‘म एक्लै बनेर हुँदैन, मजस्तै धेरै मानिस बन्नुपर्छ सफल हुनुपर्छ’ : ताराबहादुर कुँवर, व्यवसायी

कृष्ण भुसाल   POSTED ON : आश्विन ५, २०७८ (५:४३ AM)

‘म एक्लै बनेर हुँदैन, मजस्तै धेरै मानिस बन्नुपर्छ सफल हुनुपर्छ’ : ताराबहादुर कुँवर, व्यवसायी

एउटा सामान्य मान्छे जो भारी बोकेर, ठेला चलाएर आफ्नो जीवन गुजारा गर्नुहुन्थ्यो, उही व्यक्ति आज एक सफल व्यवसायीमा पर्नुहुन्छ । उहाँ हुनुहुन्छ ताराबहादुर कुँवर । कुँवर यतिबेला धेरैका लागि प्रेरणको स्रोत हुनुभएको छ । मिहिनेत, लगनशील र समयको पदचाप सँगसँगै आफूलाई पनि ढाल्दै लाने हो भने सफलता चुम्न सकिन्छ भन्ने उहाँ राम्रो उदाहरणा बन्न सक्नु भएको छ । यतिबेला ‘हजुरलाई नमस्ते ट्रेड लिंक’मार्फत उहाँले आफ्ना व्यवसायलाई अगाडि बढाइरहनुभएको छ ।

राजधानीसँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकबाट ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौं आउनुभएको उहाँ अरूको घरमा काम गर्दै स्कुल जानुहुन्थ्यो । तर, स्कुल र काम गर्ने ठाउँको तालमेल नमिल्दा उहाँ घरको काम छाडेर ठेलागाडा धकेल्न थाल्नुभयो । ठेलागाडादेखि व्यवसाय काम सुरु गर्नुभएका उहाँ रिक्सा, टेम्पो, ट्रिपर, डोजर हुँदै ‘हजुरलाई नमस्ते ट्रेड लिंक’ व्यवसायसम्म स्थापित हुनुहुन्छ । समाजसेवामा आफूलाई सधैं अग्रणी राख्दै, कार्य गर्दै आउनुभएको उहाँ पछिल्लो समय चक्रपथ सरसफाइका अभियन्ताका रूपमा हुनुहुन्छ भने विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि काम गर्दै आउनुभएको छ । हेभी इक्युपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँ ‘म एक्लै बनेर हुँदैन । मजस्तै धेरै मानिस बन्नुपर्छ सफल हुनुपर्छ’ भन्ने मान्यता राख्नुहुन्छ । सामान्य मानिसदेखि सफल व्यवसायीका रूपमा स्थापित हुनुभएका ताराबहादुर कुँवरसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-

यतिबेला के गर्दै हुनुहुन्छ ?

तपाईंलाई थाहै छ विगत डेढ वर्षभन्दा बढी समयदेखि हामी कोरोना संक्रमणमा छौं । कोरोना संक्रमणको नियन्त्रण र रोकथामका लागि सरकारले गरेको निषेधाज्ञा र लकडाउनको असर सबै क्षेत्रमा पर्न गयो । हामी कहाँ पनि यसको असर परेको छ । पछिल्लो समय केही सहज भएसँगै फेरि तंग्रिनेतर्फ अगाडि बढ्दै छौं । यो बीचमा ठप्प भएका कामहरू अगाडि बढाउँदै छौं । 


यहाँको व्यापार व्यवसायमा कोरोनाको प्रभाव कतिको पर्‍यो ?

पर्‍यो नि । सबैतिर ठप्प हुँदा हामी पनि नराम्ररी प्रभावित भयौ । हामीले श्रीलंकाको एउटा सौन्दर्य प्रशोधन सामग्री नेपाली बजारमा ल्याएका थियौं । यो निक्कै राम्रो थियो । तर, दुई वर्षदेखि ठप्पजस्तै हुँदा त्यो सामग्री उपभोक्तासम्म पुग्न सकेन । यसले हामीलाई निक्कै नोक्सान पु¥यायो । यो सामग्री यतिकै खेर फाल्नुभन्दा मैले सबैमा उपहारस्वरूप दिने निर्णय गरे । हामीले यो बीचमा लगभग एक करोडभन्दा बढीको सामग्री उपहारस्वरूप बाडे होला । 

‘हजुरलाई नमस्ते’ यहाँको ‘ब्राण्ड’ जस्तै छ यसको पछाडि केही रहस्य छ ?

मैले त्यतिबेला ट्याम्पो चलाउथे । यो २०४६ सालतिरको कुरा हो । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले संयुक्त आन्दोलन गरेका थिए । आन्दोलनमा सावरीसाधन चलेका थिएनन् । चैत २४ गते एकजना सादा पोशाकका प्रहरीलाई राखेर ट्याम्पो चलाइयो । मेरो ट्याम्पोलाई चालकले भोटेबहाल पुर्‍याएका मात्र थिए आन्दोलनकारीले देखि हालेछन् । उनीहरूले ‘बन्दका दिन ट्याम्पो चलाउने ?’ भन्दै मेरो ट्याम्पो पल्टाइदिए । उनीहरूले ट्याम्पोलाई जलाउने तयारी गरे । त्यहीबेला आन्दोलनमा रहेकामध्ये कसैको ध्यान ट्याम्पोको पछाडिको भागमा कलश चिहृनसहित लेखिएको ‘हजुरलाई नमस्ते’ मा पर्‍यो । यो देखेपछि ट्याम्पो जलाउन तमसेका उनीहरूमध्ये एकजना मेरा मित्र रहेछन् । उनले त्यो ट्याम्पो जलाउनबाट बचाए । त्यसपछि कलश चिहृनसहित लेखिएको ‘हजुरलाई नमस्ते’ सधैंभरी मेरो मूल मन्त्र भइरहृयो । ट्याम्पोदेखि डोजरसम्म आइपुग्दा ‘हजुरलाई नमस्ते’ मेरो जीवनको अभिन्न अंग बन्न पुग्यो । यो नै मेरो ‘ब्राण्ड’ भयो । यो मेरो कर्म-यात्रामा चलिरहेको छ । 

यहाँ सामाजिक सेवामा सक्रिय रूपमा लागेको देखिन्छ नि ?

म एक सामान्य मानिसले आजको सफलता चुम्न सकेको हुँ । दुःख के हो, अभाव के हो मैले नजिकबाट बुझेको छु । नजिकबाट भोगेको छु । यसैले मेरो समाजसेवा प्रतिअलिक बढी लगाव छ र । समाजका निम्न वर्गका दुःख, कष्ट र पीडाप्रति सरोकार राख्दै केही केही सहयोगी हात बढाउने गर्दछु । सकेको सक्दो सहयोग गर्ने कोशिसमा हुन्छु । म संघर्ष गरेर हुर्किएको मानिस हुँ । जीवनको आधा शताब्दीभन्दा बढी उमेर बिताइसकेको छु । पछि फर्केर हेर्दा मैले कुन चाहिँ काम गरिन, अत्यन्तै तल्लो तहको मजदुरीदेखि एउटा सफल व्यवसायीको लामो यात्रामा हरेक पल मैले संघर्ष गरे । यसैले समाजसेवाप्रति लाग्न प्रेरित गर्छ मलाई मभित्रको ताराबहादुरले । मैले आफूले टेकेको धरातल बिर्सिएको छैन । आफ्नो माटो भुलेको छैन । 

२०७२ सालको विनाशकारी भूकम्पमा पनि यहाँ निक्कै खटिनुभयो, आफैँ पनि घाइते हुनुभयो होइन ?

हो, २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको हामी सबैले सामना ग¥यौ । यसले ठूलो जनधनको क्षति हुन गयो । भूकम्प आउँदा म बाफलस्थित आफ्नै कार्यालयमा थिए । त्यो दिन एकजना चिनियाँ व्यवसायी मलाई भेटन आउनुभएको थियो । म उहाँसँग कुरा गर्दै थिए । हामी पनि अत्यालियौ । भूकम्प आएको केही समयमै मानिसहरू मकहाँ हेभी उपकरण (स्काभेटर) माग्न आए । मेरो कार्यालय नजिकैको लुम्बिनी गेष्ट हाउस ढलेको थियो । गेष्टहाउसमा रहेकालाई उद्धार गर्न खटियौ हामीहरू । त्यो गेष्ट हाउस सफा गर्न दुई दिनसम्म व्याकहोलोडर प्रयोग गरियो र १३ जना मानिसहरूको जीवितै उद्धार गर्न सफल भयौ । ठाउँठाउँमा घरहरू भत्किएका थिए । मानिस पुरिएका थिए । त्यो बेला मानिसको उद्धार पहिलो प्राथमिकता नै थियो । त्यससमय मसँग सातवटा मेसिन खाली थिए । मैले ती सबै उद्धार कार्यमा लगाए । त्यो पर्याप्त थिएन । मेरा केही मेसिन विभिन्न इँटा भट्टा र रोडा उद्योगमा थिए । ती मेसिन पनि त्यहाँबाट बोलाएर उद्धार कार्यमा लगायांै । यस्तै माछापोखरी एरियमा मेसिन पठाउनुपर्ने भयो मैले माछापोखरीमा पठाएको मेसिन माछापोखरी नपुग्दै स्वयम्भूका मानिसहरूले उद्धारका लागि बीचबाटै लगेछन् । अर्को मेसिन लिएर म आफैं गए । त्यो बेला माछापोखरी एरिया संवेदनशील थियो । भूकम्पका पराकम्पनहरू आइरहेका थिए । त्यहीबेला मेरो खुट्टा भाँच्चियो । तर पनि म भाँच्चिएको खुट्टा कपडाले बाँधेर माछापोखरीमा आफैंले मेसिन चलाएर उद्धारमा खटिए । 

त्यो समयमा यहाँ हेभी इक्वियुमेन्ट व्यवसायी महासंघको अध्यक्ष हुनुहुन्थ्यो होइन ?

हो, म हेभी इक्वियुमेन्ट व्यवसायीको संस्थापक अध्यक्ष हो । त्यो बेला पनि म महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिएँ । मैले त्यस समय महासंघमा आबद्ध सबै साथीहरूलाई भूकम्पमा आफ्ना मेसिनहरू परिचालित गर्न निर्देशन गरेँ । त्यस समयमा हामीले उपत्यकामा मात्र ९३ बटा मेसिन परिचालित गरेका थियौ । त्यस समय हामीले व्यावसायिक दायराबाट आफूलाई बाहिर निकालेर मानवीय भावनाले सहयोगमा जुट्यौ । 


तपाईंलाई केले प्रेरित गर्छ सामाजिक कार्यका लागि ?

मभित्र रहेको मानविय संवेदना नै हो भन्ने लाग्छ । मेरो इच्छाशक्तिकै कारण मैले सामाजिक क्षेत्रमा आफूलाई अग्रसर तुल्याउँदै आएको छु । यसो गर्दा सुखानुभति अनुभव हुन्छ मलाई । पछिल्लो समय कोरोना संक्रमण (कोभिड-१९को माहामारीका बेला पनि सर्व साधारणले विपतको सामना गर्नुपर्‍यो । दैनिक छाक टार्न मुस्किल भयो । यो विपद्तमा पनि केही सहयोग हुन्छ भनेर जुटिरहे म पनि । मैले पनि उनीहरूलाई यथासम्भ सक्दो सहयोग गरे । यस्तै रगतको अभाव हुन नदिन र क्तदान अभियान चलाए । हुन त समाजसेवा भनेको हल्ला गरेर गरिने कुरा होइन । तर पनि तपाईंले सोधेका कुरारूको उत्तर दिनेक्रममा यी सबै आएका हुन् । यसको शृखंला चलिनै रहेको छ । 

यो सबै कसरी सम्भव भइरहेको छ ?

सामाजिक कार्य र अरूका दुःख भनेपछि आफू नखाएर भए पनि दुःख, पीडामा साथ दिने बानी ममा सानैदेखि थियो । चाहे त्यो म गरिब हुँदा होस् वा खान पुग्ने हुँदा नै किन नहोस् । तडकभडक र उत्तउलो फेसन, विलासिता साधन, महँगा अल्कोहलमा पैसा फाल्ने बानी छैन मेरो । त्यसैले विभिन्न सामाजिक कार्यहरूमा मन, वचन र कर्मले सकेको सहयोग गर्दै आएको छु । मलाई भगवानले पुर्‍याइ रहुनभएको छ । भन्ने गरिन्छ नि ‘त आट म पुर्‍याउँछु’ त्यस्तै भएको छ । 

अब तपाईंका विगत तिर जाउ अलिकति, काठमाडौं कसरी र केका लागि आउनुभएको थियो सुरुमा ?

म २०३३ सालमा दाइसँग अध्ययनका लागि काठमाडौं आएको हुँ । मैले काम गर्दै पढने सोचअनुरूप सुरुमा एक इन्जिनियरको घरमा काम गर्न थालेँ । पछि अर्को अर्को घरमा काम गर्दै पढन थाले । तर काम गर्ने ठाउँ र पढ्ने स्कुलको तारतम्य नमिल्दा मेरो पढ्ने रहर भने अधुरै रहृयो । मैले आफ्नो पढाइ सात कक्षाभन्दा माथि लान सकिन ।

पढाइ बीचमा नै छाडेर के गर्न थाल्नुभयो ?

म काम नै गरिरहे । टेकू भन्सारमा भारी बोके । त्यहीँ लोड-अनलोड, ज्यामी, ठेलागाढा, रिक्सा, सेक्युरटी गाडदेखि लुगा सिलाउने कामसम्म गरियो । ठेलागाडा चलाउने, समानहरू लोड-अनलोड गर्ने र भारी बोक्नेजस्ता ज्यामी काम गर्नुभन्दा रिक्सा चलाउन सिके । 

लेबर काम गर्दै गर्दा रिक्सा चलाउन थाल्नुभयो पछि मालिक पनि ?

हो, रिक्सा चलाउँदै गर्दा केही रकम जम्मा गरेर सुरुमा एउटा रिक्सा किने । त्यसपछि केही रिक्सा किने, रिक्सा बेचर ट्याम्पु ड्राइभर भए । ट्याम्पु किने, दिनभर अरूलाई दिएर रातभर आफैले ट्याम्पु चलाएँ । त्यो समय काठमाडौंमा एउटा घर बनाउन सफल भएँ ।

फेरि त्यही घर फाइनान्समा राखेर एक मिनीट्रक किनेपछि सातवटा बनाएँ । मिनीट्रक बेचेर ठूलो ट्रक किने । यो बेचेर केही टिपर किनियो । टिपरका लागि लोड गर्न हेभी इक्वेमेन्ट किनियो ।

पछि त यहाँका थुप्रै डोजरहरू भए । हेभी इक्वेमेन्टको मालिक हुनुभयो । यसको संघ खोलेर संस्थापक अध्यक्ष समेत हुनुभयो ? 

अहिले म आफैंले सम्झिँदा कथा जस्तो लाग्छ । मैले भनिरहँदा तपाईंलाई कथाजस्तो लागि रहेको होला । हो, म सामान्य लेवर काम गर्ने मान्छे । थुप्रै डोजरहरूको मालिक भए । यसको संघ र पछि महासंघ बनाएर त्यसको संस्थापक अध्यक्ष पनि भए । 

पछिल्लो समय फेरि किन व्यवसाय परिवर्तन गर्नुभयो ?

म डोजरहरू थप्दै गए । व्यवसाय बढ्दै थियो । आफैँले गर्नुभन्दा त्यो भाडामा पठाउन फाइदा देखेर त्यसै गरेँ । काम गर्दै जाँदा एक दर्जनभन्दा बढी डोजर भए । पछिल्लो समय त्यो पनि चुल्ठे, मुन्द्रे सबैले किन्ने भएकाले यो कामबाट अब हुँदैन भनेर ट्रेडिङको बिजनेस सुरु गरेको छु । अहिले पनि डोजरहरू छन् । तर बढी फोकस ट्रेडिङ बिजिनेसमा छु । ट्रेडिङको बिजिनेसका लागि पहिले नेपालबाटै सामान उठाएर बेचेँ । यो क्रममा धेरैले ठगेछन् । ठगिएको थाहा पाएपछि विदेशबाट सामान ल्याएर बेच्दै आएको छु ।

कस्मेटिक सामानको व्यवसायमा पनि हात हाल्नुभयो ?

म कुनै एक क्षेत्रमा अब सधैं यही गर्छु भन्ने सोंच कहिल्यै आएन । मैले आफ्नो व्यवसायको क्षेत्र परिवर्तन गर्दै आए । मैले परिवर्तन नगरेको भए सायद अहिले पनि त्यहीँ लेबरको काम गरिरहेको हुन्थे होला, या रिक्सा चलाइ रहेको हुन्थे होला, या ट्याक्सी चलाइरहेको हुन्थे होला । तर म आफ्नो व्यवसायलाई सधैं अपग्रेट गर्दै गए र अहिलेको अवस्थामा आएको छु । यसैक्रममा विदेशबाट सामान झिकाएर बेच्ने क्रममा श्रीलंकाबाट ‘हेमाज ब्राण्ड’को कस्मेटिक सामानको व्यवसाय गर्छु । यो प्रतिष्ठित ब्राण्ड हो । तर हामीले समान ल्याएपछि कोरोना संक्रमणका कारण बजार बन्द हुन पुग्दा हामीले नराम्ररी यसमा घाटा व्योहोर्न पुग्यौ । कोरोनाले बिजनेस धराप बनायो ।

आफूले गरेका पेशा व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?

मैले जेजति पेशा गरेँ । सबैबाट अहिलेसम्म सन्तुष्टि मिलेको छ । व्यवसायको विभिन्न संघसंस्थामा रहेर काम गरेको छु । नेपालमा हेबी इक्वेटमेन्ट संघ स्थापना गरेर महासंघसमेत बनाएँ । अहिले संस्थापक अध्यक्षका रूपमा रहेको छु । निर्माण व्यवसायमा पनि आबद्ध भए । म आफूले गरेका काममा लगनका साथ गर्छु । त्यसले सन्तुष्टि प्रदान गर्छ । म त आफ्नो क्षेत्रमा सफल व्यक्ति हुँ भन्छु आफूलाई । एउटा सामान्य गाउँको केटो, अरूको घरमा काम गर्ने केटो, लेवर काम गर्दै हिँडेको मानिस मैले समयलाई चिने र आफूलाई फड्को मार्दै गए । म जहाँ-जहाँ जतिबेला जे जे काम गरे ती सबै काम मिहिनेत र लगनका साथ गरे । खुशी खुशी गरे । काममा आनन्द लिँदै गरे । म अहिले आफू त सफल छु । तर म अहिले खुशी छैन । किनभने यो देशमा म एक्लै बनेर हुँदैन । मजस्तै धेरै मानिस बन्नुपर्छ सफल हुनुपर्छ भन्ने मेरो धारणा छ । सबैले दुःख गरेर सफलताको बाटो रोजे हुन्थ्यो भन्ने लाग्छ मलाई । मानिस आजको भोलि नै सफलताको सगरमाथा चढ्न चाहन्छन् । तर, सगरमाथाको बेस क्यापको अध्ययन गर्न चाहँदैनन् । यसरी सम्भव हुँदैन । सबै बुझेर, समयलाई चिनेर सही समयमा सही निर्णय गर्न सकेमा सफलता हात लाग्छ भन्ने मेरो अनुभव छ । तर कहिले काही असफलता पनि हात लाग्छ । त्यसमा निराश भएर बस्नुभन्दा त्यसबाट पाठ सिक्दै अघि बढनुपर्छ । 

भावी योजना ?

मेरो व्यवसायमा काँध थाप्न मेरा दुई छोरा सक्षम भएका छन् । उनीहरूलाई जिम्मेवारी सुम्पेको छु । तीन छोरी पनि आ-आफ्नो स्थानमा मुख्य जिम्मेवारी सम्हाँल्दै अघि बढिरहेका छन् । उनीहरूका कामले मलाई गर्व महसुस गराउँछ । कोही डाक्टरका रूपमा बिरामीको सेवा गरिहेका छन् त कोही अन्य फिल्डमा आफ्नो नाम सँगसँगै तारालाई पनि चम्काइरहेका छन् । एउटा बाबुलाई यो भन्दा खुशीको कुरा अर्को के हुनसक्छ र ? फेरि उनीहरूले संघर्ष र सफलतालाई बुझेका छन् । मैले आफूले जे जति गर्न सके उनीहरूका लागि गरे अब उनीहरूनै सक्षम छन् । अग्रपंक्तिमा डटेका छन् । 

तपाईंले भावी योजना सोध्दै हुनुहुन्थ्यो म पारिवारिक कुरातिर बहकिए छु । अ मेरा अब दुईवटा सपना छन् । तत्कालका लागि । जो मैले पूरा गर्नुपर्छ भनेर लागेको छु । समयक्रममा अन्य सापना पनि जोडिन सक्छन् । तत्कालका लागि दुई योजना भनेको एकमा सधैं अर्को देशका सामान आयात गरेर बेचबिखनमात्र किन गर्ने भनेर देशमै केही उद्योग, कलकारखाना खोलेर केही गर्ने सोच छ । यस्तै अर्काे वृद्धवृद्धाका लागि र अभिभावकविहीन बालबालिकाका लागि मनोरञ्जनमूलक वातावरणसहितको बस्ने, खाने र जीवन बिताउने ठाउँ बनाउने रहेको छ । त्यो ठाउँमा सबै सुविधा दिने सोच छ । महिनाको तीन रुपैयाँ भाडा तिरेर बस्ने मानिस म । अहिले मेरो घरको चार लाख भाडा आउँछ । त्योमध्ये डेढ लाख समाज सेवामा लगाउँछु । यस्तै हामीले मिलेर तत्कालै अर्को एउटा काम गर्दै छौं त्यो हो ‘सती सराप मुक्त महायज्ञ’ यसमा लगातार १८ महिना २१ जना ब्राहृमणले विधिविधानअनुसार पूजा गर्नुहुन्छ । देशमा राम्रो हुन नसक्नुमा सतिले सरापेको भन्ने जुन भनाइ छ त्यसबाट छुटकाराका लागि यो अभियानको सुरुवात गर्न लागेका छौं । 

तपाईं सामान्य अध्ययन गर्नुभएको मान्छे, यतिबेला विभिन्न कलेजले तपाईंलाई बोलाएर कक्षा लिन लगाउँछन्, पुल्चोक इन्जिनियरिङ क्याम्पसको एमएससी परीक्षामा तपाईंको जीवनको बारेमा १५ मार्क प्रश्नपत्र आयो ? फर्केर हेर्दा आफूलाई कहाँनेर पाउनुहुन्छ ?

हो तपाईंले भने जस्तै उहाँहरू बोलाउनुहुन्छ म जान्छु । आफ्ना जीवनका कुराहरू बताउँछु । यसले उहाँहरूलाई प्रेरणा मिल्दो रहेछ । मेरो बारेमा प्रश्नपत्र नै आउँदा त म आफूलाई के भनु । मेरो कल्पनाभन्दा बाहिरको कुरा हो । भारतमा पनि जर्नलहरूमा मेरा बारेमा प्रकाशित भएका छन् । म सधैं आफूले काम गर्दै गए । इमानदारी, लगनशीलताका साथ काम गरे । लाग्छ मैले समयलाई चिन्दै गए र आफूमा परिवर्तन गर्दै गए । आफ्नो अध्ययन पुरा गर्न नसकेकोमा केही पछुतो त छ तर मेरा कार्यले मलाई सन्तुष्टि दिलाएको छ । अब तपाईंले भनेजस्तै आफूलाई कहाँनेर पाउनुहुन्छभन्दा म व्यवहारमा त्यहीँ ताराबहादुर हुँ जो सधैँ एउटा तारा रहिरहन्छ । धिपधिप बलिरहन्छ । उज्यालो दिने प्रयत्न गरिरहन्छ । 

अन्त्यमा, ?

मैले आफूले गरेका कार्यहरूलाई ममा मात्र सीमित नराखेर सबैमा बाड्नुपर्छ भन्ने हेतुले, अरूलाई प्रेरणा मिल्छ भन्ने हेतुले तपाईं जस्तै विभिन्न सञ्चारमाध्यमले मेरा केही कुरा बाहिर ल्याउने कोशिस गर्नु भएको छ । यसका लागि यहाँहरूमा आभार व्यक्त गर्दछु । तपाईंका कुराले धेरैलाई प्रेरणा मिल्छ यसलाई लिपिबद्ध गर्नुहोस् न भन्ने केही साथीहरूको आग्रहमा मैले दुई पुस्तक ‘हजुरलाई नमस्ते’ र ‘निरन्तर समाजसेवा’ पनि पाठकमाझ ल्याएको छु । यस्तै ‘हजुरलाई नमस्ते’को अडियो ताराबहादुर युट्युबमार्फत सुन्न सक्नुहुनेछ । यहाँहरूको साथ सहयोगले मेरा कार्यमा अझ ऊर्जा प्रदान गरेको महसुस गरेको छु । धन्यवाद । 

तस्बिर : सुरेन्द्र थापा


Top