28th September | 2020 | Monday | 11:34:29 PM

गैरजिम्मेवारीपनको नमूना

  POSTED ON : बैशाख १९, २०७७ (९:४७ AM)

गैरजिम्मेवारीपनको नमूना

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र शक्ति संघर्ष केन्द्रित कलह चरमचुलीमा पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सामूहिक रुपमा सबै केन्द्रित हुनुपर्ने समयमा सत्तारुढ दल यतिबेला संसदीय दलको गणितीय खेलमा लागेको छ ।

झण्डै दुई तिहाई बहुमतसहितको एकल सरकार सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी पाएको नेकपाले दुई वर्ष मै पार्टीभित्र कलह हुर्काएकोमात्र होइन, जनताको विश्वास पनि गुमाउँदै गएको छ । दुई कम्युनिस्ट पार्टीबीच एकता भएर बनेको नेकपाभित्र सुरुदेखि नै गुटबन्दी नभएको होइन । एकता लगत्तै पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी भनेर भागवण्डा तथा अवसरहरूको हर हिसाब लगाइने गरेकोमा हाल पूर्व एमालेभित्र पनि गुटबन्दी चर्किएको छ । यतिबेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका समर्थक र विरोधी गरी पार्टीभित्र दुई खेमाबीच शक्ति संघर्ष देखिएको हो ।

सत्तारुढ दलभित्र कलह देखा पर्नु अस्वाभाविक विषय होइन । यद्यपि विश्व नै महामारीबाट गुज्रिरहेको तथा कयौं शक्तिशाली र सुविधासम्पन्न मुलुकले समेत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा मार खाइरहेको अवस्थामा नेपालजस्तो परनिर्भर आर्थिक अवस्था भएको मुलुकभित्र सत्तारुढ दलमा प्रधानमन्त्री नै परिवर्तन गर्नेसम्मको किचलो देखा पर्नु सामान्य अवस्था होइन ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कमी, पार्टीका निकायहरुलाई निस्क्रिय बनाएर व्यक्ति नै प्रधान भएर गरिने निर्णयका कारण स्वेच्छाचारी सोचलाई प्रोत्साहन गर्दछ । वर्षमा एक पटक केन्द्रीय कमिटी बैठक बोलाउन सकस हुँदासमेत पनि नेता–कार्यकर्ताहरूले पचाउन थालेपछि नेतृत्व बेलगाम हुनु स्वाभाविक थियो । स्थायी कमिटी, केन्द्रीय समितिले गर्नुपर्ने निर्णय सचिवालयले धमाधम गर्दासमेत पार्टीभित्र विधि र पद्धतिको माग गर्न आनाकानी गर्दा व्यक्तिमा शक्ति केन्द्रीकृत हुँदै गएको हो । त्यसैको परिणाम आज पार्टीले सरकार सञ्चालन गरेको नभई व्यक्तिले पार्टी र सरकार सञ्चालन गरेको अनुभूति सबैमा बढ्दो छ । जहाँ समस्या छ, त्यहाँ समाधान पनि हुन्छ । व्यक्तिगत महत्वाकांक्षा त्यागेर पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तअनुसार संचालन गर्ने र पार्टीसँगको समन्वयका आधारमा सरकार सञ्चालन गर्ने सामान्य आधारभूत मूल्य–मान्यतालाई आत्मसात गर्नेबित्तिकै अहिलेका समस्या समाधान हुन सक्छन् । तर यो समवेदनशील परिस्थितिमा पनि आन्तरिक विवाद चर्काएर नेतृत्वले दलगत, गुटगत फाइदाको खेती गर्नु भनेको गैरजिम्मेवारीपनको नमूना नै हो । 


Views: 517

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)