नेपाली चलचित्र क्षेत्रमा विभिन्न आयामहरूको विकास भएको छ : सुभाष गजुरेल, कलाकार/निर्देशक

हिमालय टाइम्स   POSTED ON : भदौ ५, २०७८ (७:१९ AM)

नेपाली चलचित्र क्षेत्रमा विभिन्न आयामहरूको विकास भएको छ : सुभाष गजुरेल, कलाकार/निर्देशक

२०३५ सालदेखि निरन्तर अविरलरूपमा कला क्षेत्रमा रहेको नाम हो सुभाष गजुरेल । रंगमञ्चदेखि नेपाली कला क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले रंगमञ्च हुँदै टेलिफिल्म र ठूलो पर्दामा आफ्नै पहिचान स्थापित गर्नुभएको छ । उहाँले अभियनमा मात्र नभएर निर्देशनमा पनि आफ्नो नामलाई उचाइमा पुर्‍याउन सफल हुनुभएको छ । गजुरेलले निर्देशन गरेको चलचित्र ‘बसाइ’ ओस्कारमा समेत नोमिनेसन भएको थियो । यो चलचित्रले सार्क फिल्म फेस्टिबल, नर्थ बंगाल फिल्म फेस्टिबलमा सहभागिता जनाएको थियो भने विभिन्न राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको थियो । यस्तै उहाँले कला क्षेत्रबाट विभिन्न अवार्ड तथा पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ । उहाँले केन्द्रीय चलचित्र सेन्सर बोर्डको सदस्यमा रहेर पनि कार्यसम्पादन गरिसक्नुभएको छ । उहाँले विभिन्न वृत्तचित्र र सर्ट फिल्मको पनि निर्माण, अभिनय र निर्देशन गर्नुभएको छ । उहाँले निर्देशन, अभिनय र निर्माण गरेका वृत्तचित्र र सर्ट फिल्म मस्को फिल्म फेस्टिबलदेखि लिएर विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी भएका छन् । समयको विकासक्रमसँगै नेपाली चलचित्र क्षेत्रमा पनि विभिन्न आयामहरूको विकास भएको बताउनुहुने गजुरेलसँग हिमाल टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

अहिले के गर्दै हुनुहुन्छ ?

यतिबेला दुईवटा टेलिसिरियल ‘उल्टो सुल्टो’ र ‘डन्ट माइन्ड’ मा अभिनयको काम भइरहेको छ । ‘डन्ट माइन्ड’ हिमालय टेलिभिजनमा बुधबार आइरहेको छ भने ‘उल्टो सुल्टो’ मिडिया हबमा आइरहेको छ । 

यो क्षेत्रमा कसरी आउनुभयो ?

मैले सानैदेखि नै स्कुलका विभिन्न कार्यक्रममा नाटक गर्दै आएको थिएँ । त्यसैक्रममा काठमाडौं अध्ययनका क्रममा आएपछि यहाँ रहेका केही संघसंस्थामा सम्पर्क भई केही नाटकहरूमा अभिनय गर्न थालें । त्यसपछि नेपाल टेलिभिजनको स्थापना भएपछि टेलिफिल्ममार्फत् अभियन सुरु गरें । पछि ठूलो पर्दामा आएँ । 

पहिलो नाटक कुन थियो ?

यो काठमाडौंको रंगमञ्चमा ‘सत्यवचन’ भन्ने थियो । यो २०३७ सालमा हो । 

पहिलो टेलिफिल्म ?

नेपाल टेलिभिजनबाट निर्मित, रमेश बुढाथोकीद्वारा निर्देशित ‘वाचा बिर्सेको छैन’ थियो । 

पहिलो ठूलो पर्दाको फिल्म ?

शम्भु प्रधानको निर्माण तथा निर्देशनमा रहेको ‘सम्पत्ति’ थियो ।

अहिलेसम्म आउँदा कति जति नाटक, टेलिफिल्म र फिल्ममा काम गर्नुभयो होला ? 

यस्तै ३५ वटाजति नाटक भयो होला, टेलिफिल्म एक सयभन्दा धेरै छन् भने चलचित्र ५० को हाराहारीमा भए होला ।

निर्देशनमा पनि आउनुभयो होइन ?

हो, मैले नाटकहरू भए, टेलिफिल्म र ठूलो पर्दाको चलचित्रमा पनि निर्देशन गरेको छु । 

केहीको नाम लिनुपर्दा ?

नाटकमा ‘देउराली’, ‘पश्चाताप’, ‘अपूर्व मिलन’, ‘मात्तिएको मान्छे’ लगायत रहेका छन् भने टेलिफिल्ममा ‘सहरयात्रा’, ‘पश्चाताप’, ‘फुलुवा’, ‘एकटाआवोर वसन्त’ लगायत छन् भने ठूलो पर्दामा ‘मजदुर’, ‘को होला मेरो मायालु’, ‘बसाइँ’ लगायतमा निर्देशन गरें । 

लामो समयदेखि चलचित्र क्षेत्रमा हुनुहुन्छ, के चलचित्र या भनांै कला क्षेत्र मनोरञ्जनमात्रै हो त ?

होइन, यसको एउटा भाग मनोरञ्जन त अवश्य हो । तर, यसले मनोरञ्जनसँगसँगै सामाजिक सन्देशसमेत प्रवाह गर्दछ । हाम्रो भाषा, कलासंस्कृतिलाई संरक्षण, संवद्र्धनमा पनि टेवा पुर्‍याउने कार्य गर्दछ । 

यहाँले अभियन गरेका र निर्देशन गरेका चलचित्रमा आफैंमा मन परेको चलचित्र ?

एउटा सर्जकलाई आफूले गरेका सिर्जना सबै उत्तिकै मन पर्छ । अभिभावकलाई आफ्ना हरेक सन्तानको माया भएजस्तै सर्जकलाई पनि आफ्ना हरेक सृजना उत्तिकै मन पर्छ । तर, जहिले पनि के हुने गर्दछ भने योभन्दा अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । यसमा यसो गरेको भए अझै गज्जब हुन्थ्यो भन्ने पनि हुन्छ । यो साह्रै गाह्रो प्रश्न हो । तैपनि केहीको नाम लिनुपर्दा र दर्शकले मन पराएका आधारमा भन्नुपर्दा अभिनयमा ‘ज्वाला’, ‘सरस्वती’, ‘मोहनी’ ‘छोरो’ लगायत चलचित्र रहेका छन् भने निर्देशनमा ‘बसाइ’, ‘मजदुर’, ‘को होला मेरो मायालु’, ‘माया बैगुनी’ रहेका छन् । 

चलचित्र के हो ? 

चलचित्र या कला क्षेत्र व्यापक छ । फेरि पनि केही सामाजिक विषयवस्तुलाई कलात्मक र मनोरञ्जनात्मक हिसाबले दर्शकको मन जित्न वा दर्शकलाई आकर्षित गर्नु नै चलचित्र हो । अर्थात् चल्ने चित्र हो । यसले समाजका विभिन्न परिवेश, घटनाक्रमलाई उजागर गरेको हुन्छ । 

तपाईं लामो समयदेखि नेपाली कला क्षेत्रमा हुनुहुन्छ, हाम्रो कला क्षेत्रलाई कस्तो पाउनुहुन्छ ?

नेपालमा नै बनेको पहिलो चलचित्र ‘आमा’ देखि अहिलेसम्म आउँदा यो क्षेत्रले निकै उतारचढावहरू पार गरेको छ । समय सधैं एकनास हुँदैन, यो विकासको क्रममा छ । समयको विकासक्रमसँगै हाम्रो चलचित्र क्षेत्रमा पनि विभिन्न आयामहरूको विकास भएको छ । बीचमा केही विकृतिजस्तो देखिए पनि त्यो क्षणिक हुन्छ भन्ने लाग्छ मलाई । कला क्षेत्रमा देखिएको ‘मुर्गा’ संस्कृतिले पनि यस्तो हुन गएको हो । तर, पछिल्लो समय बुझेर, अध्ययन गरेर यो क्षेत्रमा आउनेहरू पनि हुनुहुन्छ । म त राम्रै देख्छु नेपाली कला क्षेत्र । हरेक क्षेत्रमा राम्रा र नराम्रा पक्ष त हुन्छन् नै, यो क्षेत्रमा पनि त्यस्ता कुराहरू आउने गर्छन् । ती समयको वहावसँगै बग्ने गर्छन् । इतिहासमा सधैं राम्रा कुरामात्रै दर्ज हुन्छन् । यस्ताबाट हामी सचेत हुँदै कला क्षेत्रको राजमार्गमा अघि बढ्नुपर्छ ।

विगत डेढ वर्षदेखि नेपाली कला क्षेत्र कोरोना संक्रमणको चपेटामा पर्न गयो नि ?

हो, विश्वव्यापी फैलिएको कोरोना संक्रमणले हामीलाई पनि नराम्ररी प्रभावित गरेको छ । सबै क्षेत्रलाई प्रभाव गरेको भए पनि कला क्षेत्र अलिक बढी प्रभावित भएको छ । तपाईंले भनेजस्तै विगत डेढ वर्षदेखि एक्सन कटको काम हुन पाएको छैन । यो क्षेत्रमा रहनुभएका हजारौं बेरोजगार हुनुपर्ने अवस्था सिर्जना भएको छ । बीचमा केही टेलिफिल्म, म्युजिक भिडियोहरू निर्माण भए पनि वर्षको एक सयको हाराहारीमा बन्ने चलचित्र अहिले एक, दुईवटामा सीमित हुन पुगेको छ । यो डेढ वर्षको अवधिमा आधा दर्जनजस्तो चलचित्र निर्माण भए होलान् । सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेका ४०, ४५ वटाजति चलचित्र थन्किएर बसेका छन् । करोडौंको लगानी थन्किएको छ । राज्यले यो क्षेत्रलाई समयमै उचित सम्बोधन गरेन भने अवस्था जटिल छ । पछिल्लो समय कोरोना खोप पनि आइरहेको छ । आशा गरौं, अवश्य छिट्टै पहिलाजस्तै एक्सन कटमा फर्किनेछांै । 


Top