बैंकले सहजरुपमा सहुलियत कर्जा नदिएको अवस्था छ

  POSTED ON : फाल्गुन २२, २०७७ (१०:०८ AM)

बैंकले सहजरुपमा सहुलियत कर्जा नदिएको अवस्था छ

पुरुषको दबदबा रहेको नेपाली समाजमा अझै पनि धेरैजसो महिला घरबाट निस्कन सकेका छैनन् । घरबाट निस्कन उनीहरूले परिवारमा ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । संघर्ष गरेर निस्किहाले पनि उनीहरूले सहजरुपमा आफ्नो रुचिअनुसारको पेशा व्यवसाय गर्न सक्ने अवस्था छैन । पेशा व्यवसाय संचालनका क्रममा पनि परिवार र समाजबाट विभिन्न अवरोधको सामना गर्नुपर्ने अवस्था छ । सम्पत्तिमा महिला स्वामित्व नहुँदा नेपालका धितोमुखी बैंक तथा वित्तीय संस्थाबाट उनीहरूले पेशा व्यवसायका लागि सहजरुपमा ऋणसमेत पाउन नसकेको अवस्था छ ।

यति हुँदा हुँदै पनि पछिल्लो समय महिला उद्यमशीलताको क्रम भने बढेको छ । अन्य क्षेत्र जस्तै नेपाली हस्तकलामा पनि महिलाहरू प्रतिस्पर्धी बनेर अगाडि आउन थालेका छन् । अन्य महिला उद्यमी जस्तै विभिन्न समस्या र चुनौती सामाना गर्दै आउनुभएकी हस्तकला उद्यमी सविता सिंह महर्जन नेपाल हस्तकला महासंघको कार्यसमिति सदस्यका साथै सविता कपडा उद्योगकी संचालिका हुनुहुन्छ । महिला हस्तकला मेला संयोजकसमेत रहनुभएकी महर्जनसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी :

महिला हस्तकला मेलाका बारेमा बताइदिनुस् न ?

नेपाल हस्तकला महासंघले हरेक वर्ष महिला उद्यमी हस्तकलामा मेला आयोजना गर्दैै आएको छ तर गतवर्ष भने कोरोनाका कारण मेला आयोजना हुन सकेन । कोरोनाबाट व्यवसायमा परेको असरका कारण महिला उद्यमीहरूले बैंकको ऋणसमेत तिर्न नसकेको अवस्थामा स्कटमा रहेको सामानलाई बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । मेलाले थोरै भएपछि महिला उद्यमीलाई राहत मिल्ने हामीले अपेक्षा गरेका छौं ।

विगत वर्षहरूमा मेला कुन ठाउँमा आयोजना गर्नुहुन्थ्यो ?

विगत वर्षहरूमा काठमाडौंको त्रिदेवी मन्दिर र वसन्तपुरमा आयोजना हुने गरेकोमा यसवर्ष हामीले ललितपुर महानगरपालिका परिसरमा आयोजना गरेका छौं । महासंघले पहिलोपटक ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेला आयोजना गरेको छ ।

मेलामा के कस्ता हस्तकला सामग्री राख्नुहुन्छ ?

सकेसम्म सबै हस्तकला सामाग्री नै समेट्ने हाम्रो उद्देश्य रहेको छ तर पनि कतिपय महिला दिदी बहिनीले हस्तकलाबाहेकका सामाग्री पनि बनाएको हुनसक्छ ।

हस्तकला व्यवसायमा महिला सहभागिता कस्तो छ ?

विगतमा त खासै महिलाको सहभागिता थिएन तर विगत २ दशकयता धेरै महिला यो क्षेत्रमा लाग्नुभएको छ । म पनि यो क्षेत्रमा लागेको झण्डै २ दशक भइसकेको छ । यो क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा रहेको छ । त्यसैले महिला उद्यमी धेरै भएकोले मेलामा सबै महिला दिदीवहिनीलाई स्टल दिन सकिएको छैन । 

हरेक वर्ष स्टल संख्या बढाउने गर्नुभएको छैन ?

वसन्तपुरमा मेला आयोजना गर्दा ६०, ७० वटा स्टल थिए तर अहिलेको मेलास्थल सानो भएकोले ४५,४६ वटा स्टल मात्रै रहनेछन् । स्थानअनुसार स्टल संख्या घटवढ हुने गरेको छ ।

महिला उद्यमीले कस्ता खालका हस्तकला बनाउनुहुन्छ ?

सबै प्रकारका हस्तकला बनाउनुहुन्छ । साना साना पोतेको मालादेखि काष्ठकला, मूर्तिकलासमेत बनाउन सक्नुहुन्छ र बनाउनु पनि भएको छ ।

यस्ता मेलाबाट कत्तिको उपलव्धि प्राप्त हुने गरेको छ ?

मेला प्रदर्शनीबाट धेरै राम्रो भएको छ । यस्ता मेलाहरू वर्षमा एकपटकमात्र नभइ हरेक ३ महिना, ६ महिनामा हुनुपर्छ भन्ने लाग्छ । किनभने तुलनात्मकरुपमा महिला उद्यमीलाई बजारीकरणको समस्या छ, चुनौतीहरू धेरै छन् । त्यसो त महिलालाई हरेक क्षेत्रमा समस्या र चुनौती छ । विगतमा हामी सानो स्टलमा सीमित हुने गरेकोमा अहिले महिला उद्यमीहरू अन्तराष्टियस्तरमा निर्यात गर्ने अवस्थासम्म पुग्नुभएको छ । मेलाकै कारण यस्तो भएको हो । मेलाबाट खरिद बिक्रीमात्र नभई बजार प्रवद्र्धनमासमेत सघाउ पुग्छ । अहिले कतिपय महिलाहरू टप स्पोर्टरसमेत बन्न सफल हुनुभएको छ । फेस्टजन्य सामाग्रीमा महिलाहरू अग्रणी स्थानमा हुनुहुन्छ ।

हस्तकलाका महिला उद्यमी काठमाडौमामात्रै हो कि ?

काठमाडौंबाहिर पनि धेरै महिला उद्यमी हुनुहुन्छ । केही दिनअघि हामीले प्रदेश २ मा पनि यस्तै कार्यक्रम आयोजना गरेका थियौंं, त्यहाँ मिथिला आर्टले निकै लोकप्रियता कमाएको छ । पछिल्लो समय नेपाल हस्तकला महासंघले केन्द्रमा मात्रै नभइ सातवटै प्रदेशमा हस्तकलाको प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्दै आएको छ । 

महिला उद्यमीमा पुस्तान्तरणको अवस्था चाहिँ कस्तो छ ?

पुस्तान्तरणमा चाहिँ समस्या छ, आजभोलिका नयाँ पुस्ता स्वदेशमै व्यवसाय गर्नेभन्दा बाहिरै जाने प्रवृत्ति देखिएको छ । उनीहरूले यसमा इन्ट्रेष्ट नै नदिने अवस्था छ, त्यसैले पछि गएर यो हस्तकला नै लोप हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । अहिले हामीले सामान निर्यात गर्नुपर्नेमा मानिस पो निर्यात गरिरहेका छौं कि जस्तो लाग्छ । मेरै छोरी पनि बाहिरै छन् । त्यसैले आफ्ना वच्चाहरूलाई स्वदेशमै रोक्नेतर्पm लाग्नुपर्ने आवश्यकता पनि देखिएको छ । स्वदेशमै धेरै अवसर छन् भनेर देखाउन र बुझाउन सकियो भने पुस्तान्तरणको क्रम बढ्दै जानसक्छ । 

हस्तकला तालिममा चाहिँ महिला सहभागिता कस्तो छ ?

हस्तकलामा तालिमहरूमा पनि महिला सहभागिता राम्रै देखिएको छ । तर तालिमलाई निरन्तरता दिने प्रवृत्तिमा भने कमी देखिएको छ । पहिलो चरणको तालिमले मात्रै हस्तकला उद्यमी बन्न सकिँदैन । त्यसैले हस्तकलामा इन्ट्रेष्ट र हस्तकला व्यवसायलाई निरन्तरता दिन चाहने महिला मात्रै छनौट गरेर तालिम दिन सकियो भने तालिम लिने र दिनेले दुबैलाई फाइदा हुनसक्छ ।

हस्तकला व्यवसायी महिलाका समस्या र चुनौती के छन् ?

हस्तकलामा मात्र नभई हरेक व्यवसाय गर्न चाहने महिलाले विभिन्न समस्या र चुनौतीको सामना गरिरहेको अवस्था छ । सबैभन्दा पहिले त घरबाटै निस्कन संघर्ष गर्नुपर्छ । घरबाट निस्केर केही व्यवसाय चाहने महिलालाई पूँजीको पनि अभाव छ । किनभने कर्जा लिन उनीहरूसँग बैंक धितोका लागि अचल सम्पत्ति नै हुँदैन । खासगरी मध्यवर्गिय र निम्नवर्गिय महिलालाई पूँजीको अभाव छ । त्यसो त अहिले महिला उद्यमशिलताका लागि सरकारले नयाँ नीति ल्याएको छ तर त्यो पनि सहज देखिएको छैन । सरकारको नीतिअनुसार बैंकहरूले साढे ४ प्रतिशतमा ऋण दिने व्यवस्था छ, तर सहजरुपमा लिन सक्ने अवस्था छैन । म आफंैले पनि अनुभव गरेको छु कि बैंकले सुरुमा ऋणका लागि केही चाहिँदैन, प्यान, भ्याटको कागजपत्रमात्रै भए हुन्छ भन्छ तर पछि स्टक, फिल्ड भिजिट, अडिट रिर्पोटदेखि अनेकौ कागजपत्र माग्दै जाने, अचल सम्पत्ति धितो माग्ने र उद्यमीलाई मानसिकरुपमै निरुत्साहित गर्ने अवस्था छ । यस अर्थमा सरकारले महिला दिदीबहिनीहरूलाई हात बाँधेर काम गर भनेको हो कि जस्तो पनि लाग्छ ।

महासंघले घोषणा गरेको हस्तकला वर्ष के हुँदैछ ?

महासंघले घोषित कार्यक्रमअनुसार नै गतिविधि संचालन गर्दै आएको छ । यसवर्ष हामीले ४२ विधामा ८० वटा प्रोडक्ट समेट्न सफल भएका छौं । सोही क्रममा हामीले प्रदेश २ मा हस्तकला मेला आयोजना गरेका थियौँ भने अहिले प्रदेश ३ मा मेला आयोजना हुँदैछ । मूल मेला भने आगामी वैशाख ९ देखि १३ गतेसम्म काठमाडौंको भृकटीमण्डपमा हुँदैछ । त्यस्तै हस्तकला वर्षकै कार्यक्रमअन्तर्गत हस्तकला फेसन शो पनि आयोजना हुँदैछ ।

कतिपय नेपाली हस्तकलाजस्तै अन्य मुलुकले मेसिनबाटै बनाएर निर्यात गर्न थालेका छन्, यसले नेपाली हस्तकला निर्यातमा चुनौती पनि बढेको छ । स्वदेशी बजारमै खपत बढाउन के गर्नुभएको छ ?

कोरोनाका कारणका हस्तकलाको विदेशी बजार खस्किएको छ । कतिपय अर्डर दिएको सामान पनि रोकिएको छ, अर्डर क्यान्सिल भएको छ । त्यसैले विदेशी बजार खस्किएको अवस्थामा स्वदेशी बजारमा यसको खपत बढाउन पनि मेला आयोजना गरिएको हो ।

सरकारले आत्मनिर्भरोन्मुख अर्थतन्त्रको कुरा गरिरहेको छ, सोही कारण केही महँगो भए पनि स्वदेशी सामान नै प्रयोग गर्ने नीतिगत व्यवस्थासमेत गरेको छ, कार्यान्वयन अवस्था चाहिँ कस्तो छ ?

कार्यान्वयन भएको छैन । सरकारले नीति बनाउछ तर कार्यान्वयन गर्दैन । कमसेकम सबै सरकारी निकायले एउटामात्रै स्वदेशी उत्पादन प्रयोग गर्दा पनि स्वदेशी उत्पादनको खपत बढ्छ, उद्यमीलाई उत्साह मिल्छ तर सरकारी निकायले स्वदेशी उत्पादन प्रयोग गर्नु त कहाँ हो कहाँ आयातित चिनियाँ सामान राख्ने गरेको पाइएको छ । टि म्याट, पर्दालगायतका सामानमात्रै प्रयोग गरिएपनि महिला उद्यमीले धेरै राहत हुने थियो । त्यसो त मायाको चिनोका रुपमा हस्तकला सामाग्री दिने प्रचलन भने सुरु भएको छ । यो सकारात्मक सुरुवात हो । 


Top