28th September | 2020 | Monday | 11:54:11 PM

राजनीतिक संकट !

  POSTED ON : बैशाख १६, २०७७ (१०:२४ AM)

राजनीतिक संकट !

अध्यादेश प्रकरणपछि आलोचनाको निशाना बन्नुभएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अहिले पार्टीभित्रैबाट चेपुवामा पर्नुभएको छ । स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै नेकपा स्थायी समिति बैठक माग गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्नुभएको हो । ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर जान प्रस्ताव गरेका छन् । तीनजनै शीर्ष नेताहरूले भावी कदम र अबका रणनीतिमा केन्द्रित रहेर समूहका नेताहरूसँग परामर्श लिईरहेका छन् । 

नेकपाकै नेताहरू प्रधानमन्त्री ओलीको विकल्प खोज्न थालेका छन् । यसका लागि कहिले भैसेपाटी त कहिले कोटेश्वरमा भेला भएर ओलीलाई पदबाट हटाउने विषयमा छलफल चलाएका छन् । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा पूर्वएमाले समूहबाट २६ जना छन् भने पूर्वमाओवादी १९ सदस्य छन् । गणितीय हिसाबमा केपी ओलीको समूहमा करिब १४ सदस्य छन् । माधव नेपाल वा पुष्पकमल दाहाल समूहको समर्थन नपाएको अवस्थामा ओली समूह अल्पमतमा पर्ने स्थिति छ । यही भएर ओली पक्षका नेताहरू पनि कस्तो रणनीति अपनाउने भनेर गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै छलफल गरिरहँदा नेपाल पक्ष र दाहालपक्षको छलफल पनि एक साता यता निकै बाक्लिएको छ । यसबाट पार्टीभित्र ठूलै चलखेल शुरु भएको वा हुन लागेको आँकलन गर्न थालिएको छ । ओलीनिकट नेताहरू नेपालसँग पावर शेयरिङ गरेर भए पनि पार्टी जोगाउनुपर्छ भनेर लागेका छन् ।

माधव नेपालसँग कुनै समझदारी नभएको अवस्थामा र आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिएमा प्रधानमन्त्री ओलीले के विकल्पको प्रयोग गर्न सक्नुहुन्छ भन्नेबारे समेत टिका टिप्पणी हुन थालिसकेको छ । नेपाली जनताले राजनीतिक स्थायित्वका लागि कम्युनिस्ट घटकलाई दिएको अपार जनमतलाई फेरि पनि अपमान गर्दै राजनीतिक अस्थिरततातिर लम्किने हो भने त्यसले कसैलाई पनि फाइदा गर्नेछैन । राजनीतिक स्थिरता अहिलेको आवश्यकता हो । यसको अर्थ सरकारका मनमौजी गतिविधिलाई सबैले टुलुटुलु हेर्नुपर्छ भन्ने पनि होइन । लोकतान्त्रिक मूल्य, मान्यता पालना गर्दै देशलाई राजनीतिक स्थायित्व दिन सबै जिम्मेवार ढंगले प्रस्तुत हुन जरुरी छ ।


Views: 401

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)