सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार : डा. उत्तम पच्या

हिमालय टाइम्स   POSTED ON : असार १५, २०७८ (७:२१ AM)

सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार : डा. उत्तम पच्या

कोरोनाको दोस्रो लहरबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेन । यहाँ एक्कासि बिरामीको चाप बढेपछि गुल्मी अस्पताललाई थेगिनसक्नु भार थपियो । अस्पतालले क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ । यहाँ जनशक्ति अभावकै बेला पनि कयौं स्वास्थ्यकर्मी संक्रमणको सिकार भए । कोरोना संक्रमितको उपचार र संक्रमण रोकथामका विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्यासँग हिमालय टाइम्सका गुल्मी संवाददाता रमेश विश्वकर्माले गर्नुभएको कुराकानी :-

अस्पतालको अवस्था कस्तो छ ? 

अस्पताल राम्रो गर्ने पथमा लागेको छ र यो निरन्तर बढोत्तरी सेवामा समर्पित छ । एउटा सानो बनोट भएको भौतिक पूर्वाधार भएको अस्पतालमा पनि कोभिड–१९ विरुद्ध लड्न ३१ बेड छुट्टयाएर सेवा गरिरहेको छ, जुन अति नै चुनौतीपूर्ण छ । चुनौतीका बाबजुद पनि अस्पतालले अहिलेसम्म १२८ जना कोभिड–१९ बिरामीलाई सेवा दिन सक्यो यो दोस्रो लहरमा । साथै आमा सुरक्षा कार्यक्रम, क्षयरोग, एचआईभीका बिरामीले निरन्तर औषधि सेवन गर्न सके र दीर्घरोगी पनि सेवाबाट वञ्चित हुनुपरेन, खोप सेवा निरन्तर जारी रह्यो, अरू जनरल सेवा पनि सँगसँगै चुस्तरूपमा सञ्चालन गर्न सकेका छौं ।

कोरोना नियन्त्रणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबाट कस्तो सहयोग रह्यो ?

सबैबाट विश्वास र सद्भाव पायौं कोरोना महामारी नियन्त्रणमा । स्थानीय तहबाट, रेसुंगा नगरपालिकाबाट चारजना स्वास्थ्यकर्मी र गुल्मी दरबार गाउँपालिकाबाट एकजना स्वास्थ्यकर्मीको सहयोग प्राप्त भएको छ । प्रदेश सरकारबाट कोभिड–१९ विरुद्ध  लड्न आवश्यक स्वास्थ्य सामग्री तथा औषधि आपूर्ति भएको छ । संघीय सरकारबाट अक्सिजन प्लान्ट स्थापनार्थ एक करोड र आइसियु स्थापनार्थ दुई करोड बजेट विनियोजन भएको छ र सोको लागि विद्युतीय बोलपत्रबाट आह्वान भइसकेको र सम्झौता पनि भइसकेको छ ।

कोरोना नियन्त्रणमा चुनौतीहरू के-के देखा परे ? 

सामग्री आपूर्ति, औषधि अभाव, भौतिक पूर्वाधार र जनशक्ति मुख्य चुनौती हुन् ।

कोरोना महामारीको बेलामा स्वास्थ्य संयन्त्र प्रभावकारी बनाउनका लागि कस्तो किसिमको पहलकदमी गर्नुभयो ? 

तीनवटा ‘सी’ प्रयोग गरें ः कम्युनिकेसन, कोडिनेसन, को–अपरेशन, यी तीन ‘सी’ ले मलाई चारै दिशाबाट सहयोग भयो । एउटा महŒवपूर्ण उदाहरण ः प्रदीप ज्ञवाली माननीयको पहलमा राज्यबाट आइसियु स्थापनार्थ दुई करोड विनियोजन भयो, २० अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री सहयोग र एक करोड विनियोजन भयो अक्सिजन प्लान्टका लागि । पत्रकार महासंघ गुल्मीले ५० लाख सहयोगी हातबाट जुटाई हामीलाई सहयोग भयो, माननीय गोकर्ण विष्टबाट १० लाख सहयोग जुटाउने प्रतिबद्धता आएको छ, जिल्ला समन्वय समिति गुल्मीबाट १० लाख सहयोगको प्रतिबद्धता र अरू धेरै ठाउँबाट सहयोग भयो ।

कोरोनाका बिरामीलाई उपचार गर्दा स्वास्थ्यकर्मीले कस्तो महसुस गर्नुभयो ?

अत्यन्तै समर्पित पाएँ । म अत्यन्तै गौरव गर्छु स्वास्थ्यकर्मीको बिरामीप्रतिको समर्पण देखेर । १३ जना स्वास्थ्यकर्मीहरू कोभिड संक्रमित हुनुभयो र पनि  निश्चित आइसोलेसन अवधिपछि काम सुचारु गर्नुभयो  । उहाँहरूको उत्साहजनक सेवा देखेर हर्षित छु । आफ्नो नेतृत्वप्रति पनि केही गर्व लाग्छ ।

तपाईं प्रमुख भएपछि अस्पतालमा गरेका सुधारका कामहरू के-के हुन् ?

भइरहेको सेवालाई सुदृढीकरण गरें- विशेषगरी गर्भवती महिलाको डेलिभरी सेवामा, जनरल सर्जरीदेखि दीर्घरोग सेवा साथै बालरोग सेवादेखि मानसिक रोग सेवामा थप सुदृढीकरण गरेको छु । अहिले आँखाको पनि विशेषज्ञ सेवा थपेको छु । सिसिटिभी र इन्टरकम जडान गरेको छु । क्लासिक एक्सरेबाट कम्प्युटेड एक्सरेमा बढोत्तरी गरेको छु । प्रयोगशाला आधुनिक बनाएको छु । स्थानीय तहसँग समन्वय गरी पिसिआर ल्याब पनि चलाएको छु । म आउनुअघि यो अस्पतालको कुनै सवारीसाधन थिएन । अहिले हामीसँग एउटा गाडी, एक एम्बुलेन्स र दुईवटा मोटरसाइकल छन् । सामाजिक सेवा एकाइको स्थापना भएको छ जसले गरिब, ज्येष्ठ नागरिक, बेवारिसे, महिला स्वयंसेविकाहरूलाई विशेष सहुलियत दिन मद्दत गर्दछ । बीमा लागू भएको छ, बीमित लाभान्वित हुनुभएको छ । लैंगिक हिंसाका लागि एकद्वार प्रणाली निरन्तर नै छ । 

जिल्ला अस्पतालमा अत्याधुनिक सेवासुविधासहितको विशेषज्ञ सेवा कहिलेदेखि सुरु हुन्छ ? 

केही विशेषज्ञ सेवा म आएदेखि सुरु भएको छ– गर्भवती महिलाको डेलिभरीसम्बन्धी सेवा, जनरल सर्जरी र सामान्य चिकित्सा र आँखा विशेषज्ञ सेवा । दुई वर्षभित्र धेरैजसो विशेषज्ञ सेवा सुरु हुनेछ । त्यसका लागि प्रदेश सरकारले पनि अफिस एन्ड मेथड गर्दैछ । अर्को आर्थिक वर्षदेखि आइसियु सेवा पनि सुरु हुनेछ, आवश्यक जनशक्ति प्राप्त भयो भने ।

अस्पताललाई ५० शैश्याको बनाउनका लागि धेरै किसिमको पहलकदमी रह्यो भन्ने सुनिन्छ तर हालसम्म पनि प्रभावकारी काम भएको देखिँदैन किन ?

आधिकारिकरूपमा यो अस्पताल ५० शैश्याको अस्पताल नै हो र दरबन्दी पनि त्यसैअनुसार छ । भौतिक पूर्वाधारको कमी र विशेषज्ञ जनशक्तिको कमी हो । भौतिक संरचनाका लागि टेन्डर भएर सम्झौता भइसकेको खबर आएको छ । विशेषज्ञ जनशक्ति पनि दुई वर्षमा पूर्ति हुनसक्छ तर त्यसका लागि लोकसेवा खुल्नुप¥यो (चार वर्ष भइसक्यो नखुलेको), यहाँको स्वास्थ्य बजार पनि अधिक हुनु जरूरी छ र समूदाय पनि स्वागतयोग्य हुनु जरूरी छ । केही अकल्पनीय घटना घट्यो कि भौतिकदेखि मानसिक तनाव दिने गरिन्छ । त्यसैले चिकित्सक पनि विशेषज्ञ सेवा गर्न दुरुत्साहित हुन्छन् । 

अकस्मात् जटिल प्रकारका महामारी रोगहरू आउँदा स्वास्थ्य संयन्त्रले प्रभावकारी काम गर्न नसकी धेरै मानिसको मृत्यु भएको छ, किन ? 

अकस्मात् घटना हुँदा जो पनि आत्तिन्छ र समाधान तुरुन्तै गर्न गाह्रो हुन्छ, यो प्राकृतिक नियम पनि हो । यो कुरा बुझ्नु जरुरी हुन्छ, त्यसका लागि पूर्वयोजना चाहिँ आवश्यक हुन्छ । तर, अहिलेको कोभिड–१९ चाहिँ पूरै नयाँ भएकाले सुरुवातमा सामना गर्न गाह्रो भएकै हो । यो नयाँ रोग पनि पर्‍यो, उपचार छैन, त्यसैले धेरै मानिसको मृत्यु भएको हो ।

स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा सरकारले राजनीतिक संरचनाअनुसार व्यवस्थापन समिति बनाएको छ, यसले असर गर्छ कि गर्दैन ? 

यसका दुई पाटा हुन सक्छन्, यदि समिति निःस्वार्थ भावनाको उद्देश्यले काम गर्न खोजेमा अत्यन्तै फलदायी हुन्छ । किनकि राजनीतिक नियुक्तिले गर्दा समन्वय गर्न सक्छ तर व्यक्तिगत वा गुटगत उद्देश्यका लागि हो भने त्यो जत्तिको हानिकारक केही हुँदैन । 

अन्त्यमा के भन्न चाहन्नुहुन्छ ?

चारै दिशाबाट कल्याणकारी विचार आओस् । सबैलाई धन्यवाद दिन चाहन्छु । महामारीविरुद्ध लड्न चारै दिशाबाट सहयोग भयो । एक्लै कसैले काम गर्न सक्दैन, सबैबाट सहयोग, सद्भाव र विश्वास भयो भने कठिनभन्दा कठिन लक्ष्य पूरा गर्न सकिन्छ । तर, त्यसका लागि  हिम्मत, आँट, रचनात्मक सोच, ज्ञान, सीप नभई चाहिँ हुँदैन । 


Top