8th March | 2021 | Monday | 8:59:03 PM

अब ‘मेक इन नेपाल’मा पनि जोड दिनुपर्छ : संयोजक रवीन्द्र शाक्य

लेखनाथ पोखरेल   POSTED ON : मंसिर २८, २०७७ (९:५१ AM)

अब ‘मेक इन नेपाल’मा पनि जोड दिनुपर्छ : संयोजक रवीन्द्र शाक्य

काठमाडौं । नेपालको निर्यात व्यापार र रोजगारी सिर्जनामा महŒवपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकला कोरोनाका कारण समस्यामा परेको छ । विश्वव्यापी कोरोनाका कारण हस्तकलाको निर्यात प्रभावित भएकोले हस्तकला व्यवसायीमा निराशा छाएको छ । करिब ७ खर्ब लगानी र व्यवसायी र कामदार गरी ११ लाखभन्दा बढी व्यक्ति संलग्न रहेको हस्तकला व्यवसाय पर्यटन व्यवसाय जत्तिकै प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । 

यसै सन्दर्भमा ४८ औं वार्षिकोत्सव तथा नवौँ हस्तकला दिवसका संयोजक रवीन्द्र शाक्यसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानीः

४८औँ वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

हस्तकला व्यवसायीको छाता संगठन नेपाल हस्तकला महासंघ स्थापना भएको ४८ वर्ष भएको छ । स्वर्ण महोत्सवको पनि तयारी गर्नुपर्ने छ । महासंघले विगत ८ वर्षदेखि हस्तकला दिवस मनाउँदै आएको छ । यसवर्ष कोरोनाका कारण धेरै व्यवसायी निराश भएको अवस्था छ, व्यवसायीलाई जागरूक गराउनुपर्ने भएको छ । एक दिन हस्तकला दिवस दिवस मनायो, अनि चुप लागेर बसेर मात्रै हुँदैन भन्ने लागेर यसवर्षदेखि विविध कार्यक्रमका साथ वर्षैभरि दिवस मनाउन लागिएको हो ।

वार्षिक कार्यक्रमअन्तर्गत मुख्य कार्यक्रम चाहिँ के छन् ?

वाषिकोत्सवको अवसरमा तीनदिनसम्म मुख्य कार्यक्रम सञ्चालन हुनेछन् । मंसिर २८, २९ र ३० गते नेपाल हस्तकला महासंघकै हलमै कार्यक्रम हुनेछन् । नेपाली हस्तकला सयौं संख्यामा छन् तर ती सबै प्रयोगमा आएका छैनन् । विगत ५० वर्षको दौरान निर्यातमा अग्रणी ८२ वटा प्रोडक्टको पहिचान गरी हस्तकलाको प्रदर्शनी गर्दैैछौं । विभिन्न ३६ वटा विधामा ८२ वटा हस्तकलाको प्रदर्शनी हुनेछ ।

प्रदर्शनीको आवश्यकता किन महशुस गर्नुभयो ?

अहिले ग्लोबल मार्केटमा सबै उत्पादन अनलाइन सिस्टममा छ । त्यसमा हार्मोनाइज्ड कोड हुन्छ । हार्मोनाइज्ड कोड टाइप गर्दा ती प्रोडक्ट नआउने समस्या छ । कति सम्भव हुन्छ, सम्भव भएसम्म ८२ वटै प्रोडक्ट छनोट गर्नेछौं । भोलिका दिनमा एचएस कोडमा लैजान सकियो भने अनलाइन प्रणालीमार्फत काम गर्न सहज हुनेछ । यसले सरकारलाई रेभिन्यू जेनेरेटमा पनि सहयोग पुग्छ भने आधिकारिक तथ्यांक पनि आउँछ । यसैक्रममा हामी यसै वर्ष ह्याण्डिक्राफ्ट प्रोडक्ट अफ नेपाल नामक पुस्तक पनि तयार गर्दैछौं । पुस्तकमा उल्लिखित ह्याण्डिक्राफ्ट सम्वन्धि विस्तृत विवरण रहनेछ । त्यसैले यसका लागि एकदिनको कार्यक्रमले मात्रै हुँदैन । सबैलाई यसवारेमा जानकारी गराउनुपर्छ, सबैलाई जागरूक बनाउनुपर्छ ।

हस्तकला वर्ष घोषणाको अर्को महŒवपूर्ण पक्ष भनेको लिभिङ लिजेन्स अर्थात जिउँदो इतिहासको कन्सेप्ट पनि हो । हस्तकलामा लाग्ने हाम्रा कतिपय अग्रजहरू बितिसक्नुभयो, उहाँहरूले आफ्नो सीप ट्रान्सफर गर्न पाउनुभएन । आगामी दिनमा भने त्यस्ता आग्रजहरूको पहिचान गरी पुस्तान्तरणको प्रयास पनि हुनेछ ।

कोरोनाको बेला हस्तकलालाई अनलाइन मार्केटिङ गर्न सकिन्थ्यो नि ?

अनलाइन मार्केटिङलाई पनि हामीले प्राथमिकतामा राखेको छौं । कोराना मन्दीका कारण अहिले नै निर्यात बढ्ने सम्भावना छैन । त्यसैले अनलाइनमार्फत स्वदेशी बजारमा पनि बिक्री गर्न सकिन्छ भनेर अनलाइन मार्केटिङमा जोड दिएका हौं । अनलाइन मार्केटिङ त सुरु भइसकेको छ तर विस्तार हुनसकेको छैन, केही नीति अवरोध छन् । हुन त मौद्रिक नीतिले पनि केही कुरालाई सम्बोधन त गरेको छ तर कार्यान्वयनमा आउन सकेको छैन ।

वार्षिक कार्यक्रमले हस्तकलाको प्रवद्र्धन कत्तिको सहयोग पुग्ला ?

हाम्रो महासंघमा विभिन्न हस्तकला वस्तुका वस्तुगत संघहरू छन् । सातै प्रदेशमा जिल्ला संघहरू छन् । उनीहरूलाई पनि जागरूक गराउनुपर्ने आवश्यकता छ । किनभने ह्याण्डिक्राफ्ट भन्नेबित्तिकै काठमाडौं उपत्याकामा मात्रै छ भन्ने धेरैलाई लाग्ने गरेको छ । 

काठमाडौंबाहिर पनि विभिन्न किसिमका स्रोत साधनसम्पन्न हस्तकलाहरू छन् नि ।

दाङकै कुरा गर्ने हो भने त्यहाँ अल्लो हस्तकला छ, मिथिलाको आफ्नै मौलिक हस्तकला छ । त्यस्ता ओझेल रहेका हस्तकलालाई सहभागी गराउने कहिले त ? हस्तकला वर्ष घोषणापछि वर्षमा कम्तीमा पनि ती उत्पादनलाई प्रवद्र्धन गर्न सकिएला कि भन्ने लागेको छ ।

हस्तकलामा महिला सहभागिताको अवस्था कस्तो छ ?

हस्तकलाका कुटिर उद्योगहरूमा महिलाहरूको सहभागिता धेरै छ । तर, उनीहरू बाहिर आउन सकेका छैनन् । जहिले पनि पुरुष अगाडि आउने  यसवर्ष भने हस्तकला वर्षलाई केन्द्रित गरी महिलाहरूलाई पनि अगाडि ल्याउने, उनीहरूले बनाएका हस्तकलालाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । सरकारले पनि महिलालाई उच्च प्राथमिकतामा राखेको छ । त्यस्तै सरकारले मौद्रिक नीतिमार्फत ल्याएको कलेक्टिभ टे«डमार्कको विषयलाई जोडदार रूपमा उठाउने छौं । तर, कलेक्टिभ टे«डमार्कका बारेमा सरकारको नीति स्पष्ट नभएकोले प्रोडक्ट वेसमा जाने तयारी गरेका छौं । धातुकलाको सुरु नै भइसकेको छ, निर्देशिका लगभग तयार भइसकेको छ । अर्को कुरा, १५ देखि २५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारको नीति छ, यसअर्थमा सरकारी निकायहरू पनि हस्तकलाको ठूलो बजार हुनसक्छ । तर, यसमा पनि मूल्य अभिवृद्धि कर (भ्याट)को समस्या देखिएको छ । त्यसैगरी, हेरिटेज वाकको कार्यक्रम पनि रहेको छ । विभिन्न हस्तकला उत्पादन क्षेत्रको निरीक्षण गरी ती उत्पादनको प्रवद्र्धन गर्ने । त्यस्तै, प्याकेजिङ र लेवलिङमा जोड दिने । हस्तकलामा प्याकेजिङ र लेवलिङ नहुँदा अहिले हस्तकलामा सामानहरू अन्य कार्टुनमा राखेर निर्यात गर्नुपरिरहेको अवस्था छ । त्यसैगरी कपिराइटको समस्या पनि छ, नेपाली हस्तकलाको कपी गरेर भारत र चिनले आफ्नै उत्पादन भनेर निर्यात गरिरहेको अवस्था छ ।

वार्षिक कार्यक्रम काठमाडौंमा मात्रै कि बाहिर पनि हुन्छ ?

अधिकांश कार्यक्रम काठमाडौंबाहिर नै हुन्छ । किनभने हाम्रो सञ्जाल लगभग ७५ जिल्लामा पुगिसकेको छ । काठमाडौंबाहिर विभिन्न क्षेत्र र जात जातिमा रहेका हस्तकलाको काठमाडौंमा बसेर प्रवद्र्धन गर्न सकिँदैन । अर्को कुरा, हस्तकला महासंघले आजभन्दा ५ वर्र्षअघि हस्तकला नीतिको मस्यौदा बनाएर सरकारलाई बुझाएका थियो तर त्यो त्यत्तिकै थन्किएर बसेको छ । त्यसलाई समयसापेक्ष परिमार्जन गरेर कार्यान्वयनमा ल्याउन पनि सरकारलाई दबाब दिनुपर्नेछ । त्यस्तै, हस्तकलामा नयाँ पुस्ताको आकर्षण कम छ, पुस्तान्तरणमा पनि समस्या छ, मेड इन नेपालमा आकर्षण छैन, त्यसैले मेड इन नेपालसँगै मेक इन नेपाललाई पनि एकैसाथ अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

हस्तकलामा पुस्तान्तरण कति प्रतिशत छ ?

त्यस्तै, ३० प्रतिशत जति होला तर भूकम्पपछि भने नयाँ पुस्ता पनि हस्तकला क्षेत्रमा आएका छन् ।


Views: 720

सम्बन्धित सामग्री:

नारीशक्तिकै कारण यो संसार चलेको छ

: फाल्गुन २४, २०७७ (९:५४ AM)