विचारले साहित्यलाई जीवित राख्छ भने कलाले त्यसलाई सुन्दर बनाउँछ : साहित्यकार मदन राई ‘लामाखुले’

हिमालय टाइम्स   POSTED ON : असार २०, २०७८ (५:४५ PM)

विचारले साहित्यलाई जीवित राख्छ भने कलाले त्यसलाई सुन्दर बनाउँछ : साहित्यकार मदन राई ‘लामाखुले’

तीसको दशकदेखि साहित्यमा अनवरत कलम चलाइरहनुभएको छ साहित्यकार मदन राई ‘लामाखुले’ । उहाँको काव्यको भाषा, शिल्प र ध्वनिले मुन्दुमी दर्शनको मूल्यलाई मानवजीवनसँग मिहिन जोडेको पाइन्छ । जगतका समाजोपयोगी सूक्ष्मतम् सत्यहरूलाई विम्बात्मकरूपले अभिव्यक्त गर्न रुचाउने कवि हुनुहुन्छ उहाँ । खोटाङको लामाखुमा विसं. २००६ सालमा जन्मिनुभएका उहाँका ‘सप्तकोशी’ संयुक्त कवितासंग्रह, ‘घाइते आकाश’ कवितासंग्रह, ‘नबिर्सिएका सम्झनाहरू’  संस्मरणसंग्रह, ‘युरोप यात्राका सम्झनाहरू’ ‘संस्मरण संग्रह’ जस्ता कृति पाठकमाझ आएका छन् केही कृतिका पाण्डुलिपि प्रकाशनको तयारीमा रहेका छन् । छिट्टै नै पाठकमाझ आउन लागेको उहाँको कविता कृति हो ‘म हिँडेका डोबहरू’ । यस्तै, उहाँका थुप्रै फुटकर रचना प्रकाशित छन् । समाजका गतिशील अवस्थाहरूलाई समयसँगै दस्तावेजीकरण गरिरहेको हुन्छ भन्नुहुने साहित्यकार ‘लामाखुले’सँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीः-

हाल के गर्दै हुनुहुन्छ ?

केही समयअघि ओरियन्टल प्रकाशन गृहद्वारा मेरो नवीनतम यात्रा संस्मरण कृति ‘युरोप यात्राका सम्झनाहरू’ प्रकाशनमा ल्याएको छु । हाल यसै कृतिको पाठकीय प्रतिक्रियाहरू बटुल्दै छु । यस्तै, पछिल्लो समयमा लखेको मेरा कविताहरू पुनः रिराइटिङ गरिरहेको छु । जो अब छिट्टै संग्रहको रूपमा पाठकमाझ आउनेछ । साथै केही बोन्साई कविताहरू पनि लेखिरहेको छु । 

यहाँलाई साहित्य र समाजको सम्बन्ध कस्तो हुनपर्छ जस्तो लाग्छ ?

सुन्दा सरल जस्तो लाग्ने यो प्रश्नको जवाफमा ‘साहित्य र समाजबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्छ’ मात्रै भनियो, यो जवाफ अपूर्ण हुन्छ । किनकि यो निकै जटिल प्रश्न हो । त्यसैले साहित्य समाजको ऐना मात्रै नभएर कुमार्ग उन्मुख समाजलाई सत्मार्गतर्फ डोर्‍याउने अदृश्य तर अति नै सुन्दर माध्यम हो साहित्य । साहित्य आफैँमा के हो ? र समाज के होइन ? छोटोमा भन्नुपर्दा भाषाको माध्यमद्वारा प्रस्फुटन हुने जीवन जगतको ज्युँदो अभिव्यक्ति साहित्य हो । जसले समाजका गतिशिल अवस्थाहरूलाई समयसँगै दस्तावेजीकरण गरिरहेको हुन्छ ।

कविता लेख्दा यहाँमा कस्तो अनुभूति हुने गर्दछ ?

कविता लेख्नेहरूलाई समाजले ‘कविजी’ भनेर सम्बोधन गर्छ र त्यो सम्बोधन नै कविको पहिचान बन्छ । हुन त कविहरूले गर्ने हरेक सिर्जना समाजमै घटित विभिन्न घटना एवं परिस्थितिहरूको उपज हो तथापि कुराहरूलाई शब्दहरूमा खेलाउँदा कवि कहिले भावुक हुन्छ, कहिले आन्दोलित हुन्छ, कहिले आक्रोशित हुन्छ त कहिले प्रेमिल हुन्छ । जे होस् चेतनशील मानिसमा हुने कवित्व, भावनायुक्त मानिसमा हुने फिक्सनरी रियाक्सन जसको स्वाभाविक र सन्तुलित घर्षणद्वारा कविता जन्मिँदा अन्य कविलाई झैं मलाई पनि मेरो अनुभूतिहरूले यस कार्यमा सधैँ धकेलिरहेको बोध गराउँछ ।

साहित्यमा कला र विचारमध्ये कुन चाँहि महत्वपूर्ण हो ?

साहित्यमा कला र विचार दुवैको महत्व बराबर छ । विचारले साहित्यलाई जीवित राख्छ भने कलाले त्यसलाई सुन्दर बनाउँछ ।

नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारसम्म पुग्न नसक्नुको कारण ?

नेपाली साहित्यको इतिहास खासै लामो छैन । नेपालमा पृथ्वीनारायण शाहको शासन काल अर्थात् विसं. १८०० पछि मात्रै साहित्य लिखित रूपमा अस्तित्वमा आएको हो । त्यहाँदेखि प्रारम्भ भएको साहित्यमा हामीले प्राज्ञिक विमर्श गर्न सकेका छैनौँ । साहित्यमा आफ्ना मौलिक ज्ञानहरू सोचे जति जोड्न सकेका छैनौँ र जे जति लेखिएका छन् त्यसलाई जिम्मेवारीपूर्वक अनुवाद गरेर विश्व साहित्यको विश्व बजारमा उपस्थित गराउन सकेका छैनौँ । यिनै कारणहरूले गर्दा आजसम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली साहित्य पुग्न नसकेको हो ।

नयाँ पुस्ताका लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ ?

साहित्यमा कलम चलाउने हरेक नयाँ पुस्ताले, पुराना पुस्ताहरूलाई पढ्नुपर्छ । समय र समाजलाई अध्ययन गर्नुपर्छ र आफ्नो मौलिक भाषा र दृष्टिकोण बनाउनुपर्छ । अध्ययन, साधना, चेतना सम्पूर्ण हरेक स्रष्टामा हुनुपर्छ । म नयाँ पुस्ताका प्रत्येक स्रष्टालाई प्रेम गर्छु ।


Top