21st June | 2021 | Monday | 11:42:07 AM

आदेश दिएर मात्रै संक्रमण नियन्त्रण हुँदैन : दिप्रुङ चुईचुम्मा अध्यक्ष राई

चिसाङ शेर्पा   POSTED ON : जेठ २५, २०७८ (२:०३ PM)

आदेश दिएर मात्रै संक्रमण नियन्त्रण हुँदैन : दिप्रुङ चुईचुम्मा अध्यक्ष राई

खोटाङ ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई यतिबेला चर्चामा छन् । कोरोना संक्रमितलाई पिठ्युँमा बोकेरै अस्पताल लैजाने त, आफूले प्रयोग गर्दै आएको गाडीमा आफै चालक बनेर संक्रमितलाई अस्पताल ओसार्ने र स्वाव संकलन तथा एन्टीजेन परीक्षणमा आफै खटिएपछि राई चर्चामा हुनुहुन्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा अन्य स्थानीय तहका प्रमुखहरु भन्दा अलग र स्वास्थ्यकर्मी जसरी पिपिई सेट पहिरिएर गाउँपालिकाबासीको लागि खटिनुभएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईसँग हिमालय टाईम्सका लागि खोटाङ संवाददाता चिसाङ शेर्पाले समसामयिक विषयमा गर्नुभएको कुराकानी:

कोरोना परीक्षण, संक्रमितको उपचार तथा उद्धारमा आफै खटिनुभएको छ । कोरोना भाईरसको स्थिति के छ गाउँपालिकामा ?

कोभिड १९ लाई नियन्त्रण गर्नका लागि म, आफै खटिरहेको छैन हामी खटिरहेका छौं । गाउँपालिकाको नेतृत्व मैले गरिरहेको छु । अध्यक्षको नाताले नेतृत्व मैले गर्न स्वाभाविक छ । त्यस कारण कोभिड नियन्त्रणका लागि हामी आफै अगाडी नबढीकन हुँदैन । यतिबेला आदेश दिएर, आदेश पालना गराएर मात्रै संक्रमण नियन्त्रण हुँदैन । आदेश आफूलाई पनि लागू हुन्छ, नियम आफूलाई पनि लागू हुन्छ । त्यसकारणले म, आफैं स्वाभाविक रुपमा कमाण्डरको रुपमा देखापर्नु गाउँपालिका अध्यक्षको नाताले स्वाभाविक हो ।

अर्कोतिर कोरोनाको संक्रमण दर बढ्दो छ । हामीले एन्टीजेन परीक्षण गर्दैगर्दा धेरै संक्रमितहरु भेटिरहेका छन् । तर, स्वाभाविक रुपमा नागरिकहरुले छर, छिमेकीहरुलाई बुझाउँन नसक्दा जानकारी पाउन नसक्दा अलिकति समस्या भईरहेको छ हामीलाई । छिमेकमा बिरामी हुन्छ तर छिमेकीहरु छिमेकीको घरमा नगईदिंदा त्यहाँ अत्यन्तै सिकिस्त बिरामी छ भन्ने सूचना प्रवाह नहुंदाखेरी समस्या भएको हो।

त्यसैले हामीले त्यसलाई बुझेका छौं । र, सूचनाहरु नै त्यसरी सम्प्रेषित भईरहेको छ । सामाजिक दुरी कायम गर्नु, वरपर नहिड्नुस भन्ने कारणले पनि हुनसक्छ छिमेकीहरु आफ्नो छिमेकी बिरामी भईरहेको बेला हेर्न गईरहेका छैनन् र त्यो सूचना लिक नहुंदाखेरी संक्रमण दर बढ्दो छ । संक्रमितलाई घृणाको दृष्टिकोणले हेर्नाले पनि मानिसहरु परीक्षण गराउन डराईरहेको परिस्थिति पनि छ । त्यसलाई अब भने हामीले पूर्णरुपमा चिरीसकेका छौ । वडा–वडामा एन्टीजेन परीक्षण गरायौ । सबै वडामा एन्टीजेन परीक्षण गराए मात्रै भएन हामी टोल–टोलमा, घर–घरमा पुगेका थियौ । त्यसकारणले हामी संक्रमणलाई अब चाँडै नियन्त्रण गर्छौ भन्ने लाग्छ ।


संक्रमितलाई पिठ्युमा बोक्ने, आफूले प्रयोग गर्दै आएको गाडीमा राखेर आफै गाडी हाँकेर अस्पताल लाने गर्नुहुन्छ ? भाईरल हुन यसो गर्नुभएको हो ?

भाईरल हुन मन छ भने कसैले आएर हाम्रो बिरामीहरु बोकिदिए हुने थियो भन्ने हामीलाई पनि लागिरहेको छ । यतिबेला संक्रमणको दर सबैले हेरीरहेका छौ । सूचना तथा सञ्चारको पहुंचबाट कोही पनि टाढा छैनौ । अनलाईन, पत्रपत्रिका, टेलिभिजन, रेडियो बारम्बार सुनिरहेका छौं हेरीरहेका छौ । छोराले बुबाको किरिया गर्न डराईरहेको अवस्था छ, छोरीले आमाको लाश बोक्न डराईरहेको परिस्थितिमा भाईरल हुने नाममा यो काम कसैले गर्दैन । तथापी, हाम्रो चाँहि कर्तव्य हो । हाम्रो कर्तव्य निर्वाह गरिरहेका छौ ।

हामीलाई तिनै नागरिकले मतदान गराएर यो ठाउँमा पु¥र्याउनु भयो र, तिनै नागरिकको सेवा गर्न अपरीहार्य छ हामीले । परेको बेलामा दुःखको बेलामा हामीले अग्रसरता लिएका हौ । स्वाभाविक रुपमा म, आफै पनि ड्राईभर हो । म सँग नागरिक र गाउँपालिकाले दिएको सरकारी गाडी छ । त्यो सेवा सुविधा प्रयोग गरिरहेका छौ । त्यो गाडी नागरिकको हो, हाम्रो हैन । गाउँपालिकाको गाडी मात्रै हैन नागरिकको गाडी हो । त्यसकारण स्वभाविक रुपमा मैले नौलो कुरा गरेजस्तो लाग्दैन ।

आफूले प्रयोग गर्दैै गरेको गाडीमा म आफै ड्राईभर भएर गाडी चलाउछु, आफूले गाडी चलाएपछि ति बिरामीलाई मैले पिपिई सेट लगाएर ल्याउन कुनै ठूलो काम गरेजस्तो लाग्दैन । तथापी सामाजिक सञ्जालहरुमा त्यो छरिएको छ । त्यसलाई म अस्वभाविक ठान्दिन तथापी म आफू ड्राईभर भएको कारण ड्राईभरले गाडी हाँक्न अस्वभाविक हैन । र, गाउँपालिका अध्यक्षले आफ्नो नागरिकको उद्धार गर्नु त्यो पनि अस्वभाविक हैन । त्यसकारणले भाईरल हुने काममा लागि रहेका छैनौ, हामी उद्धार गर्ने काममा लागि रहेका छौ ।

जो बिरामी पर्नुभएको छ, थल्लिनु भएको छ । हिड्न सक्नु भएको छैन, सूचना लिक नभएर कोही सिकिस्त हुनुहुन्छ । त्यसकारण उहाँहरु बोक्ने त हाम्रो कर्तव्य हो नि । सेनाले पिपिई सेट लगाएर दाहसंस्कार गरिरहेको छ उहाँहरुलाई चाँहि कोभिड नसर्ने, डाक्टर, नर्स स्वास्थ्यकर्मी पिपिई सेट लगाएर संक्रमितहरुको उपचार गरिरहनुभएको छ उहाँहरुलाई पनि कोरोना नलाग्ने अनि हामी राजनीतिकर्मी अथवा जनप्रतिनिधिले चाँहि पिपिई सेट लगाएर बोक्दा के हुन्छ ? त्यसकारण हामीले बोकेका हौ, हामीसँग कन्फीडेन्स छ ।


त्यसो भए गाउँपालिकाको गाडी चलाउने चालक त होला ? उनीहरु चाँहि कहाँ छन् नि ?

गाडी चालक छैन भन्ने हैन । हामीसँग गाडी चालक छ । एक जना एम्बुलेन्स चालक हुनुहुन्छ, उहाँ आफै संक्रमित भएर अहिले संक्रमणमुक्त भएर आराम गरेर बसिरहनु भएको परिस्थिती छ ।

र अर्को जो चाँहि मैले प्रयोग गर्दै गरेको गाडी चलाईरहनु भएको थियो उहाँलाई हामीले एम्बुलेन्समा ट्रान्सफर गरेका छौ । एम्बुलेन्स चाँहि एन्टीजेन परीक्षण गर्ने सिलसिलामा टेम्मा जाने क्रममा साईलेन्सर बिग्रिए पश्चात त्यो बनाउन उहाँलाई पठाएका छौ । त्यतिबेला नै गम्भीर प्रकृतिका बिरामीहरु फेला पर्नुभयो उहाँहरुबाट सूचना आयो त्यसकारण म अर्को ड्राईभर हो, हामी तीन जना ड्राईभर गाउँपालिकामा, तीन जना ड्राईभर हुदै गर्दा म तेश्रो ड्राईभरले रिसिभ गरेको हो । अरु कुरा केही पनि हैन । ड्राईभर राखेर गाउँपालिका अध्यक्षले भाईरल हुनका लागि यसो ग¥र्यो भन्ने कुरा हो भने अरुले पनि गर्दा हुन्छ ।

होम आईसोलेसन र संस्थागत आइसोलेसनमा बसेका संक्रमितहरुलाई केके गर्नुभयो ? राहत दिनुपर्ने अवस्था छ कि छैन ?

अहिले राहत दिनुपर्ने अवस्था छैन तर, उहाँहरुलाई स्वास्थ्य संस्थामार्फत औषधी उपलब्ध गराईरहेका छौ । हामीले सामान्य संक्रमण देखिएका नागरिकहरुलाई होम आईसोलेसनमा छोडेका छौ । जसलाई स्वासप्रस्वासमा समस्या छ । हामीलाई खबर गर्नुहोस हामी त्यही लिन आउँछौ, जतिबेला पनि जानकारी दिनुहोस हामी तपाईको घरमा सेवासुविधा दिन्छौ भनेर भनिरहेका छौ । संक्रमित सबैसँग हाम्रो सम्पर्क छ । जति पनि हाम्रा नागरिकहरु संक्रमित हुनुभएको छ उहाँहरुसँग दिनहुं सम्पर्क छ । उहाँहरुलाई कुनै समस्या भयो भने हामी कुनै पनि कसर बाँकी राख्दैनौ उहाँहरुको हामी तत्काल उद्धार गर्छौ ।

जनप्रतिनिधि, उनका घर परिवारका मान्छे र आफ्ना पार्टीका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गरियो भन्ने आरोप छ नि ?

यो चाँहि आफ्नै आँखाले देखेको र कानले सुनेको कुरालाई सत्य नमानि गरिएको विभेदपूर्ण टिप्पणी हो । किन भने हामीले टोल–टोलमा पुगेर सम्बन्धित वडालाई नै सम्बन्धित मान्छेलाई खबर गर्नुहोस, स्वास्थ्य चौकीमा गएर खबर गर्नुहोस भनेर हामी आफ्नो टोली लिएर पुगेका छौ । त्यतिबेला परीक्षण गराउन आउनुभयो, भएन त्यो उहाँहरुमा भर पर्ने कुरा हो ।

तपाईको कामको चौतर्फी प्रशंसा छ । कस्तो महशुस  गर्नुभएको छ ।

मैले कुनै त्यस्तो नौलो काम गरेर प्रशंसा पाईरहनु पर्ने काम गरेजस्तो लाग्दैन । यो हाम्रो दायित्य र कर्तव्य हो । स्थानीय निर्वाचनमा हामीलाई नागरिकहरुले निर्वाचित गराउनुभयो त्यतिबेला देखि हामीले नागरिकको सेवा गर्नुपर्छ भनेर सफथ लिएका छौ । त्यस कारणले यो भाईरल हुनुपर्ने, प्रचार हुनुपर्ने, प्रशंसा गर्नुपर्ने कुनै नौलो काम गरेजस्तो लाग्दैन । हाम्रो नागरिकलाई समस्या प¥र्यो, हामीले उद्धार गरेर उहाँहरुलाई उपचार गर्न कोभिड अस्पतालसम्म मात्रै पु¥र्याएका हौ ।

यहि रफ्तारमा संघर्ष गर्दा कहिलेसम्म कोरोनामुक्त गाउँपालिका बन्ला ?

कोरोनामुक्त गाउँपालिका निर्माण गर्नका लागि केही समय त अवश्य लाग्छ । तर, अब १०÷१५ दिनभित्रमा यसको सम्पूर्ण खाका चाँहि आउँछ भन्ने हामीलाई लाग्छ । तथापी तपाईले जतिबेला सोधिरहनु भएको छ हामी सप्तेश्वर छितापोखरी स्वास्थ्य चौकी र अस्थाई कोभिड अस्पताल याम्खामा पिसिआर परीक्षण लागि स्वाव संकलन गरिरहेका छौं । 

जहाँ सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण कर्मचारी, सम्पूर्ण संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङमा परेका नागरिकहरुलाई हामीले आव्हान गरेका छौ । अन्य कसैलाई पनि शंका छ भने आउनुहोस स्वाव संकलन गर्छौ भनेका छौ । स्वावको रिपोर्ट आईसके पश्चात यसको सम्पूर्ण डाटा बताउन सकिन्छ ।



Views: 172