आत्मिक सन्तुष्टि तथा सपनालाई उत्पादन र नाफासँग जोड्न मिल्दैन : कवि सुनिता गिरी

हिमालय टाइम्स   POSTED ON : श्रावण २, २०७८ (८:१४ AM)

आत्मिक सन्तुष्टि तथा सपनालाई उत्पादन र नाफासँग जोड्न मिल्दैन : कवि सुनिता गिरी

साठीको दशकदेखि साहित्यमा अनवरत कलम चलाइरहनुभएकी साहित्यकार सुनिता गिरी मूलतः कवि हुनुहुन्छ । चितवन रत्ननगरमा जन्मिएर हाल प्रवास हङकङलाई कर्मथलो बनाइरहनुभएकी उहाँको सशक्त कविताकृति ‘माइत जाने बाटो’ नेपाली काव्यजगत्ले प्राप्त गरेको एक सुन्दर उपहार हो । पहिलो कविताकृतिबाटै सशक्त कविका रूपमा स्थापित हुन सफल उहाँका कविताहरूमा प्रवासी पीडा, राष्ट्रिय प्रेम, नारी संवेदना, सामाजिक मुद्दा र मुक्ति, अधिकार र मानवीय स्वतन्त्रता, प्रकृति र जीवनदर्शनका सुस्पष्ट मार्गहरू प्रशस्त पाइन्छन् । विषयवस्तुलाई सन्तुलित बिम्ब र प्रतीकको माध्यमद्वारा चोखो भाषाशैलीमा लालित्यपूर्ण तवरले पस्कनुहुने उहाँ हङकङ साहित्यिक साझा शृंखलाको पूर्वसंयोजक हुनुहुन्छ । नेपाली भाषा तथा साहित्य परिषद् हङकङद्वारा प्रदान गरिने गरिमामय ‘पारिजात पुरस्कार’ लगायत विभिन्न प्रतिष्ठित पुरस्कार÷सम्मानहरूद्वारा सम्मानित कवि सुनिता गिरीसँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको अन्तरसंवाद :-

हालको समय कसरी व्यतित गरिरहनुभएको छ ?

भर्खरैमात्र हङकङ साहित्यिक साझा शृंखलाको मेरो संयोजकीय कार्यकाल पूरा भएको छ । त्यसैले केही फुर्सदजस्तो भएकाले यो समयलाई अहिलेको कोभिडद्वारा सिर्जित विकराल अवस्थाबारेमा आफ्ना अनुभूतिहरू लेखिरहेकी छु । 

तपाईं त कवितामा बढी कलम चलाउनुहुन्छ, अन्य विधामा लेखिरहँदा मिल्ने फरक अनुभूति कस्तो हुँदोरहेछ ?

हो, म प्रायः कवितामै बढी रमाउँछु । यसकारण कि कविता छोटो संरचनामा सबैभन्दा बढी लेखिने प्राज्ञिक विधा हो । जसको भाषा बिम्बात्मकमात्रै नभएर बहुअर्थीसमेत हुन्छ । त्यसर्थ कविता लेखिरहँदा हुनेजस्तो तनाव र लेखिसकेपछि मिल्ने गहिरो सन्तुष्टि मलाई अन्य विधामा कलम चलाउँदा मिल्दैन । 

लेखनमा हराइरहँदा तपाईं के कुरालाई बढी ध्यान दिनुहुन्छ ?

म पाठकहरूलाई ध्यानमा राखेर लेखिरहेकी हुन्छु । पाठकहरूसितै संवाद गरिरहेकी हुन्छु, जसको मर्म र विचारहरूलाई आफ्नो रचनाको संवेदनामा उन्न सकें या सकिनँ भन्ने चिन्ताले ज्यादा ग्रसित हुन्छु । 

तपाईंको दृष्टिकोणमा साहित्य के हो  ?

साहित्य भनेको मानिसको हृदयको सबैभन्दा सुन्दर ऐना हो, जहाँ मानिसले कहिले आफ्नै दुःखको गहिरो छायाँ देख्छ त कहिले सुखको उज्यालो अनुहार ।

साहित्यप्रतिको रुचि कहिलेदेखि बढ्यो तपाईंमा ?

जब मैले पहिलोचोटि आफ्नै जीवनलाई नजिकबाट बुझें, आफूभित्रका अथाह दुःख, आँसु, संघर्ष, सपना र माया– ममतालाई सूक्ष्मरूपले चिनें, त्यहीँदेखि ममा साहित्यप्रति अगाध रुचि सुरु भएको हो । अहिले त यो मेरो सबैभन्दा नजिकको साथीजस्तो भएको छ ।

सामाजिक रूपान्तरणमा साहित्यको कस्तो प्रभाव रहन्छ  ?

कला र साहित्यबिनाको समाज अँध्यारोमात्रै होइन, अपांग नै हुन्छ । समाजलाई स्वस्थ, सुन्दर र गतिशील बनाउन साहित्यको अहं भूमिका रहन्छ । यसर्थ, सामाजिक रूपान्तरणको भरपर्दो जग नै साहित्य हो ।

साहित्यलाई आफूबाट अलग्याएर हेर्दा कस्तो अनुभव गर्नुहुन्छ तपाईं  ?

साहित्यलाई आफूबाट अलग्याएर हेर्दा आफूलाई निष्पट अन्धकारबीच निस्सासिरहेको बिरानो यात्रीजस्तो अनुभव गर्छु । 

नेपाली साहित्यमा महिला स्रष्टाहरूको लोभलाग्दो सूची छ । त्यो सूचीबीच आफूलाई कहाँनेर पाउनुहुन्छ तपाईं ?

साहित्यमा महिला स्रष्टाहरूको बाक्लो उपस्थितिप्रति गर्व लाग्छ मलाई । जुन उपस्थितिबीच मेरो पनि कहीँ आफ्नै स्पेस छ । त्यो स्पेसलाई सुरक्षित र मजबुत बनाउने कुरामा म सचेत छु ।

तपाईंलाई अति प्रभाव पारेका कुनै कविताहरू छन् ?

धेरै छन् त्यस्ता कविताहरू । त्यसमध्ये पनि पारिजातको ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’, भूपि शेरचनको ‘असार’, तुलसी दिवसको ‘यात्रा संस्मरण’, कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’, श्रवण मुकारुङको ‘गाउँ र आमा’, चन्द्र रानाहँछाको ‘फेरि एकचोटि’, शशि लुमुम्वुको ‘पहाड बुढो’ लगायत थुप्रै कविताबाट म गहिरो गरी प्रभावित छु । 

साहित्यलाई अनुत्पादक क्षेत्र भन्ने गर्छन् । यहाँले यो क्षेत्रलाई किन अँगाल्नुभयो ?

मान्छेको सम्पूर्ण आत्मिक सन्तुष्टि र सपनालाई उत्पादन र नाफासँग जोड्न मिल्दैन । त्यसो त बजारमा लेखकहरूको शब्दहरू, भावहरूमात्रै बिक्री हुने हो, उसको हृदय त बिक्री हुँदैन, त्यसैले साहित्यजस्तो अमूल्य चिजलाई बजारी बिक्री र नाफासँग मापन गर्नु ठिक होइन भन्ने लाग्छ । 

यो क्षेत्रमा लागिरहँदा कत्तिको कठिनाइ भोग्नुभयो तपाईंले ?

सुरुमा कलम चलाउँदा जोसुकै स्रष्टा अन्योलग्रस्त हुन्छन् । आफूले लेखेको भयो, भएन ? लेखेपछि छापिन्छ छापिन्न ? पाठकले रुचाउँछन्, रुचाउँदैनन् ? आफू पनि अरूजस्तै प्रकाशित हुन पाए हुन्थ्यो जस्ता चिन्ता र हुटहुटीसहित हरेक स्रष्टाको सिर्जनायात्रा सुरु हुन्छ । र, त्यससँगै लेखनलाई मार्गनिर्देशनको टड्कारो आवश्यकता पर्छ, म पनि त्यस्तै परिस्थितिबाट गुज्रदै आएकी हुँ । र, दुर्भाग्यवस मैले मेरो सुरुवाती यात्रामा गतिलो मार्गनिर्देशक पाइनँ । आफैं लेखक, आफैं पाठक र आफैं समीक्षक हुँदै अगाडि बढेकी मैले भाग्यवस अहिले धेरै पाठकहरूको माया पाएकी छु । पाठकहरूकै अमूल्य प्रतिक्रिया अहिले मेरो लेखनको मार्गदर्शन हो ।

हिँड्दा-हिँड्दै छुट्ने बेला केही छुटाउनुभयो कि ?

भौतिकरूपमा ईश्वरले आमासँग सधैंका लागि छुटाएकी मलाई सधैं खट्किरहने कुरा के भने यदि अहिले मेरी आमा मसँग हुनुभएको भए छेउमा बसेर उहाँमाथि नै लेखेका मेरा कविताहरू सुनाउँथें र प्रतिक्रियामा उहाँको अनुहार पढ्थें ।


Views: 272

Top