क्रिकेटबाट म टाढिएको छैन : पारस खड्का

हिमालय टाइम्स   POSTED ON : श्रावण २१, २०७८ (६:४८ AM)

क्रिकेटबाट म टाढिएको छैन : पारस खड्का

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्न्यासको घोषणा गर्नुभएको थियो । सन् २००२ मा १५ वर्षको उमेरबाट क्रिकेट यात्रा सुरु गर्नुभएको पारसले मंगलबार अन द फिल्डको यात्रामा पूर्णविराम दिनुभएको हो । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पारसले सन्न्यास घोषणा गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफूले देखेको सपना अझै पनि बामे सर्दै गरेको बताउनुभएको छ ।

पारस खड्काले सन् २००९ देखि २०१९ सम्म १० वर्ष नेपाली क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो । अलराउण्डर भूमिकामा खेल्नुहुने उहाँ दायाँ हाते ब्याट्सम्यान र बायाँ हाते बलर हुनुहुन्थ्यो । मलेसियाविरुद्ध २००४ मा उहाँले नेपाली सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । नेपालका लागि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेट खेल्ने ११ मध्ये उहाँ एक खेलाडी हुनुहुन्छ । नेपालले २०१८ को अगष्टमा आफ्नो पहिलो ओडिआई नेदरल्याण्ड्ससँग खेलेको थियो ।  अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस खड्का छैटौं नेपाली क्रिकेटर हुनुहुन्छ । २०१२ मा कुवेतविरुद्ध ७७ बलमा १०६ रनको पारी खेल्दै उहाँले पहिलो शतक प्रहार गर्नुभएको थियो । उहाँको कप्तानीमा नेपालले २०१० को डिभिजन ५, २००४ को डिभिजन ४, २०१२ को एसीसी ट्रफी इलिट, २०१३ को डिभिजन थ्री, २०१४ को डिभिजन थ्री जितेको थियो भने २०१४ को टी–२० विश्वकप खेल्दै टी-२० अन्तर्राष्ट्रियको मान्यतासमेत हासिल गरेको थियो ।

२०७६ असोजमै पारसले राष्ट्रिय टोलीको नेतृत्व छाड्नुभएको थियो । सन् २००९ देखि विनोद दासको स्थानमा उहाँलाई राष्ट्रिय टोलीको कप्तानी दिइएको थियो । कप्तानी सम्हालेपछि पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यतासमेत दिलाउनुभयो । जुन नेपाली क्रिकेटले अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो । सन्न्यास घोषणा गर्नुभएका खड्कासँग हिमालय टाइम्सले गरेको कुराकानी :-

 यतिबेला नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुको कारण के हो ?

दुई वर्षअघि पनि मैले कप्तानी छोड्दा क्रिकेट खेल्ने कि नखेल्ने भन्ने सोचेको थिएँ । त्यतिबेला जति समय १० वर्ष म कप्तान भएँ त्यति समय नै उपकप्तान भएका ज्ञानेन्द्र मल्ललाई नैतिक सपोर्ट गर्नुपर्छ भनेर टिमसँग बसिरहें । दुई वर्ष समय सकिएपछि धेरै चोटि सोचेर मैले निर्णय लिएको हुँ । क्रिकेटले मलाई पहिचान, माया, आशीर्वाद दिएको छ । मैले यतिबेला सही समय ठानें । टिम पनि राम्रो छ । हामीसँग ओडिआई साइकलको पनि दुई वर्ष बाँकी छ । यो दुई वर्ष टिमलाई राम्रो बनाउने समय हो । मेरो भूमिका अब फरक हुन्छ । क्रिकेट टिमका खेलाडीसँग पहिलेदेखि चिनजान छ । मलाई उहाँहरूले सोध्नुभएका कुराबारे जति खेर पनि म जवाफ दिन सक्छु । क्रिकेटबाट म टाढिएको हैन, टाढिएको पनि छैन । भूमिकामात्र बदलिनेछ ।

 सन्न्यास लिनेबारे कोसँग सल्लाह गर्नुभयो ?

क्रिकेटका परिवार, साथीभाइ, क्रिकेट टोलीको सपोर्टबिना म यहाँसम्म आइपुग्दैन थिएँ । सबै कुरा आ–आफ्नो ठाउँमा हुँदाहुँदै पनि क्रिकेटमा चाहिँ मैले आफ्नो निर्णय गर्ने गरेको छु । क्रिकेटलाई आफ्नो हिसाबले कसरी अघि बढाउन सक्छु भनेर यो निर्णय लिएको हुँ । नजिकका साथीभाइ, मेरी श्रीमती, घरपरिवारसँग भनेको त थिएँ तर निर्णय चाहिँ आफ्नै हो । सन्न्यासको २४ घण्टाअघि अब के हुने हो के होला भन्ने लाग्दोरहेछ ।

 मंगलबार नै सन्न्यासका लागि रोज्नुको कारण केही थियो ?

त्यस्तो केही थिएन । हामीले यही बेला दुई वर्षअघि पहिलो ओडिआई शृंखला पनि जितेका थियौं । ओडिआई स्टाटस पाउनु र शृंखला जित्नु मेरो पनि इच्छा हो । अन्तिम बलमा नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल रोमाञ्चक ढंगबाट जितेका थियौं । यही दिन रोज्नुको कारण केही थिएन तर केही कोइन्सिडेन्ट भएको हो ।

 सामाजिक सञ्जालबाटै सन्न्यास ! गेम खेलेर मैदानमै सन्न्यास लिन मन लागेन ?

छैन, छैन । मलाई कहिल्यै मैदानबाट बिदाइ हुन मन लागेन । मैले पहिलेदेखि नै भनेको थिएँ, यदि मैले क्रिकेट छोडें भने यसरी नै छोड्छु भनेर । त्यसरी नै बिदा भएको छु । बिदा हुँदा गाह्रो त लाग्छ नै । मैदानमा थुप्रै खेल हामीले हारेका छौं । थुप्रैपटक गाह्रो पनि महसुस भएको थियो । यो व्यक्तिगत निर्णय हो । मानिसहरूको विश्वासलाई क्रिकेटरका रूपमा दिने प्रयास गरेको छु । अब हाम्रा लागि खेलकुदमा रिजल्ट दिनुपर्छ । त्यसका लागि व्यवस्थापन गर्नु नै मुख्य चुनौती हो ।

 नेपाली क्रिकेटलाई तपाईको आवश्यकता अझै छ जस्तो लाग्दैन ?

मेरो उमेर ३३ वर्ष पुगेको छ तर नेपाली क्रिकेटमा जसरी म संग्लन भएको छु, त्यो भनेको ५० वर्ष काटेको जस्तो लाग्छ । किन भन्दा धेरै सोच, धेरै समर्पणको मिश्रणले आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्ने कोसिस गरेको हो । त्यसले गर्दा मैले धेरै कुरा पाएँ । क्रिकेटर, कप्तानी, साथीहरू बनाएँ । दबाबको अवस्था सामना गर्दागर्दै यहाँसम्म आइपुगें । अन्तर्राष्ट्रिय क्रिकेटको अनफिल्ड जर्नीहरू सकिएको छ । आगामी दिनमा सजिलो हुने छैन बाटो तर त्यो हुँदाहुँदै पनि सबैले यति नै सपोर्ट गर्नुहुन्छ भन्ने विश्वास छ । त्यसले अझै नेपाली क्रिकेटलाई राम्रो गर्न सहयोग पुग्नेछ ।

 सन्न्यास घोषणापछि अब कसरी अघि बढ्नुहुन्छ ?

क्रिकेट छोडिसकेपछि मैले धेरैपटक भनिसकेको छु मलाई व्यवस्थापनमा आउन मन छ । कुनै न कुनै भूमिकामा मैले आफूलाई देखेको छु । त्यसका लागि आफूलाई तयार पार्नेछु । मान्छेहरू पारस क्यानमा आउनुपर्छ । पारसले सबै गर्छ भन्छन् । तर, पारस खड्कामात्रै क्यानमा आएर केही हुँदैन । पारस खड्काले गर्दा मात्रै नेपाली क्रिकेट यहाँ आएको होइन । मलगायत धेरै खेलाडी छन् । सबैको मिहिनेतले यहाँसम्म आइपुगेको हो । आगामी दिनमा मेरो अनुभव तथा ज्ञानका आधारमा टिमलाई एक ठाउँमा ल्याएर नेपाललाई अझै बलियो पार्ने प्रयास गर्नेछु ।

 क्यानमा तपाईं किन आउन चाहनुभएको ?

२००९ मा म राष्ट्रिय टोलीको कप्तान भएको थिएँ । त्यसको एक–दुई वर्षपछि क्यान कस्तो हुनुपर्छ र त्यसको महŒव के हो भन्ने महसुस भयो । त्यसैले मलाई क्यानमा कुनै न कुनै भूमिकामा आउन सकें भने खेलाडीलाई राम्रो गर्न सक्छु भन्ने लाग्यो । म क्रिकेट खेलेर आएको हुनाले खेलाडीलाई के आवश्यकता पर्छ त्यो बुझेको छु । म क्रिकेट संघको पदाधिकारी हुँला तर म जिम्मेवार हुनुपर्छ । बाटो सजिलो पनि छ, चुनौतीपूर्ण छ । सबैजना क्रिकेटलाई अघि बढाउने भनेर राम्रो रणनीति लिएर अघि बढ्ने हो भने धेरै कुरा पाउन सकिन्छ । सबै कुरा राम्रो हुनसक्छ भन्ने पनि छैन । वादविवाद हुनसक्छ । कति कुरा ठीक, कति कुरा बेठीक हुनसक्छ । खेलले पनि मलाई त्यही सिकाएको छ । विश्वकप खेल्यौं, ओडिआई स्टाटस पायौं । थुप्रै हा¥यौं, जित्यौं पनि । अब अर्को लेभलमा पुग्नका लागि अहिलेको जुन व्यवस्थापन छ त्यसले सपोर्ट गर्ने हो भने आगामी दिनमा रिजल्ट दिन सक्छ ।

 क्यानमा तपाईंलाई कुन भूमिकामा आउन रुचि छ ?

अहिले कुन भूमिका हुन्छ मैले निर्णय लिइसकेको छैन । विधानअनुसार अन्तर्राष्ट्रिय क्रिकेट छाडेको दुई वर्षपछि क्यानको चुनाव लड्न पाइन्छ । त्यहीअनुसार दुई वर्षअघि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको छु । त्यसका लागि अवसरहरू छन् । मेरो भूमिका भनेको क्रिकेट खेलमा जसरी पनि हुन्छ । प्रशासन हुनसक्छ, कोचिङ स्टाफ हुनसक्छ । काम गर्नुप¥यो, जुनसुकै भूमिकामा भए पनि क्रिकेट राम्रो होस् भन्ने मेरो चाहना हो । कति मान्छेहरूले क्यानमा नभएर पनि राम्रो काम गरिरहेका छन् । मैले सोचमात्रै बनाएको हुँ । अहिले नै कुन पदमा पुग्छु भन्ने निर्णय गरिसकेको छैन । क्रिकेटमा राम्रो गर्छु भन्ने सोच छ । त्यो सोचले नेपाली क्रिकेटलाई फाइदा पुग्छ भन्नेमा म विश्वस्त छु ।

 तपाईंले क्रिकेट छोड्दा के कुरा मिस गर्नुहुन्छ ?

मैले क्रिकेट टिमभित्रको माहोल मिस गर्नेछु । हामी एकआपसमा रमाइलो गर्छांै । सबैले मैदानभित्रको खेलमात्रै हेर्नुहुन्छ । मैदानबाहिर पनि हामीले धेरै रमाइलो गर्छौं । हामी साथीभाइ विभिन्न ब्याकग्राउण्डबाट नेपाललाई जिताउनुपर्छ भनेर एउटै उद्देश्य लिएर खेल्छौं । त्यो कुरा मैले धेरै मिस गर्नेछु । क्रिकेटिङ करिअरमा मेरा धेरै यादगार पलहरू छन् । ती पलहरू फेरि पनि नेपाली क्रिकेटमा दोहोर्‍याउन चाहन्छु ।


Top