28th September | 2020 | Monday | 11:48:07 PM

राहतसँगै जोखिम

हिमालय टाइम्स   POSTED ON : बैशाख २९, २०७७ (९:१८ AM)

राहतसँगै जोखिम

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित देशका केही जिल्लाहरूमा लकडाउन खुकुलो बनाएको छ । लकडाउनका बाबजुद ४२ क्षेत्रमा काम गर्न सकिने गरी लकडाउन खुकुलो बनाइएसँगै सर्वसाधारणले केही राहतको सास फेरेका छन् । लामो समयदेखि काम नपाएर घरमै थन्किएका मजदुरहरूलाई सबैभन्दा बढी राहत मिलेको छ । लकडाउन खुकुलो बन्दा जति राहत मिलेको छ, त्यतिनै जोखिम र चुनौतीसमेत थपिएको छ । 

कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवा, विकास आयोजनाहरू, ढुवानी सेवा, बैंक तथा वित्तीय संस्था र उद्योगहरूले सञ्चालनको अनुमति पाएका छन्, जसबाट लाखौं मजदुरको रोजीरोटीको बाटोसमेत खुलेको छ । देशभर विकास निर्माणाधीन ५ हजार आयोजना छन् । त्यसमा असंगठित मजदुर मात्र १५ लाख हाराहारीमा छन् । संगठित मजदुर ३ लाख छन् । देशभर १७ हजार निर्माण व्यवसायी छन् । निर्माण उद्योगमा रोजगारदाता ५० हजार छन् । करिब १ लाख मजदुर अहिले विभिन्न आयोजनामा छन् । 

लामो लकडाउनका कारण कामदार, मजदुर वा कर्मचारीहरूको तलब रकम कट्टा हुनेसम्मको अवस्था सिर्जना भएकोमा तत्काललाई त्यो समस्या टरेको छ । अहिलेको अवस्थामा सरकारले लकडाउन खुकुलो बनाउन गरेको निर्णय श्रमिक वर्गका लागि स्वागतयोग्य रहे पनि यसबाट संभावित जोखिम चुनौतीको विषय बनेको छ । सरकारले लकडाउनमा कडाई गरेकै अवस्थामा त सर्वसाधारण एक जिल्लाबाट अर्को जिल्लासम्म आवतजावत गर्न भ्याएका थिए भने अहिले केही अत्यावश्यक यातायात संचालन भएको अवस्थामा कुनै न कुनै बहानामा आवतजावत बढ्ने देखिन्छ । यस्तोमा एक जना कोरोना संक्रमित मात्र भित्रिने हो र त्यो समुदायमा फैलने हो भने त्यसको सामना पुरै देशले गर्नुपर्ने हुन्छ । अहिलेको सबैभन्दा ठूलो चुनौती यही हो । यसलाई सरकारले गम्भीरता पूर्वक लिनु पर्दछ । 

सरकारले उपत्यका प्रवेश गर्नेहरूको हकमा सम्बन्धित जिल्ला प्रशासनको पास आवश्यक रहेको जनाएको छ । तर रातारात मानिसहरू कसरी काठमाडौं छिरिरहेका छन्, के उनीहरूलाई सामान्य ज्वरो नापेको भरमा खुल्ला छाड्न मिल्छ ? यस्ता प्रश्नलाई हलुका रुपमा लिन मिल्दैन । किनभने अहिलेसम्म राजधानी सुरक्षित छ, तर एक गल्तीबाट यहाँ कोरोना फैलियो भने त्यसको असर पूरै देशले भोग्नुपर्छ । विश्व स्वास्थ्य संगठनले समेत लकडाउनलाई खुला गरेर व्यवस्थित गरिएन भने लकडाउन फेरि पनि लगाउनु पर्ने अवस्था आउन सक्छ भनिरहँदा हामीले समय रहँदै यो राहतलाई जोखिम बन्न दिनुहुँदैन ।


Views: 194

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)