स्वदेशी बिस्कुट उद्योग संकटमा छन् : महेशकुमार जाजु, पूर्वउपाध्यक्ष, नेपाल बिस्कुट उद्योग संघ

लेखनाथ पोखरेल   POSTED ON : भदौ १३, २०७८ (६:३९ AM)

स्वदेशी बिस्कुट उद्योग संकटमा छन् : महेशकुमार जाजु, पूर्वउपाध्यक्ष, नेपाल बिस्कुट उद्योग संघ

राज्यको आयातमुखी नीतिका कारण नेपालमा अधिकांश उद्योगहरू संकटबीच गुज्रिँदै आएका छन् । उदार आयात नीतिले कतिपय उद्योग प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका छन् भने सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, जसका कारण उत्पादन लागत बढ्दा आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकेका छैनन् । स्वदेशी उत्पादनको प्रवद्र्धनभन्दा पनि राज्यको ध्यान राजस्व असुली केन्द्रित हुने गरेका कारण यस्तो अवस्था आएको उद्योगीको आरोप छ ।  आत्मनिर्भर र आत्मनिर्भरोन्मुख उद्योगमध्ये बिस्कुट उद्योग पनि एक हो तर बिस्कुट उद्योगका बारेमा खासै चर्चा भएको पाइँदैन । लगभग पूर्ण स्वदेशी कच्चा पदार्थमा आधारित बिस्कुट उद्योगले आयात प्रतिस्थापनका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । तर, भारतीय बिस्कुुटको दबदबा हुँदा नेपालमा रहेका झण्डै ५० बिस्कुट उद्योगमध्ये ३० प्रतिशत उद्योगमात्रै सञ्चालनमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी इन्डस्ट्री प्रालि (गुडलाइफ बिस्कुट) का प्रबन्ध निर्देशकका साथै नेपाल बिस्कुट उद्योग संघका पूर्वउपाध्यक्षसमेत रहनुभएका महेशकुमार जाजु बताउनहुन्छ । प्रस्तुत छ, स्वदेशी बिस्कुट उद्योगको विद्यमान अवस्थाबारेमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले जाजुसँग गर्नुभएकोे कुराकानी :-

 नेपाली बिस्कुट उद्योगको अवस्था कस्तो छ ?

क्षमताका आधारमा भन्ने हो भने नेपाली बिस्कुट उद्योग आत्मनिर्भर अवस्थामा पुगिसकेका छन् । तर, आयातित बिस्कुटको दबदबाका कारण अधिकांश नेपाली बिस्कुट उद्योग क्षमताको ६० प्रतिशतमात्रै सञ्चालित छन् । आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेर धेरैजसो उद्योग बन्द अवस्थामा रहेका छन् । खुला सीमाका कारण ठूलो परिमाणमा भारतीय बिस्कुट तस्करी भएर आउने गरेको छ भने सोही परिमाण बराबर आयात पनि हुँदै आएको छ ।

किन यस्तोे भइरहेको छ ?

राज्यको नीति नै उद्योगमैत्री नभई व्यापारमैत्री भएका कारण यस्तो भएको हो । सोही कारण हरेक वर्ष नेपालमा व्यापारघाटा बढ्दै गएको छ । आत्मनिर्भर र आत्मनिर्भरोन्मुख अवस्थामा रहेका वस्तु आयातमा सरकारले कडाइ गर्नुपर्नेमा अझै उदारताका साथ आयातलाई प्रोत्साहित गर्दै आएको छ । बजेटले आत्मनिर्भर र आत्मनिर्भरोन्मुख वस्तुको आयातलाई न्यूनीकरण एन्टिडम्पिङ ड्युटी लगाउने भनेको तर अहिलेसम्म सोसम्बन्धी ऐन कानुन बनेकै छैन ।

यहाँका उद्योगले गुणस्तरीय उत्पादन गर्न नसकेका कारण आयात बढेको हो कि ?

हामी दाबीका साथ भन्छौं कि नेपाली उद्योगबाट उत्पादित बिस्कुट भारतीयभन्दा पनि गुणस्तरीय छन् । मेरो उद्योगको मात्रै कुरा गर्दिनँ, सबै नेपाली बिस्कुट उद्योगले गुणस्तरीय उत्पादन गरिरहेका छन् । तर पनि किन भारतबाट आयात भइरहेको हो, हामीले बुझ्न सकिरहेका छैनौं । तस्करी भएर आउने भारतीय बिस्कुटलाई मात्रै पनि सुरक्षा निकायले रोक्ने हो भने नेपाली बिस्कुट उद्योगले धेरै राहत पाउने थिए । बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने थिए भने ६० प्रतिशत क्षमतामात्रै सञ्चालन भएका उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने थिए ।

भारतबाट मात्रै हो कि अन्य मुलुकबाट पनि बिस्कुट आयात हुन्छ ?

सबैभन्दा बढी आउने भारतबाटै हो । अन्य मुलुकबाट धेरै कममात्रामा मात्रै आउने गरेकाले त्यसले नेपाली उद्योगलाई कुनै असर पर्दैन । अन्य मुलुकबाट हाइ लेबलका उपभोक्ताका लागि महँगो बिस्कुटमात्रै आउने हो, जसमा नेपाली बिस्कुटले प्रतिस्पर्धा गर्नुपर्दैन । 

बिस्कुट उद्योगको कच्चा पदार्थ कहाँबाट ल्याउनुहुन्छ ?

अधिकांश कच्चा पदार्थ स्वदेशी नै हो । बिस्कुटको मुख्य कच्चा पदार्थ भनेको मैदा, चिनी, वनस्पति घिउ हो । तर, यस्ता कच्चा पदार्थ पनि भारतभन्दा नेपालमा महँगो छ । खासगरी यहाँ चिनी भारतभन्दा धेरै महँगो छ । चिनी आयातमा सरकारले ४० प्रतिशतसम्म ड्युटी लगाएको छ । नेपाल चिनीमा आत्मनिर्भर भइनसकेको विद्यमान अवस्थामा चिनी आयात ४० प्रतिशत ड्युटी लगाइनु न्यायोचित होइन, यसले स्वदेशी चिनी उद्योगको हित होला तर आमउपभोक्ताको हित हुँदैन । चिनीमा ४० प्रतिशत ड्युटी तिरेर नेपाली बिस्कुट उद्योगले भारतसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? त्यसैले सरकारले स्वदेशी उद्योगलाई साल्ट टे«डिङ कर्पोरेसन र तत्कालीन नेसनल टे«डिङलाई जस्तै चिनी आयातमा सहुलियत दिनुपर्छ । बिस्कुट उद्योगले पनि १५ प्रतिशत ड्युटीमै चिनी आयात गर्न पाउनुपर्छ । ४० प्रतिशत ड्युटीका कारण उपभोक्तालाई पनि मर्का परेको छ, सोही कारण अहिले प्रतिकेजी चिनीको मूल्य बढेर ९० रुपैयाँ पुगेको अवस्था छ, दशैंतिहार, छठसम्म अझै कति पुग्ने हो, केही ठेगान छैन । अहिले विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीमा प्रतिकेजी ५०-६० रुपैयाँमै पाइन्छ । नेपालभन्दा झण्डै ३०-३५ रुपैयाँ सस्तो पर्न जान्छ, जसका कारण नेपाली उपभोक्ता चिनीकै लागि जोगवनी बजार पुग्ने गरेका छन् । चिनीसँगै उनीहरूले अन्य सामान पनि खरिद गर्ने भएकाले नेपाली बजारसमेत प्रभावित हुने गरेको छ । एकजनाले एकपटकमा १० केजी चिनी ल्याउन पाउँछ । एकपटकमै तीन सय रुपैयाँ मुनाफा हुने भएपछि मान्छेले तस्करी नगरेर अरू काम गर्छ र ? नेपालमा तीन लाख टन चिनी खपत छ तर यहाँका चिनी उद्योगबाट डेढ लाख टनमात्रै चिनी उत्पादन हुन्छ । डेढ लाख टन चिनीले बिस्कुट उद्योग पाँच महिनामात्रै चल्न सक्छ, बाँकी सात महिना कसरी चलाउने ? नेपाली चिनी उद्योग आत्मनिर्भर पनि बन्न नसक्ने, आयात पनि हुन नदिने कुरा न्यायोचित भएन । चिनी उद्योगीका लागि न्यायोचित होला तर आमउपभोक्ताका लागि न्याय भएन । 

चिनीमात्रै नभई मैदा पनि नेपालमा भारतभन्दा महँगो होला नि ?

मैदा पनि भारतभन्दा महँगो छ तर मैदाको मूल्यमा खासै ठूलो अन्तर छैन, जुन चिनीमा छ । मैदाजस्तै बिस्कुट उद्योगमा चिनी पनि ठूलो परिमाणमा खपत हुने गरेको छ भने नुन पनि खपत हुने गरेको छ ।  बिस्कुटमा प्रयोग हुने पामोलिन आयल पनि बाहिरबाटै आउने गरेको छ । किनभने पामोलिन आयल नेपालमा उत्पादन हुँदैन । 

बिस्कुटको आयु कति हो, बिस्कुट कहिलेसम्म उपभोग गरिसक्नुपर्छ ?

बिस्कुटको आयु नौ महिनामात्रै हो । अर्थात् उत्पादन भएको मितिले नौ महिनासम्ममा उपभोग गरिसक्नुपर्ने हुन्छ । यस अर्थमा पनि स्वदेशी बिस्कुट भारतीय बिस्कुटभन्दा गुणस्तरीय रहेको पुष्टि हुन्छ किनभने भारतीय बिस्कुट नेपालसम्म आइपुग्दा उपभोग्य मिति थोरैमात्रै बाँकी रहेको हुन्छ । उपभोग्य मिति दुई महिनामात्रै बाँकी रहेका बिस्कुट धेरै आउने गरेको छ । यस अर्थमा भारतमा नष्ट गर्नुपर्ने बिस्कुट नेपालमा आयात भइरहेको छ । भारतमा नष्ट गर्नुपर्ने बिस्कुट नेपाली बजारमा सस्तोमै पठाएर नेपाली बिस्कुट बजारलाई कब्जा गरिरहेको अवस्था छ । त्यसैले थोरै उपभोग्य मिति भएका उत्पादनलाई भन्सार बिन्दुमै रोकिनुपर्छ ।    

नेपालबाट बिस्कुट निर्यातको सम्भावनाचाहिँ कत्तिको छ ?

तत्कालका लागि निर्यातको सम्भावना देखिएको छैन । खासगरी उत्पादन लागत बढी पर्ने भएकाले निर्यातको सम्भावना नदेखिएको हो तर सरकारले सहुलियत दियो भने निर्यात गर्न नसकिने होइन । लागत मूल्य घटाएर भारतकै हाराहारीमा पु¥याउन सकियो भने भारतीय सीमावर्ती बजारमा ठूलो परिमाणमा नेपाली बिस्कुट खपत हुनसक्छ । 

भारतबाट ठूलोमात्रामा हर्लिक्सलगायतका उत्पादन पनि नेपालमा आउने गरेको छ, हर्लिक्स, भिभा र ल्याक्टोजिनलगायत नेपालमै उत्पादन गर्न सकिँदैन ?

किन नसक्नु । नेपाली उद्योगी त्यस्ता उद्योग पनि सञ्चालन गर्न सक्षम छन् तर सरकारले प्रोत्साहित गर्नुपर्‍यो । स्वदेशी उद्योगलाई बढीभन्दा बढी सहुलियत दिनुपर्‍यो, एन्टिडम्पिङ ड्युटीको व्यवस्था हुनुपर्‍यो । आफ्नै देशमा उत्पादित वस्तु आयातमा बंगलादेशले एन्टिडम्पिङ ड्युटी लगाएर आयातलाई निरुत्साहित गरिरहेको छ । हामीले बंगलादेशमा चाउ-चाउ, बिस्कुट निर्यात गर्नुपर्‍यो भने बंगलादेशलाई भन्सार र एन्टिडम्पिङ ड्युटीसमेत गरी १०५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपालमा बिस्कुट आयात गर्दा ३० प्रतिशतमात्रै भन्सार तिरे पुग्छ । 

वार्षिक कतिको बिस्कुट उत्पादन हुन्छ ?

६ सय करोडदेखि ७ सय करोडसम्मको उत्पादन हुन्छ तर त्योभन्दा बढी भारतबाट तस्करी भएर आउँछ । पहिलो कोरोनाकालमा नेपालका सबै बिस्कुट उद्योग चलेका थिए । किनभने कोरोनाका कारण सीमामा कडाइ गरिएको थियो । सबै उद्योग चलेका मात्रै होइन, पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि बिस्कुट उद्योगलाई भ्याइनभ्याइको अवस्था थियो । यसबाट पनि पुष्टि हुन्छ कि भारतबाट तस्करी रोकिएमात्रै पनि नेपाली बिस्कुट उद्योगले ठूलो फड्को मार्न सक्छन् भने नयाँ उद्योगसमेत थपिने भएकाले रोजगारी पनि सिर्जना हुन्छ ।

समस्या समाधानको उपाय के होला त ? 

आयातलाई निरुत्साहित गर्न एन्टिडम्पिङ ड्युटी लगाउनुप¥यो, तस्करी रोक्नुपर्‍यो । तस्करीमार्फत् बिस्कुट ल्याउनेलाई कारबाही गर्नुपर्‍यो । बिस्कुट उद्योगको कच्चा चिनी आयातमा पाँचदेखि १५ प्रतिशतमात्रै भन्सारदर हुनुपर्‍यो, भारतलाई बिक्री गरेकै दररेटमा नेपाली उद्योगलाई विद्युत् उपलब्ध गराउनुपर्‍यो । यस्तो गरियो भने हाल बन्द रहेका उद्योग पनि सञ्चालनमा आउन सक्नेछन् भने सबै उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सक्नेछन् । हामी दुई वर्षदेखि यसमा लागिरहेका छौं तर सरकारले सुनेको छैन । चिनी उद्योगीको दबाबले पनि होला तर यसमा चिनी उद्योगले पनि दबाब दिनु गलत हो ।


Top