नेपालीहरू विदेश किन जान्छन्, बुझ्न सकेको छैन : अमृत खड्का, अध्यक्ष, नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ

लेखनाथ पोखरेल   POSTED ON : भदौ २७, २०७८ (५:५६ AM)

नेपालीहरू विदेश किन जान्छन्, बुझ्न सकेको छैन : अमृत खड्का, अध्यक्ष, नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघ

हरेक व्यक्तिको सोच र दृष्टिकोण फरक–फरक हुन्छ । कसैको सोच सकारात्मक हुन्छ भने कसैकोे नकारात्मक । नेपाली समाज भने नकारात्मक सोचले ग्रस्त छ । ‘नेपालमा यस्तै हो, यहाँ बसेर केही प्रगति गर्न सकिँदैन, पैसा कमाउन सकिँदैन, नेताले देश बिगारे, भ्रष्टाचारी देश ।’ धेरैजसोबाट यस्तै सुनिन्छ । अझै विदेशमा बस्ने कतिपय नेपालीहरूले त धेरैजसो समय नेपाललाई गाली गरेर बिताउने गरेका हुन्छन् । जसले नयाँ पुस्ताको मनमस्तिष्कलाई विकृत बनाइदिएको छ, उसले नेपालमा आफ्नो भविष्य खोज्नै चाहँदैन, नेपालमा उपलब्ध अवसरको ‘सर्च’ नै गर्दैन । किनभने जन्मिँदै उसको दिमागमा विदेशको भूतले डेरा जमाइसकेको हुन्छ । तर, ५० हजार रुपैयाँबाट व्यवसाय सुरु गर्नुभएका अमृत खड्का भने नेपालमा अवसरै अवसर देख्नुहुन्छ । विदेशभन्दा यहाँ बढी कमाएर सानदार जीवन जिउन सकिने उहाँ बताउनुहुन्छ । 

हस्तकला क्षेत्रमा नेपालकै दोस्रो टप एक्सपोट्र्सका साथै नेपाल हस्तकला महासंघको आर्थिक वर्ष २०७६/०७७ को उत्कृष्ट वस्तुगत संघका अध्यक्ष र नेपाल निर्यात व्यवसायी महासंघको महासचिवसमेत रहनुभएका खड्का सक्रिय राजनीतिबाट टाढिँदै निर्यातमा होमिनुभएको हो । यिनै विविध विषयमा खड्कासँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :- 

तपाई फेल्टजन्य वस्तु निर्यात गर्नुहुन्छ ?

मैले धेरै निर्यात गर्ने ऊनी फेल्ट नै हो तर हेम्प, अल्लोका वस्तु पनि निर्यात गर्छु । पानी पनि निर्यातको तयारीमा छु । नेपालमा छोरीचेली, भाइभतिजाबाहेक सबै उत्पादन निर्यात गर्नुपर्छ भनेर लागेको मान्छे हुँ । मेरो कल्पना क्राफ्ट भन्ने कम्पनी छ, जुन हस्तकला निर्यातमा दोस्रो टप एक्सपोट्र्समा पर्छ । 

कोरोनाकालमा चाहिँ निर्यातको अवस्था के छ ? 

कोरोनाकालमा निर्यात झन् दोब्बर बढेको छ । गत वर्ष पनि निर्यात बढेको छ । यस वर्ष पनि आठ अर्बभन्दा बढीको निर्यात हुने अनुमान गरिएकोमा कन्टेनर समस्या आयो । सबै कन्टेनर अमेरिकामा थन्कियो । अमेरिकामा कन्टेनर राख्ने यार्ड पनि भरियो । जहाज अनलोड गर्न हप्तौं  कुर्नुपर्ने अवस्था छ । कन्टेनर र जहाज नपाएका कारण अहिले लगभग १० कन्टेनर सामान मेरो फ्याक्ट्रीमै थन्किएको छ । 

फेल्टको मात्रै निर्यात बढेको हो कि अरू पनि ?

फेल्टमात्रै होइन, अमेरिकामा जाने सबै सामानको निर्यात बढेको छ । खासगरी कार्पेटबाहेक अनलाइनमार्फत् बिक्री हुने सामानको निर्यात बढेको हो । हाम्रो सबै अनलाइनबाट बिक्री हुने सामान हो । अमेरिकाको लसएन्जलस पोर्टमा कोरोना सुरु भएसँगै ४७ प्रतिशतले कन्टेनर संख्या बढेको छ, जसले अमेरिकामा निर्यात बढेको देखाउँछ । चीनलाई एन्टिडम्पिङ ट्याक्स लगाइदिएकाले अन्य मुलुकले धेरै फाइदा उठाए तर नेपालले भने त्यस्तो लाभ लिने कोसिस नै गरेन । किनभने हाम्रो सरकार, हाम्रो समाज, धेरै व्यवसायी साथीहरू मिसगाइडेड छन् । जतिले जानेबुझेका छन्, उनीहरू भन्न चाहँदैनन्, आफूमात्रै व्यापार गरेर बस्छन् । यसबारेमा टप एक्सपोट्र्सले धेरै जानेबुझेको हुन्छ तर उसले अरूलाई भन्दैन । यस्तो कुरा अरूलाई पनि भन्नुपर्छ भन्ने मेरो मान्यता छ ।

फेल्टको माग जति बढे पनि आपूर्ति गर्न सकिन्छ ?

सकिन्छ, किनभने यो इन्नोभेटिभ प्रोडक्स हो । यसमा जति विविधीकरण गर्न सक्यो, त्यति निर्यात बढाउन सकिन्छ । सधैंभरि एउटै सामान चल्दैन । समयअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुपर्ने हुन्छ । 

भनेपछि यसमा अध्ययन अनुसन्धान आवश्यक छ ?

यो सबै काम वायर कम्पनीले नै गर्छन् । मसँग सामान किन्ने वायरले सामानको बजार प्रवद्र्धनका लागि कति खर्च गर्छन् भनेर अध्ययन गरेको थिएँ, जसका लागि उनीहरूले झण्डै २४ करोड रुपैयाँसम्म खर्च गर्दारहेछन् । वास्तवमा, हामीबीच पार्टनरसिपजस्तो हुन्छ । यो बिजनेस टु बिजनेस (बीटूबी) मोडल हो तर यसलाई नेपाली समाजले अझै पनि बुझ्न सकेको छैन । विगतमा पश्मिना प्रवद्र्धनका लागि व्यवसायीले सरकारबाट थुप्रै पैसा लिए तर बीटूबी मोडलमा मार्केटिङ गर्नुपर्नेमा बीटूसी मोडलमा गरेकाले सफल हुन सकेनछ । 

कच्चा पदार्थको अवस्था के छ ?

कच्चा पदार्थको समस्या छैन, पर्याप्त छ तर नेपाली समाजमा यसबारे पनि भ्रम छ । आजको समयमा आफ्नै कच्चा पदार्थमा आधारित उत्पादन गर्छु भनेर हुँदैन । हामी भेडाको ऊनका धेरै सामान बनाउँछौं । ऊनलाई सुन बनाउँछौं, संसारभर बेच्छौं तर भेडाको ऊन न्युजील्यान्ड र केही तिब्बतबाट पनि आउँछ । हामीले यहीँ भेडापालन गरेर ऊन उत्पादन गर्नुभन्दा बाहिरबाट ल्याउन फाइदा छ । किनभने एउटा भेडाले आफ्नो जीवनकालमा २० हजार रुपैयाँको मासु दिन्छ भने ऊन एक हजारको मात्रै दिन्छ । ऊन बिक्री गरेर फाइदै छैन । यदि ऊन नकाट्ने हो भने भेडा बिरामी हुन्छ । भेडा बिरामी नहोस् भनेरमात्रै ऊन काटिएको हो । भेडाको ऊन वर्षमा दुईपटक काट्नुपर्ने हुन्छ । भेडा बिरामी नहुने हो भने न्युनील्यान्डका भेडापालकले ऊन काट्ने नै थिएनन् । पछिल्लो समय ऊनको माग हृवात्तै घट्यो । खासगरी सन् १९५० पछि जब एक्रेलिक पोलिस्टरको उत्पादन हुन थालेपछि ऊनको माग घटेको हो । मासुको डिमान्डअनुसार भेडा पालिएको हुन्छ, ऊन भनेको त बाई प्रोडक्टमात्रै हो । युरोपमा पनि ठूलो संख्यामा भेडापालन गरिन्छ तर अधिकांशले ऊन काटेर फाल्ने हो । हामीले फालेको ऊन ल्याएर काम गरिरहेका छांै । यहाँ हामीले भेडापालन गर्ने हो भने मासुका लागि पाल्नुप¥यो, ऊनका लागि होइन । अहिले विश्व बजारमा एक्रेलिकभन्दा ऊन सस्तो छ । बरु हामीले जोड केमा गर्नुपर्‍यो भने अहिले हामीले ऊनका सामान १६ वटा मुलुकमा बिक्री गरेका छौं भने ३२ वटा मुलुकमा बिक्री गर्नुप¥यो ।

पश्मिनाको कच्चा पदार्थको अवस्था पनि त्यस्तै हो ?

त्यस्तै हो । चाइनाकै पश्मिना प्रयोग गर्दा फाइदा छ किनभने यहीँ उत्पादन गर्दा त्यहाँभन्दा महँगो पर्छ । जापानमा फलाम खानी छैन भनेर उसले कार नबनाउने ! यो संसारकै व्यापारिक प्रचलन हो, यो सिस्टमलाई नबुझी गलत बाटोमा हिँडेर हामी कसरी सफल हुन्छौं ? लौ, नेपालमा मासुकै लागि भेडापालन गरौंला तर नेपालमा खोरेत रोग उन्मूलन नभएसम्म मासु अन्तर्राष्ट्रिय बजारमा बेच्न पाइँदैन । अमेरिकासम्म जसोतसो लैजान सकिएला तर युरोपमा त प्रतिबन्ध नै छ । नेपालले खोरेत रोग २०३० मा उन्मूलन गर्ने भनेको छ । त्यो पनि राष्ट्रिय योजना आयोगले मिति तोकेको रे ! योजना आयोगले किन ३० राखेको होला भनेर बुझ्दा विश्व बैंकले भनेर राखेको रे ! किन २०३० राखेको हो, कसैलाई थाहा छैन । तर पनि स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्नुहुन्न भन्नेचाहिँ होइन । भेडाका बारेमा मैले पनि धेरै अनुसन्धान गर्दै हिँडेको हो नि ! धेरैवटा भेडीगोठमा पुगियो । तर, एक दिन कृषि मन्त्रालयले भेडापालन विशेषज्ञका रूपमा मलाई बोलायो । विशेषज्ञका रूपमा मैले आफ्ना कुराहरू राखें तर सचिवज्यूले ‘तपाईं टुरिस्ट पाराले भेडीगोठ घुम्न गएँ भनेर अध्ययन हुन्छ ?’ भन्नुभभो । उहाँ डाक्टर सावहरूले अध्ययन गर्नुभएको होला, के–के गर्नुभयो, सबै देखिएकै छ । गरिबीका कारण कलेज जान पाइएन, भेडी गोठालासँग संगत गर्ने, जानकारी लिने, कुरा बुझ्ने गरियो, मेरो त पढाइ यही हो । स्वअध्ययनबाटै झण्डै बीएसम्म पास गर्न लागेको थिएँ तर गाउँ विकास समितिको अध्यक्ष भएपछि पो बिग्रियो त ! 

अहिले कुन-कुन वस्तुको निर्यात बढ्दोक्रममा छ ?

हस्तकलाको परिभाषाभित्र पर्ने सबैको बढेको छ । इरानलाई अमेरिकाले नाकाबन्दी लगाएपछि नेपाललाई केही फाइदा भएको थियो तर धेरै फाइदा अफगानिस्तानलाई भएको थियो । तर, अफगानिस्तानमा तालिबान सरकारमा आएपछि भने अमेरिकाले त्यहाँ पनि आर्थिक नाकाबन्दी लगाउने सम्भावना छ । यदि नाकाबन्दी लगायो भने हामीले धेरै फाइदा लिन सक्छौं । तर, त्यसका लागि नेपाली समाजलाई तयार गर्नुप¥यो । तपाईंको मिडियाबाट म सबै कार्पेट उद्यमी, सबै सरोकारवालालाई भन्न चाहन्छु कि अफगानिस्तानमाथि आर्थिक नाकाबन्दी लगायो भने हाम्रो कार्पेटलगायत केही वस्तुको निर्यात एकदमै बढ्छ, डबल नै हुन्छ । त्यसै पनि ई-कमर्सको व्यवस्थापछि धेरै सामानको निर्यात बढिरहेको छ ।

निर्यात व्यापारमा अनलाइन कारोबारको सुविधा छ र ?

यहाँबाट डाइरेक्ट त्यस्तो सुविधा छैन, हाम्रा वायरले हाम्रा सामान लगेर अनलाइनमार्फत् बिक्री गर्ने हो । यदि यहीँ त्यस्तो सुविधा भइदिए १० गुणाले निर्यात बढ्ने थियो ।

निर्यातको माहौल सिर्जना गर्न के गर्नुपर्ला ?

त्यसका लागि प्रतिभाशाली हाम्रा भाइबहिनीहरूलाई विदेश जानबाट रोक्न सक्नुपर्छ । किनभने यहाँ व्यवसायमा पनि सिर्जनशीलताको खाँचो छ । त्यस्तो सिर्जनशीलता सबैमा हुँदैन । सीमित व्यक्तिमा मात्रै हुन्छ । अर्को कुरा, नेपालीहरूले विदेशमा गएर व्यापार व्यवसाय गर्ने सम्भावना एकदमै न्यून हुन्छ, त्यस्तो सम्भावना एक प्रतिशत पनि छैन । तर, नेपालमा १० प्रतिशत सम्भावना छ, नेपाल त डेभलपिङ कन्ट्री हो नि ! जति ठूला कुरा गरे पनि विदेश गएर त सबैले गर्ने काम भाँडा माँझ्ने नै हो । किनभने विदेशमा जाने धेरैजसोको हालत मैले देखिसकेको छ । त्यहाँ नेपालीहरूको एकदमै विजोग छ त ! हाम्रा प्रतिभाशाली भाइबहिनी विदेशमा गएर जागिर खाने हो कि स्वदेशमै ठूलो बिजनेसम्यान बन्ने हो ? सबैभन्दा पहिले यसमा छनोट गर्नुपर्‍यो । यहाँ हामी बिजनेस गर्नेहरू दुई करोडको गाडी चढ्छौं , २० करोडको घरमा बस्छौं, हजारौंलाई रोजगारी दिएका छौं सरकारलाई करोडौं कर तिरेका छौं, सानको जीवन बाँचेका छौं । त्यसैले विदेश जानुको उद्देश्य के हो ? अमेरिका जानेहरूले कमाएको ३० प्रतिशत त्यहीँको सरकारले लिन्छ । के अमेरिकाले अझै विकास गरोस् भन्ने नेपालीहरूको सोच हो ? कि नेपाललाई गाली गर्न त्यहाँ गएका हुन् ? 

तपाईंचाहिँ यहाँसम्म कसरी आइपुग्नुभयो ?

म राजनीतिबाट रिटायर्ड भएर व्यवसायमा आएको हुँ । पार्टीका केही मान्छेले त्यहाँ टिक्न नदिएपछि विकल्प खोज्न थालें । त्यतिबेला मेरो आर्थिक अवस्था एकदमै कमजोर थियो, औषधि खाने पैसासमेत थिएन । व्यवसायमा लगानी गर्ने पैसा थिएन तर पनि मैले उहाँहरूलाई च्यालेन्ज नै गरेको थिएँ । ‘तपाईंहरू भ्रष्टाचार गरेर कमाउनुुुस्, म व्यवसाय गरेर तपाईहरूभन्दा लाखौं गुणा बढी कमाउनेछु, छलकपट गरेर होइन, निर्यात गरेर कमाउँछु’ भनेको थिएँ । त्यसपछि निर्यातका लागि मैले धेरै कोसिस गरें । चार वर्ष च्याउखेती गरें । ठमेलमा साइबर क्याफे पनि चलाएँ । सोहीक्रममा इन्टरनेटबाट इन्टरनेसनल बिजनेस, ई-कमर्सबारे धेरै कुरा सिकें । फेल्टजन्य वस्तु निर्यातको सम्भावना देखें । त्यसो त निर्यातका लागि अरू पनि धेरै वस्तु थिए तर अरूमा लगानी गर्ने मसँग पैसा थिएन । बल्लतल्ल ५० हजार रुपैयाँ जुटाएर फेल्टको काम सुरु गरेको थिएँ । 

निर्यात प्रवद्र्धनका लागि सरकारले के गरिदिए हुन्थ्यो ? 

सरकारसँग धेरै कुराको माग गर्दिनँ । सबैभन्दा पहिले निर्यात व्यापारमा ई-कमर्स व्यवस्था होस्, अन्तर्राष्ट्रिय बजारमा आफ्नो सामानको वारेन्टी, ग्यारेन्टी दिन सक्ने वातावरण बनोस् । सरकारले निर्यातका लागि संरचनागत सुधार गरोस् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सातवटा महाशाखा छन् तर निर्यातसँग सम्बन्धी एउटा महाशाखा पनि छैन । भारतले निर्यात प्रवद्र्धनका लागि निर्यातसँग सम्बन्धित धेरै महाशाखा, आयोगहरू बनाएको छ । तर, यहाँ भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई पनि पेन्डुलम बनाइएको छ । संस्थाको नाम व्यापार किन जोड्नुपर्‍यो ? निकासी प्रवद्र्धन कन्द्रेमात्रै राख्न सकिँदैन ? कसलाई खुसी पार्न व्यापार नाम जोडेको ! भारतसँग डराएर कि भारतलाई खुसी पार्न यसो गरेको ? त्यसैगरी निर्यात गरिएका वस्तुमा सामान्य समस्या देखिए पनि नकारात्मक टिकाटिप्पणी बढी हुने गरेको छ । खासगरी इन्टरनेटमार्फत् हुने त्यस्तो कमेन्टले निर्यात व्यापारमा ठूलो असर पार्ने गरेको छ । त्यस्तो नहोस् । यस्ता विषयहरू सम्बोधनका लागि हामीले कति जनालाई नमस्कार गर्नुपर्ने हो, सरकारलाई कति कर तिर्नुपर्ने हो, कति ठाउँमा धाउनुपर्ने हो, कति जनालाई रोजगारी दिनुपर्ने हो, त्यो सबै गर्न हामी तयार छौं । 


Top