29th September | 2020 | Tuesday | 12:52:56 AM

कुटनीतिक संवादको खाँचो

  POSTED ON : बैशाख ३१, २०७७ (११:३६ AM)

कुटनीतिक संवादको खाँचो

भारतले पिथौरागढबाट नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक एकतर्फी रुपमा निर्माण गरी उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भईरहेको छ । सबै दलले भारतको यो कदमकको विरोध गरिरहेका छन् । कुटनीतिक वार्ताबाटै सीमा विवाद समाधान गर्न साझा सुझाव आएको छ । सरकारले पनि कुटनीनि माध्यमबाटै समस्या समाधान हुने विश्वास गर्दै आएको छ ।

लिपुलेकसँगै कालापानी र लिम्पियाधुरा पनि अहिले विवादमा छन् । यी सबै नेपाली भू–भाग हुन् । तर भारतले आफ्नो भूमि भन्दै नक्सा नै सार्वजनिक गरिसकेको अवस्थामा नेपालले अहिलेसम्म त्यसको वास्तविकता उजागर गर्दै कुटनीतिक रुपमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सकेको छैन । यद्यपि, सरकारले भारतलाई यसबारे ध्यानाकर्षण गराइसकेको छ र आफ्नो भूमि अतिक्रमणमा पर्न नदिने प्रष्ट अडान राख्दै आएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली ‘महाकाली’ नदी पूर्वका भू–भाग नेपालका हुन् । यसैलाई नेपाल सरकारले आफ्नो दावी गर्दै पटकपटक भारतसामू स्पष्ट कुरा राख्दै आएको छ । सरकारकाअनुसार यी भू–भागहरु नेपालको भएको प्रमाणसमेत छ । तर भारतले पेलाहा प्रवृति जारी राखेको छ । 

पछिल्लो समय नेपाल र भारतबीच राजनीतिक तहमै उच्चस्तरका भेटवार्ता हुने गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पटक पटक नेपाल भ्रमणमा आइसकेका छन् भने नेपालका प्रधानमन्त्रीबाट पनि भारतमा बेलाबखत औपचारिक भ्रमण हुने गरेको छ । यस्ता भेटवार्ता तथा भ्रमणमा सीमा विवादलाई मुद्दा बनाएको दृष्टान्त निकै कम छन् । छलफलमा विषय उठान भए पनि तिनको निरन्तरता, तिनलाई परिस्कृत गर्दै लैजाने इच्छाशक्ति राजनीतिक नेतृत्वमा देखिएको छैन ।

तत्कालीन इष्ट इण्डिया कम्पनी र सर्वे अफ इण्डियाद्वारा प्रकाशित नक्सा तथा चिनियाँ र अन्य भूगोलविद्द्वारा प्रकाशित नक्साले समेत महाकालीको मुहान लिम्पियाधुरा नै देखाएका छन् । सन् १८१६ को सुगौली सन्धि हुुनु दुई महिनाअघि नै प्रकाशित यी नक्सा ब्रिटिश सम्राटका हाइड्रोग्राफरले तयार पारेका हुन् । जसलाई नेपालले प्रमाणका रूपमा पेश गर्न सक्छ । यी प्रमाण नेपालको पक्षमा छ । त्यसैले भारतसँग निर्णायक र परिणाममुखी वार्ता गर्न ढिला गरिनु हुन्न । 

छिमेकी मुलुकका बीचमा यस्ता विवाद नौलो कुरा होइन । अझ नेपाल र भारतजस्तो खुला सीमा भएका मुलुकमा सीमा सम्बन्धी विवाद बारम्बार प्रकाशमा आउने गरेको छ । यस्ता विवादलाई तथ्य र प्रमाणका आधारमा दुई देशबीच कुटनीतिक छलफल गरी समाधान गर्न जरुरी हुन्छ । यस्ता विवाद लामो समयसम्म रहँदा नागरिक स्तरको सम्बन्धमा पनि असर पर्न सक्ने भएकाले समयमै दुवै मुलुकले समाधानका लागि पहल गर्न आवश्यक देखिन्छ । सीमा विवाद समाधान हुन नसक्ने होइन भन्ने शिक्षा भारत र बंगलादेशबीचको सीमा विवाद ४ दशकमा सुल्झिएको तथ्यले पनि प्रष्ट पारिसकेको छ ।


Views: 161

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)