योगदान, योग्यता र क्षमतालाई आधार मानेर नेतृत्व चयन गर्नुपर्छ : लिला बोखिम, निवर्तमान सभापति, नेपाली कांग्रेस, ताप्लेजुङ

कृष्ण भुसाल   POSTED ON : मंसिर ८, २०७८ (५:४० AM)

योगदान, योग्यता र क्षमतालाई आधार मानेर नेतृत्व चयन गर्नुपर्छ : लिला बोखिम, निवर्तमान सभापति, नेपाली कांग्रेस, ताप्लेजुङ

यतिबेला महाधिवेशनको सन्दर्भलाई लिएर नेपाली कांग्रेसमा उत्सवको माहोल छ । पार्टीभित्र विभिन्न बहस भइरहेका छन् । कांग्रेस लोकतान्त्रिक ठूलो शक्ति भएकाले अबको नेपाली कांग्रेस कस्तो होला ? कुन धारबाट अगाडि बढ्ला ? अनि नेतृत्व कस्तो आउला भन्ने आमचासोको विषय बनिरहेको छ । पाँच वर्षका लागि प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस यतिबेला सरकार सञ्चालनको बागडोर पनि सम्हालिरहेको छ । अब हुने आमनिर्वाचनमा कांग्रेस कसरी अघि बढ्छ भन्ने पनि आमचासोको विषय बनेको छ । शुभेच्छुकहरूमा विभिन्न बहस हुन थालेका छन् । यो विषयले पनि महाधिवेशन नेतृत्व चयनमा सचेत हुनुपर्ने कांग्रेसीजन तथा शुभचिन्तकहरूमा बहस भइरहेको छ । यसै सन्दर्भमा रहेर हिमालय टाइम्सका लागि नेपाली कांग्रेस, ताप्लेजुङ जिल्लाका निवर्तमान सभापति लिला बोखिमसँग कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर देशभर नै कार्यकर्तामा उत्साह तथा उत्सवको माहोल भइरहेको छ, तपाईं यतिबेला के गर्दै हुनुहुन्छ ?

तपाईंले भनेजस्तै यतिबेला देशभर नै नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर उत्सवमय माहोल छ । विभिन्न जिल्लामा महाधिवेशन भइरहेको छ भने केही जिल्लामा सम्पन्न पनि भएको छ । हामीले पनि हाम्रो हिमाली जिल्लामा १४औँ अधिवेशन सम्पन्न गरेका छौँ । मलाई जिल्ला पार्टी सभापतिको जिम्मेवारी थियो, त्यसलाई हस्तान्तरण गरेर अब केन्द्रीय सदस्यका लागि तयारी गरिरहेकी छु । तर पनि अहिलेसम्म औपचारिकरूपमा भने घोषणा गरिसकेकी छैन । आन्तरिक तयारी, भेटघाटमा रहेकी छु भन्नुपर्ला । आदरणीय दाइहरू, नेताहरू सबैसँग भेटघाट र सरसल्लाहमा छु । यसका लागि यतिबेला काठमाडौंमा छु । 

केन्द्रीय सदस्यमा लड्ने जमर्को गर्दै हुनुहुन्छ तर अझै पक्कापक्की नगरेको यहाँको आशय हो ?

यस्तो हो, मेरो तयारी त हो । तर, सबैसँग सल्लाह त गर्नुपर्‍यो नि । मेरो एक्लै व्यक्तिगतभन्दा पनि केही साथीहरूको सल्लाह, आफ्नो प्रदेशका साथीहरूको पनि सल्लाह चाहियो, आदरणीय केन्द्रीय नेताहरूको सल्लाह चाहियो भनेर लागेकी छु । सबैसँग सल्लाह गरेरमात्रै औपचारिकरूपमा घोषणा गर्ने सोचिरहेकी छु । 

यतिबेला महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन पक्ष र संस्थापनइतर पक्षका विभिन्न नेताहरूले आकांक्षा देखाउनुभएको छ । विमलेन्द्र निधिले पनि आगामी सभापतिका लागि आफूलाई प्रस्तुत गर्नुभएको छ । यहाँले केन्द्रीय सदस्यमा इच्छा जाहेर गर्दै गर्दा कुन समूह या पक्षको केन्द्रीय सदस्यमा आफूलाई प्रस्तुत गर्नुहुन्छ ?

यो सबैभन्दा अप्ठ्यारो कुरा र हाम्रो पार्टीलाई चुनौतीको कुरा यो पक्ष र विपक्ष हो भन्ने मलाई लाग्छ । यो प्यानल र समूहले पार्टीलाई फाइदा पुर्‍याउँदैन भन्ने लाग्छ मलाई । हो, कसै-कसैसँग नजिक भइएला तर पार्टीका लागि सबै एकजुट हुनुपर्छ भन्ने मेरो मान्यता हो । सबै पक्षलाई मिलाएर लानुपर्छ । केन्द्रको नेतृत्व एकै ठाउँमा भयो भने जिल्लालाई पनि सजिलो हुन्छ । यदि हामी चारपट्टि छरिएर गयौँ भने अब हुने निर्वाचनलाई पनि त्यसले असर पार्छ । भोलिका लागि सोचेर अघि बढ्नुपर्छ ।

यहाँले लामो समयसम्म नेपाली कांग्रेसको जिल्लाका विभिन्न तह र नेतृत्वमा रहेर कार्यसम्पादन गर्नुभयो ।  नेतृत्वमा रहँदा के–कस्ता काम गर्नुभयो ? 

ताप्लेजुङ जिल्लामा तीन कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल सभापतिमा रहेर मैले कुशलतापूर्वक कार्यसम्पादन गरेँ भन्ने लाग्छ । नेपाली कांग्रेस केन्द्रीय महिला तदर्थ समितिको सदस्य पनि रहेँ । पार्टीको तल्लो तहदेखि नेतृत्व गर्दै आएँ । नगरपालिकाको पार्टी सभापति पनि भएँ । जिल्ला महिला संघको सभापति पनि भएँ । ६ पल्टसम्म महाधिवेशन प्रतिनिधिका रूपमा रहँे । मैले जे जस्ता कार्य गरेँ, पार्टीलाई मजबुत बनाउनका लागि जुन कार्य गरेँ, त्यो सबै स्पष्ट नै छ । मैले जहिले पनि बोल्न कम र काम धेरै गर्ने रूपमा आफूलाई अगाडि बढाएँ भन्ने लाग्छ । मेरा कामका बारेमा त मैलेभन्दा पनि पार्टीपंक्ति र नेतृत्वले मूल्यांकन गर्ने कुरा हो, होइन र ?

नेपाली कांग्रेसको देशभरका जिल्ला सभापतिमा तीनजना महिला सदस्यमध्ये यहाँ एकजना हुनुहुन्थ्यो । एउटी महिलाले जिल्ला सभापति भएर कार्यसम्पादन गरिरहँदा के-कस्ता सजिला र अप्ठ्याराहरूसँग जुध्नुपर्दोरहेछ ?

हरेक काम आफैँमा सजिलो र अप्ठ्यारो हुने गर्दछ । त्यसलाई कसरी कार्यसम्पादन गर्ने भन्ने मुख्य कुरा हो भन्ने लाग्छ । मैले पार्टीले दिएको जिम्मेवारी अत्यन्तै सक्षमरूपमा निभाएँ भन्ने लाग्छ । मैले पार्टीका जुनसुकै कार्यक्रमहरूमा पनि आफूलाई सशक्तरूपमा प्रस्तुत गरँे । चुनौती पनि थियो, महिलाहरूले पार्टी सभापति चलाउन सक्छन् कि सक्दैनन् भन्ने । तर, मैले कुशलतापूर्वक यो जिम्मेवारी निर्वाह गरेँ भन्ने लाग्छ । म प्रतिस्पर्धामार्फत् नै जिल्ला पार्टी सभापतिमा आएकी थिएँ । पछि सबैलाई साथ लिएर अघि बढेँ । ३०÷३५ वर्षसम्म किन जिल्लामा लड्ने, नेतृत्व हस्तान्तरण गरेर जानुपर्छ भनेर मैले नयाँ नेतृत्वलाई सुम्पिएर आएँ । मैले भन्नुभन्दा तपाईंले ताप्लेजुङमा जोकोहीलाई पनि सोध्न सक्नुहुन्छ लिला बोखिमले कसरी पार्टी सञ्चालन गरी भनेर । मैले पार्टीको नेतृत्व गर्नुअघि र अहिले पार्टी जिल्लामा कस्तो छ जोकोहीलाई तपाईं सोध्न सक्नुहुन्छ । 

यहाँले केन्द्रीय सदस्यमा उठ्ने जमर्को गर्दै गर्दा के-कस्ता एजेण्डा प्रस्तुत गर्दै हुनुहुन्छ ?

मैले पार्टीको तल्लो तहबाट काम गर्दै आएँ । पार्टीलाई कसरी मजबुत र अझ सुदृढ बनाउने भन्ने नै मेरो एजेण्डा रहन्छ । सबैको साथले सबैलाई सँगसँगै लानुपर्छ भन्ने मेरो मान्यता छ । महिलाहरूको सहभागिता कसरी बढाउने, पछाडि पारिएका वर्गहरूको अझ धेरै सहभागिता कसरी बढाउने भन्ने नै मेरो ध्येय रहने गर्दछ । पहाड, मधेश र तराई सबै क्षेत्रलाई समेटेर कसरी अघि बढाउने भन्ने रहन्छ । 

१४औँ महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै भएको पनि देखिन्छ नि ?

नेपाली कांग्रेस आफैँमा प्रजातन्त्रको हिमायती भएकाले पनि नेतृत्वका आकांक्षी धेरै हुनु स्वाभाविकै हो । योगदान, योग्यता र क्षमतालाई आधार मानेर नेतृत्व चयन गर्नुपर्छ । स्वस्थ प्रतिस्पर्धाबाट अघि आउनुपर्छ । 

पार्टीमा महिला नेतृत्वमा कम संख्यामा पुग्नुलाई यहाँ कसरी लिनुहुन्छ, पार्टीमा महिला सहभागिता नै कम गराइन्छ कि महिलाहरू आफैँ नै आउन चाहनुहुन्न ?

मलाई के लाग्छ भने यहाँले भनेका कुरामा दुइटै कुरा देख्छु म । नेतृत्वले पनि महिलालाई प्राथमिकतामा राखेको पाइँदैन भने महिला आफैँ पनि जागरुक भएर अघि आउनुभएको निकै कम छ । हामी जुन ठाउँमा आइपुगेका छौँ, त्यति सजिलो गरी आएका छैनौँ । धेरै संघर्ष गरेर आइपुगेका छौँ । पार्टीमा जति बोलिन्छ त्यति कार्यान्वयन भएको पाइँदैन । यसका लागि महिलालाई कसरी ल्याउने भन्ने विषयमा रणनीतिक योजना आवश्यक छ । कसैले अलिक मजबुतरूपमा आफूलाई स्थापित गर्न खोज्यो भने यसलाई कसरी कमजोर बनाउने भनेर अनेक तिकडम गर्ने गरेको पनि पाइन्छ । जुन दुखद् कुरा हो । पहाडी ठाउँमा धेरै गाह्रो छ । सुगम ठाउँमा केही सजिलो होला । म आफैँले महिला सभापति भएर ताप्लेजुङमा नेतृत्व गर्दै गर्दा पनि मलाई जुन सपोर्ट चाहिन्थ्यो त्यो पाइनँ । मैले आफैँले महसुस गरेकी, भोगेकी छु । फलाना जिल्लामा महिला सभापति छे, उसलाई हामीले अझ के सपोर्ट गर्नुपर्छ भन्ने कहीँकतैबाट मैले पाइनँ । 

अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ कि अहिलेको गठबन्धनसँगै जानुपर्छ, यहाँलाई के लाग्छ ?

यो विषयमा मैले भन्दा पनि नेतृत्वले विचार पु¥याउला । मलाई लागेको कुरा एक्लै लड्दा नै राम्रो हुन्छ । जिल्ला–जिल्लामा अब कांग्रेस नै हो देशलाई हाँक्ने भन्ने भएको छ । मुलुक धेरै पटक समस्या परेका बेला, प्रजातन्त्र संकटमा परेका बेला, लोकतन्त्र संकटमा परेका बेला, मुलुकमा संवैधानिक संकट आइपरेका बेला निकास र नेतृत्व दिने पार्टी नेपाली कांग्रेस नै हो भन्ने आमजनमानसमा भएको छ । 

अन्त्यमा ?

हामी झण्डै साढे पाँच वर्षपछि १४औँ महाधिवेशनमा आइपुगेका छौँ । हामी वडादेखि जिल्ला अनि केन्द्रसम्म आगामी नेतृत्व चयनको चरणमा प्रवेश गरेका छौँ । केही जिल्लामा सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक प्रणालीअनुरूप हुन गइरहेको यो अधिवेशन कांग्रेसका लागि मात्र नभएर भावी नेपाल र नेपालीका लागिसमेत चासो र चिन्ताको विषय भएको छ । यसै अधिवेशनपश्चात् आसन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यभार हुने भएकाले पनि यो महाधिवेशन महत्वपूर्ण रहेको छ । क्षमतावान् युवाहरूसमेतलाई समेट्दै विभिन्न समयमा योगदान पु¥याएका, विभिन्न क्षेत्रमा दखल हासिल गरेका महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र र वर्ग समुदायलाई समेट्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय जगत्समेत बुझेका नेताहरू नेतृत्वमा आउनुपर्छ । यसैअनुसार हामीले आफूलाई तयारीमा राख्नुपर्छ भन्न चाहन्छु ।

Top