28th September | 2020 | Monday | 11:09:09 PM

सावधानी अपनाऔं

  POSTED ON : जेठ १, २०७७ (९:५२ AM)

सावधानी अपनाऔं

नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण पाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी माध्यमका रुपमा विश्व स्वास्थ्य संगठनले नै सुझाएको सामाजिक दूरीलाई लागू गरेकै अवस्थामा नेपालमा एकै दिन यति ठूलो संख्यामा संक्रमित पाइएबाट सन्त्रास बढेकोमात्र होइन, हामीले सामाजिक दूरी अपनाउने क्रममा गरेको लापरवाहीलाई पनि उजागर गरेको छ ।

लकडाउनकै क्रममा भारतबाट नेपाल प्रवेश गरेका, नेपालभित्रै पनि एक स्थानबाट अर्को स्थानमा पुगेका व्यक्तिमा संक्रमण पाइएको छ । गत चैत ११ देखि निरन्तर सरकारले लकडाउन गर्दै आएकोमा यसरी मानिसको आवतजावत भएको पाइनु, संक्रमित पत्ता लागेकाहरू स्थानान्तरण भएको पाइनुले जोखिमको स्तरलाई अझ बढाएको छ ।

यतिमात्र होइन, केही सातादेखि काठमाडौं उपत्यका कोरोना संक्रमणका दृष्टिले सुरक्षित रहँदै आएकोमा मंगलबार सार्वजनिक तथ्यांकमा उपत्यकामै संक्रमित फेला परेको उल्लेख भएबाट काठमाडौं उपत्यकामा पनि पर्याप्त सावधानी अपनाउनुपर्ने खाँचो देखिएको छ । सरकारले राजधानी भित्रिने नाकामा कडाई गरेको जनाइरहँदा उपत्यकाभित्रै एकाएक कोरोना संक्रमित भेटिनुले सुरक्षाको अवस्थालाई समेत छर्लङ्ग पारेको छ । 

मंगलबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो तुल्याउने निर्णयसँगै राजधानीका सडकमा देखिएका भीडप्रति असन्तुष्टि जनाउनुभएको समाचार प्रकाशमा आएको छ । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने निहुमा मानिसको जीवनलाई जोखिममा पार्न नहुने भन्दै लकडाउन कडा बनाउन निर्देशन दिनुभएको छ । यसबाट पनि सरकारीस्तरबाटै लकडाउनमा लापरवाही भएको बुझ्न सकिन्छ । सरकारी कार्यालय, वित्तिय संस्थाहरूको काम सुचालु गर्ने र मजदुरहरूलाई राहतको नाममा खुकुलो बनाइएको लकडाउन औचित्यहीन बनेको छ । जसको फलस्वरुप कोरोना संक्रमित बढेका छन् । 

सरकारले कोरोनाको दोस्रो संक्रमित भेटिए लगत्तै लकडाउन घोषणा ग¥यो । त्यो समयको लागि यही सही थियो होला । तर यसबीचमा परीक्षणको दायरा बढाउनुको सट्टा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, अनावश्यक विषयका दुई अध्यादेश जारीजस्ता विषयमा सरकार अलमलियो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिला गर्नुपर्ने काम परीक्षणको दायरा बढाउनु हो । तर लकडाउनले ५१औं दिन मनाउँदा ठूला सहरहरुमा समेत आवश्यक अनुसार परीक्षण हुन सकेको छैन । जनस्तरमा पनि लकडाउन पालनामा लापरवाही देखिएको छ । लकडाउन छल्ने वा सरकारी निर्देशनलाई मौका हेरेर उल्लंघन गर्ने प्रवृत्तिले अन्ततः हाम्रै जीवनलाई खतरामा पार्न सक्छ । त्यसैले सबैले सावधानी अपनाउन जरुरी छ । 


Views: 211

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)