साहित्यमा यौन वर्जितको कुरा नै खल्लो कुरा हो : बुलु मुकारुङ

कृष्ण भुसाल   POSTED ON : आश्विन ९, २०७८ (६:४९ AM)

साहित्यमा यौन वर्जितको कुरा नै खल्लो कुरा हो : बुलु मुकारुङ

बुलुहाङ राई नेपाली साहित्य-संगीत क्षेत्रमा बुलु मुकारुङ नामले प्रसिद्ध हुनुहुन्छ । संगीत, साहित्य र संस्कृतिका क्षेत्रमा उहाँको यात्रा अनवरतरूपमा रहिआएको छ । नियात्रा लेख्न अलिक बढी मन पराउने बताउनुहुने उहाँका पाँच सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँ गीतसंगीत र संस्कृतिको खोज अनुसन्धानमा पनि लागिरहनुभएको छ । यतिबेला संस्कृति र यात्रासम्बन्धी कृति ‘संगीत अनुशीलन’ पाठकमाझ ल्याउने तयारीमा लाग्नुभएका बुलु मुकारुङसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

अहिले के लेख्दै हुनुहुन्छ ?

अहिले म संस्कृति र यात्रासम्बन्धी कृतिलाई पूर्णता दिने कार्यमा व्यस्त छु । जो तीन वर्षअघिदेखि रोकिएर थाती रहेको हो । प्रकाशित हुन लागेको संगीतसम्बन्धी एउटा पुस्तक छ । हिज्जे हेर्ने कार्य भइरहेको छ । जुन कृतिको नाम ‘संगीत अनुशीलन’ हो । जुन मेरो पचास सालपछिका लेखहरूको संग्रह कृति हो । 

बुलु मुकारुङ को हो  ?

संगीत, साहित्य र संस्कृतिको एक भरिया हो । जुन भरियालाई कसैले गायक, कसैले संगीतकार र कसैले संस्कृतिकर्मी पनि भन्छन् । कसैले नियात्राकार त कसैले संस्कृतिको गोताखोर । विद्वान् भन्दैनन् किनकि भुइँफुट्टा भएर होला । भुइँफुट्टा धामी–झाँक्रीको पनि त गुरु हुँदैन । देखासिखीले अगाडि बढ्छ नि ।

साहित्यका विविध क्षेत्रमा यहाँले कलम चलाउनुभएको छ, तपाईंको बढी रुचिको विषय कुन हो  ?

संगीत त पेसा नै भयो तर म नियात्रा लेख्न बढी नै मन पराउँछु । कहिले–कहिले व्यंग्य कविता पनि लेखिन्छ । पोहोर लकडाउनका बेला ‘म चेपाङ हुँ’ भन्ने कविता लेखेको थिएँ । निकै चर्चित पनि भयो । हिजोआज इलेक्ट्रिक मिडिया छ । फेसबुकमै प्रकाशित गर्दा पनि चर्चा भइहाल्छ ।

जीवन के हो  ?

प्रतीकात्मकरूपमा भन्ने हो भने जीवन एक सुन्दर उपवन हो । जहाँ भमरा, मौरी या पुतली उडिरहेका हुन्छन् । अर्को अर्थमा भन्ने हो भने जीवन उत्सुकता, जिज्ञासा र खोजी हो । मान्छेले कुनै कुरा उत्खनन् गरेन भने न ऊ साहित्यकार बन्छ न त कलाकार । न नेता न कार्यकर्ता । अर्को हिसाबले भन्ने हो भने सेवा, सद्भाव र अनुभूतिको संग्रह हो । जन्म र मृत्युबीचको सत्य हो जीवन । 

यहाँको संगीतमा थुप्रै कालजयी गीत श्रोता/दर्शकमाझ आएका छन्, संगीत के हो ?

संगीतबारे ठूल्ठूला विद्वान् र विचारकले आ–आफ्ना धारणा प्रक्षेपण गरेका छन् । ‘म्युजिक इज प्लिजन्ट साउन्ड’ भन्ने संगीतसाधक पनि छन् । म भन्छु संगीत ज्ञान र विज्ञानको संगम हो । जसले संसारभरिका मानिसलाई सम्मोहित तुल्याएको छ । एउटा मीठो ध्वनि जसले सानो नानीदेखि पाको बुढोसम्मलाई एउटै केन्द्रमा उपस्थित गराउने सामथ्र्य राख्दछ । संगीत त्यो गुरुत्वाकर्षण हो जसले सबै उमेर बिर्साइदिन्छ । शैलाभले जस्तै सबै विभेदका फोहोरहरू बगाइदिन्छ । सबै खालका जातीय विखण्डनादि निमिट्यान्न पारिदिन्छ । अनि सबै खाले बन्धन र सीमाहरू भत्काइदिन्छ । संगीत संसारको कुनै पनि विस्फोटभन्दा कम हुँदैन । बुझौं संगीत त्यो हो । 

तपाईं कसका लागि सिर्जना गर्नुहुन्छ संगीत ?

सर्वप्रथम म आफ्नै तुष्टिका लागि संगीत उत्कीर्ण गर्ने कोसिस गर्छु । उपयुक्त समय आइपुग्दा त्यो लोकजनका लागि सञ्चरण हुने गर्दछ । लोकले जब अपनत्व ग्रहण गर्छ र मेरो भन्ने बिर्सेर ठान्दछ, तब त्यो समाजको हुन्छ । सार्वजनिक भएर एकबाट अर्को हुँदै सीमापार हुने गर्दछ । 

तपाईंलाई सिर्जना गर्ने पे्ररणा कहाँबाट प्राप्त हुन्छ  ?

संगीत सिर्जना गर्न समाज र परिवेश मूलरूपमा अस्पृश्य प्रेरणा हुन् । जो भौतिक दृश्यजस्तो हुँदैन । लहड, रहर र आवश्यकताले संगीतको निष्पत्ति हुने गर्दछ । जस्तै, मान्छे-मान्छेबीचको बोलचाल विनिमय आवश्यकता र अनिवार्यता भयो त्यस्तै संगीत पनि हो । जन्मिँदा सानो नानीले कुनै ध्वनि सुनेन भने ऊ बोल्न सक्दैन । मान्नोस् प्रेरणा त्यहीँ कहीँ छ । जरुर छ । जसरी वनकुञ्जभित्रबाट कोइलीको मीठो स्वर आउँदा हाम्रो ध्यान त्यतै जान्छ । मानौं हामी प्रेरित भयौं ।  

साहित्यलेखन कहिलेदेखि सुरु गर्नुभएको हो  ?

साहित्य नबुझ्दा नै गीत/कविता स्कुलदेखि नै सुरु गरियो । सरल लाग्यो साहित्य । खास भन्ने हो भने जटिल रहेछ । साहित्यको मूलबाटो भने मैले पैंतीस सालमा काठमाडौं आएपछि नै टेक्न पाएँ । गीत, कविता पत्र-पत्रिकामा छापिन थाले । तर, त्यत्रो उत्पात उत्पादन गर्न वा हो-हल्ला मच्चाउन भने सकिएन । कृतिगत हिसाबले भन्ने हो भने पचास सालपछि मेरा साहित्यिक कृतिहरू संग्रहका रूपमा सार्वजनिक भएका हुन् । लेखनको आरम्भ भने गाउँघरदेखि नै भयो ।  

सिर्जनाको आत्मा केलाई मान्नुहुन्छ ?

खास सिर्जनाको आत्मा त्यसको प्रभाव, आकर्षण र सामथ्र्यलाई मान्दछु । शिल्प, कारिगरी र नयाँ निजत्वलाई मान्दछु । सहज तौरले भन्ने हो भने सिर्जनाको आत्मा भनेको ओखरभित्रको गुदी हो । कटुसभित्रको दिउल हो । खोस्टाभित्रको बदाम हो । बाहिर हेर्दा त्यति खाऊँ जस्तो देखिँदैन । तर, फोरेर खाँदा स्वादिलो हुन्छ । कुनै रचना वा लेख नपढी त्यसको चुरोमा पुग्न सकिँदैन । कथा वा उपन्यास, गीत वा कविता पढ्दा तपाईं एक-दुई हरफ पढ्दा नै त्यससँग टाँसिन सक्नुभएन भने त्यसको प्राण तपाईंले भेट्न सक्नुभएन । कुनै सिर्जनाले आममान्छेलाई आकर्षित गर्‍यो भने त्यही हो आत्मा । 

आजभोलि सिर्जना भएका गीतहरूमा कत्तिको आत्मा भेट्नुहुन्छ ?

आजसम्म मैले देखे-भोगेका सिर्जनादि सबै चर्चा परिचर्चामा छन् । हो हिजोआजका गीतमा प्राण छैन भन्ने गरिन्छ । प्राणको परिभाषा वा वर्गीकरण गरिनुपर्ने बेला आयो । आत्मा जोख्ने तराजुचाहिँ के हो त ? पहिला त्यो थाहा हुनुपर्‍यो । एउटै समय-सन्दर्भ वा एउटै डालोमा हालेर सबै सिर्जनालाई घोप्ट्याउनुहुँदैन । कसीमा घोट्न थाल्नुभयो भने पनि अन्याय नै हुन्छ । सिर्जनालाई कालजयी, सदाबहार भन्ने गरिन्छ । आत्मा खोज्ने एउटा वर्ग छ अनि मनोरञ्जन रुचाउने अर्को । यो विवाद अन्त्यहीन विवाद हो ।  

तपाईंले सिर्जना गर्ने गीतको आधारचाहिँ के हो  ?

मेरो वा कसैको पनि आधार उही हुन्छ । भोगाइ, परिवेश र प्रभाव । योभन्दा चौथो गृहमा कसैले टेक्न सक्दैन । व्याख्या, बहस र पैरवी आ-आफ्ना हुन सक्छन् । होलान् पनि । पिनोप्से टापुबाट निस्केको म्याग्मा त होइन नि सिर्जना ।  

अहिलेको नेपाली गीत-संगीतको अवस्था कस्तो पाउनुहुन्छ  ?

अत्यन्त प्रोलिफिक छ । व्यावसायिक, विकासशील र उत्पादनशील छ । पुँजीवादी र चलायमान आर्थिक अवस्थामा छ । यसो भन्दा अमूर्त भयो होला । आजीविकाको बाटो अगाडि आएको छ । प्रतिस्पर्धी र समृद्धशाली बन्दै गइरहेको देखिन्छ । गीत-संगीतबाट पनि जीवनयापन गर्न सकिन्छ भन्ने विश्वासको फूलचोकी वा मुगुको मुर्माटप उठिसकेको छ । 

तपाईंलाई साह्रै मन पर्ने गीत  ?

मेरै भन्नुभएको कि अरूको ? नेपालकै भन्नुभएको कि विश्वको ? मलाई साह्रै मन पर्ने गीत धेरै छन् । नाम उल्लेख गरेर साध्य छैन । नेपालको भन्ने हो भने हिमाल, पहाड वा तराई सबै भूगोल घुमेको मान्छे हुँ म । लोकगीतहरू प्रशस्तै मन पर्छन् मलाई मेची-महाकालीभित्रका । नदी तर्नुप¥यो भने अझै कति हो कति छन् । देशविदेशका छन् । महादेश-महादेशका पनि छन् । कुवाको पानीमा आफ्नो अनुहार हेरेर आफैं मक्ख हुनु त रतिमात्र हो । 

तपाईंलाई असाध्यै मन पर्ने गीतकार, संगीतकार र गायक  ?

फेरि उही कुरा भयो मलाई । नेपालका पनि छन् र सीमाबाहिरका पनि छन् । म कुन-कुन अनि कस-कसको नाम लिऊँ ? धेरै छन् । विश्वभरिकै संगीत सुनियो । कलाकार चिनियो । र, तिनले विशेष छाप पनि छोडेका छन् । युरोपको भनूँ कि अमेरिकाको ? एसियाको भनूँ कि अफ्रिकाको ? अप्ठ्यारो प्रश्न भयो मलाई त । नेपालकै मात्र त कसरी भन्नु ? संगीतको सीमा हुँदैन भनेर तपाईं नै भनिरहनुभएको छ ।  

तपाईंलाई वर्तमान समयमा बजारमा आएका गीतहरूमध्ये कस-कसका कुन-कुन गीतहरू कुन हदसम्म मन पर्छन् ?

यो प्रश्नले भने जमिन समात्यो अलिकति । तर, विगत दुई वर्षभित्रका गीत पाण्डामिकले निकै सप्प्रेस गरेको छ । श्रोता, भ्युवर्सको खण्डहर नै देखिन्छ । हिजो रेडियोले प्रसारण गर्ने गीत आज युट्युब र टिकटकमा पुग्यो । सुन्ने गीतबाट हेर्नेमा गयो । प्रविधिका हिसाबले त हिजोआजका गीत मम, पिजा या वर्गरजस्तै भइसक्यो । प्रसारणमा पूरा गीत सुन्न पाइन्न । एक सय अधिक रेकर्ड स्टुडियोबाट दैनिक उत्पादित गीत ९९ वटा त सहिद हुन्छन् । हो त्यही एक गीत आमसंगीत क्षेत्रको खोजी र चाहना हो । म त्यतै गाँसिएँ । 

एकथरि मानिसहरू भन्छन् साहित्यमा यौन चाहिन्छ । अनि अर्कोथरि साहित्यमा यौन वर्जित छ भन्छन् । यहाँको विचारमा के होला  ?

साहित्यमा यौन वर्जितको कुरा नै खल्लो कुरा हो । मान्छे छ, जीवन छ वा सिर्जना अनि रचना छन् भने यौन लुकाएर लुक्दैन । नदेखिएजस्तो मात्रै हुने हो । मेरा विचारमा बाँच्न चाहनु पनि एउटा यौन नै हो । रहृयो रतिरागको कुरा साहित्यमा । जीव वा चराचरले अथवा सुरमुनिदेखि भुसुनासम्मले जीवन–चक्र चलाउँछ । त्यो त्यसै हुन्छ । हाम्रा आँखाले देखेका भौतिक दृश्य नै एक किसिमको यौन हो । यसबाट साहित्य पृथक् हुनै सक्दैन । यौन चाहिन्न भन्ने मान्छेचाहिँ गर्छ के ? वा वर्जित हुनुहुँदैन भन्ने मान्छेचाहिँ ब्याङ्पाटाजस्तो फुत्रक्क–फुत्रक्क उफ्रिरहन्छ ? माया, प्रेम, स्नेह, दुःख, पीडा वा हाँसो-खुसी यी सबै शब्दावलीको सिकञ्जा यौनमा पुगेर ठोकिन्छ । साहित्य र यौन भनेको मकै र घुनजस्तै हो । पिस्नुहोस् सबै पिठो । 

बजारमा राम्रा गीतकार र गीतभन्दा ‘झुर’ ले बजार तताइरहेको देख्दा कत्तिको झोँक चल्छ  ?

खोलामा बाढी आयो भनेर पौडी खेल्नुहुँदैन । त्यहाँ पिसाबै फेर्दा पनि फरक पर्दैन । कोदोबारीमा एकै रातमा उम्रिने झरी च्याउ र शितको च्याउ फरक हुन्छ । गोबे्र च्याउ र भैंसी जिबे्र च्याउ पनि हुन्छन् । कन्ने, सल्ले, डल्ले, दुम्सी र भालु च्याउ पनि हुन्छन् । कुन खाने, कुन नखाने त च्वाइसको कुरा हो भोक्ताको । असिना पर्दा तपाईं रिसाउनुहुन्छ कि ओत लाग्नुहुन्छ ? 

हिजो र आजका गीत/संगीतमा कत्तिको फरक पाउनुहुन्छ  ?

हो, हिजोआजका गीत-संगीतमा आनका तान फरक भइसक्यो । हिजो पूर्वीय शैलीको प्रभाव-पृष्ठ देखिन्थ्यो भने आज पाश्चात्य शैली स्वाद पनि प्रविष्ट गरिसक्यो । नेपाली संगीतले स्वरूप र आकार नै परिवर्तन गरिसक्यो नि । 

यहाँका कस्ता र कति गीतहरू श्रोता-दर्शकमाझ आएका छन्  ? अझै कस्ता गीतहरू लेख्ने र प्रकाशन गर्ने कार्ययोजनामा हुनुहुन्छ  ?

लोक, भजन, आधुनिक वा देशभक्ति गीत गरेर पाँच सय उकालो लाग्यो होला । तर, मलाई संख्याले गुणको उपस्थिति दिन्छ जस्तो लाग्दैन । त्यसैले संख्यालाई सन्दुकमै राखेर मैले गाएका केही लोकभाका अहिले पनि गाउँघरमा चर्चित छन् । रहृयो गीत लेख्ने र प्रकाशनमा ल्याउने । यो त सबैले गर्ने कुरा हो । अझै लेखूँ, अझै रचूँ भन्ने त भइहाल्छ नि । 

तपाईंलाई आफ्ना गीतहरू श्रोता÷दर्शकमाझ पुर्‍याएपछि कस्तो अनुभूति हुने गर्छ  ?

यो खतरा प्रश्न हो । पोल्टाको बुट्टे-ऐना हेरेपछि नवयौवनाले के सोच्छे होला । म त्यही रागमा पुग्छु र सबै सम्मगम्म देख्छु । गौरव र दम्भ आफैं उब्जिने रोग रैछ आत्मरतिको । यति भएन भने त कुनै स्रष्टा अगाडि बढ्दैन । त्यही दम्भ र अहंकारले मान्छे पागल भएर साहित्य–संगीतको दुव्र्यसनी बन्छ नि । पत्रकारिता पनि त्यही । दुव्र्यसनजस्तो पेसा । एकोहोरो लाग्या छ, लाग्या छ । 

गीत-संगीतका क्षेत्रमा रहेका गुट–उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ  ?

यो एउटा बाइप्रडक्ट हो । पोलिटिकल बाइप्रडक्ट । उपज हो उपज । जसलाई तपाईं राजनीतिक उपज पनि भन्न सक्नुहुन्छ । चुनाव हुने बेला आयोगमा कति दल दर्ता हुन्छन् ? देख्नुहुन्छ नि । गुट–उपगुट हुनु र तिनको भेस्टेड इन्टे«स्ट सबै पद, प्रतिष्ठा र नियुक्ति नै हो । त्यसैले मैले भनेको यो बाइप्रडक्ट हो । एउटा समूहमा नलागी प्राप्ति नास्ती छ अनि । 

अवार्ड प्राप्त गरिरहेका गीत–संगीतका बारेमा तपाईंको धारणा के छ  ?

यो एउटा खेल हो खेल । तपाइँ डब्ल्यू डब्ल्यू एफ टिभीमा हेर्नुहुन्छ नि । त्यही हो । वल्ला घरको नरे पल्ला घर सरे जस्तै हो । बायाँ हातले दिनुस् दायाँ हातमा लिनुस् । हामी भ्वाइस अफ नेपाल, नेपाल आइडल, अवार्ड, ब्युटी पाजन्ट  वा कमेडी च्याम्पियन हेरिरहेका छौं त । पहिल्यै थाहा हुन्छ । भोट हालेर पनि स्वरको परीक्षण हुन्छ ? अवार्ड दिनेमा पनि भोट ? भोट दिएर त चुनाव जित्ने हो । कला–संस्कृतिमा स्पर्धा हुनै सक्दैन । विश्वभरिका भेषभूषाको प्रतियोगिता गरेर हुन्छ ? फुटबलजस्तो ड्याङ हान्यो गोल ग¥यो । अब हौसला दिनैका लागि त प्रशंसापत्र दिए भइहाल्यो नि । अवार्ड पनि व्यवसाय भयो क्या । जिन्सी र उधारो पत्र बन्द गर्नुपर्छ । 

स्वमूल्यांकनका आधारमा तपाईं सफल कि असफल मानिस ? आफ्नो प्रतिबिम्बन आफैँले गर्नुहोस् त  ?

संगीतका माध्यमले एउटा ट्रमकार्ड बन्यो । मेरै गाउँमा मसँग गोठालो गर्नेसँग तुलना गर्दा मभन्दा ऊ धेरै सफल छ । उसका दुई हलगोरु, चार माउ दुहुना भैंसी, गाई, बाख्रा धेरै छन् । आँगनमा ११ कोठे मकैको थाङ्ग्रा छ । ऊ त्यो दुःखदेखि भागेन । मात्र मैले गोठालो गर्न छोडेर भागेको एउटा चतुर भगौडा हुन पाएँ । म किञ्चित सफल व्यक्ति होइन । 

रहृयो ऊ अझै धाँजा फाटेका कुर्कुच्चा लिएरै गाउँमा व्यस्त छ । निर्धक्क बसेको छ अर्गानिक जीवन बिताएर । म हप्तैपिच्छे एउटा न एउटा पार्ट फेर्नुपर्ने सेकेन्ड हृयाण्ड स्कुटर लिएर सान दिइरहेको छु । त्यही कुदाउँदा-कुदाउँदै म आत्मनिर्भर भएको अरूलाई स्वाङ र ढोङ प्रदर्शन गरिरहेको छु । होइन परनिर्भर भनिन्छ नि ? पारासाइट । हो त्यस्तै भइसकेको छु । 

लुसुक्क गाउँ छोडेर सहर पस्नु म सफलता मान्दिनँ । इन्जिनियर हुन्छु भनेको मान्छे इन्जिनको नजिकमात्र भएँ म । के यो सफलता हो ? किमार्थ सफलता होइन । अब त शरीरका पार्टपुर्जा पनि मर्मत गर्नुपर्ने भयो । गरिँदै छ पनि । सफलताभन्दा पनि अनुभवचाहिँ हातमा छ ।  

अन्त्यमा, सिर्जना या कृति के हो  ?

संगीत, साहित्य वा कला जति छन् त्यो सिर्जना हो । त्यसबाट पाएको चर्चा-परिचर्चा यश-प्रसिद्धि कृति नै हो । सुकीर्ति पनि हो । सिधा भन्दा संगृहित कुरा पनि कृति हो । 

Top