30th September | 2020 | Wednesday | 3:32:14 AM

कोरोना संक्रमणको जोखिम

  POSTED ON : माघ १२, २०७६ (४:१३ PM)

कोरोना संक्रमणको जोखिम

चीनमा देखा परेर विभिन्न मुलुकमा पुगेको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा परेको छ । चीनबाट आएका एक जना नेपालीमा संक्रमण फेला परेको सरकारी अस्पतालले पुष्टि गरेको छ । चीनमा यो संक्रमणबाट ४२ जनाको मृृत्यु भइसकेको छ । चिनियाँ सरकारी तथ्यांकअनुसार हजार जनाभन्दा बढीलाई संक्रमण भएको छ । ताइवान, भियतनामलगायत केही मुलुकमा पनि संक्रमण देखापरेको छ । अमेरिका र युरोपसम्म पुगिसकेको समाचार आएको छ । कोरोना भाइरसले कुनै देश वा क्षेत्रलाई मात्रै नभई विश्वलाई नै जोखिममा पार्ने त्रास बढेको छ । 

चीन र नेपालबीच आवत–जावत बढ्दो क्रममा छ । बाक्लो आवत–जावत र सीमा जोडिएका कारणले नेपालमा कोरोना भाइरसको जोखिम उच्च छ । संक्रमण नियन्त्रणका लागि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । संक्रमण फैलिएका सहरमा आवत–जावत बन्द गरेको छ । ठूलो जमघट हुने नयाँ वर्षका कार्यक्रमहरू रद्द गरिएका छन् । संक्रमितहरूको उपचारका लागि थप अस्पताल निर्माणसमेत थालेको छ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस संक्रमण २५ भन्दा बढी प्रान्तमा पुगेको छ । महामारीका रूपमा फैलिने र अनियन्त्रित हुनसक्ने सम्भावनाका कारण चीनले नियन्त्रणमा विशेष जोड दिएको छ ।

नेपालले पनि विशेष सतर्कता अपनाउन जरुरी भएको छ । जुनसुकै बेला नेपालमा पनि महामारीको रूपमा फैलिन सक्छ । यहाँ कोरोना भाइरस यकिन गर्ने परीक्षणको सुविधा पनि छैन । उपचारका लागि दक्ष जनशक्ति छैन । संक्रमण रोक्न चिनियाँ र अन्य मुलुकका पर्यटक भित्रिने नाकामा परीक्षण डेस्क राख्न जरुरी छ । शंका लागेको अवस्थामा निगरानीमा राख्ने बलियो संयन्त्र बनाउन जरुरी छ । संक्रमण नफैलिँदै आवश्यक सतर्कता अपनाउन सके महामारी रोक्न सकिनेछ । कोरोना भाइरस नियन्त्रण उच्च प्राथमिकतामा पर्नुपर्छ । 

संक्रमणबाट बच्ने उपायहरूका बारे व्यापक प्रचार–प्रसार आवश्यक छ । रुघाखोकीलाई रोग नमान्ने र विस्तारै ठिक भइहाल्छ भन्ने बहुसंख्यक नेपालीको धारणा छ । कोरोना भाइरस संक्रमण लक्षण, यसको रोकथामका उपाय र शंका लागेको अवस्थामा व्यक्तिले चाल्नुपर्ने कदम लगायतका विषयमा प्रभावकारी सबै सञ्चारमाध्यमबाट प्रसारप्रसार गर्न आवश्यक छ । यसमा अलिकति ढिलाइ पनि उचित छैन । संक्रमण देखापरिसक्दा पनि सरकारले यसतर्फ कदम चालेको देखिँदैन । सामान्य पूर्वसतर्कताले पनि संक्रमणबाट बच्न सकिन्छ । 

नेपाल भ्रमण वर्ष परेकाले बढीभन्दा बढी पर्यटकलाई स्वागत गर्ने तयारीमा हामी छौँ । यसकारण पनि हामी बढी जोखिममा छौँ । व्यक्ति, परिवार, समुदाय र सरकार सबैले आफ्नो स्तरबाट अधिकतम प्रयास गरौँ । प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि जनचेतना अभिवृद्धिका लागि कदम चालौँ । संक्रमण रोक्न सबै उपाय अपनाउने र संक्रमण भएको अवस्थामा परीक्षण र उपचारको उचित प्रबन्ध गर्ने दायित्व सरकारको हो । यसअघि रोकथाका लागि जनचेतना अभिवृद्धिमा ध्यान दिऔँ । सबै सचेत बनौँ, आफ्ना स्थानबाट सतर्कता अपनाऔँ र सहयोग गरौँ । 


Views: 293

सम्बन्धित सामग्री:

सरकार एनआरएनए समन्वय आवश्यक

: आश्विन १३, २०७७ (८:११ AM)

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)