28th September | 2020 | Monday | 11:32:45 PM

सन्त्रास कायमै

  POSTED ON : बैशाख २३, २०७७ (१०:३० AM)

सन्त्रास कायमै

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासबाट मुलुक अझै मुक्त हुन सकेको छैन । आइतबार एकै दिन १६ जना संक्रमित थपिएसँगै मुलुकमा कोरोना संक्रमणको सन्त्रास बढेको हो । योसँगै कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि अहिलेसम्म प्रभावकारी मानिएको लकडाउन अझै केही समय निरन्तर गर्नुको विकल्पसमेत नदेखिएको हो । 

संक्रमण तीव्र रूपमा फैलिएका अन्य मुलुकहरूको तुलनामा नेपालमा संक्रमण दर न्यून नै देखिएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण नेपालले मानवीय क्षति व्यहोर्नु परेको छैन । यस अर्थमा हामी भाग्यमानी साबित भएकोमात्र होइन, समयमै सचेतता अपनाएको परिणाम संक्रमणलाई नियन्त्रणभन्दा बाहिर जान नदिन सफलता पनि पाएको प्रष्ट हुन्छ । निश्चय नै लकडाउनले कतिपय नागरिकको जनजीवन कष्टकर बनेको छ । कोरोना संक्रमणले विश्वस्तरमा भएको मानवीय क्षतिलाई हेर्ने हो भने त्यो अवस्थामा पुग्नुभन्दा लकडाउनको सकस झेल्नु नै सहज र परिणाममुखी हुने देखिन्छ ।

लकडाउनको समयमा संक्रमणको सम्भावित जोखिमक्षेत्र पहिचान गरी परीक्षणको दायरालाई फराकिलो पारेर संदिग्ध समुदायलाई उनीहरूको अवस्था हेरी क्वारेन्टाइन तथा आइसोलेसनमा राख्न आवश्यक हुन्छ । यद्यपि हामी अझै संक्रमित पहिचानमै अल्मलिएका छौं । लकडाउनको विकल्प लकडाउन भए पनि सरकारले यो समयको सदुपयोग गरी चाडोभन्दा चाडो संक्रमितको पहिचान, परीक्षण र उपचारमा लाग्न आवश्यक छ । तबमात्र लकडाउनको विकल्प खोज्नु ठिक हुन्छ । 

आमनागरिकले पनि ‘लकडाउन’को अर्थ नै नबुझेजस्तो देखियो । यो कुनै राजनीतिक दलले गरेको बन्द नभई स्वास्थ्य संकटकाल हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । हाम्रो आफ्नै स्वास्थ्यको सुरक्षाका लागि सरकारले लकडाउन घोषणा गरेको हो । रमाइलो गर्ने वा रमिता हेर्ने भनेर सडकमा निस्कने समय हुँदै होइन । जति हामी सचेत रहन सक्यौं, सुरक्षा सावधानी अपनाउन सक्यौं, उत्ति नै सुरक्षित हुनेछौं ।

‘लकडाउन’ आफैंमा सम्पूर्ण समाधान होइन । यो त समाधानको बाटोतर्फ अगाडि बढ्ने एउटा माध्यममात्र हो । कोरोना भाइरसको संक्रमण स्थानीयस्तरमा फैलनबाट रोक्न विदेशबाट आएका र तिनको सम्पर्कमा आएकाहरूको पहिचान, निगरानी र परीक्षणको दायरा बढाउन अब ढिला गर्नु हुँदैन । यसमा जति ढिलाइ गरिन्छ, समस्या उति जटिल बन्न सक्छ । 


Views: 171

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)