समाजको ऐना र मनको भाव व्यक्त गर्ने सुन्दर माध्यम हो गीत : शुभ मुकारुङ, अध्यक्ष गीतकार संघ नेपाल

  POSTED ON : जेठ ८, २०७८ (९:३० AM)

समाजको ऐना र मनको भाव व्यक्त गर्ने सुन्दर माध्यम हो गीत : शुभ मुकारुङ, अध्यक्ष गीतकार संघ नेपाल

सधैं शालिन र सौम्य देखिनुहुने स्रष्टा शुभ मुकारुङका सयौं गीत श्रोता÷दर्शकमाझ छन् । विगत तीन दशकदेखि गीत लेखनमा सक्रिय रहनुभएका उहाँ यतिबेला गीतकारहरूको साझा र प्रतिष्ठित संगठन गीतकार संघ नेपालको अध्यक्षमा रहेनु भएको छ । २०२८ साल साउन १३ गते, भोजपुर जिल्ला, तत्कालीन अन्नपूर्ण गाउँपञ्चायत–३ भुरुचोक, हाल टेम्के मैयुङ गाउँपालिका आमा भगत कुमारी र बुबा भीमप्रसाद मुकारुङ राईको पुत्रको रूपमा जन्मिएनु भएका उहाँले चालीसको दशक अन्तिमतिरबाट गीत लेखनमा आउनुभएको हो । थोरै लेख्ने तर गम्भीर खालका गीत लेख्ने मुकारुङ इतिहास, पुरातत्व र संस्कृतिमा विशेष रुचि राख्नुहुन्छ । उहाँका ‘सायद’, ‘सम्बेग’, ‘स्वीकृति’, ‘सम्वाद’, जस्ता गीतका एल्बम सार्वजनिक छन् भने ‘ढुंगै ढुंगो’, ‘कथा पानीको’, ‘किरात राई जाति र मुन्धुमी सामग्री साहित्य संगीत त पत्रकारितामा हामी’ जस्ता पुस्तक प्रकाशित छन् । नेपाली गीतसंगीतको फाटमा आफ्नो छुट्टै पहिचान बनाउनु सफल उहाँ हाल गीतकार संघ नेपालका अध्यक्ष हुनुहुन्छ । गीत, समाजको एउटा ऐना हो र, मानिसको मनको भाव व्यक्त गर्ने सुन्दर माध्यम हो भन्नु हुन्ने मुकारुङसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

यतिबेला के गर्दै हुनुहुन्छ ?

तपाईं हामी सबै यतिबेला कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा छौं । यस्तो समयमा घरमै बसिरहेको छु भने सामान्य पढाइ लेखाइमै दिनचर्या बितिरहेको छ । 

शुभ मुकारुङ को हो ?

यो देशको एउटा सचेत नागारिक । अनि गीतकार र संस्कृतिकर्मी ।

जीवन के हो ? गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

दुःख सुखको अनुभव सँगालिएको एउटा ग्रन्थ हो जीवन । गीत, समाजको एउटा ऐना पनि हो र, मानिसको मनको भाव व्यक्त गर्ने सुन्दर माध्यम हो । 

तपाईं कसका लागि लेख्नुहुन्छ गीत ?

सर्वप्रथम, गीत म आफ्नै निम्ति लेख्छु । मैले लेखेको गीतहरूले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने ठान्छु ।

गीत लेख्न कहिलेदेखि सुरु गर्नुभयो ?

औपचारिक रूपमा विसं २०४७ बाट हो ।

गीतको आत्मा केलाई मान्नुहुन्छ ?

गीतको आत्मा भनेको श्रोता हो । श्रोताविना गीत बाच्न सक्दैन ।

तपाईंले लख्ने गीतको आधार के हो ?

हाम्रो समाज, हाम्रो परिवेश र घटनाक्रमले सिकाएका पाठ ।

हाल नेपाली गीतसंगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

नेपाली गीतसंगीतको वर्तमान अवस्था उत्तम छैन र खत्तम पनि छैन जस्तो लाग्दछ । 

राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ ?

यी तीनवटै चिजबाट टाढा छैन, तापनी गीत नै प्रिय छ । 

एकाथरि मानिस भन्छन्, साहित्यमा यौन चाहिन्छ, अर्कोथरि साहित्यमा यौनवर्जित छ भन्छन् । यहाँको विचारमा के होला ?

यौन अपरिहार्य हो । तर, त्यसको प्रयोग कसरी गर्ने ? विवेक प्रयोग गर्न जान्नुपर्छ । 

तपाईं गीतमा कत्तिको कुतर्क गर्नुहुन्छ ?

गीत विधामा तर्क कुतर्क गर्नु पर्दैन ।

तपाईंलाई साह्रै मनपर्ने गीत ?

धेरै गीत छन् । एउटामात्र भन्नु पर्दा चाहिँ ‘ए फूल चुडेर लाने हो, यहाँ माली रोयको देख्यौ कि ¤’ (मनबहादुर मुखिया शब्द, कर्म योञ्जन संगीत, कुमार सुब्बा स्वर) ।

तपाईंलाई असाध्यै मनपर्ने गीतकार–संगीतकार र गायक ?

अम्मर गुरुङ, गोपाल योञ्जन, ईश्वर बल्लभ, राजेन्द्र थापा, श्रवण मुकारुङहरू ।

पछिल्लो समय गीत संगीतका अवार्डको बाढी नै आएको देखिन्छ, अवार्ड प्राप्त गरिरहेका गीतसंगीतका बारेमा तपाईंको धारणा के छ ?

अपवादबाहेक यस्ता अवार्डहरूले हामीलाई ‘मुर्गा’ बनाउने काम गरिरहेछन् । यसकारण राम्रा गीतसंगीत पनि दुर्नाम भएका छन् । 

यहाँका कस्ता र कति गीतहरू श्रोता–दर्शकमाझ आएका छन् । अझै कस्ता गीतहरू लेख्ने र प्रकाशन गर्ने कार्ययोजनामा हुनुहुन्छ ?

जीवन भोगाइको अनुभव र कल्पनाहरूले ओतप्रोत भएका १ सय जति गीतहरू रेकर्डिङ छन । बुकमा आएका गीतहरू जम्मै रेकर्ड छैनन् । सताब्दीकै प्रतिनिधित्व गर्ने गीत लेखांै जस्तो लाग्दछ नि ¤¤ हेहेहे ।

बजारमा राम्रा गीतकार र गीतभन्दा ‘झुर’ले बजार तताइरहेको देख्दा कत्तिको झोंक चल्छ ?

राम्रा गीतहरू पनि बजारमा नचलेका होइनन, चलेकै छन् । तर, संख्यात्मक हिसाबमा कम भएको हुँदा त्यति ख्याल नभएको हो । यसर्थ निरासा हुन्न । 

नेपाली गीतसंगीतलाई विश्व गीतसंगीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?

नेपाली गीतसंगीतलाई विश्वसँग तुलना गर्न हुन्न । तुलना ग¥यो भने, सागरमा थोपा पानी जस्तो हाम्रो अवस्था होला ।

परिवारबाट तपाईंको लेखनलाई कतिको सपोर्ट मिलेको छ ?

परिवारको पूरै समर्थन र सहयोग नपाएको भए म यो क्षेत्रमा हुन्न नै थिए ।

गीतकार संघको अध्यक्ष हुनुहुन्छ । तपाईंको कार्यकालमा स्रष्टाले के परिवर्तन देख्न पाउछन् ?

अवस्य केही न केही गर्ने प्रण गरेका छौं । तर, समय प्रतिकुल भइरहेछ । यसका बाबजुद हामी चुप लागेर बसेका छैनौ । दुई वर्षभित्रमा केही न केही परिवर्तनको आभास गर्नु नै हुनेछ । 

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ ?

सबैभन्दा ठूलो कुरा भनेको साधना र निरन्तरता हो । यो कुरा ख्याल राख्न सक्नुपर्दछ ।


Top