हाम्रो मौलिक छाता लोप हुन लागेकोमा चिन्ता छ : शम्भु श्रेष्ठ, अध्यक्ष, भक्तपुर हस्तकला संघ, शम्भु छत्र सर्भिस

हिमालय टाइम्स   POSTED ON : भदौ २०, २०७८ (७:०१ AM)

हाम्रो मौलिक छाता लोप हुन लागेकोमा चिन्ता छ : शम्भु श्रेष्ठ, अध्यक्ष, भक्तपुर हस्तकला संघ, शम्भु छत्र सर्भिस

नेपाली धर्म सस्कृतिसँग जोडिएको महत्वपूर्ण हस्तकला छत्र तथा छाता संकटमा परेको छ । खासगरी विभिन्न मठमन्दिर, गुम्बा, गाईजात्रा, दिपङ्कर यात्रा, दिवाली, वैवाहिक कार्यमा यसको बढी प्रयोग हुने गरेको छ । तर, पछिल्लो समय सहजरूपमा उपलब्ध हुन नसकेपछि दिवाली र वैवाहिक कार्यमा यसको प्रयोग हुन छाडिसकेको छ ।

पुराना पुस्ताका कालीगढको अन्त्यसँगै छाता पनि लोपोन्मुख अवस्थामा पुगेको हो । अहिले यस्तो छत्र-छाता बनाउने भक्तपुरमा दुईजनामात्रै हुनुहुन्छ । मध्यपुरठिमी ६ स्थित शम्भु श्रेष्ठ र उहाँका बुबासँग मात्रै यस्तो कला छ । स्थानीय मौलिक छत्रकला मासिने चिन्ताले पुख्र्यौली पेसालार्ई उहाँले निरन्तरता दिँदै आउनुभएको हो । हालसम्म छत्रकलामा पुस्तान्तरण हुन सकेको छैन । यससम्बन्धी तालिम सञ्चालन गरेर छत्रकलामा नयाँ पुस्तालाई प्रवेश गराउने उहाँको प्रयास सफल हुन सकेको छैन । स्रोत अभावले तालिम सञ्चालन गर्न नसकिएको उहाँ बताउनुहुन्छ । भक्तपुर हस्तकला संघले मात्रै तालिम सञ्चालन गर्न सक्ने अवस्था नरहेको र नेपाल हस्तकला महासंघले पनि खासै चासो नदिएको उहाँको गुनासो  छ । यिनै विविध विषयमा शम्भु छत्र सर्भिसका प्रोपाइटरसमेत रहनुभएका श्रेष्ठसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-

हस्तकलामा कहिलेदेखि लाग्नुभयो ?

यो  हाम्रो पुख्र्यौली पेसा नै हो, सिकर्मी हाम्रो पुख्र्यौली  पेसा हो । तत्कालीन समयदेखि मठमन्दिरमा टुँडालको सबै काम गर्र्ने हामी नै हो । मेरो बुबा ८५–८६ वर्ष हुनुभयो, उहाँले धेरैवटा मठमन्दिरमा काम गर्नु भइसकेको छ । तर, मठमन्दिर सबै बनिसकेपछि र पुनर्निर्माणको काम पनि नभएपछि केही समय छाता हराएको थियो । अहिले हाम्रो मौलिक छाता प्रयोग हुने ठाउँमा कोक र पेप्सीको छाता प्रयोग हुन थालेको छ

पहिले यो छत्र बनाउने कति जना हुनुहुन्थ्यो ?

आजभन्दा २० वर्षअघि मैले सुनेको थिएँ कि काठमाडौंमा पनि एकजना नेवारी समुदायकै कालीगढले बनाउनुुहुन्थ्यो रे ! तर छत्र–छाताको माग सिजनअनुसार हुने भएकाले यो लोप हुने भो भनेर उहाँले मिडियामा चिन्ता व्यक्त गर्नुभएको थियो । हाम्रो घरमा पनि मेरो बुबाले मात्रै बनाउनुहुन्थ्यो । बुबालाई मैले पनि सघाउँदै आएको छु तर हामी पछि यो बनाउने कोही छैन । छोराहरूलाई यसमा चासै छैन, अर्कै काममा छन् ।

नयाँ पुस्तालाई सिकाउनुभएको छैन ?

सिकाउने प्रयास त गरेको हो तर बजेट अभावले तालिम सञ्चालन गर्न सकिएको छैन । तालिमका लागि धेरै खर्र्च लाग्छ, भक्तपुर हस्तकला संघसँग बजेट छैन ।

हस्तकला महासंघले सहयोग गर्ला नि ?

महासंंघले पनि यसमा पर्याप्त बजेट छुट्याउन सकेको छैन । तालिमका लागि केही रकम दिने गरेको रहेछ । महासंघले दिएको रकमले मात्रै नपुग्ने भएकाले बाँकी संघले नै जुटाउनुपर्ने । हाम्रो भक्तपुर हस्तकला संघमा सबै  स्वरोजगार हस्तकला व्यवसायी सदस्य रहेकाले समय पनि दिन नसक्ने खर्च पनि गर्न नसक्ने अवस्था छ । मध्यपुरठिमी नगरपालिकाले भने तालिमका लागि सहयोग गर्छु भनेको थियो तर त्यतिबेला कामको धेरै चाप भएकाले तालिम सञ्चालन गर्न सकिएन । पछिल्लो समय कोरोनाले गर्दा सकिएन । 

आफूले जानेको सीप अरूलार्ई सिकायो भने आफ्नो व्यवसाय  घट्ने सोचले पनि पुस्तान्तरण हुन नसकेको गुनासो सुनिन्छ नि ?

त्यस्तो सोच पनि छ । विगतमा त त्यस्तो सोच धेरैमा थियो, अहिले पनि छ । तर, त्यसो गर्नुहुन्न भनेर हामीले आफ्नो सीप प्रदर्शन गर्न सबै व्यवसायीलाई आग्रह गर्दै आएका छौं ।

भक्तपुरमा कस्ता-कस्ता हस्तकला विधा रहेका छन् ? 

यहाँ काष्ठकला विधा नै बढी छन् । छुवालीकला, मूर्तिकला, मुखुण्डोकलालगायतका विधा पनि रहेका छन् ।

विदेशबाट पनि छाताको माग आउँछ ?

एकपटक जापानबाट आएको थियो, एक हजार छाता अर्डर गरेको थियो तर उसलाई तत्कालै चाहिने र सस्तो पनि चाहिने भनेपछि गर्न सकिएन ।

एउटा छाता बनाउन कति समय लाग्छ ?

एक महिनाभन्दा बढी लाग्छ । किनभने यसमा धेरै मिहिनेत छ । कपडामात्रै सिलाउने हो भने त १०–१२ दिनमा सकिन्छ, छाता बनाउन समय लाग्छ । दिनरात खटिनुपर्छ । जस्तो पायो त्यस्तो बनायो भने टिकाउ हुँदैन, झन् बजार बिग्रिने डर हुन्छ । यसमा लागतभन्दा पनि मिहिनेतको मूल्य लिने हो । तर, मिहिनेतअनुसारको प्रतिफल छैन, यहाँ गुणस्तरीयभन्दा सस्तो खोज्ने प्रवृत्ति छ । त्यसैले पनि यो व्यवसायबाट पलायन हुनेक्रम बढेको हो । 

कोरोनाले भक्तपुरको हस्तकलामा कस्तो असर पारेको छ ?

कोरोनाले हस्तकलाको कारोबार ठप्पजस्तै छ । निर्यात त ठप्पै भयो । पर्यटक आउनेक्रम बन्द भएपछि यहाँको हस्तकला बजार पनि प्रभावित भएको छ । किनभने हस्तकलालाई बढी पैसा तिर्ने भएकै विदेशी पर्यटक हुन् । 

छाता बनाउन के-के सामान चाहिन्छ ?

यसमा प्रयोग हुने कुनै पनि सामान आयात गर्नुपर्दैैन, सबै यहींको सामान प्रयोग हुन्छ । धागो, बाँस, काठ, डोरी, डण्डीमात्रै प्रयोग हुने भएकाले सबै यहीं पाइन्छ ।

वर्षमा कति वटा छाता बनाउन सकिन्छ, एउटा छातालाई कति पर्छ ?

त्यस्तै आधा दर्जन जति छाताको अर्डर आउने गरेको छ । स्टक राख्न धेरै ठाउँ चाहिने भएकाले अर्डर आएपछि मात्रै बनाउने गरिएको छ । एउटा छाताको मूल्य न्यूनतम डेढ लाख रुपैयाँसम्म पर्न आउँछ । अर्को कुरा, मठमन्दिर, देवीदेउता, धार्मिक तथा सांस्कृतिक पर्वअनुसार छाता पनि फरक-फरक प्रकृतिको बनाउनुपर्ने हुन्छ ।

छत्रकला बचाइराख्न के गर्न सकिन्छ ?

छत्रकला भनेको देशको धर्म, संस्कृति, परम्परा  र पहिचानसमेत भएकाले राज्यले नै यसको संरक्षण र संवद्र्धन गर्नुपर्छ । कालीगढको संरक्षणका साथै पुस्तान्तरणका लागि तालिम सञ्चालन गर्नुपर्छ । अन्यथा यो लोप भएर जानेछ ।  


Top