28th September | 2020 | Monday | 11:16:26 PM

बजेटका चुनौती

  POSTED ON : बैशाख ३०, २०७७ (१०:०१ AM)

बजेटका चुनौती

बजेट मुलुकको आय–व्यय निर्धारण गर्ने माध्यम हो । बजेट मुलुकको आर्थिक विकासको मेरुदण्ड हो । मुलुकमा जति पनि विकास निर्माणका काम हुन्छन्, बजेटमा उल्लेख भएअनुसार नै हुन्छन् । सामान्य परिस्थितिमा सरकारको नीति तथा कार्यक्रम, वार्षिक आय–व्ययको विवरणको पक्ष र विपक्षमा लामै बहस हुने गरेका छन् । अहिले असामान्य परिस्थिति भएकाले पनि सरकारले नीति तथा कार्यक्रम र वार्षिक आय–व्यव विवरण तयार पार्दा विशेष ध्यान दिनुपर्ने अर्थविद्हरूको भनाइ छ ।

राजनीतिक स्थिरतासहित झण्डै दुई तिहाइ बहुमतको सरकार भएकाले पनि बजेट निर्माणदेखि लिएर कार्यान्वयनमा सरकारलाई कुनै अवरोध देखिदैन । कोरोना संक्रमणले मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै राहतका कार्यक्रम सञ्चालन गर्नु सरकारका लागि चुनौतीको विषय बनेको छ । यतिमात्र होइन, लामो समयसम्मको लकडाउनका कारण देशको अर्थतन्त्रमा मात्र होइन, आम नागरिकको जीवनस्तरमा धक्का लागेको छ । त्यसैले बजेटले देशको अर्थतन्त्रलाई उकास्ने नाममा आम सर्वसाधारणमाथि नै फेरि पनि करको भारमात्र बढाउने प्रयत्न गर्नु पनि प्रत्युत्पादक हुन सक्छ ।

सर्वसाधारणको चुलिँदो आकांक्षा, प्रदेश र स्थानीय तहले बजेट धेरै नपाएको गुनासो, बलियो सरकार भएर पनि काम गर्न नसकेको आरोपजस्ता विविध पक्षका बीचमा सीमित स्रोतबाट बजेट बनाउनु पक्कै पनि सजिलो छैन । कोरोना भाइरसबाट जनताको ज्यान बचाउनु, अर्थतन्त्र जोगाउनु र देशमा भोकमरी हुन नदिनु प्रमुख चुनौतीका रुपमा छन् । 

नेपालको अर्थतन्त्रमा विप्रेषणको पनि महत्वपूर्ण टेवा छ । कोरोना संक्रमणले वैश्विक रुपमा ःल्याउने आर्थिक मन्दीको मारमा विप्रेषण पनि पर्ने निश्चित छ । किनकि वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगेका नेपाली युवा जनशक्ति बेरोजगार हुनुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जाने तयारीमा रहेका जनशक्तिलाई नेपालमै रोक्नुपर्ने अवस्था आउनेमात्र होइन कि, हाल वैदेशिक रोजगारीमा रहेका लाखौं युवा बेरोजगार बनेर स्वदेश फर्कन सक्ने र उनीहरूलाई नेपालमै कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा पनि सरकारले बजेटमार्फत जोहो गर्न आवश्यक देखिन्छ । कृषि क्षेत्रमा आकर्षण बढाउन र लाखौं युवालाई कृषिमार्फत आत्मनिर्भर बनाउनेमात्र होइन, व्यापार घाटा कम गर्न निर्यात प्रवद्र्धनका योजना पनि सरकारले बजेटमार्फत नै पहल गर्न जरुरी छ । सरकारले कोरोना संक्रमणबाट प्रभावित बनेका मुलुकका विभिन्न क्षेत्रलाई चलायमान बनाउने र ती क्षेत्रमार्फत मुलुकलाई आर्थिक मन्दीको चपेटामा पर्नबाट जोगाउने पहल गर्न सक्नुपर्छ ।


Views: 156

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)