30th September | 2020 | Wednesday | 4:38:12 AM

इमानलाई सलाम !

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७६ (१०:५४ AM)

इमानलाई सलाम !

संघीय राजधानी काठमाडौंमा ट्याक्सी चालक नवीन सिग्देलले सोमबार दिउँसो एक यात्रुले ट्याक्सीमा छुटाएको सामान प्रहरीलाई बुझाएछन् । एउटा झोलामा १३ तोला सुन, ल्यापटप कम्प्युटर, महŒवपूर्ण कागजात रहेछन् । प्रहरीले ती यात्रु खोजेर सामान जिम्मा लगाएछ । चालकले यात्रुबाट सुनको एउटा सिक्री पुरस्कार पाएछन् । सतहबाट हेर्दा घटना त्यति ठूलो होइन । चालक इमानदार रहेछन्, सामान बुझाइदिएछन् भनेर कुराको बिट मारिदिन सकिन्छ । तर, त्यतिमा कुरा सकिँदैन । साह्रै नगन्यरूपमा देखिने यस्तो इमानदारी पछिल्लो सामाजिक तथा राजनीतिक परिवेशमा अर्थपूर्ण छ । 

सोमबारै झण्डै उही समयमा संघीय राजधानीमै सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा एउटा वीभत्स घटना भइरहेको थियो । एकतिर यसले समाजमा हुने क्रुरता देखाइरहेको थियो भने अर्कातिर ट्याक्सी चालकले यात्रुको सामान फिर्ता गरेको घटनाले समाजमा इमानदारहरू पनि छन्, समाजमा सभ्यता सकिएको छैन भन्ने देखाइरहेको थियो । यी चालकको इमानदारीले राज्यको उच्च ओहोदा र पहुँचमा पुगेर राज्यको स्रोतमाथि बिज्याइँ गर्नेहरूलाई त गिज्याएकै थियो । श्रम गरेर खानेहरूमा इमानदारीको कमी छैन भन्ने बलियो दृष्टान्त हुन चालक नवीन सिग्देल किनभने उनी त्यो सामान आफ्नै पार्ने बेइमानीतिर लागेनन् । 

देशमा ललिता निवास जग्गा प्रकरण चर्चाको शिखरमा छ । राज्य सञ्चालनका विभिन्न आहोदामा रहेका अख्तियारवालाहरू राज्यको सम्पत्तिमाथि कतिसम्म कुदृष्टि राख्दा रहेछन् भन्ने पछिल्लो ज्वलन्त उदाहरण हो यो प्रकरण । यस्ता अन्य धेरै प्रकरणहरू छन् जो अख्तियारवालाले आफ्नो अख्तियारी राज्यको स्रोत निजी स्वार्थ पूरा गर्न प्रयोग गरे । व्यक्ति जति पहुँचवाला, अख्तियारवाला र आर्थिक रूपमा सम्पन्न हुँदै गयो उति नै बेइमान देखिन थाल्यो । खासगरी राजनीतिक र प्रशासनिक क्षेत्रमा यस्तो बेइमानी देखिने गरेको छ । अन्यत्र इमानदारीमात्रै छ भन्ने होइन तर नियमनको संयन्त्र राजनीति र प्रशासनमै छ । 

आजकाल त शहरमा सिसिटिभीले सडकको दृश्य रेकर्ड गर्छ । यसले के देखाउँछ भने राज्यले नियमन नगर्ने ठाउँ छैन । नवीन बेइमान हुन खोजेका भए त्यही सिसिटिभीले पनि समाउँथ्यो होला । यता राज्य सञ्चालकहरूलाई समाउन सक्ने सिसिटिभी छैन । उनीहरू त आफ्नो काम ‘कानुन सम्मत’ रहेको देखाउन पनि कानुन नै संशोधन गरिदिन्छन् । राज्य संयन्त्रहरू आफू अनुकूल हुनेगरी परिचालन गर्छन् । त्यसैले त आर्जनको स्रोत नदेखिनेहरू पनि रातारात ठूला शहरमा जग्गाजमिन जोड्छन् र आलिसान महल ठड्याउँछन् । 

समाजमा नीवनहरू यदकदा देख्न्छिन् र सानो दृष्टान्त बन्छन् । राज्यले पुरस्कृत गर्नेहरू त राज्य संयन्त्रभित्रै छन् वा राज्य सञ्चालकका निकटमा छन् । ट्याक्सी चालक नवीनले सामान फिर्ता गरेको घटना राजनीतिक क्षेत्रका लागि केही पनि नहुन सक्छ तर सामाजिक क्षेत्रमा एउटा मार्ग दर्शन हो । निःस्वार्थ ढंगले स्वतस्फूर्त समाजसेवामा लाग्नेहरू छन् । राजनीति त स्वार्थ र दाउपेच मात्रै देख्छ । नवीनबाट अरू सवारी चालकहरूले पनि सिक्न सक्छन् । ट्याक्सीमा सामान छुट्ने घटना त भइरहन्छ । नवीनको इमानदारीलाई सलाम ¤ 




Views: 179

सम्बन्धित सामग्री:

सरकार एनआरएनए समन्वय आवश्यक

: आश्विन १३, २०७७ (८:११ AM)

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)