कांग्रेसमा संस्थागत राजनीति नहुनुमा केन्द्रीय नेतृत्वको हात छ : सभापति राई

चिसाङ शेर्पा   POSTED ON : मंसिर १६, २०७८ (७:४२ AM)

कांग्रेसमा संस्थागत राजनीति नहुनुमा केन्द्रीय नेतृत्वको हात छ : सभापति राई


नेपाली कांग्रेस खोटाङको सातौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आएको छ । विष्णुकुमार राईको नेतृत्वमा कांग्रेस आएसँगै अब कांग्रेस पार्टी जिल्लामा कस्तो बन्छ, कसरी अघि बढ्छ भनेर स्वयं कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जसपालगायतका पार्टीमा अड्कलबाजी हुन थालेको छ । 

२०५७ देखि २०६२ सम्म कार्यवाहक सभापति तथा २०६२ देखि २०६७ र २०६७ देखि २०७२ सम्ममा पार्टी सभापति भएर कांग्रेस हाँकेका राईकै हातमा पुनः कांग्रेस पार्टी आएपछि खोटाङ कांग्रेस अब साँच्चिकै कस्तो बन्छ त ? नवनिर्वाचित कांग्रेस पार्टी सभापति विष्णुकुमार राईसँग हिमालय टाइम्स खोटाङका संवाददाता चिसाङ शेर्पाले कुराकानी गर्नुभएको छ । 

खोटाङ कांग्रेसमा तपाईंको नेतृत्व आएको छ, पार्टीको रूप कस्तो होला ?

पार्टीलाई सैद्धान्तिक, वैचारिक आधारमा अगाडि बढाइनेछ । यसको संरचना टोल तहबाट जिल्ला तहसम्म बलियो बनेर जानेछ । जति पनि अगुवा कार्यकर्ताहरू छन् उहाँहरूलाई विचारबाट पे्ररित गराइनेछ । र, जनताको बीचमा आफ्नो अस्तित्वलाई अनुभूत गराउने किसिमको संस्थागत राजनीतिक दलका रूपमा खोटाङ कांग्रेस अगाडि बढ्नेछ ।

पार्टीभित्र चरम गुटबन्दी छ । के त्यो अन्त्य गर्न सक्नुहुन्छ ?

प्रशिक्षणको अलिकति अभाव, कांग्रेसको वैचारिक पक्ष अलिक कमजोर हुनु, नेताहरू कार्यकर्ताको बीचमा पुग्दाखेरी व्यक्तिगत कुराहरूलाई, व्यक्तिगत सरोकारका विषयहरूलाई बढी प्रधानता दिएर संस्थागत कुराहरूलाई गौण बनाइँदा तमाम तल्लो तहका कार्यकर्ताहरू व्यक्तिको सम्बन्धमा बढी उनीहरू आबद्ध हुन पुगे । 

जसका कारणले जो जिल्लास्तरीय नेताहरू जुन ठाउँमा गए ती ठाउँका कार्यकर्ताहरू उनै व्यक्तिहरूबाट निर्देशित भए, परिचालित भए । जसको कारणले नजानिँदो ढंगबाट जिल्लामा गुटगत राजनीति हावी भयो । र, अब त्यसलाई ध्यान दिँदै विचारप्रदत्त राजनीतिक गतिविधिहरूलाई बढाउँछौँ । 

तल्लो तहका सम्पूर्ण कार्यकर्ताहरू प्रशिक्षित गरेर कांग्रेसको सिपाहीका रूपमा अब रूपान्तरित हुनेछ । एक किसिमको दलीय संस्थागत गतिविधिहरू जिल्लामा बढेर जानेछ । जसका कारणले गुटगत, व्यक्तिगत जुन संस्कार बढेको छ । त्यो विस्तारै निर्मूल हुँदै जानेछ । 

कांग्रेसमा किन संस्थागत राजनीति हुन सक्दैन ?

त्यसमा केन्द्रीय नेतृत्वहरूको पनि हात छ । उनीहरू पनि बढी व्यक्तिगत गतिविधिमा रमाउँछन् । त्यसको प्रतिबिम्बन जिल्ला र गाउँमा पुगेको हुन्छ । फलाना पक्षको नेता, फलाना पक्षको कार्यकर्ता भनेर विभाजित गराइने गरिन्छ । तर, अब त्यसलाई १४औँ महाधिवेशनले अलिकति निषेध गर्ला, न्यून गर्ला ।

जिल्लामा पनि हामीले बीपी विचारलाई बढी प्रक्षेपण गर्नेछाँै, बीपीको सिद्धान्त, दृष्टिकोणलाई परिमार्जित गर्दै समय सापेक्षित परिभाषित गर्दै हरेक कार्यकर्ताहरूको बीचमा विचारलाई उभ्याउँछौँ । जसबाट कांग्रेसको संस्थागत राजनीतिक गतिविधि मौलाएर जानेमा विश्वस्त छु ।

अधिवेशनले चिढिएका नेता कार्यकर्तालाई गोलबद्ध बनाउन सक्नुहुन्छ ?

गोलबद्ध बनाउन जरुरी नै छ । अधिवेशनबाट कसैले आफूलाई पराजित भएको भावनाबाट कुण्ठित भएका छन् । यसलाई नजानिँदो किसिमबाट विभिन्न कार्यक्रमहरूमा उहाँहरूलाई सरिक गराउँदै बिनापूर्वाग्राह, बिनाआग्रह उहाँहरूको कामको, उहाँहरूको खटाइको, उहाँहरूको निष्ठाका आधारमा कार्यकर्ताहरूलाई परिचालित गर्नुपर्ने हुन्छ ।

‘मेरा कार्यकर्ता, मलाई सहयोग गर्ने कार्यकर्ता’ नभनीकन जसको जे किसिमको क्षमता छ, जे सीप छ त्यो आधारबाट कार्यकर्ताहरूलाई जिम्मेवारी दिनुपर्छ आउने दिनहरूमा । र, यसो भइसकेपछि विस्तारै ती दुखेका मनका खाटाहरू आफैँ पुरिँदै जानेछन् ।

मलाई यो विश्वास छ कि त्यसलाई झन् दूरी बढाउने, झन् मनका घाउहरूलाई पीडा दिने ढंगबाट नेतृत्वहरू जानुहुँदैन । उनीहरूसँगको उठबस, उनीहरूलाई सँगै कार्यक्रमहरूमा लिएर जाने वातावरण बनाउँदै गइसकेपछि त्यो किसिमको दूरी अवश्य घटेर जाने विश्वास छ ।

स्थानीय निर्वाचन नजिकिँदै छ । जिल्लामा कांग्रेस कुन पोजिसनमा आउन सक्ला ?

अहिले कांग्रेसप्रति समग्र जनताको विश्वास बढेर गएको छ । यसलाई आकर्षण नै भनौँ । किनभने दुई तिहाइको सरकार जो कम्युनिष्ट पार्टीले गठन गर्‍यो, जनताले दुई तिहाइ नजिक बहुमत प्रदान गर्‍यो । तर, त्यो यति असफल भयो कि त्यसले अब धेरै पछाडिका वर्षहरूसम्म नेपाली जनतालाई झस्काउँछ । 

खाली सरकार प्रमुखले जनतालाई भ्रममा पार्ने, सस्तो प्रचारमुखी कार्यक्रम ल्याउने, त्यसलाई पनि पूरा नगर्ने, हुँदाहुँदै उनीहरूकै बीचमा सत्ताको राजनीति यति अगाडि बढ्यो अन्त्यमा उनीहरू एउटा बालुवाको घरजस्तो धड्यामधुडुम भए । र, अहिले देशको राजनीति एकातर्फ मोडिएर गएको छ । यसको क्षतिपूर्ति हुन निकै गाह्रो छ । 

त्यसो भएको हुँदाखेरी विगतको इतिहासमा जसरी कांग्रेसले देशको राजनीतिलाई महत्वपूर्ण ढंगबाट अगाडि बढाएको छ । ठूलठूला उपलब्धिहरू प्रदान गरेको छ । त्यसैका आधारमा अब देशको समुन्नत प्रगतिका निम्ति एउटै नेपाली कांग्रेसलाई हेर्नेवाला छ जनताले ।

त्यसलाई गम्भीरताका साथ सोचेर खोटाङमा पनि नेपाली कांग्रेसले जनताको बीचमा घरआँगनमा आफूलाई लान सक्नुपर्छ । मलाई लाग्छ, स्थानीय तहमा र अन्य निर्वाचनमा पनि नेपाली कांग्रेस ‘अबको चुनावमा पहिलो पार्टी भएर देखापर्नेछ ।’

Top