अहिलेको लेखनले कविता पूर्ण छ भन्ने लाग्दैन : कवि उदय राई

हिमालय टाइम्स   POSTED ON : श्रावण १६, २०७८ (७:१३ AM)

अहिलेको लेखनले कविता पूर्ण छ भन्ने लाग्दैन : कवि उदय राई

नेपाली कविता क्षेत्रमा अलि फरक धारमा कविता लेख्न रुचाउने नाम हो उदय राई । लामाखु, खोटाङका स्थायी निवासी राईले ‘प्यासी चातकहरू’ कवितासंग्रह पाठकमाझ ल्याइसक्नुभएको छ भने थुप्रै फुटकर कविता र गीत सृजना गर्नुभएको छ । उहाँका गीतहरू मेलिना राईलगायत विभिन्न ख्यातिप्राप्त गायकगायिकाहरूका स्वरमा रेकर्ड हुनुका साथै केही गीतका भिडियो सार्वजनिक भएका छन् । केही वर्ष जापानमा बसेर नेपाल फर्कनुभएका उहाँ यतिबेला कृषि फार्म चलाउँदै हुनुहुन्छ । विदेशमा भन्दा आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले कृषि फार्म सुरु गरेको उहाँ बताउनुहुन्छ । वर्तमान नेपाली कविता लेखन अपूर्ण रहेको बताउनुहुने उदय राईसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-


यतिबेला के लेख्दै हुनुहुन्छ ?

म अहिले कृषिमा आबद्ध छु । फुर्सदको समयमा चाहिँ कविता अध्ययन र लेखनकार्य गरिरहेकोे छु । केही समयअगाडि मेरो ‘प्यासी चातकहरू’ कवितासंग्रह पाठकमाझ आइसकेको छ । त्यसपछि केही गीत र कविताहरू लेखिरहेको छु । 

तपाईं आफूलाई बढी कवि कि गीतकारका रूपमा उभ्याउन चाहनुहुन्छ ?

म कविता पनि लेखिरहेकै छु । केही गीतहरू पनि बजारमा आएका छन् । यी दुवै विधाको आयामलाई हेर्ने हो भने गीतले प्रायः मनोरञ्जनात्मक र जीवनको पलक वा सानो हिस्सा बोकेको हुन्छ । तर, कविताको दायरा त्यसभन्दा बृहत् हुन्छ । जसले जीवन र जगत्को जटिल संवेदनालाई खोतलेर कलात्मकरूपमा सिँगार्दै सुन्दर एवं बृहतर आकार ग्रहण गर्छ । यसकारण म कविकै नाममा उभिन चाहन्छु ।

समकालीन नेपाली कविहरूमाझ तपाईं आफूलाई कहाँनेर पाउनुहुन्छ ?

अहिले हामीले साहित्यलाई प्रयोगका रूपमा मात्रै बुझेका छौं । साहित्यको जुनसुकै विधा होस् त्यसको मूल जडरूप अवश्य छ । जडरूपभन्दा भिन्न हरेक प्रयोगलाई अवलम्बन गरिरहँदा त्यस विधाको गरिमा चिप्लिएर त्यसको महत्वमा आँच आउने डर रहन्छ । कविता साहित्यको जेठो विधा भएकाले जीवन र जगत्को संवेद्य भएर रहनुपर्छ भन्ने बोध गर्दै म समकालीन कविता लेखनभन्दा छुट्टै विचार राख्न चाहन्छु । यहाँनेर पाउँछु म आफूलाई ।

तपाईंलाई यस क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ? 

साहित्य लेखनको प्रभाव अर्थात प्रेरणा मूलतः त्यहाँको आफू बाँचेको समाज, समय र प्रकृतिबाटै प्राप्त हुन्छ । यद्यपि लेखन क्षेत्रमा लागिसकेपछि कसै न कसै अग्रज स्रष्टाद्वारा प्रभावित भइन्छ । जुन पात्र मेरो जीवनमा साहित्यकार राजन मुकारुङ हुनुहुन्छ । 

वर्तमान नेपाली कविताको मुहार कस्तो देख्नुहुन्छ ?

हामीले अहिले लेखिरहेको कविता विश्व लेखनको इसथेटिकअनुरूप नै हो भन्ने लाग्छ । यो लेखनले कविता पूर्ण छ भन्ने लाग्दैन । मलाई यस मानेमा कविताभित्र  सबै सृष्टि र जगत्को संवेदना समेटिनुपर्छ भन्ने लाग्छ ।

साहित्यमा लागेर जीवनमा के पाउनुभयो ? के गुमाउनुभयो ?

कुनै कुराको लालचमा साहित्य लेखिँदैन । साहित्य जीवनका काला दागहरूलाई पुछेर चम्किलो बनाउने घगडान अभिव्यक्ति हो । सर्जकले पाउने भनेको पाठकवर्गले दिने माया र देशले दिने सम्मान हो । लेख्दा पाइने यत्ति हो, गुमाउने थाहा भएन ।

तपाईंलाई अत्यन्त मनपर्ने केही कविहरूको नाम लिनुपर्दा ?

कस्तो अप्ठ्यारो प्रश्न गरिदिनुभयो ? म त किंकर्तव्यविमूढ नै भएँ । ऊ कवि राम्रो ऊ नराम्रो अथवा मन पर्ने र नपर्ने पनि हुन्छ होला र ? मलाई सबै कविहरू मन पर्छ । जसले आफ्नो विचारलाई कलात्मकरूपमा चिरिच्याट्ट पारेर अमर सन्देश दिइरहेको हुन्छ । अझ उहाँहरूको रूपलाई हेर्ने हो भने त त्यसप्रतिको उहाँको अध्ययन, झुकाव, लगनशीलता र लेखनको दक्षताले कवि व्यक्तित्वलाई उठाउँछ होला ।

साहित्य र समाजको सम्बन्ध कस्तो हुनुपर्छ ?

यहाँ कला भन्नेबित्तिकै साहित्य लेख्ने कौशलतालाई बुझेको छु । विचार भनेको चाहिँ आफूले गरिने चिन्तन हो ।  कुनै पनि संकल्पले कुनै कुरालाई लेखिरहँदा त्यहाँ कला स्वस्फूर्त जोडिन्छ । कुनै एउटा मूर्त साहित्य लेख्नुप¥यो भने विचार त साहित्यको मूलरूप नै हो । यसर्थ साहित्य सार्थक हुनलाई दुवैको उत्तिकै महत्व रहन्छ ।

अहिले नेपाली साहित्यमा राजनीति कत्तिको हावी भएको पाउनुहुन्छ  ?

साहित्यबिनाको समाज एउटा विकलांग जीवनजस्तै हो । समाजबिनाको साहित्य पनि अर्थविहीन हुन्छ । साहित्यले समाजलाई सग्लो राख्छ भने समाजले साहित्यलाई जीवन्त राख्छ । यी दुईबीच अगाध प्रेम र सम्बन्ध रहन्छ ।

साहित्य र राजनीति दुई अलग विधा हो भन्ने लाग्छ मलाई । साहित्यमा राजनीतिको हावी हुँदा साहित्य स्रष्टा, सर्जकहरूलाई असर पर्नुका साथै साहित्यको मर्म मर्न जान्छ । राजनीतिले सैद्धान्तिकरूपमा समाज परिवर्तन गर्न चाहन्छ भने साहित्यले समाजको संवेद्य भएर हरेक सुखदुःखमा मलम बन्दै सत्कर्मको बाटो स्तरण गरिरहन्छ । साहित्य स्वच्छन्द रहन्छ । यसमा राजनीति हावी हुनु एक अबुझहरूको झुण्ड हो ।

अन्त्यमा, हिँड्दा हिँड्दै छुट्ने बेला केही थियो कि ?

नेपाली साहित्यमा भएका विकृत पक्षको विमर्श गर्दै यसको दायरालाई विश्व साहित्य लेखनको स्तरमा पु¥याउनु हामी सर्जकहरूको कर्तव्य हुन आएको छ ।


Top