29th September | 2020 | Tuesday | 12:17:52 AM

विद्यालयमा संस्कृत भाषा

  POSTED ON : बैशाख २६, २०७७ (७:३४ AM)

विद्यालयमा संस्कृत भाषा

संस्कृत भन्नेबित्तिकै धेरैको सोचाइ छ । यो कर्मकाण्डी भाषा हो । तर संस्कृत अधिकांश भाषाको जननी हो । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार यो संसारकै स्पष्ट भाषा हो । नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ । जर्मनीको १४ विश्वविद्यालयमा संस्कृत भाषाको अध्ययन–अध्यापन हुन्छ, यस भाषाको शब्दकोशमा १०२ अर्ब ७८ करोड ५० लाख शब्द छन् । पछिल्लो समय विदेशमा संस्कृत भाषाको पठनपाठनमा आकर्षण बढिरहेको छ । खासगरी युरोप र अमेरिकी मुलुकहरूमै संस्कृत भाषाप्रति रुची बढ्दै गएको देखिन्छ । तर नेपालमा परापूर्वकालदेखि चलनचल्तीमा रहेको संस्कृत भाषा पश्चिमी प्रभाव र कथित क्रान्तिका नाममा हराउँदै गयो । अहिले सीमित केही स्थानमा मात्र यसको पढाइ भइरहेको छ ।

ढिलै भए पनि सरकारले संस्कृत भाषाको महत्व बुझेर विद्यालय तहमै यसको पठनपाठन सञ्चालन गर्ने निर्णय गरसँगै केही आशा जागेको छ । शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि संस्कृत विषय पढाइ सुरु गरिने जनाएको छ । जुन कक्षा १ मा नयाँ पाठ्यक्रमअनुसार पढाइ सञ्चालन हुनेछ ।

विसं २०५८ अघि साधारण माध्यमिक विद्यालयमा पनि कक्षा ८ सम्म सरल संस्कृत विषयको पठनपाठन गरिन्थ्यो । राजनीतिक क्रान्तिका नाममा संस्कृत भाषामाथि प्रहार भयो । लामो समयदेखि नेपाली विद्यार्थीलाई यो भाषा अध्ययनबाट बञ्चित तुल्याइएको अवस्थामा सरकारले फेरि पठनपाठनमा यसलाई समेट्ने निर्णय गरेर मौलिक पहिचान जोगाउन पहल गरेको छ ।

कुनै समय थियो, जतिखेर गुरुकुलमा बटुकहरू बस्ने गर्थे र उनिहरू संस्कृत विषयमा सैद्धान्तिक र व्यवहारिक दुवै स्तरबाट उन्नत हुन्थे । समय बदलिंदै गयो गुरुकुल हटेर संस्कृत विद्यालय बने, त्यसपछि मात्र विद्यालय रहे । विद्यालयको शिक्षा आफ्नै तरिकाले अघि बढ्दै गर्दा अंग्रेजीलाई प्राथमिकता दिँदै निजी विद्यालय खुले जहाँ अंग्रेजी मुख्य विषय हुन थाल्यो र विद्यार्थीलाई रटाउन लगाइयो । सोही परिणाम पछिल्लो समय बालबालिकामा अंग्रेजी त राम्रो बन्यो तर आफ्नै भाषा बिर्सन पुगे । अन्तर्राष्ट्रिय जगतमा संस्कृतको महत्व बढ्दै गएको समयमा आफ्नै उद्गम थलोमा लोप हुनु पक्कै पनि लाजमर्दो विषय हुन्थ्यो ।

सरकारको यस निर्णयसँगै फेरि एउटा आशा जागेको छ । विदेशीहरूले संस्कृत शिक्षालाई अपनाईरहँदा अब हामी बाटोमुनीको फूल बन्नु हुँदैन । शिक्षा र विद्याको स्तर विकासमा संस्कृतको महत्वलाई बुझ्दै सरकारले गरेको यो निर्णय समय सापेक्ष र युगानुकुल छ । 


Views: 226

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)