हृदय र मस्तिष्कको सम्भोगबाट जन्मिएको कलात्मक सन्तान हो सिर्जना : मनोजादित्य, साहित्यकार

कृष्ण भुसाल   POSTED ON : मंसिर ११, २०७८ (८:०१ AM)

हृदय र मस्तिष्कको सम्भोगबाट जन्मिएको कलात्मक सन्तान हो सिर्जना : मनोजादित्य, साहित्यकार

हालै १२खरी कथालेखन प्रतियोगितामा एक लाख रुपैयाँ राशिको प्रथम पुरस्कार जित्न सफल मनोजादित्य न्यौपानेका मनोज न्यौपानेको नामबाट चारवटा कृति प्रकाशित छन् । कवि, गजलकार, निबन्धकार, मुक्तककार र लघुकथाकारको परिचय बनाउनुभएका मनोजादित्यलाई यस पुरस्कारले उत्कृष्ट कथाकारका रूपमा स्थापित गरेको छ । विलयन लेखन नामको साहित्यिक आन्दोलनको प्रवर्तकका रूपमा पनि चिनिने मनोजादित्यलाई नेपाली साहित्यमा एक गम्भीर र बौद्धिक स्रष्टाका रूपमा चिनिने गर्दछ । उहाँ लामो समयदेखि साहित्यिक पत्रकारितामा संलग्न हुनुहुन्छ । हृदय र मस्तिष्कको सम्भोगबाट जन्मिएको कलात्मक सन्तान सिर्जना या कृति हो भन्नुहुने मनोज न्यौपानेसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

‘अन्तिम अतिथि’ शीर्षकको यहाँको कथाले हालै १२खरी कथालेखन प्रतियोगिता प्रथम पुरस्कार जित्न सफल भएको छ, कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?

तलाउमा अगुल्टो चोबले जस्तो भनूँ कि ढुंगा हाने जस्तो भनूँ, मलाई आवाज र तरंगहरूले सिर्जनात्मक झड्का दिएको अनुभूति भइरहेको छ ।

तपाईंलाई आफ्नो सिर्जनाले प्रथम पुरस्कार जित्छ जस्तो लागेको थियो ?

प्रतियोगितामा भाग लिनु भनेको रूखको फल झार्न झटारो हान्नु जस्तै हो, लाग्न पनि सक्छ र नलाग्न पनि सक्छ । झटारो हान्नेले फल झार्न सक्तिनँ भन्ने सोच्दैन, झार्न सक्छु कि भनेर नै हान्छ । मलाई पनि आफ्नो रचनामा पूर्ण विश्वास थियो ।

साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ?

कला र जीवन, यसकै सेरोफेरो ।

तपाईं कसका लागि लेख्नुहुन्छ ?

तपाईंले कसका लागि लेख्नुहुन्न भन्नुभएको भए मसँग उत्तर धेरै थिए । कसका लागि लेख्नुहुन्छ भन्ने प्रश्नको उत्तर के दिऊँ ? म सबैका लागि लेख्छु । कुनै पनि व्यक्ति होइन, तिनको खराब प्रवृत्तिविरुद्ध लेख्न मन पराउँछु । कुनै पनि मानिस शतप्रतिशत खराब हुँदैन र शतप्रतिशत सही पनि हुँदैन । मलाई मेरो विवेकले जसका लागि लेख्न अह्राउँछ, उसैका लागि लेख्छु ।

साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभयो  ?

लेख्न सुरु त स्कुलमा हुने कविता प्रतियोगिताहरूमा भाग लिनका लागि प्राथमिक तहमा पढ्दादेखि नै गरेँ । यसलाई साहित्यमा औपचारिक प्रवेश भन्न मिल्दैन क्यारे । पहिलो प्रकाशित रचना भने विसं २०३९ सालमा भारतमा आर्य समाजको विद्यापीठ पढ्ने विद्यार्थीहरूले प्रकाशन गर्ने ‘एटम बम’ पत्रिकामा भएको थियो ।

यहाँका के-कस्ता कृति पाठकमाझ आएका छन् र अब के-कस्ता कृति ल्याउने तयारीमा हुनुहुन्छ ?

मेरा कविता र गजलका कृति पाठकमाझ आएका छन्- ‘आगोमा उम्रिएको दुबो’ (कवितासंग्र्रह), आगोको मूच्र्छना (विलयन काव्य), रगतको दरबार (विलयनकाव्य) र अन्तिम (गजलसंग्र्रह) । अब प्रकाशनका क्रममा उपन्यास, कथासंग्र्रह र मुक्तकसंग्र्रह छन् ।

साहित्यमा प्रगतिशील साहित्य भनेको के हो, लेखन सबै प्रगतिशील नै होइनन् ?

‘प्रगतिशील’ को अर्थ अग्रगामी हुनुपर्ने हो । साहित्यिक सन्दर्भमा यसको अर्थ अहस्तक्षेप पनि हुनुपर्ने हो । सिर्जनशील लेखकले त नियम कानुुन, कुनै निश्चित सिद्धान्त वा वाद हेरेर लेख्दैन नि । ऊ त ब्रहृमले जे भन्छ, त्यो लेख्छ । तर, हामीकहाँ साहित्यका सन्दर्भमा प्रगतिशील शब्दको अपहरण भएको छ । त्यस शब्दमाथि अत्याचार गरिँदै छ । निश्चित राजनीतिक सिद्धान्तप्रति नरम भएका स्रष्टाको लेखनलाई मात्र प्रगतिशील भनिँदै छ । समालोचनाको क्षेत्रमा देखिएको प्रगतिशील शब्दको यस किसिमको दुरूपयोगमाथि बहस हुनु जरुरी छ । सबै लेखन प्रगतिशीलचाहिँ होइनन् । निरंकुुश सत्ताको ताबेदारीमा लेखिएका साहित्यलाई कसरी प्रगतिशील भन्ने ? ती त अग्रगामी होइनन् । विभेदलाई महत्व दिने रचनालाई कसरी प्रगतिशील भन्ने ? लेखकले आफूमाथि खुला आकाश राखेर लेख्नुपर्छ ।

तपाईंले विलयन लेखनको घोषणा गर्नुभएको छ । यो पनि लेखनमा हस्तक्षेपको कुरा होइन ?

होइन । हामीले त सबैको हितको कुरा गरेका हौँ । मानिसमात्र होइन, सम्पूर्ण प्रकृतिको हितको कुरा गरेका हौँ । स्वतन्त्रताको कुरा गरेका हौँ । हामीले अहस्तक्षेपकै कुरा गरेका हौँ । हाम्रो विचारले परिवर्तनको कुरा गर्छ । यिनै कुरा मैले माथिका विभिन्न प्रश्नको जवाफमा पनि भनिसकेँ ।

विलयनकाव्य तपाईं, कृसु क्षेत्री र चेतनाथ धमला मिलेर सिर्जना गर्नुभएको छ । के एक्लै-एक्लै विलयन कृति सिर्जना गर्न सकिँदैन ?

सकिन्छ । हामीले सामूहिकताको सन्देश दिन आवश्यक राजनीतिक परिस्थितिमा त्यो प्रयोग गरेका थियौँ । सधैँ यसै हुनुपर्छ भन्ने मान्यता राख्नु त विलयन विचारविरुद्ध हुन जान्छ ।

एकथरि मानिस भन्छन् साहित्यमा यौन चाहिन्छ, अर्कोथरि साहित्यमा यौनवर्जित छ भन्छन् । यहाँको विचारमा के होला ?

तपाईंको जन्मसँग, तपाईंको खुशीसित यौन जोडिँदैन र ¤ के यौन जीवनविरोधी कुरा हो र ! होइन भने यौनलाई वर्जित गर्नु किन ? गर्नुहुँदैन । कसैले साहित्यमा यौनलाई वर्जित गर्नुपर्छ भन्छ भने मलाई त्यो केटाकेटी कुरा जस्तो लाग्छ । यौनांग विकास नभइसकेका बालबालिकाका लागि लेखिने साहित्यमा उनीहरूको उमेरजन्य स्वभावको ख्याल गर्नैैपर्छ । यौनवर्जित गर्नुपर्ने तर्क गर्नेले विवाह गर्नुभएन, सन्तान पाउनुभएन । यसो गर्दैनन् भने यौनवर्जित गर्नुपर्छ भन्नु पाखण्डमात्र हो । ब्रहृमचर्यमा बस्ने, विवाह नगर्ने बाबा र साधुहरूका यौनविलासका काण्ड सुनिन्छन्, कति त जेल पुगेको देखिएकै छ । यौन वर्जनाको कुरा पाखण्डको कुरा हो । यति हो, यो भद्दा किसिमले साहित्यमा आउनु राम्रो होइन ।

परिवारबाट तपाईंको लेखनलाई कत्तिको सपोर्ट मिलेको छ ?

मलाई लेख्नका लागि मेरी जीवनसंगिनी विद्याबाट ठूलो सहयोग प्राप्त छ ।  

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ  ?

नयाँ लेखकले अध्ययन र साधनामा समय उत्तिकै खर्चनु जरुरी छ । प्रचारभन्दा बढी स्तरप्रति चिन्ता र चिन्तन गर्नु राम्रो हुन्छ ।

अन्त्यमा, सिर्जना या कृति के हो  ?

हृदय र मस्तिष्कको सम्भोगबाट जन्मिएको कलात्मक सन्तान ।

Top