29th September | 2020 | Tuesday | 12:35:00 AM

पालो कृषि क्रान्तिको

  POSTED ON : बैशाख १८, २०७७ (१०:०५ AM)

पालो कृषि क्रान्तिको

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व संकटमा छ । आधा विश्व घरभित्रै थुनिएका छन् । मानिसहरुमा भय, अनिश्चय र बेचैनी छ । यही रोगका कारण विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीहरू घर फर्कन खोजिरहेका छन् । मजदूरी गर्न विभिन्न मुलुक गएकाहरु अधिकांश त घर फर्किसकेका छन् । विश्वबाटै कारोना त्रास अन्त्य नभएसम्म अब कोही पनि नेपाली विदेशमा गएर ढुक्कसँग काम गर्न सक्ने अवस्था छैन ।

युवा जनशक्तिको अभावमा कृषि क्षेत्र चौपट बनेका उदाहरण हाम्रै आँखा अगाडि छन् । अहिले कृषिसँगै पर्यटन, व्यापार–व्यवसाय, उद्योगधन्दा सबै चौपट छन् । यद्यपि सम्भावना मरेको छैन । कुनै बेला जनशक्ति अभावमा हुन नसकेका कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने अवसर पनि हो यो ।

कृषि क्षेत्रमा लगानी गरेर वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्न सकिन्छ । कृषि क्षेत्रलाई विकास गर्न सकियो भने समग्र अर्थतन्त्रलाई धानेर लैजान सक्छौँ । पहाडी क्षेत्रमा ५ लाख रोजगारी कृषि क्षेत्रमा लगाउन सकियो भने हाम्रो देशको निर्यात बढ्छ । जुन रेमिटेन्स विदेशमा काम गरेर नेपालीहरूले पठाईरहेका थिए, त्यो घरमै बसेर कमाउन सक्छन् । 

यस विपतले कहिल्यै गाउँघर नगएकाहरूलाई गाउँघरको महत्व बुझाएको छ । यदि उनीहरूलाई कृषि क्षेत्रमा लगाउन सकियो भने १५ देखि २० वर्षको अवधि विदेशमा आर्जन गरेको ज्ञान, शिक्षा सिप, अनुभव, शैली यस क्षेत्रमा प्रयोग गर्न सक्छन् । बाँझो खेतहरूमा कृषि कर्म हुने हो र खेतीयोग्य जमिनलाई जोगाएर कृषिलाई राज्यले नै प्रोत्साहन गर्ने हो भने नेपाली माटोले नै विकास र समृद्धिको जग निर्माण गर्न सक्छ । त्यसका लागि सरकारले लगानी बढाउनुपर्छ । आधुनिकीकरणमा जोड दिनुपर्छ । सिंचाई सुविधा तथा बजारको उचित व्यवस्था गर्नुपर्छ । बिचौलियाको मारबाट किसानलाई जोगाउन सक्नुपर्छ ।

यस अतिरिक्त कृषिको कर शून्य गराउनु पर्छ र कृषि कार्य गर्नेलाई सरकारले उच्च सम्मान पनि दिनुपर्छ । अहिले नेपालको मात्र नभएर विश्व अर्थतन्त्र नै ठप्प छ । हाम्रो लागि यो सुनौलो अवसर हो । धेरै देशहरू यस्तो विपतपछि नै आर्थिक रुपमा सम्पन्न बन्ने योजना बनाइसकेका छन् । हामी पनि बन्न सक्छौँ । त्यसका लागि सरकारले सही समयमा सही नीति ल्याउन आवश्यक छ ।


Views: 202

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)