माधव नेपालले राजनीतिक जीवनकै ठूलो बबण्डर गरे : प्राडा केसी

हिमालय टाइम्स   POSTED ON : भदौ ३, २०७८ (५:४८ AM)

माधव नेपालले राजनीतिक जीवनकै ठूलो बबण्डर गरे : प्राडा केसी

लामो समयको रस्साकस्सीपछि अन्ततः नेकपा एमाले विभाजन भएको छ । माधव नेपालले नयाँ पार्टी दर्ता गर्नुभएको छ । माधव नेपाल नयाँ पार्टी दर्ता गर्ने अवस्थामा आइपुग्दा केही राजनीतिक परिदृश्य पनि बदलिए र माधव नेपाललाई लामो समय साथ दिएकाहरू नयाँ बनाउँदा टाढिए । यसअघि ओलीको सबैभन्दा बढी उछितो काट्ने केही नेताहरू नयाँ दल दर्तामा माधव नेपालसँग देखिएनन् । यसअघि माधव नेपालसँग रहेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले अन्तिममा धार मोड्नुभएको छ । यस्तै, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यसमेत नेपालको साथमा रहनुभएन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी माधव नेपालले तय गरेको यात्रा टुंगोमा पुग्ने नदेखेर उनीहरू डराएको बताउनुहुन्छ । जोखिमपूर्ण यात्रामा नगएर उनीहरू संस्थापनमै बसेको उहाँको ठहर छ । यसबहेक सत्ता र शक्तिको स्वार्थका कारण पनि केहीले साथ छोडेको उहाँको विश्लेषण छ । ‘मुख्यतः पदकै कुरा हो । जस्तो बागमतीमा अष्टलक्ष्मी मुख्यमन्त्री हुनुभयो,’ डा. केसीले भन्नुभयो, ‘दोस्रो माधव नेपालको आशय बुझे होलान् । नेपालको जहाज जहाँ जाँदै छ, त्यसको गन्तव्य निश्चित छैन । त्यसमा चढ्न उपयुक्त ठानेनन् । त्यसैले केहीले माधव नेपालको साथ छोडे ।’ केसी माधव नेपालको आगामी राजनीतिक यात्रा सुखद देख्नुहुन्न । र यसले समग्रतामा नेपाली कांग्रेसलाई पनि फाइदा नहुने आँकलन गर्नुहुन्छ । प्रस्तुत छ प्राडा केसीसँग हिमालय टाइम्सले गरेको कुराकानी :-


पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनु भएको छ ? 

यो दुखद, अशोभनीय र अस्वाभाविक छ । गत निर्वाचनमा स्थायित्व र सुशासनका लागि नेपाली जनताले वामपन्थलाई दुई तिहाइ करिब मत पनि दिए । तर, यिनीहरूले जनमतलाई लात हाने । दुःखको कुरा, बेइमानी नेताले प्रतिपक्षमा बस्नेलाई सत्तामा पुर्‍याए । यिनीहरूको नालायकी देखेर मलाई दुःख लाग्छ । नांगो नाच गर्न राजनीतिक अखडामा उत्रेका छन् । यिनीहरूको नग्नता देखेर दुःख लाग्छ । खेद प्रकट गर्छु । 

यो अपेक्षित थियो कि अनपेक्षित ? यस्तो अवस्था कसरी आयो ? 

आम मान्छेका लागि यो अनपेक्षित हो । कसैले यस्तो अपेक्षा गरेका थिएनन् । तर, मैले त सुरुदेखि नै भन्दै आएको थिएँ । यिनीहरूले थामी खाँदैनन् । यिनीहरूको भर र ठेगान छैन भन्दै आएँ । अन्ततः देखियो । कोभिडको बेला रत्यौली खेलेर बसेको छन् । यिनीहरूलाई कुनै शब्दले भत्र्सना गरे पनि कम हुन्छ । यिनीहरू भत्र्सनायोग्य हुन् । 

राजनीतिक रूपमा पछिल्लो समय जे भयो र भइरहेको छ यसको कारण के हुनसक्छ ?

सत्ता र स्वार्थ हो । स्थायित्व नचाहने, स्थिरता नचाहनेकोहरूले खेलेको रत्यौली हो । बास्तवमा यिनीहरू राजनीतिज्ञ होइनन् ।

सता र शक्ति त नेकपा हुँदा पनि थियो नि ? 

त्यहाँ यिनीहरूलाई ठूलो भाग थिएन । मुटु कलेजो खान पाएनन् । हड्डी मात्रै खान पाए । त्यसको परिणाम आज देखियो । 

अहिलेको घटनाक्रममा को बढी जिम्मेवार देख्नुहुन्छ ? 

नेताको रूपमा ओली बढी जिम्मेवार छन् । तर, लामो समय एमालेको नेतृत्व गरेका नेपाल पनि जिम्मेवार छन् । माओवादी अध्यक्ष प्रचण्डको पनि सकुनीको भूमिका छ । कारण जे भए पनि परिणाम घातक छ । यसले अन्योल र अस्थिरता बढ्छ । 

प्रचण्डको रोल कति हो ? 

मूलतः एमालेलाई सिध्याउने कुरा हो । एमाले नसिध्याई माओवादी र कांग्रेसलाई फाइदा हुँदैन । आज त्यही भएको छ । तर, बिरामी मर्‍योेभन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो ।

अन्तिममा आएर केही राजनीतिक दृश्य पनि परिवर्तन भए नि । जस्तो केही नेताले गुट परिवर्तन गरे, यसको कारण के हुनसक्छ ?

त्यहाँ पनि पदकै कुरा हो । जस्तो बागमतीमा अष्टलक्ष्मी मुख्यमन्त्री हुनुभयो । दोस्रो माधव नेपालको आसय बुझे होलान् । त्यो जहाज जहाँ जाँदै थियो त्यसमा चढ्न उपयुक्त ठानेनन् । उपयुक्त छैन भन्ने लाग्यो । त्यसैले केहीले माधव नेपालको साथ छोडे । 

अब त्यो जहाज कता जान्छ त ? चुनौती के देख्नुहुन्छ ? 

पहिलो कुरा त्यो अवतरण हुनसक्छ कि सक्दैन भन्ने हो । दोस्रो भइहाले पनि त्यसपछि निकास पाइन्छ कि पाइँदैन भन्ने कुरा छ । चुनौती नै चुनौती छन् । माधव नेपालले राजनीतिक जीवनकै ठूलो बबण्डर गरेका छन् । यसको कुनै सुखद परिणाम आउने म देख्दिनँ । 

यसले नेपाली राजनीतिमा दीर्घकालीन रूपमा के असर गर्छ ? 

यसले त एउटा विभाजन र अराजकताको ढोका खोलिदियो । माओवादी कांग्रेस वा अरूमा पनि यो देखिन सक्छ । कसैलाई पनि यसले फाइदा गर्दैन । आफैँले खनेको खाल्डोमा आफैँ पर्ने देखिन्छ । कसैलाई पनि फाइदा गर्दैन । 

एमाले विभाजनमा कांग्रेस पनि जोडियो नि । उसलाई के फाइदा हुन्छ ? 

सबैभन्दा बढी घाटा कांग्रेसलाई हुन्छ । आउने निर्वाचनमा कांग्रेसलाई घातक हुन्छ । सहानुभूतिको मत बरु ओलीले पाउन सक्छन् । 

आगामी निर्वाचनमा यसले के फरक पार्छ ?  जनताले कसरी लेलान् ? 

यिनीहरूलाई घरघरबाट लखेट्नुपर्छ भन्ने मेरो भनाइ छ । म त त्यही अभियानमा लाग्छु । अब जनताले कसरी लिन्छन् त्यो उनीहरूको कुरा हो । जनता महान् हुन् । न्यायाधीश हुन् । उनीहरूको निर्णय अवज्ञा गर्न मिल्दैन । पर्खिनुपर्छ केही समय । 

अर्को कुनै तेस्रो शक्तिको उदयको सम्भावना होला ? 

त्यो अहिले छैन । यहीभित्रकै राम्रालाई चुन्नपर्छ र उनीहरू नै आउँछन् भन्ने लाग्छ । होइन भने जनताले फेरि दुःख पाउँछन् । दुःखको बाटो लाग्नु हुुँदैन ।


Top