29th September | 2020 | Tuesday | 12:24:06 AM

लिपुलेकमा भारतको सडक !

  POSTED ON : बैशाख २८, २०७७ (९:३४ AM)

लिपुलेकमा भारतको सडक !

भारतले लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक निर्माण गरेर दुई देशबीचको सम्बन्धमा घाउ बनाएर नुनचुक दल्ने काम गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले गुञ्जी, नावीढाङ, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक उद्घाटन गरिरहँदा नेपाल सरकार बेखबरजस्तै रहृयो । 

कोरोना संक्रमणले विश्वलाई नै प्रभावित तुल्याइरहेको समयमा सबैजसो मुलुक यो संक्रमणलाई कसरी नियन्त्रण गर्ने, जनतालाई कसरी जोगाउने भन्नेमा केन्द्रित भइरहेका छन् । यही समयमा भारतले भने लामो समयदेखि विवादित विषयमा हस्तक्षेपकारी भूमिका दिन आवश्यक ठान्नु आफैंमा विडम्बनापूर्ण छ । त्यसो त भारतले पाँच महिना अघि नै आफ्नो राजनीतिक नक्सामा लिपुलेकसहितका भूभागलाई समेटेर एक हदसम्म आफ्नो उद्देश्य प्रकट गरिसकेको थियो । सुरुमा भारतीय नक्साको व्यापक विरोध भयो । सरकारले आफ्नो एक इन्च पनि भूमि अतिक्रमण हुन नदिने प्रतिवद्धता जनाएकोमात्र होइन, नेपाली भूभागबाट विदेशी सेनालाई फिर्ता पठाउने बाचा पनि ग¥यो ।

भारतले जारी गरेको राजनीतिक नक्साका बारेमा संसदमा आवाज उठ्यो, सरकारसँग जवाफ मागियो, नेपाली नक्सा सार्वजनिक गर्नका लागि संसदीय समितिहरूले सरकारलाई निर्देशन दिए । दुर्भाग्य, आजसम्म सरकारले आधिकारिक नक्सा सार्वजनिक गर्न आनाकानी गरिरहेको छ तर भारतले पाँच महिना अघि जारी गरेको राजनीतिक नक्साकै आधारमा अहिले लिपुलेकसहितका भूभागमा सडक निर्माण गरी उद्घाटन गरिसकेको छ ।

लकडाउनकै समयमा सत्तारुढ सांसदहरु कुन दलका सांसदलाई हातमा लिएर दल विभाजन गराउन सकिन्छ भनेर कम्मर कसेर लाग्छन्, सरकारले पनि दल विभाजनका प्रावधान खुकुलो हुनेगरी अध्यादेशमार्फत संविधान संशोधनको प्रयास गर्छ तर नेपाली भूभागमा भारतबाट सडक निर्माण भएको तथ्यबारे सरकारले चासो राख्न नसक्नु अनौठो परिदृष्य हो । सरकारले कुटनीतिक माध्यमबाट सीमा विवाद सुल्झाउन पहल भइरहेको भनेर देश र जनतालाई विश्वास दिलाएको महिनौं भइसक्यो । नक्सा जारी गर्दैमा कुनै भूभाग कसैको नहुने तर्क प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गर्दै आउनु भएको छ । आज भारतले लिपुलेकमा सडक निर्माणमात्र होइन, भारत सरकारकै मन्त्री सडक उद्घाटन गरिसकेका छन् । सरकारले लिपुलेकसहितका भूभागबारे आफ्नो प्रष्ट दृष्टिकोण ल्याउन जरुरी छ ।

राष्ट्रिय मुद्दामा सबै दल एक ठाउँमा उभिन आवश्यक देखिन्छ । पाँच महिना अघि भारतले राजनीतिक नक्सा जारी गरेदेखि नै यो विषय पेचिलो बन्दै आएको हो । यसबीचमा सरकारले के–कस्ता पहल ग¥यो र भारतले के आधारमा सडक निर्माण र उद्घाटनसमेत ग¥यो भन्नेबारे देश र जनताले तथ्यपरक जानकारी सरकारबाट पाउन जरुरी छ ।


Views: 187

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)