28th September | 2020 | Monday | 11:25:01 PM

किसानका पीडा

  POSTED ON : बैशाख २५, २०७७ (९:४७ AM)

किसानका पीडा

कृषि प्रधान देश नेपाल । तर नेपालका किसानका आँखु रोकिनु त परै जावस्, बढ्ने क्रममा छ । नेपालमा खेतीयोग्य जमिन बर्सेनी मासिँदो छ । सरकारी तवरबाट कृषि पेशातर्फ आकर्षण बढाउने कुनै कार्यक्रम छैन । एकातिर कृषि योग्य भूमि मासिने, अर्कोतिर भएका जग्गा पनि खेती गर्ने जनशक्तिको अभावमा बाँझै रहने समस्या छ । कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने । किसान यस्तै–यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् ।

यस्ता घटनाबाट पिरोलिएका किसान अहिले भने लामो लकडाउनको मारमा परेका छन् । अहिले किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर गईरहेको छ । देशमा भएको मागका सबै हिस्सा भारतबाट आयातित तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नो तरकारीबारीमा डोजर चलाउन बाध्य छन् । अहिले जिल्ला जिल्लामा किसानले लगाएका बन्दा, काउली, काँक्रो, खरबुजा, गोलभेडा, बोडीलगायतका तरकारी बारीमै सुकेर गईरहेका छन् । तर भारतबाट यही तरकारी आयात भईरहेको छ । विचौलियाले बढी कमिसन खाने लोभमा नेपाललाई तरकारीमा भारत केन्द्रित गर्दा नेपाली किसान मारमा परेका हुन् । 

पछिल्लो समय सीमित किसानले मात्र कृषि उत्पादन गर्दै आएका छन् । त्यस्तोमा पनि उनीहरुलाई न हौसला छ, न प्रोत्साहन । बजार अभाव र मल अभाव किसानको अहिले ठूलो समस्या बनेको छ । दिनरात र घामपानी नभनी किसानले उत्पादन गर्ने खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य पदार्थ, माछामासु, फलफूल, अण्डालगायतका उत्पादन भण्डारण, बजारीकरणमा यतिबेला ठूलो समस्या आएको छ । स्वदेशमा उत्पादित हरियो तरकारी र सागसब्जीले बजार पाउन छाडेका छन् भने भारतबाट भित्रिएका तरकारी नेपालीका घरघरमा सहजै पुगिरहेको छ, महँगो मूल्यमा । 

व्यावसायिक रूपमा खेतीपाती र पशुपन्छी पालन गरेका किसानले ब्याजमा बैंकबाट ऋण लिएका छन् । यो अवस्थामा बैंकलाई नियमित ब्याज र किस्ता तिर्न ठूलो समस्या परेको छ । भारतीय तरकारीले नेपालमा बजार पाउँदा नेपाली तरकारीले किन बजार पाउन सकेन भन्नेतर्फ सरकारले खोजी गर्न जरुरी छ । सरकारले समृद्धिको रटान लगाउनेभन्दा पनि बढ्दो बेरोगारीलाई कृषि पेशामा आकर्षित गरी कृषिउपजमा परनिर्भरता रोक्न जरुरी छ । 


Views: 203

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)