जोखिम कम गर्न प्रयासरत छौं : पदमबहादुर बोहरा, मेयर, मंगलसेन नगरपालिका

एकेन्द्र खत्री/अछाम   POSTED ON : असार ७, २०७८ (६:५५ AM)

जोखिम कम गर्न प्रयासरत छौं : पदमबहादुर बोहरा, मेयर, मंगलसेन नगरपालिका

कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिले अक्सिजनसहितको आइसोलेसनको व्यवस्थापनमा जोड दिएका छन् । संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण कार्य तीव्र बनाएका हुन् । संक्रमण समुदायस्तरमै फैलिरहेका बेला अछामको मंगलसेन नगरपालिकाको अवस्थाबारे हिमालय टाइम्स अछाम संवाददाता एकेन्द्र खत्रीले मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहरासँग गर्नुभएको कुराकानी :-

मंगलसेनमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

नगरभित्र करिब २४६ जनामा पिसिआर र एन्टिजेन परीक्षण गर्दा १०३ जना संक्रमित भए । हरेकपटकको परीक्षणमा कोही न कोही संक्रमित भेटिएकै छन् । कतिपय अस्पताल र कतिपय होम क्वारेन्टिनमा थिए । अहिले करिब–करिब सबैजना निको पनि भइसके । बाहिरी जिल्ला र विदेशबाट आउनेलाई राख्नका लागि नगरका १४ वटै वडामा क्वारेन्टिनको स्थापना र सञ्चालन गरेका छौं । यसरी आएकालाई १४ दिन राखेर पिसिआर परीक्षणपछि मात्रै संक्रमण नभएकालाई घर पठाइएको छ । संक्रमणको जोखिम कम गर्न हामी प्रयासरत छौं ।

समुदायमा संक्रमण फैलिसकेको छ, अब नियन्त्रणका लागि के प्रयास भइरहेको छ ?

संक्रमित कम हुँदा कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गरियो । जिल्ला अस्पताल पनि नजिकै छ । अस्पतालले थेग्न सक्ने अवस्था नरहेकाले संक्रमितलाई पनि घरैमा राख्नुपर्ने परिस्थिति बन्यो । हिजो विदेशबाट आएकामा संक्रमण पुष्टि नहुँदासम्म क्वारेन्टिनमा राखियो भने अहिले उचित व्यवस्थापन हुन नसक्दा संक्रमितलाई घरमा पठाउनुप¥यो । संक्रमितलाई छुट्टै राखेर उपचार गर्नुपर्छ भनेर मंगलसेनले सबैभन्दा पहिला कोरोना अस्थायी अस्पताल स्थापना गरेको थियो । संघीय सरकारले सेल्फ आइसोलेसनमा बस्ने जुन नीति ल्यायो, यसले समुदायस्तरमा संक्रमण फैलाउन सहयोग गरेको महसुस भएको छ ।

आइसोलेसनको व्यवस्थापन कसरी गर्नुभएको छ ?

हामीकहाँ आइसोलेसनको कमी होइन । जिम्मेवारी वहनको कमी हो । संघीय र प्रदेश सरकार छ तर समन्वयात्मक भूमिका भएन । संघीय सरकारले एक वर्षपहिले नै बिमा र जोखिम भत्ता व्यवस्था गरेको कुरा आए । अरू सेवासुविधाका कुरा छन् । क्वारेन्टिन व्यवस्था गर्ने भनेको छ । सबै खालको उपचार प्रक्रिया अघि बढाउने भनेको छ । तर, आर्थिक हिसाबले केन्द्र सरकारबाट सहयोग छैन । यद्यपि स्थानीय तहले राम्रो तवरले व्यवस्थापनमा जिम्मेवारी वहन गरेको छ । स्थानीय सरकार व्यवस्थापन गर्न तयार छ तर केन्द्र सरकारको सहयोग हुनुपर्छ । अस्पतालहरू जिम्मेवार हुनुपर्छ । जोखिममा पनि हामी अहोरात्र खटिएका छौं । 

पिसिआर परीक्षणको दायरा नबढाउँदा संक्रमित पत्ता लगाउन पनि कठिन होला नि ?

अछाममा परीक्षणको सुविधा नभएको भए हामीलाई धेरै गाह्रो हुने थियो । अछाममै ल्याब स्थापना भएपछि पनि रिपोर्ट ढिलो आयो भन्ने जनगुनासो छ । धनगढी, काठमाडांैमा परीक्षण गर्ने अवस्था भएको भए के हुन्थ्यो होला ? स्वाब लिइएको तीन दिनभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ । तुरुन्तै परीक्षणको दायरा बढाउन गाह्रो छ । बाध्यात्मक अवस्था आउँदा जाने नत्र पैसा तिरेर परीक्षण गर्ने अवस्था छैन ।

अहिलेसम्मको तयारी र व्यवस्थापनबाट ढुक्क रहने अवस्था छ त ?

मैले अघि पनि भनें, सबै पक्ष जिम्मेवार हुनुपर्‍यो । त्यसमा पनि सबै तहगत सरकार त झनै जिम्मेवार हुनैपर्‍यो । सम्बन्धित पक्ष जस्तो– स्वास्थ्य क्षेत्र, पत्रकारिता, नागरिक समाज, कर्मचारी सबैले केही न केही जिम्मेवारी हाम्रो पनि हो भनेर जोखिम कम गर्न साझा प्रयत्न गर्नुपर्छ । तर, हामीसँग अर्ती-उपदेश दिने परिपाटीमात्र छ । मेरो योगदान आवश्यक छ भन्ने बिर्सने परिपाटी छ । यसैले पनि संक्रमण न्यूनीकरण गर्न सकेका छैनौं । अरूलाई जिम्मेवार बन भन्नेले पनि जिम्मेवारी वहन गर्नुपर्छ । हामी एक वर्षयता निरन्तर जुनसुकै सवालमा खटिएका छौं । जोखिमयुक्त ठाउँमा सबैले हातेमालो ग¥यौं भने पक्कै पनि संक्रमण नियन्त्रण गर्न सकिन्छ ।

निषेधाज्ञा गरिएको छ, यसले मात्रै समाधान होला त ?

निषेधाज्ञा अछाममा तेस्रोपटक थपिएको छ । यसको उद्देश्य भनेको संक्रमितलाई अन्यसँगको सम्पर्कमा आउन नदिनु हो । अर्को कन्ट्र्याक्ट ट्रेसिङको दायरा बढाउन र समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरेका हौं । घर–घरमा कैद भएर, सबै कामकाज ठप्प गरेर सधैंभरि चल्दैन । अब संयमित र जिम्मेवार भएर, नीतिनियम पालना गरेर, परिस्थितिलाई सहज बनाएर लैजानुपर्छ । भयावह अवस्था अझै आएको छैन । भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन तर पनि चुप लागेर बस्ने अवस्था छैन । अब ट्रेसिङ र परीक्षणको दायरा बढाउँछौं ।

संक्रमणको जोखिमले मंगलसेन नगरपालिकाका कुन-कुन क्षेत्रमा बढी असर गर्‍यो ?

चौतर्फी असर गरेको छ । स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर पर्‍यो नै । आर्थिक पाटो पनि ठप्प भयो । व्यापार–व्यवसाय, पर्यटन क्षेत्र ठप्प छ । विकास निर्माणका काम पनि ठप्पजस्तै छ । सबै क्षेत्रमा यसले असर गरेको छ । यही क्षेत्रमा मात्रै असर परेको छ भन्ने ठाउँ बाँकी छैन । 


Top