15th July | 2020 | Wednesday | 5:39:43 AM

कांग्रेसमा बहुमतको आड

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७६ (९:५६ AM)

कांग्रेसमा बहुमतको आड

मुख्य विपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरूको भेला बोलायो । बहुसंख्यक जिल्ला सभापतिहरू भेला भए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला एक ठाउँमा रहेको असन्तुष्ट पक्षमा अर्का नेता कृष्णप्रसाद सिटौला पनि मिसिए । असन्तुष्ट पक्षमा जिल्ला सभापतिहरूको बहुमत भयो । भेलाले केन्द्रीय कार्यसमितिले क्षेत्राधिकार नाघेको निष्कर्षसहित पुस ११ गते गरेका निर्णय सच्याउन माग ग¥यो । महाधिवेशनको कार्यतालिकाको विवाद टुंग्याउन र भागबण्डा अन्त्य गर्न पनि भेलाको माग छ । 

निश्चय नै जिल्ला सभापतिहरूको भेलाले सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको छ । त्यसैले त उनले भेलामा सहभागी सभापतिहरूलाई आफ्नो निवासमा निम्ता दिए । देउवाको यो निम्ता उनको चतुरता त हुँदै हो, सकारात्मक पनि छ । उनले सभापतिहरूका मुखैबाट असहमतिका स्वरहरू सुने । आफ्नो कुरा पनि सुनाए । विवादका विषयमा प्रष्ट पार्ने प्रयास गरे । पक्ष–विपक्ष जे भए पनि जिल्ला सभापतिहरू केन्द्रमा उत्पन्न विवादले चिन्तित पनि देखिए । यसले विवाद समाधानमा सघाउ पुग्न सक्छ । असन्तुष्ट पक्ष केन्द्रीय समितिको बैठकमा अनुपस्थित भयो । दुवै पक्षले गरेको सहमतिको प्रयास असफल भएपछि सभापति देउवाले बहुमतका आधारमा निर्णय गराए । महाधिवेशनको मिति तोके, कार्यतालिका बनाए । विभागहरू थपे । भ्रातृ संगठनबारे निर्णय गरे । विधानका केही प्रावधान निलम्बन गरे । सर्वसम्मतिको प्रयास असफल भएपछि अन्त्यमा निर्णय गर्ने बहुमतले नै हो । कांग्रेस नेताहरूले यति कुरा नबुझेका होइनन् । संस्थापन पक्ष यही तर्कको आडमा छ । असन्तुष्ट पक्ष विरोधमा छ । 

संस्थापन पक्ष केन्द्रीय समितिको बहुमत देखाएर असन्तुष्टलाई दबाबमा राख्ने प्रयासमा छ । असन्तुष्ट पक्षले जिल्ला सभापतिहरूको बहुमत देखाएर संस्थापनमाथि दबाब दिने प्रयास गरेको छ । केन्द्रीय समिति बैठकमा केही सदस्य अनुपस्थित भए । यता जिल्ला सभापति भेलामा केही अनुपस्थित भए । दुबैतर्फ कुरा बहुमतको हो । सर्वसम्मति छैन । नेतृत्वको जिम्मेवारी अल्पमतको उचित कदर गर्नु हो । नेतृत्व क्षमता यसमै निहित हुन्छ । बहुमतले शासन हुन्छ । राजनीतिक दलभित्र शासनभन्दा बढी समन्वय र सहमति खोजिन्छ । बहुमत अन्तिम विकल्प हो । 

जिल्ला सभापति भेलाले दुवै पक्षलाई सुझाव दिएको छ । भागबण्डा अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । भागबण्डा नगर्नुको अर्थ हो नेतृत्वले सबैलाई मिलाउनु, भाग माग्नेले नमाग्नु, विधि र पद्धतिअनुसार निर्णय गर्नु, गुट नबनाउनु । केन्द्रीय समितिको अर्को बैठकअघि समन्वय र सहमति नखोज्ने हो भने कांग्रेसले मुलुकको वर्तमान आवश्यकता पूरा गर्न सक्नेछैन । स्वस्थ प्रतिस्पर्धा विकास गर्नु नेतृत्वको जिम्मेवारी हो । चिन्ता ‘नेपाली कांग्रेस’ नामको पार्टी के होला भन्ने होइन, विपक्षविनाको लोकतन्त्र कस्तो होला भन्ने हो ।

Views: 181

सम्बन्धित सामग्री:

स्थायी समाधान जरुरी

: असार ३०, २०७७ (१२:३१ AM)

आदिकविप्रति श्रद्धार्पण

: असार २९, २०७७ (९:१७ AM)

विपत्ति र बसोबास प्रणाली

: असार २८, २०७७ (९:५७ AM)