नेपाली कांग्रेस विधान अनुसार चल्छ, व्यक्ति अनुसार होइन : छिरिङ दोर्जे लामा

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७८ (९:०२ AM)

नेपाली कांग्रेस विधान अनुसार चल्छ, व्यक्ति अनुसार होइन : छिरिङ दोर्जे लामा


अहिले नेपाली कांग्रेस सरकारमा छ । कांग्रेसलाई अहिले सरकार चलाउने दबाब बढिरहेका बेला पार्टीको महाधिवेशन गर्नुपर्ने अर्को चुनौती छ । यही विषयमा हिमालय टाइम्सका संवाददाता पुरुषोत्तम घिमिरेले बाग्मती प्रदेश काठमाडौं क्षेत्र नं-३ प्रदेश (क) नेपाली कांग्रेसका सांसद तथा बाग्मती प्रदेशका सचेतक छिरिङ दोर्जे लामासँग गर्नु भएको कुराकानीको संपादित अंश :-

माननीय ज्यू, आराम हुनुहुन्छ ?

हजुर, आराम छु । 

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

पार्टीको अधिवेशनलगायत कोभिड खोप लगाउने कार्यमा व्यस्त छु । 

तपाईंले राजनीति यात्रा कहिलेबाट सुरु गर्नुभयो ?

२०४६ सालको आन्दोलनमा म भानुभक्त मेमोरियल पानी पोखरीमा पढ्थे । मलाई राजनीतिको ‘रा’ पनि थाहा थिएन । त्यतिबेला हामीलाई नेपाली पढाउने शिक्षक गोपाल गैरे सर हुनुहुन्थ्यो । सरले कक्षामा पढाउँदा हामीलाई प्रजातन्त्रको बारेमा भन्नुहुन्थ्यो । प्रजातन्त्र भनेको यो हो । प्रजातन्त्रमा जनताको अधिकार सर्वेसर्वा हुन्छ । जनताले स्वतन्त्र भएर बोल्न लेख्न पाउँछ । मेरो बाल मस्तिकमा त्यही छाप प¥यो । स्कुल पढ्दा आन्दोेलनमा गइयो, प्रहरीको लाठी पनि खाइयो । जानेर÷बुझेर गएको चाहिँ होइन । लहैलहैमा गइयो । पछि ५१ सालतिर त्रिचन्द्र कलेज पढियो । त्यसपछि सक्रिय राजनीतिमा लागे स्वावियु सदस्य पनि भए ।

तपाईंले नेपाली कांग्रेसबाटै राजनीति गर्छु भनेर किन सोच्नुभयो ?

सक्रिय राजनीति नगरे पनि मेरो बुबा मेरो लागि राजनीतिक आदर्श व्यक्तित्व हुनुहुन्न्छ । उहाँले जहिले भन्ने गर्नु हुन्थ्यो कांग्रेसको बारेमा । कांग्रेसले प्रजातन्त्र ल्याउन गरेको संघर्षका बारेमा । मेरोे घरमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता आदर्शवान प्रजातन्त्र प्रेमी नेताहरूको चर्चा भइरहन्थ्यो । मैले बीपीले लेखेको किताब पढे । इतिहास हेरे । त्यसपछि । अन्य पार्टीभन्दा कांग्रेस नै ठीक लाग्यो र कांग्रेसबाट आफ्नो राजनीति सुरु गरेको हुँ ।

तपाईंले सुनेको, पढेको र प्रत्यक्ष देखेको कांग्रेसमा अन्तर के पाउनुभयो ?

मैले सुनेको, पढेको र अहिले भोगेकोमा खासै अन्तर पाइन । मैले जुन पार्टी छानेर राजनीति गर्छु भनेर लागे त्यो सही गरेजस्तो लाग्छ । कही कतै खराब त जहा“ पनि भइहाल्छ । खराबलाई सही गराउने काम गर्नुपर्छ ।

तपाईंले राजनीति नगरे को भए के गर्नुहुथ्यो ?

मैले यदि राजनीति नगरेको भए कतै विश्व विद्यालयमा जियोलोजी शिक्षक भएर पढाइ रहेको हुन्थे या कतै कन्सलटेन्सी चलाइरहेको हुन्थे ।

राजनीति गरेर गलत गरे जस्तो लाग्छ कि ?

छैन् मलाई कुनै पछुतो छैैन् । मेरो चाहना समाज सेवा, मानव सेवा गर्न नै थियो । आज आएर अवसर पाएको छु । प्रष्ट भन्नु पर्दा मलाई कमाउनु छैन् । मेरो बुबा–बाजेको सम्पत्तिले मलाई खान लगाउन पुग्छ । इमानदारीसाथ राजनीति छवि बनाउन सके भयो । 

पछिल्लो समय खोप लगाउने कार्य व्यवस्थित भएन । आफ्नाले खोप लगाउन पाए । लक्षित वर्ग दिनभरी लाइन बस्दा पनि खोप पाएनन् भन्छन् । के खोप लगाउने ठाउँमा धाँधली भएकै हो त ?

मैले बुझेसम्म खोप लगाउने कार्य व्यवस्थित नभएको चाहिँ होे । धाँधली भएको होइन । समस्या कहा“ निर प¥यो भने पहिलो पटक खोप आउँदा लगाउन जानभन्दा कोही गएनन् । पछि खोप लगाउन लक्षित वर्गमात्र भन्दा हरेक उमेरका मानिस दौडिए । जसका कारण भीडभाड बढ्यो । यसमा सरकारको मात्र के दोष ? जो भ्याक्सिन लगाउन जान्छन्, उनीहरूले सोच्नु पथ्र्यो । लक्षित वर्गलाई छुट्टाएको खोपमा सबै उमेर गएपछि भीड त भइहाल्यो । भ्याक्सिन लगाउन पाउने केही भन्दैनन् । लगाउन नपाउनेले धाँधली भयो भन्छन् । आगामी चैत महिनाभित्र सबै नागरिकलाई खोप लगाउन पाउने सम्माननीय प्रम ज्यूले भनी सक्नुभएको छ । म यही पत्रिकामार्फत के भन्न चाहन्छु भने हतार गरेर भीडभाड बढाएर जोखिम मोल्ने काम नगरौं ।

होटल तथा पार्टी प्यालेसहरूमा भ्याक्सिनहरू भेटिए भन्ने जन गुनासा छन् । यसमा तपाईंको भनाइ के छ ?

बाहिर हल्ला फिजाएजस्तै पार्टी प्यालेस होटलहरूमा खोप लगाइन्छ भन्नु चाहिँ सरासर गलत हो कि जस्तो लाग्छ । अनावश्यक हल्ला फिजाएर आतंकित गर्ने काम कसैले नगरांै । 

तपाईंको पार्टी सरकारमा छ । के तपाईंहरूलाई लागेको थियो नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्छ भनेर ?

यो हामीले मात्र होइन कसैले सोचेकै थिएनन् होला । लगभग दुई तिहाइको सरकार ढल्छ र नेपाली कांग्रेसको सरकार बन्छ भनेर । नेकपालाई जनताले विश्वास गरे तर नेकपाले जनमत बुझ्न सकेन । जसको परिणाम तपाईं हामी सबैले देखेकै छौं ।

प्रदेश प्रमुख एमालेको हुनुुहुन्छ । अन्य प्रदेशमा केन्द्रको रोग सल्की सक्यो । बाग्मती प्रदेशमा समस्या छ कि छैन ?

सबैभन्दा पहिला अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश नै बाग्मती प्र्रदेश हो । यहा“ समस्या नभएको होइन । एमालेका ५६ सांसद छन् । ती मध्ये माधव नेपाल पक्षका २० सांसद छन् । यदि ती २० सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने बाग्मती प्रदेशमा जतिबेला नि सरकार ढल्न सक्छ ।

माननीय ज्यू भन्नु हुन्छ नेपाली कांग्रेस नीति, नियम, सिद्धान्त र पद्धतिभन्दा बाहिर गयो । के यो कुरा सही हो ?

मैले जाने-बुजेअनुसार नेपाली कांग्रेस आफ्नो सिद्धान्तभन्दा बाहिर कहिलै जाँदैन, गएको पनि छैन । आन्तरिक समस्या आउनु सामान्य हो । प्रजातन्त्र प्राप्तिका लागि लामो इतिहास बोकेको पार्टीमा विचलन आउँदैन । समस्या भनेको आउँछ मिल्छ त्यसलाई सामान्य लिनुपर्छ ।

नेपाली कांग्रेस पनि धन र डनको बलमा चलेको छ भन्छन्, के सही हो ?

यो सरासर गलत हो । जति मैले नेपाली कांग्रेसलाई बुझेको छु, त्यसको आधारमा भन्नुपर्दा नेपाली कांग्रेस सधैं राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउँछ । यसमा कसैले गलत नसोचे हुन्छ । सबैको साझा पार्टी हो । नेपाली कांग्रेसमा पार्टीको विधानमा रहेर जो पनि आउनसक्छ । जसले पनि राजनीति गर्न सक्छ ।

नेपाली कांग्रेसमा टिकट पाउन होस् या कुनै माथिल्लो पदमा जान होस्, माथिको आशिर्वाद नै चाहिन्छ भन्छन् के ठीक हो ?

होइन गलत हो । माथिको आशिर्वाद भनेको कसको आशिर्वाद हो मैले बुझ्न सकिन । नेपाली कांग्रेस आफ्नो विधानअनुसार चल्छ । व्यक्तिनुसार होइन । भन्नलाई भन्छन् टिकट पाउन पैसा दिनुपर्छ, तर मलाई यसमा विश्वास छैन ।

आगामी महाधिवेशन समयमा होला त ?

समयमा अधिवेशन हुनैपर्छ । एक वर्षअघि हुनुपर्ने हालसम्म भएको छैन । कांग्रेस नीति, नियम र विधिको शासनमा चल्ने दल भएकाले समयमै अधिवेशन हुनुपर्छ । फेरि अधिवेशन सार्नु गलत हो । हामीले हुनपर्छ भन्ने हो । निर्णय गर्ने नेतृत्वकर्ताले नै हो । 

यो अधिवेशनमा सभापतिको दाबेदार त धेरै देखिनु भएको छ, को सभापति हुनुपर्छ जस्तो लाग्छ ?

दाबेदार गर्न सबैलाई अधिकार छ । अहिले ज-जसले सभापतिका लागि दाबी गर्नुभएको छ । उहाँहरू सबैले योग्य, इमानदार र योेगदान दिनुभएको हुनुन्छ । जीवनभर पार्टीमा लागेपछि एक पटक अध्यक्ष बनौं भन्नु सामान्य कुरा हो । त्यो हुँदाहुँदै पार्टी सभापति हुने त एकजना हो । त्यसैले सबै मिलेर सहमतिको आधारमा सभापति छान्न सके राम्रो होला । यसले बाहिर सन्देश राम्रोे जान्छ ।

तपाईंको विचारमा अब को सभापति हुनपर्ला जस्तो लाग्छ ?

मैले माथि भनिसके, सबै पार्टी सभापतिका लागि योेग्य हुनपर्छ । त्यो हुँदाहुँदै पार्टी सभापति हुने भनेको एकजना नै हो । अहिलेको आवश्यक भनेको प्रकाशमान सिंह हुनपर्छ ।

प्रकाशमान सिंह नै किन ? गणेशमानको पुत्र भएर ? 

होइन, यो सरासर गलत कुरा हो । गणेशमान जस्तो इमानदार नेता जसलाई प्रधानमन्त्री खाउभन्दा नखाने र आफ्नो साथीलाई अघि सार्न त्यस्तो व्यक्तिको पुत्र भएर जन्मनु पाउनु भाग्यमानी हो । गणेशमानको छोरा भएरमात्र प्रकाशमानले टिकट पाउनुपर्ने होइन । उहाँले पार्टीको लागि गरेको योगदान हेरेर टिकट पाउनुपर्ने हो । पार्टीमा उपसभापति भइसक्नुभयो । महामन्त्री भइसक्नुभयो । सरकारमा उपप्रधानमन्त्री भइसक्नुभयो, अब उहाँले सभापतिमा दाबी नगरे केमा गर्ने । फेरि सधैं एउटै व्यक्ति पार्टी सभापति हुँदा राम्रो देखिँदैन । अब कांग्रेसले अधिवेशनमा विधान संशोधन गर्नुपर्छ । पार्टी सभापति एक कार्यकालभन्दा हुन नपाउने । प्रम एक कार्यकालभन्दा बढी हुन नपाइने । यो भयो भने युवा पुस्ता अघि आउनसक्छ । ७० वर्षका व्यक्तिहरू सल्लाकार तथा संरक्षक भएर बस्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ ?

म सबैभन्दा पहिला हिमालय टाइम्स परिवारलाई धन्यवाद दिन चाहन्छु । त्यसमा पनि सम्पादक जस्तो गरिमामय पदमा आदरणीय पुरुषोत्तम दाहाल (दाजु) हुनु भएको थाहा“ पाए खुशी लाग्यो । उहा“जस्तो स्वावलम्बी व्यक्तिले नै पत्रकारिताको उचाइ बढेको छ । हिमालय टाइम्सले मलाई स्थान दिएर मनमा लागेका कुरा जनता सामु राख्न पाए । मलाई जसले निर्वाचन जिताएर प्रदेश सांसद बनाउनुभयो उहाँहरूप्रति आभारी छु । जानी-नजानी मबाट केही गल्ती भएको भए माफी चाहन्छु । आगामी दिनमा तपाईंहरूको साथ र सहयोगको निरन्तर अपेक्षा राख्छु । सबैलाई धन्यवाद दिन चाहन्छु ।


Top