समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने जस्ता काम कला क्षेत्रले गर्छ : रामकाजी घिमिरे, निर्देशक/कलाकार

हिमालय टाइम्स   POSTED ON : श्रावण ९, २०७८ (८:०० AM)

समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने जस्ता काम कला क्षेत्रले गर्छ : रामकाजी घिमिरे, निर्देशक/कलाकार


नेपाली कला क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गराई यसै क्षेत्रको श्रीवृद्धिमा तल्लीन रहेको नाम हो- रामकाजी घिमिरे  । रंगमञ्च, टेलिभिजन र चलचित्रका त्रिवेणी रामकाजी नृत्य तथा अभिनय प्रशिक्षकका रूपमा पनि चिनिनुहुन्छ । अभिनय, लेखन र निर्देशनमा आफूलाई व्यस्त बनाउँदै आउनुभएका उहाँले पाँच दर्जन जति चलचित्रमा अभिनय गर्नुभएको छ । थुप्रै टेलिचलचित्र, सिरियल, सडक नाटक, डकुमेन्ट्रीमा लेखन, निर्देशन र अभियन गर्नुभएका उहाँ विभिन्न संघ-संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ  । पछिल्लो समय आफूलाई लेखनमा व्यस्त राख्दै आएको बताउनुहुने उहाँले रमाइलो टिभीबाट आइरहेकोे ‘कुल खानदान’ सय भाग लेख्नुभएको छ । यस्तै बुढासुब्बा डिजिटलबाट आइरहेको ‘डाँडाको वरपिपल’ पनि २१ भाग पुगेको उहाँ बताउनुहुन्छ । थुपै सिरियल तथा नेपाली चलचित्र लेख्नुभएको छ उहाँले । नेपाली कलाकर्ममा सक्रिय रहनुभएका अभिनेता, लेखक तथा निर्देशक रामकाजी घिमिरेसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

पछिल्लो समय के गर्दै हुनुहुन्छ  ?

पछिल्लो समय अलिक बढी लेखनमा नै सक्रिय छु । सोभित बस्नेतको निर्देशन रहेको रमाइलो टिभीबाट आइरहेको ‘कुल खानदान’ सय भागमा पुगेको छ । जसमा विशिष्ट कलाकार नीर शाहलगायत अभिनयमा हुनुहुन्छ । यस्तै बुढासुब्बा डिजिटलबाट आइरहेको सिरिज मुभी ‘डाँडाको वरपिपल’ २१ भागमा छ । यसमा वरिष्ठ कलाकार गौरी मल्ल, शिव श्रेष्ठ लगायतअभिनयमा हुनुहुन्छ । यस्तै-यस्तै चल्दैछ । लघु सन्देशहरू निर्माणको तयारीमा पनि छु । साथै, अभिनय प्रशिक्षण कार्यमा पनि लागिरहेको छु  ।

यो क्षेत्रमा कसरी आउनुभयो  ?

बाल्यावस्थादेखि नै म रंगकर्ममा अभिरुचि राख्ने र स्कुल पढ्दा पनि नाटकहरूमा उत्साहका साथ सहभागी हुने गर्थें । यो क्षेत्रमै मेरो भविष्य छ जस्तो लाग्नुको पहिलो बिउचाहिँ मेरो गाउँ काभ्रे ढुङ्खर्कको पार्वती स्कुलमा म तीन कक्षा पढ्थें र मेरो स्कुलका अग्रज दाइहरू हरेक वर्ष नाटकको आयोजना गर्नुहुन्थ्यो । त्यसबेला मलाई नाटकको बीच–बीचमा रमाइलो प्रस्तुति गर्न मौका दिइन्थ्यो र मैले जँड्याहाको रोल गर्ने गर्थें । मेरो थेगो ‘घ्याम्पे कम्पनीको कोठीको सर्वत खाएको संसारै मेरो भएछ’ भन्ने थियो । यो थेगोले र मेरो प्रस्तुतिले गर्दा नाटकको मूल विषयवस्तु नै ओझेलमा प¥यो । गाउँमा सबै आफन्त, चिनेजानेकाबीच म निकै समय चर्चित रहें र मलाई जसले पनि ‘तँ भविष्यमा राम्रो कलाकार बन्छस्’ भन्थे । त्यो फक्रिँंदै गरेको जीवनमा अरू के चाहियो ? ममा अभिनय गर्ने रङ गाढा हुँदै गयो । स्कुल लेवल सकेर सहर आइयो र बागबजारस्थित प्रतिभा कला मन्दिर, जसको प्रशिक्षक सुभाष गजुरेल र व्यवस्थापक रवि राजोपाध्याय हुनुहुन्थ्यो, त्यहाँ भर्ना भएँ । आजसम्म पनि २०४६ सालदेखिका हामी प्रतिभा ग्रुप्स भनेर चिनिने बेला–बेलामा जमघट हुने गर्छौं । जसमा मलगायत सुभाष गजुरेल, उत्तम केसी, मोहन निरौला अग्रजका साथ रवि डंगोल, कृष्ण गिरी, दिनेश कार्की, भरत कार्की, कृष्णा ढुंगाना, बद्री पौडेल, रामहरि श्रेष्ठ, वसन्त श्रेष्ठ, अनिल खड्की (आकाश), जितेन्द्रमान श्रेष्ठ, नारायण नगरकोटी, धु्रवबहादुर क्षेत्री, सुन्दर श्रेष्ठ (नायक), सन्तकुमार गिरी, उद्यव गिरीलगायत नयाँसहित ४०–५० जना निरन्तर साथमा छौं । प्रायः सबै साथीहरू यही कला क्षेत्रमा रहे तापनि अन्य काम पनि गर्नुहुन्छ तर म भने यसैमा निरन्तर छु, अरू कुनै काम गरेको छैन । पूर्णकालीनरूपमा कला क्षेत्रमा समर्पित भएर लागेको छु । 

यो क्षेत्रमा लाग्न उत्प्रेरणा दिने कोही थिए कि ?

सबैभन्दा पहिला त यसको उत्प्रेरक म मेरी अर्धांगिनीलाई दिन्छु, जसले कैयौं समस्या आइपर्दा पनि यो कला क्षेत्रलाई छोड्नुस् अर्कै काम गरी पैसा कमाउनुस् भनेर दबाब दिइनन् । म पनि हर दुःख–सुखलाई यो कला क्षेत्रकै उपज ठानेर निरन्तर लागिरहें । यदि श्रीमतीले मलाई दबाब दिएको भए म यो क्षेत्र छोड्न बाध्य हुन्थें या दुवैतिर लाग्थें । तर, आज लगभग ३२ वर्ष निरन्तर उनैको सहयोगमा म यही क्षेत्रमा छु  । त्यसपछि दाजुभाइहरूका साथै गुरुलाई पनि सम्झनैपर्छ मैले । आज गुरूपूर्णिमाको दिन उहाँहरू सबैमा हार्दिक नमन ।

अहिले चलचित्र क्षेत्रलाई कस्तो पाउनुहुन्छ  ?

अहिले त कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि चलचित्र क्षेत्र ठप्पप्रायः छ । यो बीचमा केही चलचित्र छायाँकन त भए तर हल खुल्ने कहिले भन्ने निश्चित छैन । प्रदर्शनको तयारीमा रहेका चलचित्र पनि रोकिएर बसेका छन् । फेरि पनि म्युजिक भिडियो र सिरियलहरूको काम भने भइरहेको छ । केहीमात्रामा भए पनि यिनले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । समग्र नेपाली चलचित्रको कुरा गर्नुहुन्छ भने हिजोभन्दा धेरै विकसित र परिष्कृतरूपमा देख्छु म । यसको बजार पनि विस्तार भएको छ । भारतीय त्यो पनि बलिउडका ३ सय ४ सय करोड भारुमा बन्ने चलचित्रकै दाँजोमा बढीमा एक–डेढ करोड नेपाली रुपैयाँमा नेपाली चलचित्र बन्ने माहोल बनेको छ । नेपाली दर्शकले नेपाली चलचित्रलाई पनि भारतीय चलचित्रकै स्तरमा हेर्न पाइरहेका छन् । यो राम्रो प्रगति हो नेपाली चलचित्र जगत्को ।

राम्रा चलचित्र बन्दाबन्दै पनि हाम्रा चलचित्रले व्यापार भने राम्रो गर्न नसक्नुको कारणचाहिँ के हो जस्तो लाग्छ  ?

यसका कैयौं कारण छन् । एक त हामीले सबै नेपालीसामु नेपाली चलचित्र पुर्‍याउन सकेका छैनौं । ७७ जिल्लामा कैयौं जिल्ला छन्, जहाँ एउटा पनि सिनेमा घर छैन । दोस्रो, हामी चलचित्र बनाउँछौं तर प्रचारप्रसारमा कञ्जुस्याइँ गर्छौं । तेस्रो, चलचित्र वितरकहरू एकमत छैनन्, होडबाजीमा छन्, जसले गर्दा राम्रो चलचित्रले हल पाउँदैन, पाए पनि विदेशी या स्वदेशी नै ३–४ वटा एउटै समयमा लञ्च गरिन्छ । चौथो, राम्रो अर्थात् सर्वमान्य चलचित्र निकै कम बन्छन्, हावादारी र सिकारु चलचित्र धेरै बन्छन्, जसले गर्दा राम्रा चलचित्र पनि माथ खान्छन् र व्यापार राम्रो हुँदैन । त्यसैले राम्रो चलचित्र बनाउने, त्यसको राम्रो प्रचार गर्ने र दुईवटाभन्दा बढी चलचित्र एकैपटक नचलाउने गरेमा राम्रो व्यापार हुन्छ । यस्तो रेकर्ड हामीले देखी–भोगी रहेकै छौं ।

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, कला क्षेत्र मनोरञ्जनमात्रै हो त  ?

होइन, कला क्षेत्रअन्तर्गतका नाटक, टेलिफिल्म र चलचित्र त समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने, दोषीलाई उन्मुक्ति हुन नदिने, माया–प्रेम नै मानव समुदायको पहिचान हो भन्ने कुराको बोध गराउने माध्यम हुन् । यस्ता सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ  ।

नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराएको पाउनुहुन्छ  ?

कोरोना संक्रमण सुरु हुनुभन्दा पहिला पछिल्लो २-३ वर्षयताको कुरा गर्ने हो भने हास्यप्रद चलचित्रलाई दर्शकले अलि बढी मन पराएका हुन् कि भन्ने लाग्छ । तर, वास्तवमा नेपाली दर्शक पारिवारिक र प्रेम, वियोग अनि वीरभावका चलचित्र बढी मन पराउँछन् भन्ने मेरो अनुभव छ । किनकि, कुसुमे रुमाल, बलिदान, आफन्त, नाइँ नभन्नू ल, बाटोमुनिको फूल, कबड्डीजस्ता चलचित्र मन परेरै दोहो¥याई–तेहे¥याई हेरेको पाइन्छ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ ।


Top