29th September | 2020 | Tuesday | 12:12:07 AM

अध्यादेश अध्यायको अन्त्य

  POSTED ON : बैशाख १४, २०७७ (११:०१ AM)

अध्यादेश अध्यायको अन्त्य

सरकारले विवादित भनिएका दुवै अध्यादेश फिर्ता लिईसकेको छ । राजनीतिक दल विभाजन सम्बन्धी व्यवस्था र संवैधानिक परिषद् बैठक सम्बन्धी अध्यादेश सरकारले पाँचौँ दिन फिर्ता लिएको हो । गत सोमबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट पास गराउँदै राष्ट्रपतिले समेत तुरुन्तै जारी गर्नुभएको अध्यादेश पाँच दिनमै फिर्ता भएको हो ।

अध्यादेश जारी र फिर्ता प्रकरणले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएको छ । अर्कोतर्फ, प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्नुअघि आफ्नै पार्टीभित्र मात्र पनि छलफल गर्नुभएको भए अध्यादेश प्रकरणमा सरकारको साख यति गिर्न नपाउने विश्लेषण पनि भइरहेको छ ।

अध्यादेशलगत्तै पार्टीभित्र ठूलो विरोध हुनु, राजपा र समाजवादीको एकता हुनु तथा सरकारकै नियत र छविमा गम्भीर प्रश्न उठेपछि प्रधानमन्त्री आफ्नो कदमबाट पछाडि हट्नु संयोगमात्र होइन । प्रधानमन्त्री ओली आफ्नो निर्णयबाट पछाडि हट्दैमा अब पार्टीभित्र विवाद छैन त ? सरकारको नियतमाथि उठेको प्रश्न र साखमाथि लागेको दाग पनि मेटियो त ? अझ सो अध्यादेश लगत्तै एक सांसद एवं पूर्वराज्यमन्त्रीलाई हठात् काठमाडौं ल्याइनु र उहाँलाई महोत्तरीबाट काठमाडौँसम्म ल्याउन प्रयोग भएका पात्रहरु र उनीहरुको बालुवाटारसँगको सम्बन्धबारेका प्रश्न, आशंका अझै मेटिएका छैनन् ।

अध्यादेश फिर्ता लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक छलफल गर्नुभयो । छलफलको यो कडी अध्यादेश जारी गर्ने मनसाय बनाउँदा नै देखिएको भए सायद प्रधानमन्त्री ओलीले त्यसका परिणामहरूबारे समयमै आँकलन गर्न सक्नु हुन्थ्यो । सरकारले आलोकाँचो निर्णय गरेर दलहरुलाई चिढ्याउने र तीव्र विरोध सामना गर्न नसकी पाँच दिनमै फिर्ता लिनुपर्ने अवस्था आउँदैनथ्यो ।

प्रधानमन्त्री ओलीले आफ्नै दलभित्रबाट विरोधको सामना गर्नु सामान्य विषय होइन । उहाँ अब पहिला जतिकै सशक्त र बलियो देखिनुभएको छैन । उहाँले प्राविधिकरुपमा नभए पनि भावनात्मक रुपमा दलभित्रैबाट विश्वास गुमाईसक्नु भएको छ । एकपछि अर्को प्रकरण र गलत निर्णय र कामले विवादित बनेको सरकार यस घटनापछि आम जनताको नजरमा पनि गिरेको छ । राजनीतिक रुपमा यसको ठुलो अर्थ हुनेछ ।

गल्ती जो कोहीबाट पनि हुन्छ । गल्ती स्वीकार्दै त्यसबाट पाठ सिकेर अगाडि बढ्न सक्नुपर्छ । लोकतान्त्रिक मूल्य र मान्यता, संविधानप्रति इमानदार हुँदै पार्टीभित्र सबैको साथ र सहयोग लिएर अघि बढ्नु मै प्रधानमन्त्री ओली, उहाँको दल र सिंगो देश अनि जनताका लागि हितकर हुनेछ ।


Views: 205

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)