एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव छैन : प्रजिअ कृष्णप्रसाद भण्डारी

निरोज कोइराला/भोजपुर   POSTED ON : असार ९, २०७८ (६:५८ AM)

एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव छैन : प्रजिअ कृष्णप्रसाद भण्डारी

दोस्रो लहरको भेरियन्टको जोखिमबाट यतिबेला प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर पनि अछुतो रहन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दै जान थालेपछि स्थानीयहरूमा समेत त्रास सिर्जना भएको छ । संक्रमण दर बढ्न नदिनका लागि गएको वैशाख २९ गतेबाट आगामी असार १० गतेसम्मका लागि निषेधाज्ञा लागू भएको छ । यसै सन्दर्भमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीसँग हिमालय टाइम्सका भोजपुर संवाददाता निरोज कोइरालाले गर्नुभएको कुराकानी :-  

भोजपुरमा दैनिकरूपमा कोरोना संक्रमित बढिरहेको अवस्था छ, कोरोना रोकथामका लागि के गर्दै हुनुहुन्छ ? 

जिल्ला प्रवेश गर्ने नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएको छ । जिल्ला प्रवेशको नाकाबाट जिल्ला भित्रिने कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरूलाई होल्ड गरी निजहरूको अवस्था हेरेर सम्बन्धित पालिकासँग समन्वय गरेर छाड्ने गरिएको छ । जिल्ला प्रवेश गर्ने सबै नागरिकहरूलाई सम्बन्धित पालिकाको वडाध्यक्ष वा जनप्रतिनिधिहरूसँग सम्पर्क गरी जनप्रतिनिधिहरूको निगरानीमा कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धता गराई घर जान दिइएको छ । मृत्युसंस्कार, बिरामी, अलपत्र परेकाहरूलाई मात्र गन्तव्यमा जानका लागि जरुरी अवस्थामा यात्रा सहजीकरण गरिएको छ । जिल्लामा लागू गरिएको निषेधाज्ञाको प्रभावकारीरूपमा कार्यान्वयन भइरहेको छ । यसको नियमितरूपमा अनुगमन गरिएको छ । विभिन्न सञ्चारमाध्यमबाट जनचेतनामूलक जिंगलका साथै सन्देशहरूसमेत प्रसारण गरिरहेका छौं ।

संक्रमित बढ्ने क्रममा भोजपुर जिल्ला पनि जोखिममा परेको छ, संक्रमितहरूको उपचारका लागि के व्यवस्थापन गरिएको छ ?

हाल जिल्लामा कोभिड-१९ सम्बन्धी लक्षण भएका र संक्रमित नजिक रहेका व्यक्तिहरूको एन्टिजेन र पिसिआर परीक्षणमा तीव्रता दिइएको कारणले गर्दा कोरोना संक्रमितहरूको बढ्दोक्रम देखिएको छ । कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्लामा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरिएको, जिल्लाको हरेक पालिकामा संक्रमितहरू राख्नका लागि अक्सिजनसहितको आइसोलेसन वार्डहरू निर्माण भएका छन् । भोजपुर नगरपालिका–६ को देउरालीस्थित शैक्षिक तालिम केन्द्रमा अक्सिजनसहितको ५० बेड क्षमता भएको कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लामा रहेका स्थानीय रेडियोमार्फत् नागरिकहरूलाई कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारको सन्दर्भमा जनचेतनामूलक सन्देशहरू प्रवाह भइरहेका छन् । जसबाट जिल्लाका नागरिकहरू सचेत भएको देखिन्छ । हामीसँग पर्याप्त अक्सिजन सिलिण्डरहरू रहेका छन् । अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरहरू सदरमुकाम र पालिकाहरूमा रहेका छन् । स्वास्थ्य सामग्रीहरु पर्याप्त सञ्चित रहेको अवस्था छ । सबै पालिकाहरू र दुर्गम स्थानमा समेत मेडिकल चिकित्सकसहितको टिमबाट स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

कोरोना नियन्त्रणका लागि भोजपुरमा रहेका नौ स्थानीय तहसँग कसरी समन्वय गरिरहनुभएको छ ? स्थानीय तहहरूबाट सहयोग पाउनुभएको छ ?

कोरोना नियन्त्रणका लागि स्थानीय तहहरूसँग राम्रो समन्वय भएको छ । स्वास्थ्य कार्यालयको समन्वयमा पालिकामा कार्यरत स्वास्थ्य संयोजकमार्फत् दैनिकरूपमा पालिकाभित्रका कोरोना संक्रमितहरूको अवस्था, पालिकाबाट कोभिड रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएका क्रियाकलापहरूको अवस्थाबारे जानकारी लिने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकमा सल्लाहकार समितिको प्रावधान राखिएको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा भोजपुर नगरपालिकाका नगरप्रमुख र एक पालिकाका महिला उपाध्यक्ष सदस्य रहने गरी तथा अन्य पालिकाबाट प्रमुख÷अध्यक्ष तथा प्रतिनिधिहरूलाई आमन्त्रित गरी समन्वयात्मकरूपमा बैठक बसी निर्णय गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकमा व्यापकरूपमा छलफल गरी समन्वयात्मकरूपमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जुटेका छौं । कुनै-कुनै पालिकाको कोरोना रोकथामका लागि क्रियाशीलता समान नभए पनि उहाँहरूले गरेको कार्यलाई प्रशंसनीय नै मान्नुपर्छ ।

जिल्लामा हाल जारी निषेधाज्ञाले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा ठप्प छन्, यसले जोखिम बढ्न नदिनका लागि कत्तिको मद्दत गरेको छ ?

जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण जिल्लामा अत्यावश्यक सेवाहरूबाहेक अन्य सबै सेवाहरू बन्द गरिएको छ । विकास निर्माणका कामहरू सुचारु नै गरिएको छ । कठिनाई उत्पन्न भएमा आवश्यकताअनुसार सहजीकरण भइरहेको छ । अत्यावश्यक सेवामा दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न र तरकारी बिक्रीवितरण गर्ने पसलहरू बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्न दिइएको र औषधि पसलहरूलाई निर्वाधरूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खुल्ला गर्न दिइएको छ भने अन्य सबै व्यापार व्यवसायहरू बन्द गरिएको छ । जिल्लामा जारी गरिएको निषेधाज्ञाको पालना भइरहेको देखिन्छ । जसका कारण कोरोना रोकथाम नियन्त्रणमा मद्दत पुर्‍याएको छ ।

कोरोना जोखिम न्यूनीकरणमा सरकारी संयन्त्रबाहेकका अन्य कुन-कुन निकायहरूबाट सहयोग भइरहेको छ ?

कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्लामा विभिन्न क्षेत्रहरूबाट सहयोग पुगिरहेको छ । स्वयंसेवी संस्था जस्तै, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल मेडिकल एसोसिएनलगायत व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री तथा आर्थिक सहयोगहरू जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रमार्फत् कोभिड अस्पताललाई सहयोग भइरहेको छ । जिल्लामा क्रियाशील राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ भोजपुर शाखाजस्ता विभिन्न संघसंस्था र क्षेत्रहरूबाट आवश्यक सहयोग पुर्‍याउनुभएको छ । जसका लागि उहाँहरूलाई धन्यवादसमेत ज्ञापन गर्न चाहन्छु ।

कोरोना समुदायस्तरमा बढ्न नदिन सर्वसाधारणले के भूमिका निर्वाह गर्न जरुरी देख्नुहुन्छ ?

कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि सर्वसाधारणको भूमिका महत्वपूर्ण हुन्छ । सबै नागरिकले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड पालन गरी जिल्लामा लागू गरेको निषेधाज्ञाको पूर्णरूपमा पालना गर्नका लागि हार्दिक अपिल गर्न चाहन्छु । समुदायस्तरमा सचेत रहन सकियो भने त्यसले जोखिम नियन्त्रणमा महत्वपूर्ण  भूमिका निर्वाह गर्न सक्छ । 

कोरोना नियन्त्रण अभियानमा जुट्नुभएको छ, भोजपुरे जनतालाई अन्त्यमा के अपिल गर्न चाहनुहुन्छ ?

एकल प्रयासले कोभिडको नियन्त्रण सम्भव नभएकाले सामूहिक प्रयास जरुरी छ । आ-आफ्नो कर्तव्य सम्झेर सबै सरकारी संयन्त्र, राजनीतिक दल, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्था तथा व्यक्तिहरूको संयुक्त प्रयासबाट मात्र यसको नियन्त्रण हुनसक्छ । त्यसैले आ-आफ्नो दायित्व सम्झेर निषेधाज्ञाको पूर्णरूपमा पालना गरी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गर्दै दैनिक क्रियाकलाप सञ्चालन गरी सहयोग पुर्‍याउनका लागि हार्दिक अनुरोध गर्दछु । साथै कोरोना जोखिमका सन्दर्भमा भएका प्रयासहरूलाई सबै सामु पुर्‍याउन तपाईंले गर्नुभएको सहयोगका लागि समेत धन्यवाद दिन चाहन्छु । 


Top