‘रेखी’ को अध्ययन अनुसन्धानमा लागेको छु : अशोक थारु, संस्थापक अध्यक्ष, दाङ हस्तकला संघ

लेखनाथ पोखरेल   POSTED ON : आश्विन २४, २०७८ (६:१२ AM)

‘रेखी’ को अध्ययन अनुसन्धानमा लागेको छु : अशोक थारु, संस्थापक अध्यक्ष, दाङ हस्तकला संघ

नेपाल जातजाति र कला, संस्कृतिमा धनी मानिन्छ । सबै जातजातिका आ-आफ्नै कला संस्कृति प्रचलनमा रहेका छन् । कतिपय जातजातिमा रहेका त्यस्ता कला, संस्कृतिको अझै पनि उजागर हुन सकेको छैन, जसका कारण कतिपय कलासंस्कृति पुस्तान्तरणसँगै लोप हुन पुगेका छन् भने कतिपय संकटमा छन् । कला, संंस्कृति भनेको जातिविशेषको पहिचान हो, राष्ट्रको गौरव हो, आयआर्जन र पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारशिला पनि हो । तर, निकै संवेदनशील मानिने आफ्नो कलासंस्कृतिप्रति सम्बन्धित समुदाय, राज्य र सरोकारवाला निकाय संवेदनहीन बन्दै गएका कारण कला, संस्कृतिसमेत बाहृय कलासंस्कृतिको सिकार बन्न थालेको छ । जसले दाङ हस्तकला संघका संस्थापक अध्यक्ष अशोक थारुलाई पनि झस्काएको छ । हाल उहाँ विभिन्न जातजाति  र समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्मको लोकदर्शनको अध्ययन अनुसन्धानमा लाग्नुभएको छ । विभिन्न संस्कार कार्यमा प्रयोग हुने गरेको ‘रेखी’ को समेत छुट्टै विशेषता रहेको उहाँ बताउनुहुन्छ । तर, सबै समुदायले गर्ने विभिन्न संस्कार कार्यमा रेखीको प्रयोग औपचारिकतामै सीमित छ । न कर्ताले रेखीको अर्थ खोज्छन्, न त सम्बन्धित ब्राहृमणहरूले बताउने गरेका छन् । यिनै विविध विषयमा थारुसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :- 

दाङमा हस्तकलाको अवस्था कस्तो छ ?

विगतमा दाङमा हस्तकला निकै राम्रो थियो । आजभन्दा झण्डै २० वर्षअघि काँसका भाडा, काँसका पानस, बत्ती, दियो, तामाका दियो, पानस, टुकीको उत्पादन र कारोबार एकदमै राम्रो थियो । त्यस्तै काष्ठकलातर्फ थारु समुदायमा विवाहमा लौरो प्रयोग गरिन्थ्यो । त्यस्तो लौरो विशेष गरी दुलाहादुलही बोक्ने डोलीमा प्रयोग हुन्थ्यो, जुन लौरो मैले नाफामा एक महिना प्रदर्शनीमा राखेर राष्ट्रिय पुरस्कारसमेत पाएको थिएँ । तर, अहिले त्यो लौरो लोपोन्मुख छ, त्यसलाई फेरि पनि पुनर्जीवन दिन आवश्यक छ ।

थारु महिलाले बनाउने बास्केटको अवस्था के छ ?

थारुहरूले बनाउने घाँसबाट बनाउने बास्केट, टोकरीहरू पनि संकटमा छन् । त्यस्ता परम्परागत बास्केट, टोकरीलाई आधुनिक बास्केट, टोकरीले विस्थापित गर्दैछ । कच्चा पदार्थ अभावले पनि यस्तो भएको हो । किनभने कच्चा पदार्थ पाइने जंगल अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा छ । दाङको पहाडी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जमा गाभिएको छ ।

स्थानीय हस्तकला प्रवद्र्धनमा संघले के गर्दैछ ?

दाङ हस्तकला संघको निरन्तरको पहल प्रयासपछि बास्केट, टोकरीको काम फेरि सुरु हुन थालेको छ । बजारमा पनि जान थालेको छ । किनभने संघ स्थापनापछि मैले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरेँ । बास्केट, टोकरी भनेको दैनिक प्रयोगमा आउने सामग्री हो ।

हस्तकलामा पुस्तान्तरणको अवस्था कस्तो छ ?

अपेक्षाअनुसार पुस्तान्तरण हुन सकेको छैन, नयाँ पुस्ता विदेश जाने या पढेर अन्य पेसा व्यवसायतिर लाग्ने प्रवृत्तिका कारण यस्तो भएको हो । तर पनि पुस्तान्तरणको प्रयास भने जारी छ । त्यसो त बास्केट, टोकरी थारु महिलाका साथै मुस्लिम र अवधी महिलाले पनि बनाउने गर्थे तर थारु महिलाले बनाउने बास्केट, टोकरीमा भेराइटी छ, आफ्नै प्रकारको लोकदर्शनसमेत छ । कुन बास्केट कुन समयमा प्रयोग गर्ने, प्रयोग गर्नुको कारण के हो ? सबैको आफ्नै विशेषता हुन्छ ।

वास्तवमा वस्तु महत्वपूर्ण होइन, वस्तुमा रहेको दर्शन महत्वपूर्ण पक्ष हो, त्यससँग गाँसिएको कथा महत्वपूर्ण हो । किनभने सौन्दर्यको मूर्त र अमूर्त दुवै पक्ष हुन्छ । मूर्त पक्ष भनेको टोकरीको कलरफुल र बनावट भयो तर त्यसभित्र लुकेको दर्शन अमूर्त पक्ष भयो । उदाहरणका लागि काँसको एउटा सानो प्लेट आकारको सामग्री हुन्छ, जसलाई ‘पनछोप्नी’ भनिन्छ । एउटी दुहली जब आफ्नो घर जान्छिन्, घरमा सासूससुरा, जेठाजु, जेठानीहरूको कोठामा राति सुत्ने बेलामा पिउने पानी राखेर छोप्ने सामग्रीलाई  पनछोप्नी भनिन्छ । सामग्री सानो छ तर त्यसले एउटी नयाँ बुहारीको गरिमा बढाइदिएको हुन्छ ।

वास्केट, टोकरी हस्तकला दाङमा मात्रै हो ?

दाङमा मात्रै होइन, पछिल्लो समय मैले अन्य जिल्लामा पनि बास्केट टोकरी अभियान चलाएको छु । दाङका साथै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत गरी छ जिल्लामा विस्तार भएको छ । स्थानीय थारु कल्याणकारिणी सभाका अध्यक्षहरूलाई समेत अभियानमा साथ दिन आग्रह गरेको छु । 

नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ केही वर्षअघि राष्ट्रिय अनुसन्धान परिषद्को निर्देशक हुनुहुन्थ्यो । उहाँले मलाई थारु जातिमा प्रचलित सीप विकास आयआर्जनको स्रोत विषयक कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी दिनुभएको थियो । सोहीक्रममा अध्ययन गर्दै जाँदा ६४ शास्त्रीय कलामध्ये ३६ प्रकारको कला थारु जातिमा रहेको पाइयो । ३६ प्रकारकै कलालाई पुनर्जीवन दिन, पुस्तान्तरण गर्न र बजारीकरण गर्न म लागिपरेकोे छु । 

नेपालमा युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि लागू हुँदा संयोगवस मैले युनेस्को र पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयसँग जोडिएर तीन वर्ष काम गर्ने अवसरसमेत पाएको थिएँ, जसले मेरो अभियानलाई थप बल प्रदान गरेको छ ।

त्यस्ता बास्केट, टोकरी निर्यात पनि हुन्छन् ?

औपचारिकरूपमा त निर्यात छैन तर पर्यटकमार्फत् केही अन्य मुलुकमा जाने गरेको छ । केही वर्षअघि काठमाडौंमा हस्तकला व्यापार मेला भइरहेको अवस्थामा एकजना पर्यटक बिग्रिएको टोकरी लिएर मेरो स्टलमा आए । उनले टोकरी मर्मतसम्भारका लागि आग्रह गरे र मैले आफ्नो गाउँमा लगेर मर्मतसम्भार गराउन लगाएर अर्को वर्ष उनलाई फिर्ता दिएँ । 

तालिम पनि सञ्चालन गर्नुभएको छ ?

तालिम सञ्चालन भइरहेका छन्, खासगरी परम्परागत सीपबाट निर्मित हस्तकलामा जोड दिइएको छ । परम्परागत हस्तकलालाई पुनः प्रवद्र्धन गरी बजारको मागअनुसार डिजाइनमा सामान्य परिवर्तन गर्दै जाने उद्देश्यका साथ तालिम कार्यक्रम सञ्चालन भइरहेका छन् । पहिलो प्राथमिकतामा बास्केट, टोकरी नै रहेको छ । विगत छ वर्षअघिसम्म यो सम्बन्धित गाउँमा मात्रै सीमित थियो, अहिले राष्ट्रिय बजारमा आइसकेको छ । अब अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य रहेको छ । अहिले पनि ट्रेड फेयर ग्रुप गाउँ-गाउँ पुगेर थारु महिलालाई तालिम दिएर उत्पादनको बजारीकरणमा लागिसकेको छ । 

स्थानीय तहको सहयोगचाहिँ कस्तो छ ?

समग्रमा भन्नुपर्दा स्थानीय तहबाट अपेक्षाअनुसारको सहयोग छैन तर दाङका सन्दर्भमा चाहिँ स्थानीय तहले राम्रो सहयोग गरेका छन् । दाङ हस्तकला संघलाई जीवित राख्ने कार्यमा स्थानीय तहहरूको महत्वपूर्ण भूमिका रहेको छ । संस्कृति मन्त्रालयले सहयोग गरेको छ ।

थारुकलाबाहेक दाङमा अरू हस्तकला छैनन् ?

थारुकलाबाहेक अन्य हस्तकलामा पनि धेरै छन् । सारंगीमा पनि दाङ जिल्ला धनी मानिन्छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापारमेलामा ३२ हजार रुपैयाँको सारंगी राखिएको थियो । त्यस्तै केही वर्षअघि मैले पाकिस्तानमा बनेको कार्भिङ टेबुल खरिद गरेर दाङमा लगेँ र स्थानीय फर्निचर उद्योगलाई त्यस्तै टेबुल बनाउन आग्रह गरेँ । किनभने दाङमा प्रशस्त काठ पाइन्छ तर किन फर्निचरमा विविधीकरण हुन सकेको छैन भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यसरी पनि प्रवद्र्धनको काम भइरहेको छ ।

सेरामिक कलाको अवस्था के छ ?

दाङका विभिन्न ठाउँमा माटाका भाँडा बनाउने प्रचलन पहिलेदेखि नै हो । खासगरी तुल्सीपुर नगरपालिका र देउखुरीमा केही ठाउँमा माटाका भाँडा बनाइन्छ । दाङमा उत्पादित माटाका भाँडा र कलाकृतिहरू छिमेकी जिल्लामा पनि जाने गरेको छ । तर, काठमाडौंको जस्तो विविधीकरण भने हुन सकेको छैन । माटाका कतिपय कलाकृति थारु समुदायमा नभई हुँदैन । जस्तै दाङलगायत छ जिल्लामा बसोबास गर्ने डगौरा मूलका थारु समुदायले आफ्नो कुलदेवताका स्थानमा माटाका घोडा पनि राख्ने प्रचलन रहेको छ । कुलदेवताका लागि पाँच प्रकारका घोडाहरू हुन्छन् । 

देउखुरीका थारुमा हात्तीको प्रचलन पनि रहेको छ । तर, माटाका घोडालाई देवीदेवताका रूपमा मात्रै नभई सजावट सामग्रीका रूपमा राष्ट्रिय बजारमा पनि लैजानुपर्ने आवश्यकता देखिएको छ । अर्को कुरा, यहाँका कुमालेहरूले माटाका भाँडा बनाउने प्रविधि परम्परागत छ । जसका कारण उत्पादन बढ्न सकेको छैन । उनीहरूलाई नयाँ प्रविधि दिएर उत्पादनमा विविधीकरण गर्न सकिएमा नयाँ पुस्ताको पनि आकर्षण बढ्ने थियो । किनभने माटोका भाँडामात्र नभई समग्र हस्तकलामै पुस्तान्तरण चुनौतीपूर्ण देखिएको छ ।

दाङमा हस्तकला उद्यमी कति छन् ?

हुन त घरेलुमा दर्ता भएका कतिपय उद्यमीले आफूलाई हस्तकला उद्यमी भन्ने गरेको अवस्था छ तर घरेलुरूपमा उत्पादन हुने सबै कला हस्तकला प्रवृत्तिका हुँदैनन् । वास्तवमा अहिलेसम्म हस्तकलाको परिभाषा नै छैन । राष्ट्रिय योजना आयोगको सिफारिसमा तयार गरिएको रातो किताबमा हस्तकला नामको शब्द नै छैन, त्यहाँ घरेलु उद्योगमात्रै उल्लेख गरिएको छ, जसबाट हस्तकला क्षेत्र अझै पनि राज्यबाट उपेक्षित रहेको पुष्टि हुन्छ ।  

उजागर नभएका हस्तकला पनि छन् ?

त्यस्ता हस्तकला धेरै छन् । उदाहरणका लागि नेपालका सबै जातजातिमा बाह्रै महिना गरिने विभिन्न संस्कारहरू हुन्छन् । जन्म संस्कार, मृत्यु संस्कार, चाडपर्वहरूमा रेखी बनाउने प्रचलन रहेको छ । रेखीमा कस्तो लोकदर्शन लुकेको छ ! त्यस्तै थारु जातिले प्रयोग गर्ने ट्याटु । यसबारेमा पनि मैले अध्ययन अनुसन्धान गरिरहेको छु । तालिम पनि सञ्चालन गरेको थिएँ किनभने लोकदर्शनको संरक्षण र प्रवद्र्धनका लागि युवा पुस्तालाई पनि यसबारेमा बुझाउनुपर्ने आवश्यकता देखिएको छ ।

हस्तकलाबाट जीविकोपार्जन कत्तिको सम्भव छ ?

मोसफलमा समस्या छ । छालाजन्य उद्यमी, फर्निचर उद्यमीबाहेक अन्य हस्तकला व्यवसायी आत्मनिर्भर बन्न सकेको अवस्था छैन । खासगरी पुँजी अभाव मुख्य समस्या देखिएको छ । कर्जा लिन धितो चाहिन्छ तर अरूको घर भाडामा लिएर हस्तकलाको काम गर्नेले बैंकलाई धितो के दिने ?  सहुलियत कर्जा भनिएको छ तर निकै झन्झटिलो प्रक्रियाका कारण सामान्य उद्यमीले सहुलियत कर्जा लिन सक्ने अवस्था छैन । यस्ता कुराहरूमा राज्यले ध्यान दिनुपर्छ ।


Top