वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अहिले १०१ वर्षको हुनुहुन्छ । तर, उहाँको जोश र शैली भने अझै तन्नेरी छ । यस्तै तन्नेरी जोश र शैलीमा उहाँ पुसको यो चिसो मौसममा निरन्तर दुई घण्टासम्म धाराप्रवाह प्रस्तुत हुनु भएको छ एक साहित्यिक संवाद कार्यक्रममा ।
एनआरएनएले साप्ताहिक रूपमा सञ्चालन गर्दैआएको ‘प्रवासी प्रवाह’ अनलाइन भर्चुअल कार्यक्रमको गत आइतबारको विशेष शृंखलामा शताब्दी पुरुष जोशी यसरी जोशिलो शैलीमा प्रस्तुत हुनु भएको हो । नयाँ वर्ष सन् २०२१ को पहिलो विशेष कार्यक्रम भनेर एनआरएनअन्तर्गतको ‘भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले’ सञ्चालन गर्दै आएको ‘प्रवासी प्रवाह’मा जोशीसँग उहाँको जीवन भोगाइ, साहित्य, संस्कृति र इतिहासका विविध विषयमा प्रत्यक्ष संवाद गरिएको थियो ।
तन्नेरी वय र जोशका साथ वरिष्ठ संस्कृतिविद् एवं जीवित सम्पदा जोशीले प्रस्तोताका हरेक जिज्ञासाको घटना विवरण, तिथिमितिसहित जवाफ दिनु भएको थियो ।
नेपालीले नोबेल पुरस्कार पाएको हेर्न बाँकी छ
कार्यक्रम सञ्चालन समूहको तर्फबाट पत्रकार गौतम दाहालले उहाँसँग विविध विषयमा जिज्ञासा राख्नुभएको थियो । समितिका मिडिया कोर्डिनेटरसमेत रहेका दाहालले वाङमय शताब्दी पुरुष जोशीलाई जीवनमा अझै केही गर्न पाए हुन्थ्यो अर्थात् केही सोच र योजना छन् कि भनेर प्रश्न गरेका थिए । जवाफमा जोशीले आफूसँग अब कुनै पदवी, पद प्राप्ति र अन्य लोभ एवं मोह केही बाँकी नरहेको तर आफू नेपालको पुत्र हुँ भन्न पाउँदा नै गर्व रहेको भन्दै आफू जस्तै कुनै नेपाली वा जहाँसुकै बसेको भए पनि नेपाली मूलको सन्तानले नेपाली माटो र संस्कृतिको वासना आउने साहित्यिक कृति सिर्जना गरेको र त्यस्तो कृतिले नोबेल पुरस्कार पाएको देख्ने चाहना बाँकी रहेको बताउनुभयो ।
तीनपटक नेपालको सम्मानित मदन पुरस्कार पाइसक्नु भएका जोशीले पहिलो मदन पुरस्कार पाउने साहित्यकारको समेत परिचय बनाउनु भएको छ । तीन छोरा, तीन छोरी, १२ नाति र ७ पनातिका अभिभावक जोशी आफ्नी धर्मपत्नीसँग ललितपुरको बखम्बूबहालमा बस्नुहुन्छ । उहाँले नेपाली लोकगीत एक अध्ययन (हाम्रो लोक संस्कृति) कृतिका लागि २०१३ सालमा पहिलो मदन पुरस्कार प्राप्त गर्नुभएको थियो भने नेपाली राष्ट्रिय मुद्राबारेको अनुसन्धानात्मक कृतिका लागि २०१७ सालमा दोस्रोपटक र तेस्रोपटक कर्णालीको लोक संस्कृति र अन्य संयुक्त कृतिका लागि मदन पुरस्कार पाउनु भएको छ ।
उहाँका इतिहास, संस्कृति, अन्वेषण, नाटक, कथा र पूर्वीय दर्शनका विविध विषयमा ६० वटा कृति प्रकाशित छन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहनुभएका जोशीले नै आफ्नो कार्यकालमा गाईजात्रा महोत्सवको सुरुवात गर्नु भएको थियो ।
जुरेली चरी र नेपाली भाषाको अनुसन्धानमा जोशी
जोशीका हरेक वार्तालाप र कुराकानीमा जोडिने प्रसंगमध्ये जुरेली चरीको प्रसंग पनि एक हो । ‘के खायो रेलीमाई के लायो होला, मेरो माया रेलीमाई जुरेली चरीले’ ग्रामीण दूरदराजका बस्तीमा गुन्जने यी र यस्तै लोक भाकाहरूलाई टपक्क टिपेर जोशीले कृति नै तयार गर्नु भयो जसले उहाँलाई मदन पुरस्कार दिलायो ।
उहाँले नेपाली भाषा सभ्यताको अनुसन्धान गर्न यसको उद्गमथलो कर्णालीको जुम्लास्थित सिन्जा पुगेर अध्ययन गर्नुभयो । ‘त्यो बेला ज्यादै दुःख पाएँ’ कुराकानीका क्रममा जोशीले त्यो बेलाको स्मरण गर्दै भन्नुभयो । ‘गयो डोटी, खायो रोटी, फर्कंदाखेरी धोती न टोपी’ होला भनेर आफूहरूलाई तत्कालीन अञ्चालाधीशले सिन्जा जान नदिने प्रयास गरेको उहाँको भनाइ थियो । ‘तैपनि हामी पुग्यौं र जे गर्न सक्यौं त्यसमा सन्तुष्ट छु’ जोशीले आफ्नो अनुसन्धानप्रति गौरव गर्दै भन्नुभयो ।
चिन्तन गर्छु, चिन्ता गर्दिनँ
तपाइँको दीर्घ जीवनको रहस्य के होला भनी सोधेको प्रश्नमा जोशीले जीवन जिउने हरेक व्यक्तिको शैली फरक हुन्छ भन्दै आफूले लोभ, मोह र चिन्ता कहिल्यै नगर्ने बरु जीवन जिउने चिन्तन गर्ने गरेको बताउनु भयो । ‘म अंग्रेजी कवि जोन किट्स र जुरेली चरीबाट प्रभावित व्यक्ति हुँ, त्यसैले म चिन्ता गर्दिनँ’ जोशीको भनाइ थियो ।
सामान्य जीवनशैली, अचम्मको सक्रिय जीवन
१०१ वर्षको उमेरको तपाइँ, हामी परिकल्पना गरौं त ? के आफ्नो जीवनका हरेक क्षण र घटनाहरूको तिथिमिति र त्यस घटनासँग जोडिएका पात्रहरूको नाम सबै हामी स्मरण गर्न सक्छौं होला ? प्रविधिले हाम्रो आफ्नो स्मरण शक्तिलाई नै सीमित बनाई दिएको यो पुस्ताका लागि सत्यमोहन जोशी एउटा यस्तो गर्विलो र उचो व्यक्तित्व हुनुहुन्छ जसले आज ती सबै घटनाका तिथिमिति र पात्रहरूको नाम फरर सम्झनु हुन्छ । बोली स्पष्ट छ, आँखा तेजिला छन्, कान प्रष्ट सुन्नुहुन्छ अनि जोश उत्तिकै तन्नेरी । सहज रूपमा विश्वास गर्न समेत गाह्रो हुन्छ । ‘
हामीलाई कसरी संवादलाई ऐतिहासिक र सहज बनाउने अनि कसरी कुरा गर्ने ? बोल्न पो उहाँलाई कठिन हुने हो कि ? सुन्न पो उहाँलाई समस्या हुने हो कि भन्ने चिन्ता थियो तर हाम्रो चिन्ता हामीसँगै रहृयो उहाँले हामीलाई नै जित्नु भयो, कुनै त्यस्तो असहज महसुस गर्नुपरेन’ कार्यक्रम सञ्चालन गरेका पत्रकार गौतम दाहालले भने । आफ्ना लागिसमेत जोशीसँगको यो वार्तालाप ऐतिहासिक भएको दाहालको भनाइ छ ।
जोशी बिहान करिब साँढे पाँच बजेतिर उठिसक्नु हुन्छ । नित्यकर्म, आमाबुवाको प्रतिमामा प्रणाम र गाईको एक कप तातो दूधसँगै उहाँको दैनिकी सुरु हुन्छ । नियमित खानपिन भनेको सामान्य दालभात, तरकारी नै हो । दिउँसो भेटघाट, अध्ययनमै बित्छ । विगत केही वर्ष पहिलेसम्म उहाँ प्रायः हरेक साहित्यिक कार्यक्रममा पुग्नु हुन्थ्यो । छरितो कदका जोशीको जोश चाहिँ गज्जबको छ ।
आमाको दूध धेरै चुसेँ, त्यसैले होला मलाई कुनै रोग छैन
जोशीले कुराकानीका क्रममा सानोमा आफूले स्तनपान धेरै गरेको आमाले बताउनु भएको स्मरण गर्दै भन्नुभयो, ‘शायद त्यसैले होला अहिलेसम्म कुनै रोग पनि छैन, औषधि खानु परेको छैन ।’ आफ्ना सन्तानलाई स्तनपान गराउन आनाकानी गर्ने आमालाई जोशीको यो भनाइले पक्कै सोच्न बाध्य गराउला ।
अरनिको पहिलो एनआरएन
१३औं शताब्दीमा नेपाली कलाकार अरनिको चीन गएका थिए र उनले त्यहाँ नेपाल र आफ्नोसमेत पहिचानलाई उचो बनाए । विक्रम संवत २०१६ सालमा चीन पुगेका जोशीले त्यहाँ अरनिकोले गरेको योगदानका बारे अध्ययन गरे । त्यही प्रसंगको कुराकानीका क्रममा जोशीले अरनिकोलाई पहिलो गैरआवासीय नेपाली मान्न सकिने आधार रहेको बताउनुभयो । जोशी न्युजिल्याण्ड पुग्ने सम्भवतः पहिलो नेपाली समेत हुनुहुन्छ । सर एडमन्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको सन् १९५३ को मे २९ तारिख हो जुनबेला जोशी एक सरकारी कर्मचारीको रूपमा तालिममा सहभागी हुन न्युजिल्याण्ड पुग्नु भएको थियो ।
अनि भाषाको कुरो
दुई घण्टा लामो कुराकानीमा विना कुनै थकान निरन्तर हरेक प्रश्नको जवाफ दिँदै गर्दा जोशीले पटकपटक भाषा र संस्कृति नै हाम्रो पहिचानको आधार रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनमा जुट्न आग्रह गर्नु भएको थियो । ‘विश्वलाई हामीले केही दिन सकेका छैनौं, विश्व साहित्य जगतबाट हामीले लिएका मात्रै छौँ अब हामीले दिनुपर्छ । कलमको भरले देशको महिमा र गरिमालाई हामी उचाल्न सक्छौं, स्तरीय साहित्य सिर्जना, विभिन्न भाषामा अनुवाद र अंग्रेजी लेखनमा हामीले जोड दिनुपर्छ’ अंग्रेजी र नेपाली दुवै भाषामा पोख्त नेपाल भाषाका विशेष ज्ञाता जोशीले अगाडि भन्नुभयो, ‘हाम्रो भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने चासो र लगानी दुवै भएको छैन । हाम्रो पहिचान र सबै नेपालीलाई समेट्ने आधार भाषा र साहित्य नै हो । त्यसैले अब नोबेल पुरस्कार जित्नेगरी नेपाली एवं नेपाली मूलका लेखक र सर्जकहरूले त्यही स्तरको साहित्य सिर्जना गर्नुपर्छ ।’
आइतबारको प्रवासी प्रवाहको यो विशेष शृंखलामा एनआरएनका अध्यक्ष कुमार पन्त र संस्थापकमध्येका एक पूर्वअध्यक्ष जीवा लामिछानेले जोशीको सम्मानमा कार्यक्रमको आरम्भमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भाषा साहित्य, संस्कृति एवं सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष एवं एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले आफूहरूको आग्रहलाई सहजरूपमा स्वीकार गरी कार्यक्रममा सहभागी भइदिनु भएको भन्दै शताब्दी पुरुष जोशीप्रति आभारसहित धन्यवाद व्यक्त गर्नुभएको थियो । ‘प्रवासी प्रवाह’ की सञ्चालिका एवं समितिकी सदस्यसचिव भगवती बस्नेतले कार्यक्रमको सुरुवात गर्नुभएको थियो । (शताब्दी पुरुष सत्यमोहन जोशीसँग अमेरिकाबाट गौतम दाहालले गर्नु भएको भर्चुअल कुराकारी ।)
Views: 139