइँ हिपअप आर्टिसका साथै हिपअप फाउण्डेशनको फाउण्डरसमेत हुनुहुन्छ ?

हो, हिपअप आर्टिसका रूपमा मेरो आफ्नै पहिचान छ । त्यस्तै नेपाल हिपअप फाउण्डेशनकी फाउण्डर हुँ म । 

हिपअप नृत्य के हो ?

हिपअपमा विभिन्न तरहका शैलीमा नृत्य गरिन्छ । विशेषरूपमा ब्रेकिंग, लाकिंग र पापिंग समावेश छन् । यसको विकास अश्वेत र ल्याटिन अमरिकिले गरेका थिए । फ्रिष्टाइलिंग, वैटल्स र साइफर्स यी तीन हिपअप नृत्यका प्रमुख घटक हुन् । 

विदेशका विभिन्न कार्यक्रममा पनि कोरियोग्राफरका रूपमा कार्य गर्नु भएको छ कतिको सजिलो छ विदेशीलाई सिकाउन ? 

मैले युएस एम्मवेसी नेपाल टुर सन् २०११ देखि १५ सम्म सात वटा देशमा कोरियोग्राफी गरे । सन् २०१५ मा फिलिपिन्समा नेपालको तर्फबाट प्रतिस्पर्धामा सहभागी भएर विजेता भए भने मेघा डान्स कम्पिटिसन २०११ कि विजेता हुँ म । त्यस्तै हिपअप अन्तर्राष्ट्रिय मेडल तथा वेष्ट डान्सर जस्ता थुप्रै उपाधि चुम्न सफल भए । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त भएको छ मलाई । पछिल्लो दश वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि विभिन्न कार्यक्रममा कोरियोग्राफि गरिरहेकी छु । धेरै विदेशीलाई कोरियोग्राफी गरेकी छु । विदेशीलाई सिकाउन सजिलो नै हुन्छ तर केही भाषागत समस्या भने अवश्य हुन्छ । नेपाली कल्चर सिकाउन भने अलिक गाह्रो हुन्छ ।

 चुनौती कतिको छ कोरियोग्राफीमा ? 

चुनौती प्रशस्तै छन् । हरेक पटक नयाँ थिम दिनुपर्छ । यस हिसाबले चुनौती धेरै छन् । विश्व मञ्चमा के चलेको छ, के नयाँ भित्रियो, के आउँदैछ, हरेक समय आफूलाई अपडेट राख्नुपर्ने हुन्छ । हिजोभन्दा आज र आजभन्दा भोलि अझ केही राम्रो गर्नुसक्नुपर्छ । 

तपाइँको भावी योजना ?

म कोरियोग्राफीको क्षेत्रबाहेक अन्य क्षेत्र सोच्न सक्दिनँ । मैले यही क्षेत्रमै आफूलाई पूर्णरूपमा समर्पित गरेकी छु । मेरो भावी योजना यही क्षेत्रसँग सम्बिन्धित नै छन् । अझ यस क्षेत्रको समृद्धिमा इँटा थपौ भन्ने नै मेरा भावी योजना छन् । 


Views: 127

सम्बन्धित सामग्री:

नारीशक्तिकै कारण यो संसार चलेको छ

: फाल्गुन २४, २०७७ (९:५४ AM)