मलाई मेरोजस्तै मन भएको मान्छे मन पर्छ : डा. दामोदर पुडासैनी ‘किशोर’, वरिष्ठ साहित्यकार

कृष्ण भुसाल   POSTED ON : आश्विन २, २०७८ (८:०१ AM)

मलाई मेरोजस्तै मन भएको मान्छे मन पर्छ : डा. दामोदर पुडासैनी ‘किशोर’, वरिष्ठ साहित्यकार

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ लेखापरीक्षण विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । दस कवितासंग्र्रह, पाँच नियात्रासंग्र्रह र एक दर्शनकृति गरी सोह्रवटा कृतिहरू प्रकाशित गरिसक्नुभएका पुडासैनीको हालसालै प्रकाशित भएको कवितासंग्र्रह ‘निर्वस्त्र घाम र लोलाएको साँझ’ अहिले नेपाली साहित्यफाँटमा विशेष चर्चामा छ । उहाँका सबैजसो कृतिहरूले राष्ट्रका उल्लेखनीय पुरस्कार पाउन सफल भएका पनि छन् । विश्वका तीन दर्जनभन्दा बढी मुलुकहरू र नेपालका ७६ जिल्लाको भ्रमण गरेको पाको अनुभव पनि उहाँसँग छ । उहाँका नियात्राहरू र कविताहरू नेपाली साहित्य भण्डारमा उल्लेखनीय कोशेढुंगाका रूपमा रहेको तथ्यलाई पनि नकार्न सकिँंदैन । लामो समय नेपाल सरकारको सहसचिव/नायब महालेखापरीक्षक पदमा काम गर्नुभएका पुडासैनी अहिले त्रिभुवन विश्वविद्यालयको आर्थिक व्यवस्थापन विज्ञका रूपमा कार्यरत हुनुहुन्छ । डा. पुडासैनी अत्यन्त मिलनसार, सबैसँग श्रुतिमधुर ढंगले संवाद गर्नेमात्र नभई सबैलाई सकेसम्म सहयोग गर्न पनि तम्सनुहुन्छ । सधैं हँसिलो अनुहार र उमंगका साथ घुलमिल हुने डा. दामोदर पुडासैनी ‘किशोर’ सँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः–

अहिले के गर्दै हुनुहुन्छ ?

लेखनकार्य निरन्तर चलिरहेछ । त्रिभुवन विश्वविद्यालयमा आर्थिक व्यवस्थापन विज्ञको हैसियतमा काम पनि गरिरहेको छु । जीवनको उकालो चढ्नेक्रममा जीवनलाई बुझ्ने प्रयास गरिरहेछु ।

दामोदर पुडासैनी को हो ?

प्रकृतिको सबैभन्दा चञ्चल प्राणी । कसैको आग्रह पूर्वाग्रहबिना र आफ्नै पनि कुनै आग्रहबिना नै संसारमा प्रवेश गरेको मान्छे । जीवन पाएपछि जीवनप्रति अत्यन्त ठूलो मोह राख्ने र मृत्युलाई स्वाभाविक दुर्घटना मान्ने मान्छे । संसार, मान्छे र प्राणीको उन्नयनका लागि नयाँ बाटा र नयाँ पाटा खोज्न लागिपरिरहने मान्छे । जीवनलाई एउटा उत्सवका रूपमा अघि बढाइरहन दत्तचित्तका साथ लाग्ने मान्छे । संसारका सबैसँग भाइचारा र बन्धुत्वको सम्बन्ध कायम होस्, आफ्नो कारण कसैलाई पनि दुःख र पीडा नउब्जियोस् र संसार साँच्चै सुन्दर रहिरहोस् भन्ने कामना र कार्यमा लागिरहने एउटा मान्छे । दामोदर पुडासैनी, व्यक्ति, परिवार, समाज, शासन, प्रशासनका अनेकौं हाँगाबिंगाहरूमा समयसँगै विभाजित भइरहेको मान्छे ।

साहित्यमा तपाईंको बढी रुचिको विधा के हो ?

म साहित्यका प्रायः सबै विधामा कलम चलाउँछु । सुरुमा कविता लेखेर साहित्यमा प्रवेश गरेको थिएँ । विस्तारै कथा, निबन्ध, नियात्राजस्ता विधामा आकर्षित भएँ । अहिले कविता, निबन्ध र नियात्राको माध्यमबाट जीवन र जगत्का रहस्यहरूलाई फरक ढंगले नियाल्ने कोसिसमा छु ।

जीवन के हो ? साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?

जन्मबाट नै जीवन सुरु हुन्छ । जन्मपछिको गति जीवन हो । अनिश्चित लय पनि हो जीवन । परिश्रम, प्रयास, अन्योल हुँदाहुँदै आशाको उज्यालोमा अघि बढिरहन्छ जीवन । मृत्यु भनेको जीवनको अनपेक्षित र अप्रत्यासित अन्त्य हो । 

जीवन र जगत्का रहस्यहरू पहिल्याएर र जीवन र जगत्का रहस्यहरूलाई अझ परिष्कृत बनाउने बाटो देखाएर सिर्जना गर्नु नै साहित्य हो । साहित्य समाजको ऐनामात्र होइन, सम्भावनाहरूको आविष्कार पनि हो ।

तपाईं कसका लागि लेख्नुहुन्छ ?

मान्छेको हितका लागि म लेख्छु । मान्छेको मन र तन उज्यालो पार्न पनि म लेख्छु । मैले लेख्ने भनेको मानव जगत्का लागि नै हो ।

साहित्यलेखन कहिलेदेखि सुरु गर्नुभयो ?

बाल्यकालदेखि नै साहित्यलेखनको सुरुवात भयो । सात वर्षको उमेरमा कविता लेखेर सुनाउँदा घरपरिवारबाट स्यावासी आयो । त्यसपछि लेख्न झन्–झन् मीठो लाग्दै आयो । त्यसैबेला रेडियो नेपालबाट त्यो कविता प्रसारण   भयो । पन्ध्र वर्षको उमेरमा पहिलो कविता ‘सहिद’ जनजागृति पत्रिकामा प्रकाशित भएको थियो ।

यहाँका १६ वटा संग्र्रह प्रकाशित भएमध्ये बढी संख्या कविता र नियात्राकै छन् । ती दुई विधामा एउटा कोशेढुंगाका रूपमा यहाँको लेखनी स्थापित भएको छ । यी दुवै विधामा निरन्तर सिर्जना लेख्नुको कारण के होला ?

हो, मेरा १६ कृतिमध्ये १० कवितासंग्र्रह, पाँच नियात्रासंग्र्रह र एक दर्शनकृति प्रकाशमा आएका छन् । नयाँ-नयाँ ठाउँमा भ्रमण गर्नु, त्यहाँको जनजीवनलाई नजिकबाट नियाल्नु, जीवन र जगत्का नवीन रहस्यहरू खोतल्नु र प्राकृतिक स्रोतहरूलाई मानवोपयोगी ढंगले परिचालन गर्ने शैली र विषयहरू प्रदान गर्न पनि म काव्य र नियात्रा लेखनमा हौसिएको हुँ । कविताले जीवनको लयलाई र नियात्राले जीवनगतिलाई सटिकरूपमा उजागर गर्ने भएकाले पनि यी विधामार्फत् मेरो लेखनी अघि बढेको हो ।

नेपाली नियात्रा लेखनीमा तपाईंको विशिष्ट स्थान छ । समालोचकहरू र आमपाठकहरूले तपाईंको नियात्रा लेखनीमा विशेष स्वाद र विशेष उपलब्धि हुन्छ भन्ने गरेका छन् । यात्राका सपाट वर्णनलाई नियात्रा भनेर दौडिनेहरूको भिडमा तपाईंका नियात्राहरूले सुन्दर स्वाद दिनुको कारण के होला ?

हरेक विधाका पाठकहरूले फरक स्वाद, शैली र ज्ञान चाहन्छन् । अहिलेका पाठकहरू आफैंमा बढी अध्ययनशील छन् । उनीहरू सिर्जनाका सबल र दुर्बल पक्षलाई राजहाँसझैं दूध र पानी छुट्याउने सामथ्र्य राख्दछन् । कसैको पनि जीवनको टुंगो छैन । जीवनमा राम्रा नराम्रा जेसुकै पनि घटना घट्न सक्छन्, जीवन अघि बढाउनेक्रममा संसारका जस्तोसुकै ठाउँहरूमा पनि पुग्न सकिन्छ । तिनलाई नढाँटी लेख्ने, फरक शैलीमा लेख्ने र ज्ञानबर्धक ढंगले लेखियो भने निश्चय नै त्यसले पाठकको समय र लगानी खेर जाँदैन र पाठकका लागि प्रियकर हुन्छ भन्ने मेरो बुझाइ छ ।

नेपाली साहित्य विश्व साहित्यको दाँजोमा कहाँनेर पाउन सकिन्छ ?

विश्व साहित्यको दाँजोमा नेपाली साहित्यको स्तर पनि कमजोर छैन । लेखकको प्रतिभा, अध्ययनको स्तर, मान्छे, समाज र संसारलाई नियाल्ने र त्यसलाई सम्प्रेषण गर्ने लेखकको स्तरका कारणले साहित्य राम्रो वा नराम्रो जन्मने हो । जसरी संसारभरि फरक–फरक परिस्थितिको जीवन र जगत् छ, स्रष्टाले जन्माउने साहित्य पनि फरक हुन्छ र हुनुपर्छ पनि । त्यस हिसाबले नेपाली स्रष्टाहरूका सिर्जनाहरूले पनि विशेष महत्व राख्दछन् । हाम्रो हिमालदेखि तराईसम्मको भौगोलिक विविधतामा फरक ढंगले अघि बढिरहेको जीवनभोगाइ, नदीहरूले जन्माएका मानव सभ्यता, उचाइका कारण मानव जीवनमा देखिएका मर्मस्पर्शी भोगाइहरूमा आधारित भएर सिर्जना भएका सांस्कृतिक, भौगोलिक, सामाजिक र मानवीय मूल्यहरू समेटेर लेखिएका हाम्रा सिर्जनाहरूले विश्व साहित्यको छनोटमा अग्रस्थान कायम गर्ने पक्षमा दुईमत छैन । यसका लागि नेपाली भाषामा मात्र लेखेर विश्वभर फिँजारिन सक्तैन । संसारका बहुसंख्यक जनसमुदायले बुझ्ने भाषामा हाम्रा सिर्जनाहरू प्रकाशनमा आउन जरुरी छ ।

जीवनबाट सन्तुष्ट हुनुहुन्छ ? जीवन कसरी बिताउन चाहनुहुन्छ ?

मैले माथि नै भनें, यो जीवन मैले मेरो इच्छाले पाएको होइन । प्राकृतिक निरन्तरताको एउटा घटनाले म जन्मिएँ र जन्मेको केही वर्षपछि जीवन पाउनुको रहस्य बुझें । जीवनबारेमा बुझेपछि थाहा पाएँ, जीवन पाउनुजत्तिको खुसी मान्छेलाई अरू केही छैन । रहृयो सन्तुष्टिको कुरा, म जीवन पाएर खुसी छु तर सन्तुष्ट छैन । जीवनमा सन्तुष्ट बनेपछि नयाँ काम, नयाँ संघर्ष र नयाँ गन्तव्य छनोटमा पर्न छोड्छ । त्यसै भएर पनि जीवनमा सन्तुष्ट होइन, जीवनप्रति उत्सुक बनेर नयाँ-नयाँ काममा अघि बढ्नुपर्छ भन्ने पक्षमा छु म ।

क्षण-क्षणमा प्रशस्त काम । क्षण-क्षणमा मिहिनेतसाथ कमाइ र क्षण-क्षणमा विशेष उत्सवपूर्वक जीवन अघि बढाउनुपर्छ भन्ने पक्षमा छु म । तन र मन थाक्ने गरी उपलब्धिमूलक काम गर्नु र तन र मनमा उमंग छाउने गरी मनोरञ्जन, खुसी र विन्दासपूर्वक जीवन अघि बढाउने पक्षमा अघि बढिरहेको छु म । यो जीवनपछि अर्को जीवनको मलाई विश्वास छैन । त्यसै भएर पनि यो जीवनका कामले नै संसारका अरू मान्छेको हितमा केही फरक काम गर्ने र यही जीवन नै उत्साह, उमंग र ओजनदार बनाउने पक्षमा छु म ।

स्वमूल्यांकनका आधारमा तपाईं सफल कि असफल मानिस ?

जीवनमा कयौं असफलताहरू हात पर्छन् । कयौं प्रयासहरू खेर जान्छन् । कहिलेकाहीं अनायासै वेगमा अवरोध आइपर्छ । ती सबै असफलता होइनन् सिकाइ हुन् । लड्नेहरू नै चढ्ने दह्रिलो आँट बोकेर चुचुरोमा पुग्न सक्छन् । मलाई लाग्छ, जीवनमा सफलताको सिँढीमा चढिरहेको मान्छे हुँ म । लक्ष्यहरू तोक्ने र दिलदेखि नै लागिपर्ने गरेमा सफलता त्यति टाढा हुँदैन । मैले हात हालेका कामहरूबाट मैले निराशा बोक्नुपरेको छैन । जीवनलाई खुसीपूर्वक यहाँसम्म ल्याइपु¥याएको छु । बाँचुञ्जेल अरूको अहित हुने काम गर्नुनपरोस् भन्ने चाहना छ । कसैलाई पीडा नदिई आपूm खुसी, सुखी र समृद्धिको बाटो हिँड्न सक्नु सफलता नै हो नि होइन र ?

तपाईंले देशको प्रशासनिक क्षेत्रको उच्च तहमा रहेर लामो समय काम गर्नुभयो । प्रशासनिक विकृति र विसंगतिविरुद्ध तपाईंको कलमले तीखो व्यंग्यवाण हानेको देखिन्छ । भ्रष्टाचार, नातावाद, कृपावाद र गुटबन्दी मौलाइरहेको हाम्रोजस्तो प्रशासनतन्त्रमा टिक्न तपाईंलाई कठिन भयो भन्ने छ । तपाईंका लेख, रचना र सिर्जनालाई लिएर कारबाही गर्न खोजेको भन्ने चर्चा पनि छ । यस विषयमा के भन्नुहुन्छ ?

मेरो अनुभवमा पनि तपाईंले भन्नुभएझैं नेपालको प्रशासनयन्त्र राणाकालीन जी, हजुरी, चाकडी, चाप्लुसी र धमिलोमा माछा मार्ने प्रवृत्तिभन्दा माथि उठ्न सकेको छैन । प्रशासनिक सिद्धान्त र प्रणालीका आधारमा काम गर्ने कर्मचारीलाई टिक्न अझै कठिन छ । काम गर्ने कर्मचारीले भन्दा हाकिमको वरिपरि धाउने कर्मचारीले पदक, पुरस्कार र प्रमोसन पाउने वातावरण छ । सिर्जनशील र संस्थाको हित चिताएर काम गर्ने कर्मचारीलाई टेढो आँखाले हेर्ने प्रवृत्ति चर्को छ । मेरो जागिरे जीवनमा मैले यो निकै महसुस गरेको छु । केही भ्रष्ट व्यक्तिहरूको गुटबन्दीले मैले कमाइसकेको कार्यसम्पादनको नम्बरसमेत कटाइदिएर प्रमोसन नै रोक्का गरेको तथ्य जगजाहेर नै छ । प्रशासनिक क्षेत्रमा प्रणालीगत ढंगमा कार्य हुनुपर्ने विषयमा मैले लेखेका लेखरचनालाई लिएर कारबाही गर्ने अघोषित कमिटी नै बन्यो पनि । पछि मैले गलत लेखेको भए कारबाही होस् नत्र खराब काम गर्नेहरूमाथि कारबाही होस् भनेपछि उनीहरूको मुख टालियो । केही वर्षयता पनि प्रशासनिक विकृतिका विरुद्ध मैले लेखेका रचनाहरूलाई लिएर व्याक वाइटिङ गर्ने एउटा जमात नै छ । तर, तिनै व्यक्तिहरू मेरो अघिल्तिर धनुषटंकार बन्न थाल्छन् र मेरो स्तुति गाउन थाल्छन् । यस्तो प्रवृत्ति निर्मूल नभएसम्म नेपालको प्रशासन उँभो लाग्न सक्तैन । प्रणालीगतरूपमा अघि बढ्न हाम्रोजस्तो मुलुकमा धेरै गाह्रो छ । तर, निराश हुनुपर्ने अवस्था छैन । कुप्रणाली, कुप्रथा र अँध्यारोमा तर मार्नेहरू उज्यालो देखेपछि भागाभाग गर्दछन् ।

तपाईंलाई कस्ता मान्छे मन पर्छन् ?

मलाई मेरोजस्तै मन भएको मान्छे मन पर्छ । निश्छल, सहयोगी, मिलनसार, नम्र, भद्र, उज्यालोको हिमायती र चम्किलो उचाइको खोजीमा अघि बढिरहने मान्छे मन पर्छ ।


Top