18th May | 2021 | Tuesday | 6:35:20 AM

राजनीति जनसेवाका लागि सशक्त माध्यम हो

  POSTED ON : फाल्गुन २४, २०७७ (१२:२२ PM)

राजनीति जनसेवाका लागि सशक्त माध्यम हो

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं–२ का सभापति उपेन्द्र कार्कीको छवि कर्मठ तथा इमानदार युवा नेताका रूपमा स्थापित छ । उहाँ गत स्थानीय निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर उम्मेद्वार भएर केही मतान्तरमा पछि पर्नुभए पनि निरन्तर समाजसेवामा उहाँको समर्पणको प्रशंसा हुनेगरेको छ । नेता कार्कीसँग हिमालय टाइम्सका लागि पुरुषोत्तम घिमिरेले गर्नुभएको संक्षिप्त संवाद :

निर्वाचन बितेको तीन वर्ष भयो अब अर्को निर्वाचनमा जुट्ने समय आउन लागेको छ । कस्तो छ तयारी ?

जब २०७४ को निर्वाचनमा थोरै मतले म पराजित भएँ तब झन् मलाई राजनीति र समाजसेवाको भावनाले सक्रिय गरायो । समाज सेवाप्रति झन् मोह बढ्दै गयो । जनतालाई मैले चिनाउने-उहाँहरूले चिन्ने मौका पाउनुभयो । अहिले गाउँघरतिर सुनिन्छ उपेन्द्र त हामीले सोचेभन्दा फरक पो रहेछ । यो नै मेरो कमाइ हो जस्तो लाग्छ । मेरो समय जनताकै काम गर्दै बितिरहेको छभन्दा फरक पर्दैन ।

राजनीति र समाजसेवाका केही कारण र प्रेरणा हुन्छन्, तपाइँको त्यस्तो कारण छ ?

मेरा घरबाटै राजनीतिको यात्रा र समाजसेवाको प्रेरणा मिलेको हो । मेरो पिताले पहिलेको कालखण्डमा प्रधानपञ्च भएर गाउँको सेवा गर्नुभएको हुनाले हामी त्यसैबाट प्रेरित भयौं । प्रधानपञ्च भए पनि पिताजी लोकतन्त्रका पक्षमा रहनुभएको थियो र उहाँ जनताको सेवा नै राजनीतिको समर्पण हो भन्ने मान्यता राख्नु हुन्थ्यो । 

तपाइँको सक्रिय राजनीतिक यात्रा चाहिँ कहिलेबाट सुरु भयो ?

२०४६ सालको जनआन्दोलनदेखि राजनीतिक यात्रा सुरु गरेको हुँ, त्यस समय म भरखर कलेजमा पढ्दै थिएँ । जुन समयमा अधिकांश कलेजमा कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको पकड र प्रभाव थियो तर मैले नेपाल विद्यार्थी संघमा सम्बद्ध भएर राजनीतिक यात्रामा समर्पित भएको हुँ, मलाई अहिले गर्व लाग्छ मैले सही निर्णय गरेछु ।

कांग्रेस पार्टीकै राजनीतिमा किन लाग्नुभयो ? अरू दलहरू पनि त थिए नि ?

धेरैले यो प्रश्न सोधिरहन्छन् । मैले माक्र्सको विचार साहित्य, माओ वा लेनिनसम्बद्ध कृतिहरूको अध्ययन गरेको छु तर मलाई बीपी कोइरालाका कृतिहरूको आकर्षणले तान्यो । व्यावहारिक जीवनमा राष्ट्रियतालाई सबल गराउँन, जनताको जीवन उकास्न, लोकतन्त्र र समाजवादको संयोजन हुनसक्छ भन्ने लाग्यो । यसैकारण म अरू दल र विचारप्रति आकर्षित हुन सकिन । कांग्रेस हुनुको अर्थ स्वतन्त्रता र समानताप्रति निष्टावान् हुनु पनि हो ।

तर कांग्रेस नीति, सिद्धान्त, विचार र विधिहीन भएको भन्ने आरोप सुनिन्छ नि ?

यो आरोप कि त राजनीतिको कखरा नबुझ्नेहरूले लगाउँछन् कि त अरू कुनै दलीय स्वार्थको सांग्लोमा बेरिएकाहरूको दृष्टिदोष हो । वितेको करिब आठ दशकको राजनीतिक परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेसकै सिद्धान्त, विचार, नीति र कार्यक्रम अनुरूप राजनीतिक प्रणाली स्थापित भएको छ । कांग्रेसको सिद्धान्तअनुरूपको राजनीतिमा सक्रिय हुने अनि कांग्रेससँग केही छैन भन्दै हिँड्ने चरित्रको मूल्यांकन कसरी गर्नु र ? हो, कांग्रेसले आफूले शासन गर्दा वा संस्थाहरू सञ्चालन गर्दा केही कमीकमजोरी भएका छन् तिनकै आधारमा यस्ता निरर्थक आरोपहरू लाग्ने गरेका हुन् । तर, कांग्रेसबाहेक अरू कसैसँग स्पष्ट लोकतान्त्रिक दृष्टिकोण छैन नेपालमा ।

नेपाली कांग्रेसको नेता भएरमात्र तपाइँको यस्तो धारणा बनेको हुनुपर्छ ।

केही त होला । म कांग्रेस हुँ र कांग्रेसका विषयमा केही बढी नै लगाव र मोह ममा छ । तर, अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रियताका पक्षमा कसको सिद्धान्त सही छ ? अहिलेसम्म २००७ सालदेखि परिवर्तनको नेतृत्व कसले गरेको छ ? छुवाछुतमुक्त समाजको परिकल्कपना नेपालमा कसले गरेको हो ? भेदभावमुक्त समाज र शोषणको अन्त्य गर्ने नीति कसले प्रतिपादन गरेको हो ?

२०४६ को परिवर्तन जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा, संविधान जारी र निर्वाचन सन्त राजनेता कृष्णप्रसादको नेतृत्वमा, माओवादी हिंसाको अन्त्य, शान्ति स्थापना, राजसंस्थाको विस्थापन, संविधानसभाको पहिलो निर्वाचन, संघीयताको स्थापना क्रान्तिकारी नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा, २०७२ को संविधान जारी सुशील कोइराला र २०७४ मा त्यस संविधानको कार्यान्वयन वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको हो । के यस सत्यलाई कसैले ढाकछोप गर्न सक्छ र ? विपन्नलाई सम्पन्न बनाउने र सम्पन्नहरुबाट राष्ट्रिय विकासमा आर्थिक योगदान पु-याउने काम कांग्रेसले नै गर्दछ । मेरो यो विश्वास निरन्तर अविचल छ ।

अलिकति प्रसंग बदलौं । तपाइँ जुन क्षेत्रमा बस्नुहुन्छ काठमाडौंको तीन नम्बर । अनि कागेश्वरी मनोहरा नगरपालिकामा हुनुहुन्छ । स्थानीय सरकारको गठनपछि जनताले सही अर्थमा सेवा पाएका छन् त ?

मलाई यसको उत्तर दिँदा कुनै सुखानुभूति भएको छैन । पालिकामा सर्वसाधारण नागरिक सामान्य काम लिएर पुग्दासमेत महिनौं झुलाउने काम हुन्छ । अनि मसँग आउनुहुन्छ उहाँहरू । मेरो प्रयास हुनेछ ती नागरिकले सजिलै र शीघ्र आफ्ना समस्याको समाधान गर्न पाउन्, सेवा तत्काल हुन सकोस् जनताको तर त्यसो हुनसकेको छैन ।

के अहिलेका यस नगरका प्रमुख वा प्रतिनिधिहरू आफ्ना नागरिकप्रति, मतदाताप्रति जवाफदेही छैनन् र ? के उनीहरूका जनता होइनन् त ?

जनताको गुनासो सुन्दा त्यस्तै लाग्छ । उहाँहरूले निर्वाचनमा गरेका वाचा त जनताको सेवा नै हो । अब रहृयो जनता कस कसका हुन् उहाँहरूका हुन् कि होइनन् यस पालिकाका प्रमुखज्यूसँगै सोध्नु उचित होला ।

नगरपालिकामा केही नयाँ योजनाहरू देख्नु भएको छ ? नगरवासी र त्यो पनि सक्तिय राजनीतिकर्मीको दृष्टिकोणबाट कसरी मूल्यांकन गरिरहनुभएको छ ?

विकासका कामहरू जुन गति र रूपमा हुनुपर्ने थियो भएका छैनन् । हिजोको जस्तो स्रोतको कमी भन्ने अहिले छैन । अर्बाैंको बजेट छ । त्यसको सदुपयोग गरी विकासमा खर्च गर्नु थियो । केही योजनाहरू बने पनि आफन्तलाई ठेक्का दिने, काम सम्पन्न नगर्ने, रकम भुक्तानी गर्ने जस्ता अनेक विकृतिहरू विकसित हुँदै छन् । यस्ता विकृतिका कारण विकास हुनसकेको छैन । यस्ता विषयमा अनेक पटक खबरदारी गरिरहेका छौं तर पनि सुनुवाइ भएको छैन ।

सडक अस्तव्यस्त छ । अवैधानिक रूपले सञ्चालित बालुवा वासिङको कामले ठूला ट्रकहरूको दबाब झेल्न सडकले सकिरहेको छैन । वातावरण प्रदूषित भइरहेको छ । त्यस्ता कतिपय कामहरू रोक्नुपर्ने जनताको आग्रह र अनुरोधको कुनै सुनुवाइ भएको छैन । सुनिन्छ यस्ता कामहरू सेटिङमा हुने गरेका छन् । प्रतिट्रक हजारका दरले उठाउने गरेको सुनिन्छ तर हामी सुशासन, विकास र जनसेवाका पक्षमा हरदिन आवाज उठाउन छाड्ने छैनौं । यसबाट को खुशी वा को बेखुशी हुन्छ भनेर हेर्नु हुँदैन ।

के सुनिँदैछ भने विपक्षी दलहरू खास गरी नेपाली कांग्रेसका प्रतिनिधिहरू भएका वडाहरूमा तय योजनाहरूका लागि बजेट नदिने र असाध्य पक्षपात हुने गरेको छ । के यो सही हो ?

यो सही हो । आफ्नो दलका प्रतिनिधि भएका वडाहरूमा पर्याप्त योजना र बजेट तय गर्ने र नेपाली कांग्रेसले जितेको वडाहरूमा प्रतिशोध लिन बजेट नदिने काम भइरहेको छ । केही थोरै बजेट छुट्याए पनि अनेक बहानामा ढिलो निकासी दिने, अल्झाउने गरेको देखिन्छ । 

सबै वडामा बस्नेहरू त समान हुन् नि, सबैलाई समानताका आधारमा विकास योजना र बजेट प्रदान गर्नुपर्ने हो भएको छैन तर नगरपालिकामा भ्रष्टाचार व्यप्त छ । सुशासन छैन । हाम्रो जोड् छ भ्रष्टाचार अन्त्य गरी पारदर्शी ढंगले नगरपालिका चल्नुपर्छ । हामी दबाब दिइरहेका छौं । नक्सा पास गर्नेदेखि साना योजनामा समेत कमिसन, घुसको प्रचलन सुनिन्छ । यस्ता विकृतिको अन्त्य गर्न हामी आफ्नो बलबुता निरन्तर प्रयोग गर्ने छौं ।

भनिन्छ, वर्तमान मेयर र तपाइँको टाउको मात्र फरक हो तर अरू सोच र काम समान छ । के यो सही हो ?

यो विल्कुलै गलत हो । उहाँको विचार, सिद्धान्त नीति सबै फरक छ । काम गर्ने शैली फरक छ । मेरो उहाँसँग कसरी तालमेल हुनसक्छ ? होइन । 


Views: 289