साउदी, कतार जाने तयारीमा थिएँ : गोपीप्रसाद कँडेल, अध्यक्ष, नेपाल हस्तकला सिसा उद्योग व्यवसाय संघ

लेखनाथ पोखरेल   POSTED ON : आश्विन १७, २०७८ (५:४३ AM)

साउदी, कतार जाने तयारीमा थिएँ : गोपीप्रसाद कँडेल, अध्यक्ष, नेपाल हस्तकला सिसा उद्योग व्यवसाय संघ

नेपाली समाज जागिरे मानसिकताबाट ग्रस्त छ । अधिकांश युवा जमातमा अध्ययनपछि सकेसम्म सरकारी नोकरीका लागि पहल गर्ने, सरकारी नपाए निजीमा पहल गर्ने, त्यो पनि नभए विदेश जाने प्रवृत्ति देखिन्छ ।  अध्ययनपछि आफैं स्वरोजगार बन्न खोज्ने जमात सानो छ । स्वदेशमा कुनै अवसर नदेख्ने तर विदेशमा अवसरै अवसर देख्ने प्रवृत्तिकै कारण मुलुकमा औद्योगिकीकरण हुन नसकेको हो । हालसम्म जे-जति औद्योगिकीकरण भएको छ, त्यो पुरानो पुस्तामै सीमित छ, पुख्र्यौली उद्यमी व्यवसायीमै सीमित छ । देशले नयाँ उद्यमी जन्माउन सकेको छैन भने पुख्र्यौली उद्यमी व्यवसायीले पनि नयाँ उद्यमी जन्माउन खासै पहल गरेको देखिएको छैन । पछिल्लो समय नयाँ उद्यमी जन्माउने भन्दै निजी क्षेत्रले ‘स्टार्टअप’ अभियान सुरु गरेको भए पनि त्यसको कार्यान्वयनभन्दा प्रचारबाजी बढी देखिएको छ । बरु आफ्नै पहल र प्रयासमा उद्यमी बनेको नयाँ पुस्ता तुलनात्मकरूपमा बढी सिर्जनशील र सफल पनि देखिएको छ, जसमध्ये सिसाकला उद्यमी कँडेल पनि हुनुहुुन्छ । वैदेशिक रोजगारीमा जाने तयारीकै क्रममा उद्यमशीलताको नयाँ क्षेत्र भेटिएपछि यहीँ रोकिनुभएका कँडेल आफूमात्रै स्वरोजगार बन्नुभएको छैन, धेरैलाई रोजगार र स्वरोजगार बनाउनुभएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) बाट समेत सम्मानित कँडेल पिपुल्स क्राफ्ट एक्सपोर्टका अध्यक्ष पनि हुनुहुन्छ । पिपुल्स क्राफ्टद्वारा उत्पादित सबै सामान निर्यात हुन्छन् । यिनै विविध विषयमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले कँडेलसँग गर्नुभएको कुराकानी :-

नेपालमा सिसाकलाको अवस्थाबारेमा बताइदिनुुुुस् न ?

नेपालमा यसको सुरुवात भएको २० वर्ष भयो तर पनि यससँग सम्बन्धित कच्चा पदार्थ, जनशक्ति, पूर्वाधार अभावलगायतका कारण यसले अपेक्षाअनुसार गति लिन भने सकेको छैन । कतिपय व्यवसायी यसमा लागेर डुबेको अवस्था पनि छ । काम गर्न नजानेर, उधारो दिएर, प्रविधिको प्रयोग गर्न नजानेर, गुणस्तरीय उत्पादन गर्न नसकेर त्यस्तो भएको हो । समस्यामा पर्नुभएका व्यवसायी साथीहरूलाई हामीले संघमार्फत् सहजीकरण पनि गर्दै आएका छौं । हाल साना र ठूला गरी झण्डै सयजना व्यवसायीले यसमा काम गर्दै आउनुभएको छ ।                   

पिपुल्स क्राफ्टचाहिँ कहिलेदेखि सुरु गर्नुभयो ?

आजभन्दा २० वर्षअघि सुरु गरिएको हो, जुन नेपालकै पहिलो सिसाकला उद्योग पनि हो । यहाँ काम नपाएपछि साउदी, कतार, मलेसिया जाने तयारी गर्दै थिएँ । बुझ्दै जाँदा विदेश गएकाहरूको अवस्था पनि राम्रो नदेखिएपछि यहीँ केही गर्नुपर्छ भन्ने लाग्यो । तर के गर्ने ! सोहीक्रममा एकजना अमेरिकनले सिसाकलाको नयाँ आइडिया दिए, सहजीकरण पनि गरिदिए । त्यसपछि म यसमा लागेको हुँ । खासगरी सिसाका हस्तकला बनाउने, निर्यात गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले नै यसको जन्म भएको हो ।

सुरुवात गर्न त सीप र प्रविधि पनि चाहियो, तपाईंसँग थियो ? 

थिएन । मेरा साथी श्याम तिमल्सिना ठमेलको एक होटलमा काम गर्नुहुन्थ्यो । एकजना अमेरिकनले उहाँलाई यसबारे भनेका रहेछन् ।  श्यामजीले मलाई सुनाउनुभयो । उहाँको कुरा मलाई पनि ठीक लाग्यो । त्यसपछि श्यामजीले नै भाइ राजेश तिमल्सिनालाई भारतमा लगेर सिसाकला उद्योगमा काम सिकाउनुभयो । उहाँहरूले स्याम्पल पनि लिएर आउनुभयो । स्याम्पल एकदमै आकर्षक लागेपछि मलाई यो जसरी पनि गर्नुपर्छ भन्ने लाग्यो तर त्यतिबेला म नोकरी पनि गर्ने भएकाले व्यवसायको खासै आइडिया थिएन । तयारीमै तीन वर्ष बित्यो । एकजनाबाट काम सुरु गरिएको थियो । 

सुरुमा उत्पादित सामान कहाँ बिक्री गर्नुभयो ? 

सुरुमा ठमेलबाटै बिक्री सुरु गरेका थियौं । किनभने म ठमेलमै सेल्समेनको पनि काम गर्थें । सोहीक्रममा केही विदेशीहरूसँग सम्पर्क गरेर उनीहरूमार्फत् नै यसको बिक्री सुरु गरिएको थियो । त्यतिबेला म नेपाली कागजको पनि काम गर्थें ।

कति निर्यात हुन्छ ?

वार्षिक कुल ५० करोड रुपैयाँको हाराहारी निर्यात हुने गरेको छ । मेरोबाट मात्रै करिब १० करोड हाराहारी निर्यात हुने गरेको छ । यो खासगरी युरोप, अमेरिका, क्यानडा निर्यात हुन्छ । यसलाई थप विस्तार गर्ने तयारी भइरहेको छ । हाल उद्योगमा दुई हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

आन्तरिक बजारमा खपत छैन ?

खासै छैन, साना-साना डेकोरेसन पिसहरू माग हुन्छ तर त्यसले उत्पादनलाई धान्ने अवस्था छैन । यो हातले बनाइने र सामान्य सिसाभन्दा स्तरीय हुने भएकाले अलि महँगो पनि हुन्छ ।

सिसाबाट कस्ता-कस्ता सामग्री बन्छन् ?  

धेरै प्रकारका सामग्री बनाउन सकिन्छ । म यसको डिजाइनर पनि हो, मैले नै एक लाखभन्दा बढी डिजाइन गरिसकेको छु । तर, डिजाइनहरू पुराना हुँदै जाने भएकोले समय र सिजनहरूको डिजाइनमात्रै चल्छन् । खासगरी ५० देखि सयवटा डिजाइन चलनचल्तीमा रहेका छन् । वाइन ग्लास, वियर ग्लास, क्रिसमस डेकोरेसन, ब्रासलेट, वाटर पाइप, टोवाको पाइप बढी चलनचल्तीमा रहेका छन् ।

निर्यातमा प्रतिस्पर्धा कस्तो छ ?

तीव्र प्रतिस्पर्धा छ । किनभने चीन, अमेरिका र भारतले पनि यसको निर्यात गर्छन् । भारतीय सामान त्यति गुणस्तरीय नभएकाले अहिलेलाई चीन र अमेरिका नै मुख्य प्रतिस्पर्धी हुन् । चिनियाँहरूको प्रविधि पनि राम्रो र कच्चा पदार्थ पनि पर्याप्त भएकाले मास प्रोडक्सन गर्ने हुँदा निकै सस्तो हुन्छ । त्यसैले हामीले पनि सोहीअनुसारको रणनीति अख्तियार गरेर सामान उत्पादन गर्नुपर्ने हुन्छ ।

अहिले हाम्रा उत्पादन मूल्य र गुणस्तरमा प्रतिस्पर्धी छन् ?

प्रतिस्पर्धी नै छन् । तर, भूकम्प र नाकाबन्दीअघि नेपाली उत्पादनको बजार निकै राम्रो थियो, भूकम्प र नाकाबन्दीपछि भने केही खस्किएको छ । यसका लागि एलपी ग्यास पनि आवश्यक पर्ने भएकाले एलपी ग्यास अभावमा झण्डै एक वर्ष काम रोकियो । जसका कारण हाम्रो सबै बजार चीनले लियो । त्यसपछि हाम्रा अधिकांश उद्योग बन्द भए तर पछिल्लो समय कोरोनाले चीन प्रभावित भएपछि फेरि मार्केट हाम्रोमा फर्किएको छ । कोरोना न्यूनीकरणसँगै फेरि चीन खुला भएकाले हामीलाई अप्ठ्यारो पर्ने अवस्था आएको छ ।

यसको निर्यात बढाउन के गर्नुपर्ला ?

मुख्य कुरा हाम्रोमा निर्यात लागत एकदमै बढी छ । कोरोनापछि त दोब्बर भएको छ, पहिले प्रतिकेजी पाँच डलरमा निर्यात गथ्र्यांै भने अहिले दोब्बर भएको छ । उदाहरणका लागि हाम्रो छिमेकी मुलुक चीनको निर्यात लागत एक डलर छ, हाम्रो आठ डलरभन्दा बढी पर्छ । अर्को कुरा, कच्चा पदार्थको सहज उपलब्धता छैन । कच्चा पदार्थ भण्डारण गरेर राख्ने व्यवस्था गर्न सकेमा केही सहज हुने थियो । त्यस्तै, गुणस्तरको राम्रो विकास गर्नुपर्ने देखिएको छ, मागअनुसारको डिजाइन, प्याकेजिङलगायतमा जोड दिनुपर्ने हुन्छ । त्यसैगरी विभिन्न देशमा हुने व्यापार मेलामा सहभागी हुन सक्ने गरी सरकारले सहजीकरण गरिदिएमा यसको निर्यात बढाउन सकिन्छ । धेरै खर्च लाग्ने भएकाले सामान्य व्यापारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन सक्ने अवस्था छैन । त्यसैगरी हृयाण्डिक्राफ्ट जोन, तालिम, अनुदान, करमा सहुलियतलगायतको व्यवस्था भएमा यसले राष्ट्रलाई राम्रो टेवा दिन सक्छ ।

यसमा प्रयोग हुने सिसा कस्तो हुन्छ ?

यसमा प्रयोग हुने सिसा सामान्य सिसा होइन, विशेष प्रकारको सिसा वोरोसिलिकेट ग्लास ट्युब हो । जसलाई एलपी ग्यास र अक्सिजन प्रयोग गरेर एक हजार डिग्री तापक्रममा पगालेर चाहेको आकारमा ल्याएर विभिन्न सामग्री बनाइन्छ ।

कच्चा पदार्थमा सिसा, एलपी ग्यास र अक्सिजनमात्रै हो ?

मुख्य कच्चा पदार्थ यी भए पनि यसमा सुनचाँदी पनि प्रयोग हुन्छ । कलरका लागि सुनचाँदी प्रयोग गर्नुपर्ने हुन्छ ।

यसको प्रवद्र्धनमा हस्तकला महासंघले चाहिँ के गर्नुपर्ला ?

महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुने अवसर प्रदान गर्ने, अन्य हस्तकला जस्तै सिसाकलालाई पनि फ्रन्टलाइनमा सजाएर प्रवद्र्धन गर्ने गर्नुपर्छ । खासगरी यो निर्यातमूलक वस्तु भएकाले महासंघले अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमै जोड दिनुपर्छ ।

जनशक्तिको अवस्था कस्तो छ ?

तत्कालको समस्या मुख्य भनेकै दक्ष जनशक्ति नै हो । अन्य काम जस्तो सामान्य व्यक्तिले यो काम गर्न सक्दैन । त्यसैले सरकार र महासंघले दक्ष जनशक्ति उत्पादनका लागि पहल गरिदिएको खण्डमा धेरै राहत हुने थियो । अहिले उद्योगमा हामी आफैंले सिकाएर काम लगाइरहेको अवस्था छ । अझै यसमा महिलालाई तालिमको दिन सकियो भने दिगो हुने थियो । किनभने पुरुषले कालीगढ तालिम लिए पनि कामलाई निरन्तरता नदिने, विदेश जाने प्रवृत्ति देखिएको छ । विदेशतिर धेरै महिलाहरू यसमा लागेको देखेर हामीले पनि उनीहरूका लागि तालिमको पहल पनि गरेका थियौं तर सफल हुन सकेको छैन ।

सिसाकलामा समस्या र चुनौती के छन् ?

धेरैजसो समस्या त मैले उल्लेख गरिसकेँ । सिसाकला उद्योगले ध्वनिप्रदूषण गर्ने भएकाले मानव बस्तीभित्र सञ्चालन गर्न समस्या हुन थालेको छ । धेरै गुनासा आउन थालेका छन् । समस्या समाधानका लागि स्थानीयवासी र स्थानीय तहसँग पनि हामीले छलफल गर्दै आएका छौं । त्यसो त अमेरिकनहरू घर-घरमै यो काम गर्छन् । तर, उनीहरूले आवाज नआउने प्र्रविधिबाट यो काम गर्ने गरेका छन् । अमेरिकन प्रविधि निकै महँगो हुने भएकाले हामीले प्रयोग गर्न सक्ने अवस्था नभए पनि चिनियाँ प्रविधि ल्याएर भएर पनि ध्वनिप्रदूषण न्यूनीकरणको पहल भइरहेको छ ।

हुन त सरकारले यसका लागि विशेष सिसा जोनको व्यवस्था गरिदिएमा सहज हुने थियो । जसका लागि उद्योग सचिवसँग हामीले कुरा गरेका छौं । उहाँले यसमा पहल गर्ने आश्वासन पनि दिनुभएको छ । 

सिआइपी सम्मान पाउँदा कस्तो लाग्यो ?

सिआइपी सम्मानले थप प्रोत्साहन मिलेको छ । त्यसो त सम्मान पाइएला भनेर काम गरिएको होइन । सिआइपी सम्मान पाउनेहरूको पत्रिकामा मेरो पनि नाम आएको रहेछ । एकजना साथीले फोन गरेपछि मात्रै मैले थाहा पाएको थिएँ । राज्यले सिसाकलालाई पनि सम्झिएकाले खुसी र गौरव पनि लाग्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गर्दै भन्नुभएको थियो, ‘तपाईंले राम्रो गर्नुभएको रहेछ । नयाँ उद्योग स्थापना गर्नुभएको रहेछ । अझै राम्रो गर्दै जानुस् ।’


Top