लघुवित्त ठगी खाने संस्था होइनन् : हेमराज दाहाल अध्यक्ष, लघुवित्त कर्मचारी मिलन केन्द्र

हिमालय टाइम्स   POSTED ON : असार १५, २०७८ (८:४९ AM)

लघुवित्त ठगी खाने संस्था होइनन् : हेमराज दाहाल अध्यक्ष, लघुवित्त कर्मचारी मिलन केन्द्र

मुलुक यतिबेला कोरोना महामारीबाट गुज्रिरहेको छ । यसबीचमा पनि समूहलाई वित्तीय साक्षरतासहित बचत तथा ऋण लगानीको कार्यमा लघुवित्त लागिरहेका छन् । तर, सरोकारवालाले बैंकहरूलाई मात्र आर्थिक कारोबार गर्ने संस्थाका रूपमा लिने र लघुवित्तलाई ठगी खाने संस्थाका रूपमा लिने गरेको भन्दै लघुवित्तकर्मीले गुनासो गर्ने गरेका छन् । यिनै विषयमा महुली लघुवित्त वित्तीय संस्था भोजपुरका प्रमुख तथा लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष हेमराज दाहालसँग हिमालय टाइम्सका भोजपुर संवाददाता निरोज कोइरालाले गर्नुभएको कुराकानी ;-

भोजपुरमा कतिवटा लघुवित्त संस्था सञ्चालनमा छन् ?

भोजपुर जिल्लाभित्र हाल १६ वटा लघुवित्त संस्था क्रियाशील छन् र सदरमुकाममा मात्र १२ लघुवित्त संस्था रहेका छन् । यहाँ २०६७ देखि महुली लघुवित्त वित्तीय संस्थाले पहिलो लघुवित्त सेवा सुरु गरेको हो । हाल सदरमुकाममा सञ्चालित १२ लघुवित्तमा १२ हजार घरपरिवार विभिन्न समूहमार्फत् आबद्ध रहेका छन् । आबद्ध सदस्यले २५ करोड बचत गरेका छन् भने संस्थाले विभिन्न आयआर्जन र सीपमूलक कार्यका लागि बिनाधितो र धितो गरी ५० करोड लगानी गरेका छन् । नेपालमा हाल बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले चार श्रेणीमा विभाजन गरेको छ । लघुवित्तहरू ‘घ’ वर्गमा पर्छन् ।

लघुवित्तले कसरी काम गरिरहेका छन् ?

लघुवित्तहरूले समूहमा गएर वित्तीय साक्षरता, बचत, ऋण लगानीलगायत कार्य गर्दै आएका छन् । विश्वमा लघुवित्तको सुरुवात बंगलादेशबाट भएको हो र हाल विश्वका अधिकांश देशमा विस्तार भइसकेको छ भने नेपालमा २०४९ देखि सुरु भएको हो । खासगरी बंैकको पहुँच नपुगेका ग्रामीण क्षेत्रका गरिब तथा विपन्न महिलालाई आर्थिक र सामाजिकरूपमा सवल बनाउने उद्देश्यका साथ लघुवित्तले काम गर्दै आएका छन् । लघुवित्तले समुदायमा रहेका महिला समूहमार्फत् बिनाधितो परियोजनामा लगानी गर्ने गरेका छन् । 

लघुवित्तको दायरा सानो हुन्छ, काम गर्न कत्तिको सहज छ ?  

भोजपुर सदरमुकाममा हाल १५ कमर्सियल बैंक र १२ लघुवित्तका साथै सहकारी छन् । यति सानो बजारमा यति धेरै बैंक तथा वित्तीय संस्थालाई कारोबार गर्न असहज त भएकै छ तर लघुवित्तको अधिकांश कारोबार ग्रामीण भेगमा रहेकाले खासै समस्या छैन । एउटै व्यक्तिले कमर्सियल बैंक, लघुवित्त र सहकारीमा कारोबार गर्दा कति ऋणीलाई समस्या पनि पर्ने गरेको पाइन्छ । यस्तो समस्यालाई न्यूनीकरण गर्ने उद्दश्यका साथ लघुवित्त मिलन केन्द्र गठन गर्दै सदस्यको अवस्थालाई अध्ययन गरी सुदृढीकरणसमेत गरेका छांै । 

कोरोना जोखिम र लकडाउनले कत्तिको समस्या पारेको छ ?

दोस्रो लहरको कोरोना संक्रमणका कारण हामीलाई विगतमा जस्तो काम गर्न सहज त छैन तर पनि हाम्रो जिम्मेवारी भनेको समूहसँग नियमित सम्पर्क तोकिएको मितिमा गर्नैपर्छ । कोरोना उच्च जोखिममा पनि मलगायतका हाम्रा वित्तकर्मी साथीहरूले स्वास्थ्य मापदण्डसहित जिम्मेवारी पूरा गर्नुभएको छ । यसबीचमा समूहमा रहनुहुने बचतकर्ताले पनि हामीलाई फोनमार्फत् भए पनि नियमित सम्पर्क गरिरहनुभएको छ । 

कतिपयले लघुवित्तलाई ठगी खाने संस्था पनि भन्ने गरेका छन् नि ? 

लघुवित्तले ग्रामीण समुदायका निरक्षर तथा अल्पसाक्षरलाई वित्तीय साक्षरतामा जोड दिने गरेको छ । चेतनाको कमीले केही लघुवित्तलाई ठगी खाने संस्थाको आरोप पनि लगाएका छन् तर नेपाल राष्ट्र बंैकको निगरानी र निर्देशनमा चल्ने लघुवित्त ठगी खाने संस्था होइनन्, सहयोगी संस्था हुन् । 

लघुवित्तका लक्षित समूहचाहिँ कुन हो ?

लघुवित्तमार्फत् सञ्चालन हुने कार्यक्रम प्रायः महिला लक्षित छन् । देशको कुल जनसंख्याको करिब ५१ प्रतिशत जनसंख्या महिला नै रहेका छन् । आधाभन्दा बढी जनसंख्या निष्क्रिय रही केवल चुला र चौकामा मात्र सीमित रहेको अवस्थामा लघुवित्त कार्यक्रमले महिलालाई संगठित गराई ऋण उपलब्ध गराउने र चुलाचौकाबाट व्यावसायिक स्वरोजगारमा लाग्न प्रोत्साहित गर्दै आएको छ । 

वित्तीय साक्षरता र बैंकिङ पहुँचमा लघुवित्तको भूमिका कस्तो छ ?

वास्तवमा वित्तीय साक्षरता र बैंकिङ पहुँच विस्तारमा लघुवित्तको महत्वपूर्ण भूमिका हुन्छ । यी दुवैमा लघुवित्तको ठूलो योगदान छ । लघुवित्तमा महिला सदस्यको संख्या बढी छ । हामीले व्याज यसरी तिर्नुपर्छ, कर्जा यसरी लिनुपर्छ, बचत यसरी गर्नुपर्छ भनेर पनि सिकायौं । विभिन्न पेशा व्यवसाय सञ्चालनमा ऋण उपलब्ध गराएका छौं । ठूला वर्गका बैंक गाउँभन्दा सदरमुकाम केन्द्रित रहेको अवस्थामा लघुवित्तले गाउँ-गाउँ पुगेर समूह निर्माणसँगै वित्तीय क्षेत्रमा टेवा पु¥याउँदै आएको छ । 

लघुवित्तकर्मी र समूह सदस्यलाई के भन्नुुहुन्छ ?

विशेषतः तपाईंलाई लघुवित्तका विषयमा देखिएका समस्या, फाइदा–बेफाइदा तथा आरोपबारेमा कुरा राख्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । जिल्लामा जसरी १६ लघुवित्त हाल सञ्चालनमा छन्, ती सबै सञ्चार क्षेत्रको साथ र सहयोगबाटै चलेका हुन् । हामी १० वर्षे द्वन्द्व, भूकम्प हँुदै कोरोनाको विषम परिस्थितिमा ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउने लघुवित्तमात्रै थियो । गरिबी न्यूनीकरण गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई बलियो बनाउनु नै मुख्य काम हो, यसमा लघुवित्त र समूहबीच दरिलो सहकार्य हुनुपर्छ ।  


Top