संक्रमणमुक्त हुने संख्या बढिरहेको छ : अध्यक्ष राई

  POSTED ON : असार २, २०७८ (११:१३ AM)

संक्रमणमुक्त हुने संख्या बढिरहेको छ : अध्यक्ष राई

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाले कुनै पनि कसर बाँकी राखेको छैन । जनप्रतिनिधिले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाएर त, संक्रमितलाई पिठ्युमा बोकेरै अस्पताल लैजानेदेखि घरसम्म पु-याईदिने जस्ता अनेकन कामहरु गरिरहेको छ । कोरोना भाईरस दोश्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणमा खोटेहाङ गाउँपालिकाले केके ग¥र्यो, केके गर्दैछ लगायत समग्र कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको विषयमा गाउँपालिका अध्यक्ष प्रदिप राईसँग हिमालय टाईम्सका खोटाङ संवाददाता चिसाङ शेर्पा कुराकानी गर्नुभएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ । के–के गर्नुभयो ?

गाउँपालिकाले १६ बैशाखमा विपद व्यवस्थापन समितिको वैठक बसेर महत्वपूर्ण निर्णयहरु गरेको थियो । बैदेशिक रोजगारमा गएका र अन्य मुलुकबाट गाउँ आउनेहरुलाई चाँहि क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ । अन्तर जिल्लाहरुमा बसोबास गर्ने र गाउँ फर्कनेहरुलाई वडाले एक प्रकारको कबुलियत नामा गरेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ । यदि कसैको घरमा बस्नको लागि उपर्युक्त वातावरण छैन भने उहाँलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौ ।

एन्टीजेन र पिसिआर परीक्षण दायरा फराकिलो बनाएर परीक्षणको काम निरन्तर गरिरहेका छौ । पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा राख्ने र उहाँसँग नियमित रुपमा सम्पर्क गर्ने,े मनोपरामर्श दिने, स्वास्थ्य स्थिती बुझ्ने काम गरिरहेका छौ । हरेक वडामा बनेको विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौ, विपद व्यवस्थापन समिति, प्रहरी, सरोकारवालाहरुलाई प्रत्येक नागरिकको घर–घरसम्म कोभिड १९ को सन्दर्भमा जनचेतनामूलक खालका कार्यक्रम पु¥याउने, उहाँहरुलाई सचेत, जागरुक बनाउने, कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डहरुको बारेमा जानकारी गराउने कामहरु गरेका छौ ।

गाउँपालिकाको नाकाहरु रसुवाघाट र तामाखाम भन्ज्याङमा पनि प्रहरी पोष्ट राखेका छौ । हाटबजार, पर्वहरु, महत्वपूर्ण चाडवाडमा भेला हुने कुराहरुलाई पालिकाको तर्फबाट निश्चित गरेका छौ । यसमा जनताहरुले साथ दिनुभएको छ, सहयोग दिनुभएको छ । अहिले पनि एन्टीजेन र पिसिआर परीक्षणको दायरालाई फराकिलो बनाएर लैजाने काम गरिरहेका छौ । तीनजना संक्रमित जटिल अवस्थामा पुग्नु भएको थियो । उहाँहरु पनि निको भएर फर्किएको अवस्था छ ।

गाउँपालिकाको स्थिति निषेधाज्ञाकै स्वरुप छ । तर, संक्रमितको संख्या त बढेको बढ्यै छ नि ?

हामीले निषेधाज्ञा संगसँगै सचेतनामूलक कार्यक्रमहरुलाई पनि तल्लो तहसम्म लगिरहेका छौ । जसले गर्दा पनि यसको राम्रो प्रभाव परिरहेको छ । हिजोका दिनहरुमा मौसम पनि रुघामार्कीको मौसम हो, यो केही हैन भन्ने खालको ढंगले पनि धेरै मान्छेले बुझे । जसले गर्दा एन्टीजेन र पिसिआर परीक्षणमा पनि त्यति तदरुकता देखाईएन ।

चासो राखिएन र हामीले आग्रह गर्दाखेरी पनि यो केही पनि हैन रुघामार्की हो भन्ने हिसाबले बुझियो । जसले गर्दाखेरी त्यतिबेला चाँहि बढेजस्तो थियो । अहिले पछिल्लो घट्नाक्रममा हेर्दाखेरी धेरै नै घट्दै,घट्दै गईरहेको छ । निको हुनेको संख्या बढिरहेको छ ।

हिजो सुरुका दिनमा हामीलाई के लाग्यो भने ५ जनामा परीक्षण गर्दा पनि १ जनामा देखिने, १४-१५ जनामा गर्दाखेरी पनि ४-५ जनामा संक्रमण देखिने यसले चाँहि अलिकती बृहत समुदायमा व्यापक रुपमा फैलिसकेको अवस्था हो भन्ने एकप्रकारको त्रास थियो । नियन्त्रण र रोकथाम गर्न के गर्नुपर्ला भनेर नयाँ ढंगले काम गर्नुपर्ने अवस्था थियो । तर, पछिल्लो अवस्थालाई हेर्दा चाँहि नियन्त्रण भईरहेको छ । अहिले २० जनाको परीक्षण गर्दाखेरी १ जनामा संक्रमण देखिने र निको हुने संख्या बढीभन्दा बढी छ ।

होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई के–के गर्नुभयो ?

होम आईसोलेसनमा बस्नुभएका जति पनि दाजुभाई, बुबाआमा हुनुहुन्थ्यो उहाँहरुलाई स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु गएर भेट्ने, मनोबल उकास्ने, मनोपरामर्शकर्तालाई पनि संक्रमितलाई भेट गराएर सचेत तथा मनोपरामर्श दिने खालका काम गरेका छौ । अर्कोतिर डाक्टर, नर्सहरुसँग पनि परामर्श गर्ने कामहरु नियमित गरिरहेका छौ । 

गाउँपालिकामा राहत वितरण गर्नुपर्ने स्थिति छ कि छैन ?

असाध्यै निम्नस्तरको हुनुहुन्छ, जो चाँहि आफ्नो पाखुरीबाट मात्रै जिविको निर्वाह गर्ने खालको हुनुहुन्छ त्यस्तोलाई हामीले आन्तरिक रुपबाट नै सहयोग गर्दै आईरहेका छौ । तत्कालै चाँहि राहत वितरण गरिहाल्नुपर्ने अवस्था छैन । निम्नस्तर भएकाहरुलाई सहयोग गर्ने कुरा त भईरहेको छ ।

एन्टीजेन, पिसिआर परीक्षण र संक्रमितको संख्या के, कति छ ?

अहिलेसम्मको विवरण हेर्दाखेरी १८१ जनाको एन्टीजेन र १९७ जनाको पिसिआर परीक्षण गरेका छौ । ५८ जना संक्रमित हुनुभएको थियो । संक्रमित दिनदिनै निको भएपछि संक्रिय संक्रमितको संख्या घट्दै गईरहेको छ । अहिलेसम्म २० जना निको भईसकेको अवस्था छ । 

आवश्यक श्रोत साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्सको स्थिति के छ ?

हाम्रो अस्थाई कोभिड अस्पताललाई चाँहिने सम्पूर्ण औजार तथा स्वास्थ्य सामग्रीहरुको व्यवस्था हामीले गरिसकेका छौ । १ वटा अक्सिजन कन्सनट्रेटर हामीसँग थियो । अन्य ५ वटा अक्सिजन सिलण्डिर व्यवस्थापन गरेका छौ । खोटाङ सेवा समाज युकेले पनि १ वटा अक्सिजन कन्सनट्रेटर दिएको छ । र, सम्पूर्ण आवश्यक औजारहरु व्यवस्थापन गरेर राखेका छौ ।

गाउँपालिकामा डाक्टर, नर्सहरु पनि रातादिन काम गरिरहनु भएको छ । नौ वटा स्वास्थ्य चौकीहरुमा पनि आवश्यक औषधीहरु पर्याप्त व्यावस्था गरेका छौ । कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सम्पूर्ण सर्जिकल माक्स, पञ्जाहरु, पिपिई सेटको राम्रो व्यवस्थापन गरेका छौ ।

खोटाङ सेवा समाज युकेले नै दिएको एम्बुलेन्स समिति बनाएर चलाईरहेको थियो । गाउँपालिकाले निर्णय गरेर, उहाँहरुसँग समन्वय गरेर एम्बुलेन्स पनि अहिले कोभिड अस्पतालमै राखेर प्रयोग गरिरहेका छौ । एम्बुलेन्स खाली नभएको अवस्थामा गाउँपालिकाको गाडीलाई पनि प्रयोग गरिरहेका छौ । गाउँपालिकाका लागि खरीद गरिएको गाडीलाई सुरुदेखि नै बिरामीहरुलाई अस्पताल पु¥याउने, तराई लानमा प्रयोग गर्दै आईरहेका छौ ।

नाकाको स्थिति के छ ? बाहिरबाट आएकाको तथ्यांक गाउँपालिकासँग छ ?

नाकाहरुमा पनि सुरक्षाकर्मीहरुलाई राख्दै गर्दाखेरी को कहाँबाट आईरहेको छ । कुन ठाउँमा बस्नु भएको छ । एन्टीजेन, पिसिआर परीक्षण गरेर आएको छ÷छैन भन्ने हिसाबले डाटाहरु राख्ने गरेका छौ ।

अर्को कुरा उहाँहरु आउदै गर्दाखेरी चाँहि कुन ठाउँको, कुन टोलको, कसरी आउनु भएको छ त्यसको वडाको प्रतिनिधिसँग सम्पर्क गराएर ल्याउने गरेका थियौ । अहिले चाँहि बाहिर बसेका मानिसहरु त्यति धेरै आएको छैन । भारतको हैदराबादमा बस्ने ९÷१० जना आउनु भयो उहाँहरुलाई सिधै क्वारेन्टाइनमा राख्यौ । खोटाङबजार, लिकुवापोखरी, कोभिड अस्पताल ईन्द्रेणीपोखरीमा क्वारेन्टाईन बनाएका छौ । अहिले बाहिरबाट आएको तथ्यांकलाई हेर्दाखरी चाँहि ५० देखि ५५ को हाराहारीमा बाहिरबाट मानिसहरु भित्रिएको देखिन्छ ।


Top