16th May | 2021 | Sunday | 7:27:48 PM

शारीरिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनका लागि योग आवश्यक छ : योगगुरु मधुसूदन भेटुवाल

  POSTED ON : चैत्र ७, २०७७ (१०:३२ AM)

शारीरिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनका लागि योग आवश्यक छ : योगगुरु मधुसूदन भेटुवाल

नुवाकोटको ककनी–८ मा बुबा शिवराम भेटुवाल र भगवती भेटुवालको पहिलो सन्तानका रूपमा यस धर्तीमा आउनुभएका मधुसूदन भेटुवाल यतिबेला योगका कारण देशविदेशमा चर्चामा हुनुहुन्छ । कठोर तपस्या, साधना र अध्ययनले आफूलाई योगीका रूपमा नेपाल र नेपालबाहिर चर्चा पाउनुभएका मधुसूदन वर्षमा ६ महिना हिमालयकै सेरोफेरोमा बस्नुहुन्छ । त्यसैले उहाँ ‘हिमालय योगी’का रूपमा समेत चिरपरिचित हुनुहुन्छ । आफ्नै साधनाका लागि त्यहाँ बस्ने उहाँ यसका अतिरिक्त हिमालमा रहेर योग गर्न चाहने विभिन्न मुलुकका योगप्रेमी पर्यटकलाई पनि प्रशिक्षण दिनुहुन्छ । योगले मानिसलाई शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकपरूमा स्वस्थ र सुखी राख्न मद्दत गर्छ भन्ने मान्यताका साथ उहाँले योग प्रशिक्षण अभियान चलाउँदै आउनुभएको छ । स्वस्थ शरीरका लागि स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई आफ्नो जीवनको एउटा हिस्सा बनाउन जरुरी छ भन्दै यससम्बन्धी अभियान चलाइरहनुभएका योगगुरु मधुसूदनसँग हिमालय टाइम्सको हिँड्दा–हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?

म सानै उमेरदेखि आध्यात्मिक चिन्तनतर्फ आकर्षित भएको हुँ । मैले यस्तै ०६१ सालदेखि योग गर्न सुरु गरेको हुँ । औपचारिकरूपमा भने ०६४ मा रामदेवको पतञ्जलि योग आश्रममार्फत् जोडिएँ ।

यतिबेला यहाँका देशविदेशमा थुप्रै अनुयायी भएका छन् । देशविदेशमा धेरै कार्यक्रममा यहाँले योग प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ । यसबारे वास्तविक बताइदिनुहोस् न ।

हो, योगमा लागेको यो १६–१७ वर्षको यात्रामा सयौँ स्वदेशी तथा विदेशी अनुयायीहरू रहेका छन् । म यससम्बन्धी गहन अध्ययनपश्चात् यो क्षेत्रमा आएँ । आफूले जानेबुझेका कुरा सबैलाई जानकारी दिऊँ भन्ने नै मेरो मुख्य उद्देश्य हो । मैले भारत, थाइल्याण्ड, इन्डोनेशिया, अष्ट्रेलिया, फिलिपिन्सलगायतका देशमा गएर योग प्रशिक्षण दिएको छु । हिमालयको काखमा रहेर पनि मैले थुप्रै योग प्रशिक्षण तथा योगका विषयमा अध्ययन अनुसन्धान गरेको छु । यस्तै मेरै सक्रियतामा योगले खेलकूदका रूपमा राष्ट्रिय खेलकूद परिषद्भित्र प्रवेश पाएको छ ।

विभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ ?

हो, योग र साधनासँग सम्बन्धित देशविदेशका धेरै संघसंस्थामा आबद्ध छु । 

समाजसेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ, हालसम्म कति जनालाई योग सिकाउनुभयो ?

परोपकारी, अध्यात्मवादी, जिज्ञासु र समाजसेवामा मेरो विशेष चासो रहने गर्छ नै । समाजसेवामा थुप्रै काम गरेको छु । यो हामी सबैको कर्तव्य हो । हालसम्म १६ हजारभन्दा बढीलाई योग सिकाइसकेको छु । 

विवाह गर्नुभएको छ ?

अध्यात्मवादी मार्गमा लागेँ । कामवासनातिर मेरो सोच, चिन्तन नै गएन । त्यसतर्फ कहिल्यै पनि सोचिएन । 

योग कसका लागि आवश्यक छ ?

योग मानिसको सम्पूर्ण स्वास्थ्यका लागि आवश्यक छ । नेपालमा मानिसहरू विभिन्न रोगबाट ग्रसित छन् । पहिलेपहिले रासायनिक मल थिएन, खानामा विषादीको प्रयोग थिएन, जसले गर्दा खाना स्वस्थ थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा थिएन । मानिसहरू श्रम गर्थे । खानपान राम्रो थियो, जसले गर्दा उनीहरूलाई रोग लाग्दैनथ्यो । तर, अहिले मानिसहरूसित सुविधा छ, पैसा छ तर श्रम छैन । अहिलेको खाना स्वस्थकर छैन । खाना विषाक्तले भरिपूर्ण छ । मानिसहरूलाई शरीरमा भएको विषाक्तता फाल्नका लागि पनि अहिले योगको आवश्यकता छ । पहिलेपहिले योग भनेको साधुसन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जोकोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । परापूर्वकालमा ऋषिमुनि तथा योगीहरू अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसहरूलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत, शारीरिक, मानसिक, सामाजिकरूपमा स्वस्थ हुन्छ, त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।

योग के हो ?

यसको क्षेत्र व्यापक र विस्तारित छ । तर, खासमा योग भनेको जोड हो । मन र आत्माको जोड । आत्मा र परमात्माको जोड अर्थात् शरीर मनसँग, मन आत्मासँग र आत्मा परमात्मासँग जोडिनु नै योग हो । यही योगले मानिसलाई मुक्ति दिलाउँछ । पञ्च तत्वले बनेको मानिसको शरीर प्रकृति र मानिसको जीवनबीचको सम्बन्ध बिगारेका कारण नै हामी विभिन्न समस्याले घेरिएका छांै । 

पछिल्लो समय योगको अवस्था कस्तो पाउनुहुन्छ ?

योगले मानिसलाई शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिकपरूमा स्वस्थ र सुखी राख्छ । हाम्रा पूर्र्वजहरूले पूर्ण स्वास्थ्यका लागि प्रतिपादन गरेको योग, प्राकृतिक चिकित्सा र आयुर्वेद आज संसारभरि लोकप्रिय भएको छ । स्वस्थ शरीरका लागि स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई आफ्नो जीवनको एउटा हिस्सा बनाउन जरुरी छ । 

अन्त्यमा ? 

शारीरिक, सामाजिक र आध्यात्मिकरूपमा स्वस्थ रहनका लागि योग आवश्यक छ । स्वस्थ, निरोगी, दीर्घजीवी कसरी हुने ? यसको सबैभन्दा सरल र प्राकृतिक विधि योग हो । हामी स्वस्थ र निरोगी भयांै भने समाज, देश र विश्व नै स्वस्थ हुन्छ । व्यक्ति स्वस्थ भयो भने सम्पूर्ण कुरा राम्रो हुन्छ । आफ्ना लागि स्वास्थ्यको आफैँ ख्याल गरांै र समाजमा अनुकरणीय व्यक्ति भएर बाँचांै । आफ्नो समाज, परिवेश, मातृभूमि र विश्वकै लागि आ–आफ्नो ठाउँबाट जति सकिन्छ योगदान गरांै । जीवनलाई सार्थक बनाऔँ । 


Views: 80