18th May | 2021 | Tuesday | 7:28:04 AM

नारीशक्तिकै कारण यो संसार चलेको छ

  POSTED ON : फाल्गुन २४, २०७७ (९:५४ AM)

नारीशक्तिकै कारण यो संसार चलेको छ

तत्कालीन ग्रीनलेज बैंक, हालको स्टयाण्डर्ड चाटर्ड बैंकबाट आजभन्दा ३० वर्षअघि बैंिकङ क्षेत्रमा प्रवेश गर्नुभएकी अनुपमा खुन्जेली नेपाली बैकिङ इतिहासमै पहिलो प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्छ । खुन्जेली ग्रीनलेज बैंक, नविल बैंक हुँदै मेगा बैंकको नेतृत्व तहमा सजिलै पुग्नुभएको भने होइन, मिहिनेत, लगनशिलता, इमान्दारी र धैर्यताले नै उहाँलाई सफलताको सिडी चढाएको हो । उहाँको यो सफलता अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । असिस्टेन्ट, म्यानेजर, सिनिएर म्यानेजर हुँदै हालको अवस्थामा पुग्नुभएकी खुन्जेलीसँग १११ औ अन्तर्राष्टिय नारी दिवसको अवसरमा महिला सशक्तीकरणलगायतका विषयमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानीः

महिला सशक्तीकरणको बहस चल्ने गरेको छ, महिला सशक्तीकरण कत्तिको सहज देख्नुहुन्छ ?

विश्वकै कुरा गर्ने हो भने महिला र पुरुष ग्याप हटाउन १०८ वर्ष लाग्छ भनिन्छ । हाम्रो देश अन्डर डेभलपमेन्ट भएकोले अझै बढी समय लाग्नु स्वाभाविक हो । महिला दिदीबहिनीलाई साँच्चिकै डिसिजन मेकिङ तहसम्म ल्याउन अलिकति समय लाग्ने नै भयो । तर, मैले बैकिङ क्षेत्रमा नोकरी सुरु गरेको ३० वर्ष भयो । ३० वर्षअघि बैकिङ क्षेत्रमा जुन महिलाको पहुँच थियो । त्यो बेला र अहिले आकास जमिनको फरक भइसकेको छ । त्यसैले यो सही दिशामा अगडि बढिरहेको छ र यसलाई निरन्तरता दिनुपर्छ । हामी आधा आकाश ढाक्ने महिला भन्छौ । महिलाहरूको प्रगतिविना देशको प्रगति सोच्नु सपना जस्तै हुन्छ । त्यसैले हामीले मिहिनेत गर्न अझै बाँकी छ । महिला र पुरुषबीचको ग्यापलाई घटाउँदै लैजानुपर्नेछ । यसका लागि सबैले आ–आफ्नोतर्फबाट भूमिका खेल्नुपर्ने आवश्यकता छ, थोपा थोपा मिलेर समुन्द्र बनेजस्तै योगदान गर्नुपर्छ ।

नेपालको बैंकिङ इतिहासमै तपाईं नै पहिलो सिइओ हुनुहुन्छ । यहाँसम्म आइपुग्न कत्तिको संघर्ष गर्नुपर्ने रहेछ ?

सबैभन्दा पहिले बैकिङ क्षेत्रमा टाइम बढी दिनुपर्ने हुन्छ । आफ्नो गृहस्थ जीवनमा जति टाइम दिनुपर्ने हो, त्योभन्दा बढी टाइम आफ्नो संस्थाको विकासका लागि दिनुपर्ने हुन्छ । मेगा वैंक मेरो तेस्रो संस्था हो, मैले सुरुवातदेखि सिकेकै यस्तै हो । बिदा पनि भन्न पाइँदैनथ्यो, लामो समय पनि भन्न पाइँदैनथ्यो । आज सिइओको पोजिसनमा पुग्नुमा त्यही कडा मिहिनेत र परिश्रमको फल नै हो भन्ने लाग्छ । अहिले हेर्न हो भने मेगा बैंकमै पनि सिनियर म्यानेजमेन्टमा १० जना हुनुहुन्छ, जसमा ५० प्रतिशत महिला नै हुनुहुन्छ । तल्लो तहमा महिला सहभागिता बढ्नु भनेको एउटा पक्ष भयो तर मिड म्यानेजमेन्ट र सिनियर मेनेजमेन्टमा पनि महिला संख्या बढ्दा साह्ै खुशी लाग्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले अझै पनि सिइओमा नपत्याउनुको कारण चाहिँ के हो ?

राष्ट्र बैंकको नियमका कारण बोर्डमा एकजना महिलाको सहभगिता हुने गरेको छ । अब क्रमिकरूपमा परिवर्तन हुँदै जान्छ, एकैपटक परिवर्तन गर्न गाहे छ । तीनवर्ष अघि मलाई महिला सिइओमा ल्याउँदा एकदमै खुशी लागेको थियो । खुशीसँगै चुनौती पनि सँगै बोकेर ल्याएजस्तो लागेको थियो । आफूमाथि ठूलो जिम्मेवारी आइपरे जस्तो लागेको थियो । तीन अगाडि फर्केर हेर्दा जसरी मेगा बैकले फड्को मारेको छ, त्यो हेर्दा अरू वैंकको वोर्डमा पनि महिलालाई सिइओ बनाउन कन्जुस्याइँ हुँदैन कि जस्तो लागेको छ । 

तपाईले सिइओ जिम्मेवारीमा आएसँगै कोरोना समस्या आइलाग्यो, कोरोनाकै कारण अपेक्षाअनुसार बैंकलाई माथि उठाउन सकिएन भन्ने लाग्दैन ?

कोरोनाले पनि धेरै कुरा सिकायो, एक किसिमले कोरानालाई अवसरका रुपमा पनि लिन सकिन्छ । हामी डिजिटलाइजेसन, डिजिटलाइजेसन भन्थ्यौं, घरमै बसीबसी पनि बैंक चलाउन सकिने रहेछ । डकुमेन्ट म्यानेजमेन्ट सिष्टम, डिजिटल सिग्नेचरको प्रयोग गर्न कोरोनाले सिकायो । सोही प्रविधियुक्त सीपका कारण स्टाफ मेम्वर्सका लागि वर्क फ्रम होमको कल्चर सुरु भयो । हाम्रा भ्यालुज कस्टमर्सका लागि बैंक फ्रम होम पनि सुरु गर्न सकिन्छ कि ? घरमै बसीबसी सबै बैकिङ सुविधाहरू मोवाइल, कम्प्युटरबाटै गर्न सकियो भने धेरै राम्रो हुन्छ, राष्ट्र बैंकले पनि क्यासलेस सोसाइटीमा जाने भनिरहेको छ । त्यसैले कोरानाले बैकिङ क्षेत्रको आँखा खुलाएको छ ।

महिलाले नेतृत्व गरेको मेगा बैंक अन्य बैकभन्दा के कुरामा फरक छ ?

मचाहिँ के भन्छु भने बैकिङ क्षेत्रमा हेर्ने भनेको नम्बर नै हो । कमर्शियल बैंकमा कम्पाउन्डेड एभरेज ग्रोथ रेट भन्ने हुन्छ । विगतमा पाँच वर्षयता मेगा बैकको मार्केटको एजरेज ग्रोथ रेट दोब्बर पुगेको छ । डिपोजिट ग्रोथ, ल्याण्डिङ ग्रोथ र प्रफिट रेट डवलमा पुगेको छ । हाम्रो बैंक २४, २५ औैं पोजिसनबाट डिपोजिटमा १४ औं पोजिसन, ल्याण्डिङमा १० औं पोजिसन र प्रफिटमा ११ औं पोजिसनमा आइपुगेको छ । हामीले फर्केर हेर्ने भनेको त यही नै हो । यहाँ सिइओमात्रै नभई डिसिओ पनि महिला नै हुनुहुन्छ, ग्लोवल मार्केटको हेड पनि महिला नै हुनुहुन्छ । चिफ लाइभलिटी अफिर पनि महिला नै हुनुहुन्छ । अन्तराष्टियस्तरमा अध्ययनले १०, १५ प्रतिशत महिलाले नेतृत्व लिएका संस्थाले अरुभन्दा वेटर रिजल्ट दिनसक्ने देखाएको छ, हाम्रो सन्दर्भमा पनि त्यही नै भइरहेको जस्तो लाग्छ । 

महिला सशक्तीकरणका लागि उनीहरूमा आर्थिक पहुँच हुनुपर्छ भनिन्छ तर महिलाहरू आर्थिक पहुँचमा धेरै पछाडि छन्, बैंकले पनि पत्याउँदैन, ऋण लिन बैंकले अचल सम्पत्ति धितो खोज्न भन्ने गुनासो सुनिन्छ नि ?

हाम्रो देशका ५०.४ प्रतिशत महिला छन् । सेभिङ एकाउन्टमा रकम जम्मा गर्नेमा ४८ प्रतिशत पुरुष र ३१ प्रतिशत महिला नै हुनुहुन्छ । हाम्रो मेगा बैंककै कुरा गर्ने हो भने ४४ प्रतिशत ग्राहक महिला हुनुहुन्छ । हाल मेगा बैंकका करिब १२ लाख ग्राहकमध्ये ४४ प्रतिशत महिला हुनुहुन्छ । कर्मचारीमा पनि पहिले ६० प्रतिशतबाट सुरु गरेका थियौं । अहिले मर्जरपछि ४४ प्रतिशत महिला नै हुनुहुन्छ । ४४ प्रतिशत महिलालाई हामीले सेवा दिइरहेका छांै भने महिलाको पहुँच नभएको भन्न मिल्दैन । राष्ट बैंकले महिलाहरूलाई १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा विनाधितो दिने नीति ल्याएको छ । महिलाहरूको पनि बैंकिङ क्षेत्रमा पहुँच बढोस् भनेर नै यस्तो नीतिगत व्यवस्था गरिएको हो । हाम्रो काठमाडौको मैतीदेवीमा महिला ब्रान्च छ, त्यसको संचालन गर्ने सबै महिला मात्रै हुनुहुन्छ, जसले सफा टेम्पो चलाउने महिलालाई कर्जा दिएको छ, धेरै राम्रोसँग चलिरहेको छ । क्रमिकरूपमा बैकिङ क्षेत्रमा महिलाको पहुँच बढ्दोक्रममा रहेको छ । युवाहरू विदेशिएका छन्, उनीहरूले यहाँ रेमिट्यान्स पठाउने त महिलालाई नै हो । सोही कारण पनि बैंकमा महिलाहरूले खाता खोल्ने क्रम बढेर गएजस्तो लाग्छ । सहुलियतपूर्ण कर्जाका कारण महिला खाता बढाएको छ । हामी गाउँपालिकामा पनि गएका छौं । १८ वटा गाउँपालिकामा हामीले नै शाखा स्थापना गरेका छौं, त्यहाँ पनि नयाँ महिला दिदीबहिनी खाता खोल्नुहुन्छ । हामीले वित्तीय साक्षरताका कार्यक्रम पनि संचालन गर्दै आएका छौं । त्यस्तै, महिला उद्यमी संस्थासँग पनि हामीले सहकार्य गरेका छौं । आगामी दिनमा धेरै महिला उद्यमी र धेरै महिलो सिइओ जन्मिएको देख्ने चाहना छ ।

महिलाले पाउने सहुलियतपूर्ण कर्जा पनि पुरुषले नै उपयोग गर्ने गरेको गुनासो छ नि ?

त्यो हो, पारिवारिक मनस्थितिमा पनि परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिएको छ । मेरी श्रीमतीले उद्यमशील बनेर घरको अर्निङ मेम्बर बन्छिन्, मेरी बुहारी अर्निङ मेम्बर बन्छिन्, छोरी पनि अर्निङ मेम्बर बन्नसक्छ भन्ने हरेक घरपरिवार र समाजमा सोच जागृत हुुनुपर्छ । अहिले कोरोना भ्याक्सिन वडा–वडाले धेरै राम्रो व्यवस्थापन गरेका छन् । त्यसैगरी महिला सशक्तीकरणका लागि पनि हरेक छात्रालाइ पढाउने व्यवस्था मिलाउन सकेमा भविष्यमा धेरै ठूलो परिवर्तन आउनसक्छ । मेगा बैंकले पनि महिला शिक्षामा लगानी गर्दै आएको छ । हरेक शाखाबाट २ जना छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । आज एउटा संस्थाले २०६ वटा शाखाबाट २–२ जना छात्रालाई सहयोग गरेको छ भने आगामी दिनमा अझै बढ्न पनि सक्छ । अरु संस्थाले पनि यसको अनुशरण गर्न सक्छन् । महिला सशक्तीकरणका लागि एजुकेशन अपरिहार्य छ । 

बैंक तथा वित्तीय संस्थाका प्रमोटरमा पनि पुरुषकै बाहुल्यता रहेका कारण वित्तीय क्षेत्रमा महिला पछाडि परेका हुन् कि ?

त्यसो त हामी पैतृक सम्पत्ति पनि छोराकै नाममा दिन्छौं, अचल धितो पनि पुरुषसँगै हुन्छ । कमाएको सम्पत्तिमा पनि पुरुषसँगै हुन्छ । त्यसैले यस्ता कुरालाई एकैपटक परिवर्तन गर्न सकिदैन । गाउँदेखि शहरसम्म सबैका बाबु आमाले आफ्नी छोरीका लागि सोच्नुपर्ने अवस्था आएको छ । छोरीलाई उसको विहेका लागि पैसा साँच्ने नभई उसको पढाइमा लगानी गर्र्ने परिपाटीको विकास हुनुपर्छ । विहे गर्ने पैसा पनि पछि उसैले कमाउन सक्छे । छोरीलाइ विहे अगाडि आफ्नै खुट्टमा उभिन सक्ने अवस्थामा पु¥याउने दायित्व बाबुआमाको हो भन्ने कुरा हामीले बुझनुपर्छ, हरेक नेपाली घर परिवारले बुझ्नुपर्छ । समाजमा सोच परिवर्तन नभएसम्म कार्यान्वयनमा जाँदैन । यस्तो जनचेतना जगाउने काम तपाईंहरू जस्तै मिडियाको पनि हो । हामीले त तपाईंहरूसँग बोल्छाँै, बोली त्यही नै हराउँछ, मिडियामा त ठूलो पावर हुन्छ । 

नारी दिवसको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ? 

यो संसार थेग्ने, निरन्तरता दिने नै महिला हुन्, महिलाकै कारण यो संसार टिकिरहेको छ र अगाडि बढिरहेको छ । प्रकृतिले महिलालाई ह्युमन पावरका रुपमा जन्माएको छ । महिलालाई परापूर्वकालदेखि नारीशक्तिका रूपमा लिइँदै आएको छ । त्यसैले महिलामा ठूलो शक्ति छ, आफ्नो शक्तिलाई चिन्न सक्नुप¥यो, परिचालन गर्न सक्नुप¥यो,सक्षमता प्रदर्शन गर्न सक्नुप¥यो । त्यसका लागि अध्ययनमा पनि जोड दिनुपर्ने हुन्छ ।


Views: 110