समयले मलाई जहाँ पुर्‍यायो म त्यहीँ रहेँ : लय संग्रौला, विशिष्ट कलाकार

हिमालय टाइम्स   POSTED ON : भदौ १२, २०७८ (७:४५ AM)

समयले मलाई जहाँ पुर्‍यायो म त्यहीँ रहेँ : लय संग्रौला, विशिष्ट कलाकार

नेपाली कला क्षेत्रमा विशिष्ट कलाकारको पहिचान बनाउनुभएको नाम हो लय संग्रौला । रंगमञ्चबाट कला क्षेत्रमा प्रवेश गर्नुभएको उहाँले थुप्रै सिरियलमा अभिनय तथा निर्देशन गर्नुभएको छ । ठूलो पर्दाका पनि थुप्रै चलचित्रमा निर्देशन तथा अभिनय गर्नुभएका उहाँ गीतकार र साहित्यकारका रूपमा पनि चिरपरिचित हुनुहुन्छ । उहाँका थुप्रै गीत श्रोतामाझ लोकप्रिय छन् भने ‘कालचक्र’ उपन्यास पाठकमाझ रहेको छ । यस्तै अन्य केही कृति पनि पाठकमाझ ल्याउने तयारी गर्नुभएको उहाँ टेलिसिरियल स्रमाटको उपाधिसमेतबाट सम्मानित हुनुहुन्छ । एउटा नागरिक, कलाकार, निर्देशक, गीतकार अचेल भिडमा देश खोजिरहेको छ, आफ्नो पहिचान हराउला भनेर पहिचान खोजिरहेको छु भन्नुहुने लय संग्रौलासँग हिमालय टाइम्ससँगको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

यतिबेला के गर्दै हुनुहुन्छ ?

यतिखेर खासै त्यस्तो केही छैन । फाट्टफुट्ट केही सिरियलहरू छन् ।

लय संग्रौला को हो ?

लय संग्रौला पहिला त एउटा सचेत नागरिक थियो । एउटा राम्रै कलाकार निर्देशक थियो । मुलुकको गलत राजनीतिको भुमरीमा परेर एउटा नागरिक, कलाकार, निर्देशक, गीतकार अचेल भिडमा देश खोजिरहेको छ । आफ्नो पहिचान हराउला भनेर पहिचान खोजिरहेको छ । अर्थात् यो विडम्बना हो । 

जीवन के हो ?

जीवन सम्झना नै सम्झनाको शब्दकोश हो । 

नेपाली कला क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ, कसरी आउनुभयो यो क्षेत्रमा ?

जीवन खोज्नेक्रमको अन्तिम विकल्प थियो । कसैको सोर्सफोर्स पनि नलाग्ने, आफ्ना सिर्जनाहरूलाई प्रष्ट्याउने एउटा माध्यम कलाकारिता भेटियो । यसरी सुरुमा रंगमञ्चमा रुमलिँदा-रुमलिँदै टेलिभिजनको स्थापना भयो विसं. २०४१ सालमा अनि म रंगमञ्चबाट दृश्यमा रूपान्तरित भएर जीवन नै यही कलाकारितामा बित्यो । यही पहिचान बन्यो मेरो । म कलाकार नै बन्छु भनेर झापादेखि काठमाडौंको यात्राचाहिँ गरेको थिइनँ मैले । समयले मलाई जहाँ पुर्‍यायो म त्यहीँ रहेँ । 

यहाँ टेलिभिजनको पर्दामा आएपछि टेलिसम्राटसम्म बन्नुभयो होइन ?

हो, मेरो कर्मले मलाई त्यो उपाधि दिलायो । नेपालको त्यस अवस्थामा सबैभन्दा लामो लोकप्रिय धारावाहिक ‘देवी’ बन्यो । पहिलोपटक सय भाग बनेको हुनाले टेलिसम्राटको उपाधि मलाई प्राप्त भएको हो । 

कला क्षेत्रमा प्रवेश गर्दा पहिलो कुन थियो, याद छ होला ?

माथि पनि भनेँ म रंगमञ्चबाट नै आएको हुँ । पर्दामा मैले आफूलाई नीर शाहको पहिलो निर्देशन चलचित्र ‘वासुदेव’ मार्फत् पर्दामा आएँ म । नेपाल टेलिभिजन स्थापना भएपछि पहिलो टेलिचलचित्र २०७२ साल पुस २७ गते प्रसारण भयो । मेरो सानो पर्दाको पहिलो अभिनय यसमा थियो । मैले पृथ्वीनारायण शाहको भूमिका निभाएको थिएँ । यसको निर्देशक मेरा मित्र कृष्ण मल्ल हुनुहुन्थ्यो । 

थुप्रै रंगमञ्च, सिरियल र चलचित्रमा अभिनय गर्नुभयो ? केहीको नाम लिनुपर्दा ?

रंगमञ्चमा सबैभन्दा लामो समयसम्म चलेको तथा व्यावसायिकरूपमा त्यो बेलाको अत्यधिक सफल र पहिलो हास्य नाटक ‘बन्दिनुहोस् न त’ मा मैले अभिनय गरेँ । यस्तै थुप्रै नाटकमा अभिनय गरियो । यस्तै सिरियलमा चित्त बुझ्दो गरी खेलेको रमेश बुढाथोकीद्वारा निर्देशित विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘शत्रु’ मा अभिनय गरेँ । यो प्रारम्भिक चरणको थियो । पछि हजारको हाराहारीमा सिरियलमा अभिनय गरेँ । ठूलो पर्दामा पनि एक सयको हाराहारीमा अभिनय गरेको छु । केहीको नाम लिनुपर्दा ‘चोट’, ‘शिवशक्ति’, ‘जञ्जिर’, ‘बद्रीबहादुर’ लगायत रहेका छन् । 

ठूलो पर्दाको निर्देशनमा पनि आउनुभयो ?

मैले अभिनय गर्दागर्दै सानो पर्दामा लामो समयसम्म निर्देशन गरेँ । अरूले निर्देशन गरेका चलचित्रमा अभिनय गर्दा म आफैं राम्रो निर्देशन गर्छु योभन्दा त भनेर केही चलचित्र निर्देशन गरेँ । यसमा ‘लोग्नेमान्छे’, ‘चिनारी’, ‘बाह्रमासे’ लगायत छन् । 

अभिनय र निर्देशनमा कुन गाह्रो रहेछ ?

राम्रो गर्नुपर्दा दुवै काम गाह्रो हो । यसमा अभिनय अर्कोले भनेको जसरी गर्नुपर्छ भने निर्देशकको जिम्मेवारी बढी हुन्छ । निर्देशक भनेको चलचित्रको टिम क्याप्टेन भएकाले बढी जिम्मेवारी रहने गर्दछ । 

कलाकारितासँगै यहाँको परिचय गीतकार र साहित्यकारका रूपमा पनि पाठक तथा श्रोताका माझ स्थापित छ, साहित्य तथा गीत लेखनतर्फ कसरी आकर्षित हुनुभयोे ? 

अलिकति वातावरण, अलिकति मनभित्रका उकुसमुकुस र पीडाहरू, अलिकति मानवीय समवेदना यस्तै-यस्तै अवयवहरूले कलम चलाउन उत्प्रेरित गर्‍यो भन्ने लाग्छ । 

कस्ता-कस्ता सिर्जना पाठक र श्रोतामाझ आएका छन् ?

गीतमा मेरो पहिलो गीत ‘किन जुधे आँखा भन्थे, माया बस्न रहिछ...।’ त्यसपछि थुप्रै गीत श्रोता÷दर्शकमाझ आए । जस्तै, राष्ट्रिय गीतमा ‘करेसामा लालुपाते’, अन्य गीतमा ‘मैले हार्दा तिमी जित्छौ भने...’, ‘तिमीभरि पोखिएछु उठाउन भ्याएको छैन...’, ‘चाहिनेभन्दा बढ्ता माया गरेँछु कि क्या हो...’, त्यस्तै चलचित्रमा ‘लोग्नेमान्छे र चिनारी’ मा मेरा गीत रहेका छन् । यस्तै एल्बम ‘कल्पवृक्ष’ आएको छ । यस्तै पाठकमाझ ‘कालचक्र’ उपन्यास आएको छ । यसैगरी ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ कृति आएको छ पाठकमाझ । 

अन्य केही आउँदैछ गीत तथा उपन्यास ?

केही पाण्डुलिपि तयार छन् । पाठकमाझ ल्याउने जमर्को गरेको त हो तर कोरोना संक्रमणको जटिलता र देशको गलत राजनीतिक भुमरीले एउटा सर्जक कता-कता अल्मलिएको छ । त्यही भएर नयाँ सिर्जना पस्किन सकिरहेको छैन । यसमानेमा म आफैं दुःखी छु । अहिलेको अवस्था भनेको भात पस्कौं कि सिर्जना पस्कौं भन्ने छ । यही अवस्थामा के सिर्जनाको कुरा गर्नु । देश हराइरहेको छ । देश खोजांै कि मान्छेभित्रको पीडालाई अक्षरमा उतरौं । यही अवस्थामा छु । 

कोरोना संक्रमणले वर्तमान नेपाली चलचित्र यतिबेला ठप्पप्रायः छ । निर्माण सम्पन्न भएका करिब ४२ वटा जति चलचित्र सिनेमा घरमा आउन पाएका छैनन्, निर्माण पनि रोकिएको छ, केही फाट्टफुट्ट निर्माण भए पनि कहिले हलमा लाग्ने अनिश्चित छ । हजारौंलाई रोजगारी दिएको यो क्षेत्रका अबका दिनहरू कसरी अगाडि बढ्ने देख्नुहुन्छ ?

अगाडि बढ्न त जटिल नै देख्छु । तुरुन्तै सहज वातावरण बन्लाजस्तो लाग्दैन । वातावरणको खोजी सर्जकहरू र राज्य संयन्त्र सबैको चिन्ताको विषय हो भने । यसमा बृहत् छलफलको आवश्यकता देख्छु । हजारांैलाई रोजगारी दिइरहेको यो क्षेत्रमा लागेका व्यक्तिहरूको बिचल्ली नै भएको अवस्था छ । राज्यले यस क्षेत्रलाई समयमै सम्बोधन गर्न जरुरी छ । करोडौं रुपैयाँ फ्रिज भएको छ । राज्यले समयमै यो क्षेत्रलाई सम्बोधन गरेन भने हाम्रो चलचित्र क्षेत्र उठ्न अझै निकै वर्ष लाग्नेछ । देश भनेको भुगोलमात्र होइन । त्यहाँ भएका भाषा, साहित्य, कला र संस्कृति हो । कला र संस्कृतिको संवद्र्धन गर्ने क्षेत्र भनेको कलाकारिता हो । त्यही नै मर्‍यो भने तपाईं नै भन्नुहोस्, हाम्रो अस्तित्व के होला ? 

अन्त्यमा ?

यो विषम परिस्थितिमा सबै सुरक्षित रहनुहोला । यो विशेष हिँड्दा–हिँड्दै संवादका लागि हार्दिक आभार व्यक्त गर्दछु । 


Top