सिर्जनामा आदर्श र प्रेरणा हुनुपर्छ : गीतकार गणेश सुवेदी

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७८ (८:१० AM)

सिर्जनामा आदर्श र प्रेरणा हुनुपर्छ : गीतकार गणेश सुवेदी

रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-५ जुँगार स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएर साहित्यका विविध पाटाहरूमा कलम चलाइरहेको नाम हो गणेश सुवेदी । सयौं गीतका सर्जक सुवेदीका गीतहरू विभिन्न लोकप्रिय गायकगायिकाको स्वरमा सजिएका छन् । उहाँका ‘लाज लाग्छ आज आफ्नै रूप हेरी हेरी’, ‘म त बस्नै नसक्ने सिन्कै नभाँची’, सक्दिनँ म आकाशलाई छुन, यही धर्तीमा स्वर्ग सजाउँछु’, ‘मन्द मन्द तिमीले यो दिलमा’, यस्तो सृष्टि होस् जहाँ अमृत वृष्टि होस्, मान्छे-मान्छेबीच सबैको समान दृष्टि होस्’, ‘जुनकी लाली रूपकी रानी’, उड्यो है उड्यो मन, छुनलाई तारा जुन’, आउँछु भनी तिम्रै लागि’, ‘दिलमायासँग दिल छैन’ लगायतका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । चलचित्र, टेलिचलचित्र, बालबालिका, आधुनिक, लोक, वर्णन, राष्ट्रिय, प्यारोडीलगायतका गीत तथा विभिन्न साहित्यिक सिर्जनातर्फ फुटकररूपमा नाटक, कविता उहाँका प्रकाशित छन् । केही सानाठूला चलचित्र, टेलिचलचित्रको कथा, पटकथा, संवाद लेखन र निर्देशन पनि गर्दै आइरहनुभएको छ उहाँले । समाजको गति, मानिसको सोच र समयको वहाव आफूले लेख्ने सिर्जनाको आधारभूमि भएको बताउनुहुने सुवेदी सिर्जनामा आदर्श र प्रेरणा हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । विषयको गाम्भीर्यता, समयको माग र पाठकको रुचिलाई ध्यानमा राखेर साहित्य सिर्जना गर्नुपर्ने भन्नुहुने सुवेदीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

लेखनकार्य नै गर्दै आएको छु । कोभिड-१९ को संक्रमण र लकडाउनको सन्त्रासले असर पुर्‍याएको छ मलाई पनि । बिरामीहरूको उपचारसम्बन्धी चासो र भेटघाटमा पनि पुगिरहेको छु । तर पनि सिर्जना गर्न छोड्नुहुँदैन भन्ने मानसिकतामा अघि बढिरहेको छु । 

साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ? 

गीतलेखन नै मेरो बढी रुचि र आकर्षणको विषय हो । यसका अलावा कथा, कविताहरू पनि लेख्ने गर्छु, व्यावसायिकरूपमा लेखन, स्वरांकन र निर्देशन गर्दै आइरहेको छु । तर, गीतसंगीतबाट पाइने सन्तुष्टिबाट आनन्दित छु । 

जीवन के हो ? 

सिकाइको निरन्तरता नै जीवन हो । हामीलाई बोध हुन जरुरी छ कि जीवनको सार्थकता सकारात्मकतामा छ । सकेसम्म सकारात्मक सोच र संकल्पले अघि बढ्दैछु । 

गणेश सुवेदी को हो ?

आममानिसझैं मानिस हो गणेश सुवेदी । तर, अरूभन्दा पृथक् देखिने गरी काम गर्न रुचाउँछु । मेरो स्वभाव पनि अरूभन्दा फरक नै छ । म शान्त र सकारात्मक छु । 

गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

गीत साहित्यको सर्वाधिक रुचिकर विषय हो । यसले मानिसलाई गहिरो प्रभाव पार्दछ । भाव अभिव्यक्तिको माध्यम हुँदाहुँदै गीत मानवीय जीवनको सार पनि हो । अरू साहित्य बोध गम्य हुन्छ भने यसमा झंकार पनि हुन्छ । यसले मानिसलाई तत्काल प्रभावमा पार्न सक्छ । वास्तवमा गीत सुनको पिंजडा हो, यसले मानिसलाई थुनेर राख्दछ । उम्किनै दिँदैन । 

तपाईंले लेख्ने गीतको आधार के हो ?

समाजको गति, मानिसको सोच र समयको वहाव नै मैले लेख्ने गीतको आधारभूमि हुन् । तर पनि कहिलेकाहीं आत्मकेन्द्रित भएर पनि गीत लेख्ने गर्छु किनकि मेरो भावना समयका मानिसको प्रतिनिधि भावना हो । लेखकलाई÷गीतकारलाई जहाँ पनि छिर्ने अनुमति छ भनेझैं म पनि परिवेश अनुरूप अरूभित्र छिरेर पनि भावनाको मख्खन निकाल्ने गर्दछु । 

गीतको आत्म केलाई मान्नुहुन्छ ?

भाव नै गीतको आत्मा हो, श्रोता/दर्शक र पाठकलाई यसले आफैंसँग लिएर जाने ल्याकत राख्दछ । जुन गीतले श्रोता, दर्शक र पाठकलाई बाँधेर राख्न सक्दछ, त्यो नै गीत हो र गीतलाई सार्थक बनाउने भाव नै गीतको आत्मा हो । 

तपाईं कसका लागि लेख्नुहुन्छ ?

म विशेष गरी आफ्नै लागि लेख्छु, पछि त्यो गीत संगीतकार र गायक/गायिकाको बन्छ । त्यसपछि श्रोता दर्शकहरूको । तर, म व्यावसायिक गीतकार भएको नाताले उहाँहरूको चाहना र रुचि अनुरूपका गीतहरू पनि लेख्छु । सारांशमा भन्नुपर्दा म गीत मेरा लागि लेख्छु र आत्मसन्तुष्टिका लागि लेख्छु । 

अहिले नेपाली गीतसंगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

पहिले-पहिलेका गीतसंगीतले मानिसलाई बाँधेर राख्थ्यो, बीचको समयमा मानिसलाई उडाउने खालका गीत बने तर अहिले गम्भीर प्रकृतिका गीतहरू आउन थालेका छन् । अर्थपूर्ण गीतहरू र सार्थक गीतहरू बन्न थालेका छन् । अहिलेका गीतसंगीतकर्मीहरूलाई आफूलाई स्थापित गर्नुपर्ने बाध्यताले पनि राम्रो सिर्जना गर्नुपर्नेछ । अहिलेका गीतसंगीतको विकासक्रम हेर्दा सन्तुष्ट छु । 

पछिल्लो समय गीतसंगीतमा विकृति आयो भन्ने छ नि ?

जहाँ पनि राम्रा र नराम्रा पक्ष त हुन्छन् नै । मलाई के लाग्छ भने तपाईंले इंगित गर्नुभएका गीत क्षणिक हुन् । कालजयी गीतका रूपमा तिनीहरूले स्थान ओगट्न सक्दैनन् । 

तपाईंलाई साह्रै मनपर्ने गीत ?

मलाई हरेक प्रकारका गीतहरू मनपर्छ । तर, राष्ट्र, राष्ट्रियता र स्वाधिनतासँग जोडिएका गीतहरू अझ बढी मन पर्दछन् । मैले सुनिरहन मन पराउने गीत ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ हो । यस गीतले मलाई म हुनुको बोध गराउँछ । जागृत बनाउँछ । 

तपाईंलाई असाध्यै मनपर्ने गीतकार, संगीतकार र गायक/गायिका ?

धेरै हुनुहुन्छ । तर पनि मलाई असाध्यै मनपर्ने गीतकारमा चेतन कार्की, संगीतकारमा गोपाल योञ्जन र  गायकमा नारायण गोपाल र गायिकामा तारादेवी हुनुहुन्छ । उहाँहरू सबै परलोक भइसक्नुभए पनि सिर्जनामा अजरअमर हुनुहुन्छ । उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । 

तपाईं गीतमा कत्तिको कुतर्क गर्नुहुन्छ ?

म खासै कुतर्क गर्दिनँ । तर, कहिलेकाहीं घुमाउरो बाटो हिँडेर पनि सही निचोड निक्लन्छ भने कुतर्क गर्ने गर्छु । भ्रम साहित्यको कुतर्कतर्फ मेरो आकर्षण छैन । अर्थपूर्ण तर्क हुनुपर्छ भन्ने मेरो मान्यता छ । 

लेखेर पाइने÷नपाइने के हो ?

लेखेर पाइने सन्तुष्टि र केही आर्थिक प्राप्ति हो भने नपाइने भन्ने केही छैन, कसरी हेर्ने भन्ने कुरा हो । म त फाइदा नै फाइदा देख्छु सबैतिर । 

एकाथरी मानिस भन्छन् साहित्यमा यौन चाहिन्छ, अर्कोथरी साहित्यमा यौन बर्जित छ भन्छन् । यहाँको विचारमा के होला ?

साहित्य मानवीय जीवनको अभिव्यक्ति भएको नाताले यसमा सबै जायज छ भन्ने लाग्छ । साहित्यमा यौन आवश्यक छ तर उच्छृंखल र छाडारूपमा आउनुभएन । विषयको आवश्यकताअनुरूप कलात्मकरूपमा आयो भने त्यसले कथानकलाई पूर्णता दिन्छ । 

यहाँका कस्ता साहित्यिक सिर्जना र कति गीतहरू श्रोता दर्शकमाझ आएका छन् ?

गीतहरू सयौंको संख्यामा छन् । चलचित्रका गीत, टेलिचलचित्रका शीर्ष गीत, बालगीत, आधुनिक गीत, लोकगीत, वर्णन गीत, राष्ट्रिय गीत, प्यारोडीलगायत सबै प्रकारका गीतहरू छन् । साहित्यिक सिर्जनातर्फ फुटकररूपमा नाटक, कविता, गीतहरू पनि प्रकाशित भएका छन् । केही सानाठूला चलचित्र, टेलिचलचित्रको कथा, पटकथा, संवाद लेखन र निर्देशन पनि गर्दै आइरहेको छु । गीतिसंग्रह, अटोबायोग्राफी, छोटा कथाहरूको संगालो निकाल्ने तयारीमा छु । कोभिड-१९ का कारण केही ढिलाइ भएको छ । 

अझै कस्ता गीतहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

म सार्थक गीतहरू लेख्न चाहन्छु । मेरो एउटा गीत छ, ‘यस्तो सृष्टि होस्, जहाँ अमृत वृष्टि होस्, मान्छे-मान्छेबीच सबको समान दृष्टि होस् ।’ यस्तै खालका गीतहरू आउनुपर्छ भन्ने मान्यता राख्दछु । तर, म व्यावसायिक गीतकार भएका नाताले मागअनुरूप लेख्ने गर्छु । गीतमा आदर्श र प्रेरणा हुनुपर्छ भन्ने मान्यतामा अडिग छु । २/३ वटा संग्रह प्रकाशन गर्ने गीतहरू छन् । समयक्रम अनुरूप प्रकाशित गर्दै जान्छु । पहिले लेखनतर्फ ध्यान दिइयो अब प्रकाशनलाई पनि प्राथमिकता दिएर अघि बढ्दै छु । २/४ वटा पुस्तक पनि तयारी अवस्थामा छन् । 

लेखन क्षेत्रमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ ?

समय स्वर्णिम छ, साहित्य लेखनले व्यावसायिक स्वरूप ग्रहण गरिसकेको छ । साहित्य लेखन अहिले मह काढ्दै हात चाट्न पाइने अवस्थामा पुगेको छ । आउँदा विषयको गाम्भीर्यता, समयको माग र पाठकको रुचिलाई ध्यानमा राखेर साहित्य सिर्जना गर्ने प्रण र प्रतिबद्धता लिएर आउनुहोला । तपाईंको सिर्जनाले तपाईंलाई सन्तुष्टिमात्रै होइन, समृद्धि पनि दिनेछ । ०००


Top